०३ साउन २०८३, आइतबार

मधेसी युवालाई प्रश्नः तपाईंहरू पूरै देशको नेतृत्व लिन तयार हुनुहुन्छ ?

कात्तिक २०, २०७४
मधेसी युवालाई प्रश्नः तपाईंहरू पूरै देशको नेतृत्व लिन तयार हुनुहुन्छ ?

सूचना प्रविधिको अभूतपूर्व विकासले २१ औं शताब्दीमा मानिसहरुलाई यसरी जोडेको छ कि, संसार नै एउटा ‘ग्लोबल भिलेज’ जस्तो बनिसकेको छ । तर केही सन्दर्भमा नेपालको सूचना प्रविधि र यसका प्रयोगकर्ताहरुले जोड्ने होइन, तोड्ने गतिमा काम गरिरहेका छन् ।

तपाईहरुलाई बिदेशी भूमिबाट पत्र लेख्दै गर्दा मेरो मन भावविह्वल भएको छ । सूचना प्रविधिमा बढीरहेको हाम्रो पहुँचले कतै हामिलाई अलग त गर्दैन भन्ने पिर हथौडा बनेर मेरो शीरमा बज्रीरहन्छ ।

युवा भनेको देशको शक्ति हो, पुँजी हो, लहलाउँदो खेत हो, जसबाट देशको समृद्धि उम्रीन सक्छ । युवाको पाखुराले देशलाई जुरुक्क उठाएर माथि पुर्याउन सक्छ, युवाको लातले गलत नजर लगाउनेहरुलाई पर धकेल्दिन सक्छ, युवाको आँखाले सयौं बर्षपछिको भविष्य देख्न सक्छ ।

‘देश साँच्चिकै समस्यामा छ’ भनेर मैले पत्रको शुरुवात गर्न चाहिन । देशको एउटा भुभाग अस्तब्यस्त छ भनेर पनि म भन्न चाहन्न । किनभने समग्र देश अस्तब्यस्त छ । कोहि कोहि साथीहरुले ‘तराईको समस्या कसरी समाधान होला ?’ भनेर प्रश्न गर्ने गर्दछन् । मैले भन्छु, ‘समस्या तराईको मात्र देख्ने आँखा नै एउटा समस्या हो, पहिला त्यसलाई हल गरौं ।’ समस्या तराई या मधेशमा मात्र होइन, देशमा छ ।

मेरा आँखाले देखेका दुईवटा सत्यहरु म पत्रमार्फत भन्न चाहन्छु, पहिलो सत्य– देशको नेतृत्व युवाले नलिएसम्म कुनै पनि समस्या समाधान हुँदैन । दोश्रो सत्य– देशको नेतृत्व मधेशी युवाहरुले लिने हो भने समाधान पछि कुनै समस्या जन्मिँदैन । नेता छोडौं, यिनीहरु सबै बिदेशी शक्तिका गुलामहरु हुन् । के तपाइँ पुरै नेपालको नेतृत्व लिन तयार हुनुहुन्छ ?

देश भित्र बिखण्डनका स्वरहरु उठेका छन् । त्यसका केहीकारणहरु पनि छन् । असमानुपातिक ढंगको बिकास, साम्प्रदायिक हेय, बिभेद जस्ता कुराहरुलाई बिखण्डनका आधार मानिएका छन् । छुट्टै देश बन्ने बित्तिकै सबै समस्याहरु समाधान हुन्छ भनेर भ्रमपूर्ण प्रचारबाजीहरु गरिएका छन् ।

त्यसको खण्डन पहाडमा बसेर गर्नै सकिँदैन । त्यसको खण्डन गर्न तपाईहरु आफै सक्षम हुनुहुन्छ । छुट्टै देश बनाउँछु भनेर हिँड्नेहरुलाई तपाईहरुले आफ्नो छातीमा हात राखेर भन्दिनुस् की, त्यो देश सार्वभौमसत्तासम्पन्न हुनै सक्दैन । उताबाट हुने भारतको हेपाई र दमनको साक्षी तपाइँहरु नै हो । उसले लात हान्दा पहिला तपाइँको छातिमा पर्छ । उसले गोली हान्दा गोलीले पहिला तपाइँकै छाती छेड्छ । तपाईहरु सीमाका स्वचालित पहरेदारहरु हो । हामी तपाईहरुले गरेको पहरेदारीकै कारणले नेपाली हौं भन्न पाएका छौं । वास्तवमा भन्ने हो भने हामी तपाईहरुप्रती नतमस्तक र आभारी छौं ।

तपाईहरुले सयौं बर्षसम्म, कहिले औलोसंग लडेर, कहिले बिषालु सर्पहरुबाट डसिएर, कहिले पारिको ज्यादती सहेर पनि आफ्ना फाँटहरुमा लहलाउँदो धान फलाउनुहुन्छ । युग बदलिएको छ, तपाईहरुले गरेको मेहेनेतको फल चाख्ने बेला हो यो, आउनुस संगै चाखौं । संगै लडौं यो परम्परागत राज्यसत्ता बिरुद्ध, सीमामा उखेलिएका जंगेपिल्लरहरु संगै गाड्न जाऔं । बिकास र समृद्धिका यात्राहरु संगै पार गरौं, एउटै झण्डामुनी बसेर बिबिधताको संरक्षण गरौं । तपाई गर्मी र मच्छर छल्न मेरो घर आउनुस, म जाडो छल्न तपाइँको घर आउँछु ।

मसंग यहाँ संगै काम गर्ने सिराहाको रामबाबु यादवले एकपटक भनेका थिए, ‘धोती लगाउनुस, यसले भेन्टिलेसनको काम गर्छ ।’ हामी संगै धोती लगाएर बाहिर निस्क्यौं । साँच्चिकै भेन्टिलेसनको काम गर्ने रहेछ । मेरो मनमा तत्कालै प्रश्न आयो, ‘यो धोतीको प्रयोगबाटै गरम र तातो बनेको नेपालको राजनीतिक हावा फ्याँकेर हिमाललाई स्पर्श गरेर आउने चिसो हावा देशैभरी फैलाउन किन ढिलाई गर्ने ?’

यी त भए आदर्शका कुराहरु । केहीब्यबहारिक कठिनाईहरु पनि छन् । तर त्यसको समाधान छुट्टै देशको परिकल्पना गरेर गर्नै सकिँदैन ।

राष्ट्रियता माथिको शंका पहिलो ब्यबहारिक कठिनाई हो । त्यस्ता केहीशंकाका स्वरहरु पहाडबाट उठेका छन् । म मेरो तर्फबाट त्यस्ता शंकाहरु निवारण गर्न कुनै कसर बाँकी छोडेको छैन । बिभेद बिरुद्ध बोल्दा होस या बिकासको असमान बितरण बिरुद्ध बोल्दा होस, मैले पनि यहाँ धेरै आक्षेप खेप्नु परेको छ । तर मलाई बिश्वास छ, तपाईहरुमाथी गर्ने गरिएका त्यस्ता शंकाहरु र भ्रमहरु चिर्न म सफल हुनेछु । यहाँ एक्लो म मात्र पनि छैन, लाखौं युवाहरुले तपाईंको राष्ट्रवाद र स्वाभिमानलाई सलाम गर्ने गरेका छन् ।

आउनुस् एउटा कुरामा प्रतिस्पर्धा गरौं, बिखण्डनको बारेमा फैलाइएको भ्रम तपाईले चिर्नुस, तपाईहरुको राष्ट्रबादमाथी गरिएको शंका म निवारण गर्छु । तपाईले छिटो गर्न सक्नुभयो भने म एउटा दौरासुरुवाल उपहार दिनेछु, मैले छिटो गरें भने मलाई एउटा धोती उपहार दिनुहोला । शर्त मन्जुर ?

शंका बाहेक दोश्रो व्यवहारिक समस्या छँदै छैन । परम्परागत रुपमा खाईपाई आएकाहरु माथी आर्थिक, राजनीतिक, सामाजिक र बैचारिक हस्तक्षेप गर्नको लागी हामिलाई कुनै भुगोलले छेक्दैन । म चाहन्छु, नेपालगंजमा उखु र केरा फलाउनको लागी नेपालगन्जमै योजना बन्नु पर्छ, इलाममा चिया उत्पादन बढाउनको लागी इलाममै योजना बन्नुपर्छ । मुस्ताङको पर्यटन बढाउनको लागी मुस्ताङीहरुले नै योजना बनाउन पाउनु पर्छ र लुम्बिनी दर्शन गर्न आउनेहरुको आतिथ्यता लुम्बिनीबासीहरुले नै गर्न पाउनुपर्छ ।

कुरा आर्थिक समृद्धिको हो, हामी समृद्ध भएको दिन या हामिलाई खान पुगिसकेपछी अरु देशलाई बाँड्न शुरु गरेको दिनदेखी तपाईको र मेरो बिचमा भ्रमको माध्यमबाट कोरिएको एउटा अदृश्य रेखा सँधैको लागी बिलाएर जानेछ । त्यो पाँच बर्षमै सम्भव छ, त्यसको लागी हामी मिल्नै पर्छ ।

आईफोनले अमेरिका चिनाउँछ, बिहेको लागि किनिने ‘विमल सुट’ले भारत चिनाउँछ । चीनको कुरै गर्नुपरेन । वाइनले फ्रान्स चिनाउँछ र पिज्जाले इटली । यी सबै मान्छेको पौरखले स्थापना गरिएका ब्राण्ड र पहिचानहरु हुन् ।

हामी चाहिँ हामिले गर्दै नगरेको कामलाई लिएर विश्वले चिनोस भन्ने चाहन्छौं । न बुद्ध हामीले जन्माएको हो, न सगरमाथामा चट्टान भरेको हामीले हो । हाम्रो नाम पछाडिको थर पनि हामिले बिरासतमै पाएका हौं तर बिडम्बना हामिले यी चीजहरुमा पहिचान खोज्छौं ।

हाम्रो पौरख भनेको जम्माजम्मी नौ महिनामा एउटा सरकार फेर्नु, दैनिक २ हजारको हाराहारीमा एयरपोर्ट छोड्नु, एकले अर्कालाई गाली गर्नु मात्र हो । आउनुस, सबै मिलेर समृद्धिको खाका कोरौं ।

यथार्थ भनुँ या बिडम्बना भनुँ, देशको राज्यशक्तिका श्रोतहरुलाई देशकै नागरिक बिरुद्धमा प्रयोग गर्ने गरिएको छ । त्यो रोक्न पनि हामिमा एकता चाहिन्छ । मलाई थाहा छ, राजबिराजमा भएको घटनाले मलाई बिक्षिप्त तुल्याएको छ, कंचनपुरमा भएको घटनाले तपाईहरुलाई पनि पक्कै संतप्त बनाएको छ । बाहिरी अराजकता र हस्तक्षेप रोक्ने उपाय पनि एकता नै हो । तब त हामिले एक अर्कालाई बिश्वास गर्ने आधार टुटिसकेको छैन, हामीले छुट्टिने कुरा सोच्नै सक्दैनौं भनेर मेरो आत्मविश्वासको सुई कहिले कहिले एकैचोटी माथी चढ्ने गर्छ ।

भ्रम छरेर सत्तामा रजाइँ गर्ने अहिलेका अकर्मण्य र बाँझा नेताहरुलाई सामुहिक बहिष्कार गर्न जरुरी छ । मलाई त लाग्छ, केपी ओली र प्रचण्डहरु तपाईका नेता हुन र राजेन्द्र महतो र उपेन्द्र यादवहरु पहाडी नेता हुन । त्यही भएर त एक अर्काको बढी गाली खाने गर्छन् । गाली गर्ने नै आफ्नालाई हो, सुध्रीहाल्छन् की भनेर । तर यिनीहरुको नालीबेली हेर्दा सुध्रने छाँट छैन । जनतामा सद्भाव बढेको देखे भने यिनिहरुलाई खपिनसक्नु भएको देखेको छु मैले पनि । त्यसकारण हामीले हाम्रो सद्भावलाई कायम राख्दै हातेमालो गरौं । ट्रम्पले आप्रवासी खेद्न खोजेजस्तै एकदिन नेपालको राजनीतिबाट बुढाखाडाहरु खेदिनेछन् ।

रामबाबु यादवलाई मैले कहिले कहिले भन्ने गर्छु, छुट्टीमा संगै घर जाने मेसो मिल्यो भने, एउटा थोत्रो जिप भाडामा लिएर धनगढी देखी काँकडभित्तासम्म उनीसँगै ‘ए दोस्ती हम नहीँ तोडेङ्गे’ बोलको गीत गुनगुनाउँदै यात्रा गर्ने रहर जागेको छ । मुस्ताङको मार्फा र नवलपरासीमा ‘श्री’ डिस्टिलरीबाट उत्पादन हुने पोकालाई मिसाएर ककटेल बनाएर पिउने रहर छ ।

उनले भन्छन्, ‘अझै आठ दश बर्ष पर्खीलिनुस् । बेटी जमुनियाको सादी वादी भैसकेपछी मलाई ऋणबाट मुक्ति मिलिहाल्छ ।’

म धैर्यताका साथ त्यो दिनको पर्खाइमा बस्नेछु ।

salt training

कमेन्ट गर्नुहोस्