लद्दाखबाट चिनियाँ सैनिक पछि हटेको भारतीय सञ्चारमाध्यमको दाबी, वास्तविकता यस्तो

लद्दाखमा वास्तविक नियन्त्रण रेखाबाट चिनियाँ सैनिक एक किलोमिटर पछि हटेको र भारतको डरका कारण यसो भएको भनी भारतीय सञ्चारमाध्यमले लेखेका छन् । 

त्यसो त भारतीय सैनिक पनि पछि हटेका छन् । 


Advertisement

भारतका पूर्व सैनिक अधिकृत अशोक मेहताले द वायर अन्लाइन पत्रिकामा लेखेअनुसार, भारत भिडन्त भएका ठाउँबाट चीन जति नै पछि हटेको हो भने आफ्नै भूमिबाट पछि हटेको स्पष्ट छ । 

चिनियाँ जनमुक्ति सेना चाहिँ आफूले कब्जा गरेको भूभागबाट मात्र पछि हटेको हो । त्यसै पनि चिनियाँ सेनाले भारतीय सेनालाई आफूले कब्जा गरेको भूभागमा गश्ती गर्न दिएको छैन । 


Advertisement

समाचारहरू सही छन् भने चीनले कब्जा गरेको भूभागलाई भारतले बफर जोनका रूपमा स्वीकार गरेको हो । नरेन्द्र मोदीले लद्दाखको भ्रमण गरेपछि यस्तो किसिमको युद्धविराम सम्भव भएको हो । 

अहिले वास्तविक नियन्त्रण रेखाको स्थिति यस्तो छ :

१. गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक भिडन्त हुनुअघि भारतीय सेनाले श्योक र गलवान नदीको संगममा गाडिएका चिनियाँ टेन्ट उखेलेका थिए । तर चिनियाँहरूले त्यहाँ आफ्नो पोस्ट पुनः खडा गरेका छन् । 

यसको अर्थ हुन्छ चिनियाँ सेना विवादित क्षेत्रबाट हट्नु भनेको देखावटी मात्र हो । दुई देशका उच्च प्रतिनिधिले सैन्य कमान्डरहरूको संवाद तथा सीमा मामिला प्रक्रियामा विश्वास गरेको भए पनि तिनले चिनियाँ सेनाको आक्रामकताका कारणलाई सम्बोधन गर्दैनन् । 

२. देप्साङदेखि चुशूलसम्म चिनियाँ सेनाले गरेको आक्रमण स्वीकारिएको तथ्य हो जुन चीनले सन् १९५९ मा गरेको दाबीभन्दा पनि अझै अगाडि जान्छ । 

अहिले चिनियाँ सेनाले आफ्नो दाबी रहेको क्षेत्रमा सबै भारतीय गश्तीलाई रोकिदिएको छ । अहिले चिनियाँहरूले गरेको अतिक्रमण बार्गेनिङका लागि नभई यथास्थितिलाई स्थायी रूपमा पूर्ण परिवर्तन गर्न र नयाँ नियन्त्रण रेखा कोर्न गरिएको प्रयास हो । 

३. चिनियाँ जनमुक्ति सेनाले सुमदोरोङ चु, देप्साङ, चुमार र दोक्लममा देखाएको आक्रामकतामा एउटा कुरा साझा देखिन्छ । चिनियाँ सेना यी सबै स्थानमा आफैं आक्रामक भएको अनि भारतले त्यसमा जवाफ फर्काएको देखिन्छ । सुमदोरोङ चु र दोक्लममा भारतीयहरूले सक्रियता देखाएकाले चिनियाँहरू अघि बढ्न पाएनन् र यथास्थिति रह्यो । तर गलवानमा भारतीय सैनिकहरूले प्रतिक्रिया नै निकै ढिलो दिए । 

४. गलवान भिडन्तपछि भारतीय सेनालाई जे गर्न पनि छुट दिइएको बताइएको छ । यो राजनीतिक भाषणबाजी मात्र हो । अहिलेसम्म सेनालाई दिइएको आदेशअनुसार, सीमामा गोली चलाउन पाइने छैन । ‘गोली चल्यो कि युद्ध भड्कियो,’ राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका अध्यक्ष पीएस राघवनले बताए । अनि भारतीय सैनिकहरूलाई चिनियाँलाई उत्तेजित नबनाउन र आक्रमण भएमा मात्र प्रतिकार गर्न आदेश दिइएको छ । 

५. भारत युद्ध चाहँदैन । सन् १९६७ मा नाथु लामा गरिएको जस्तो सानो युद्ध पनि चाहँदैन । त्यसो त चीन पनि युद्ध चाहँदैन किनकि भारतीय भूमि अतिक्रमण गरेर उसले आफ्नो राजनीतिक अभीष्ट पूरा गरिसकेको छ । 

गलवानमा स्थानीय तवरले गरिएको कारवाहीको रणनीतिक परिणाम आउनेछ । पाकिस्तानविरुद्ध बालाकोटमा लिइएको प्रतिशोध जस्तो चीनसँग लिन भारतले सक्दैन । जस्तालाई त्यस्तै कारवाही गर्ने भन्ने कुराको मिति गुज्रिसकेको छ । 

६. त्यसैले भारतसँग कूटनीतिक र आर्थिक जवाफ फर्काउनुको विकल्प छैन । उसले चीनका केही सामान आयातमा निर्भरता घटाएर त्यसको शुरूआत गरिसकेको छ । गलवान जस्तो अर्को घटना भएमा भारतले थप कठोर उपाय अपनाउनेछ र त्यसले चीनलाई त चोट पुर्‍याउने नै छ, भारतलाई झनै बढी घाइते बनाउनेछ । 

यस घटनाले भारतको रक्षा मामिलालाई आधुनिकीकरण गराउन उत्प्रेरित गरेको छ । अहिले रक्षामा कम भारतले निकै कम खर्च गरिरहेको छ । 

द वायरमा प्रकाशित अशोक मेहताको विश्लेषण

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्