‘तपाईंले जस्तो खाना खानुहुन्छ, तपाईंको स्वास्थ्य पनि त्यस्तै हुन्छ ।’ अहिले कोरोना महामारीको चक्रमा हामीहरू फसेका छौं । संक्रमित तथा मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ, जसका कारण हामीले चिन्ता, तनाव तथा असुरक्षा अनुभव गरेका छौं । कोरोनाभाइरसले हाम्रो रोगप्रतिरोधात्मक क्षमतालाई आक्रमण गर्दछ । जसको इम्युनिटी सिस्टम बलियो छ उसले कोरोना संक्रमणलाई सजिलोसँग जित्न सक्छ । जसको इम्युनिटी सिस्टम कमजोर छ त्यस्तो व्यक्ति गम्भीर बिरामी हुने तथा मृत्युको मुखमा पुग्ने सम्भावना धेरै हुन्छ ।
कोरोना संक्रमणले उत्पन्न बेरोजगारी, व्यवसायमा घाटा, घरमै कैद हुनुपर्ने अवस्था तथा हरेक व्यक्तिसँग डर मान्नुपर्ने परिस्थितिको कारण ठूलो जनसंख्यामा चिन्ता, तनाव, अनिद्रा, फ्रस्टेसन, डिप्रेसन लगायतका मनोसमस्या बढिरहेका छन् । यो अवस्थाबाट आफूलाई बलियो बनाउन खानाको पनि ठूलो महत्त्व हुन्छ ।
Advertisment
- स्वस्थ खाना जस्तै फलफूल, अन्न, माछा र अन्य प्रोटिनले तनाव तथा चिन्ता हटाउन मद्दत गर्छ । बिभिन्न रंगका फलफूल तथा सागसब्जी सेवनको इन्द्रेणीले धेरै किसिमका पोषण तत्व र फाइबर प्राप्त हुन्छ । त्यस्तै बदाम, काजु, छोडा आदिको सेवनले राम्रो पोषण प्राप्त हुन्छ । नियमित रूपमा दहीको सेवनले हाम्रो पेट तथा आन्द्रामा रोगसँग लड्नका लागि आवश्यक पर्ने ब्याक्टेरियाको उत्पादन हुन्छ । जैतुनको तेल अर्थात् ओलिभ आयलमा एन्टिअक्सिडेन्ट तथा सुन्निन कम गर्ने तत्व पाइन्छ । आलसको तेल, माछाको तेल वा मोटो माछाको सेवनले हाम्रो मूडलाई बुस्ट गर्दछ । दुध, मह तथा मरमसलाको सेवनले हाम्रो मष्तिस्कमा समेत सकारात्मक प्रभाव पार्दछ ।
- बेसारमा हुने Curcumin तत्वले पाचन प्रणालीको इकोसिस्टम सुधार गर्दछ । Curcumin ले खुशी उत्पन्न गर्ने सेरोटोनिन र डोपामिन हर्मोनलाई वृद्धि गर्दछ भने चिन्ता तथा तनाव उत्पन्न गर्ने Cortisol हर्मोनलाई घटाउँछ । मरीचमा पाइने Piperine भन्ने तत्वले बेसारमा पाइने तत्वलाई शरीरभित्र पुर्याउन मद्दत गर्दछ ।
- जंक फूड, प्रोसेस गरिएका खाना, चिनी लगायत गुलियो खाना, बोसोको सेवन तथा फ्राई गरेको खाना हानिकारक हुन्छन् ।
- अण्डा, माछा, कुरिलो, अश्वगन्धा, ब्रोकाउली, लौका, केराउ, भैंसीको दूध आदिले निद्रा लाग्ने हर्मोन मेलाटोनिन उत्पन्न गर्दछन् । साँझको खानामा अम्लेट र अन्नको सेवन गर्नाले मेलाटोनिन उत्पादन बढाउँछ जसले गर्दा राम्रो निद्रा लाग्दछ ।
- सिमि, बोडी, फलफूल तथा सागसब्जी, गेडागुडी, ओट, केरा, लसुन, प्याज, कुरिलो, बन्दा, गुन्द्रुक, मस्यौरा, फर्सी आदिको सेवनले हाम्रा मस्तिष्कका कोषलाई पोषण गर्दछन् तथा पेटमा लाभदायक ब्याक्टेरिया उत्पादन गर्न मद्दत गर्दछन् ।
- बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रक्रियालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण विस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।
- छिटो आराम महसूस गर्नका लागि नुनपानीको कुल्ला निकै प्रभावकारी हुन्छ । श्वासप्रश्वास मार्गमा रहेका म्युकस, पीप तथा अन्य तरल पदार्थले खोकी लाग्ने, घाँटी चिलाउने तथा सास फेर्न गाह्रो हुने हुन्छ । नुनपानीले संक्रामक किटाणु नष्ट गर्ने, मृत कोष तथा तरल पदार्थलाई निकाल्ने काम गर्दछ ।
- तातो चिया तथा कफी सेवनले मूड फ्रेस हुनुका साथै श्वासमार्गलाई क्लियर गर्ने काम गर्दछ । चिया तथा कफीमा पाइने क्याफिनले श्वासनलीलाई फराकिलो गर्ने औषधिले जस्तै काम गर्दछ, जसले गर्दा सास फेर्न सजिलो हुन्छ ।
- श्वासप्रश्वासको समस्या भएका व्यक्तिलाई पानी तथा अन्य झोलिलो पदार्थ नियमित सेवन गर्नाले शरीरमा आवश्यक पानीको मात्रा पूरा गर्दछ, यसले सुन्निने तथा फोक्सोमा पोल्ने प्रक्रियालाई निको गर्दछ । ताजा फलफूलको रस जस्तै सुन्तला, किवी, खर्बुजा आदि एन्टी अक्सिडेन्ट हुन्छन् जसले हाम्रा कोषलाई पुनर्ताजगी गर्छन् ।
- यार्सागुम्बा, शिलाजित, मोरिंगा ( शित्तल चिनी ), गानोडर्मा, गुच्छे च्याउ, जिन्सेन, जिंको बाइलोवा, गुर्जो लगायतका विशिष्ट पदार्थको सेवनले रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।
- मेथीको प्रयोगले निमोनिया लगायत छालाको रोगमा फाइदा हुन्छ । मेथीमा प्रसस्त फाइबर, म्याग्नेसियम, प्रोटिन तथा म्याग्निज हुन्छ । यसले श्वासप्रश्वासका रोग निको गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मेथीलाई तरकारीमा राखेर वा चियाको रूपमा वा भिजाएर काँचै खान पनि सकिन्छ, मेथीको साग झन् गुणकारी हुन्छ ।
- विभिन्न तरकारी, दाल, गेडागुडी तथा चियाकफीको सेवनले श्वासप्रश्वास सम्बन्धित समस्यामा निकै फाइदा गर्छ । यसले रुघा, खोकी, ज्वरो, छाती दुख्ने आदि समस्यामा फाइदा गर्छ । तातो तथा ताजा खाना संक्रमणरहित हुन्छ । तसर्थ प्रत्येक छाक ताजा र तातो खानु जरुरी छ ।
- हर्बल चियाले रोगको संसारसँग लड्न ठूलो मद्दत गर्दछ । निमोनिया, एलर्जी तथा बिभिन्न स्वाश्प्रश्वासका रोगहरू निको गर्न हर्बल चिया चामत्कारिक मानिन्छ । हर्बल चियाले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्दछ । यसले मन तथा मस्तिष्कलाई उर्जाशील बनाउँछ ।
- प्याज, लसुन, ज्वानो, मह, टिमुर, मरिच, दालचिनी, पुदिना, धनियाँ, बोझो आदिको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यी मसलाहरूमा स्वासप्रश्वास मार्गलाई खुकुलो तथा क्लियर बनाउँछन् । भाइरसविरुद्ध लड्ने इन्जाइम वृद्धि गर्दछन् ।
- शारीरिक तौल घटाउन वा स्वस्थ तौल कायम गर्नको लागि चिनी बन्द गर्ने, कार्बोहाइट्रेड कम गर्ने, रोटी खाने, प्रसस्त पानी पिउने, सोडा या मैदा नखाने, सोयाबिन आयल प्रयोग नगर्ने, मिठाइ नखाने, सफ्ट ड्रिंक र कोल्ड ड्रिंकको प्रयोग नगर्ने तथा राति हल्का खाना खानु स्वास्थ्यबर्द्धक हुन्छ । फलफूल, खिचडी, दूध, सलाद, ओट्स, उमालेको सब्जी तथा ग्रीन टीको नियमित सेवन गर्नाले मोटोपनाबाट उत्पन्न हुने रोगबाट बच्न सकिन्छ ।
- तातोपानीले दैनिक स्नान गर्नाले शरीरका छिद्रमा रहेका किटाणु नष्ट हुन्छन् । रोमकुपमा रहेको संक्रमण निको हुन्छ । साथै तातोपानीले भिजाएको टावेलले शरीर सफा गर्नाले शरीरको तापक्रम पनि सन्तुलित हुन्छ । स्नानपछि अनुभव हुने भावले मन प्रसन्न हुन्छ ।
- स्वाश्प्रश्वासको व्यायाम अर्थात् प्राणायामले नाक, मुख तथा घाँटीमा रहेको अवरोध हटाउँछन् । यसले इम्युनिटी पावर बढाउँछ । शरीरमा रहेका टक्सिन हटाउँछ, शरीरमा प्रचुर अक्सिजन आपूर्ति गर्छ, तनाव हटाउँछ, तौल घटाउँछ, पाचन शक्ति बढाउँछ, मुटुको रोगबाट बचाउँछ ।
- दैनिक ३० मिनेट घाम ताप्ने गर्दा छाला, कपाल, कपडा आदिमा भएका किटाणु नष्ट हुन्छन् । घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डीले हाड मजबुत बनाउँछ, इम्युनिटी पावर बढाउँछ ।
- पर्याप्त सुत्ने, पोषिलो खाना खाने, स्वस्थ वातावरणमा बस्ने, चुरोट नखाने लगायतका अभ्यासले श्वासप्रश्वासका रोग लाग्नबाट बचाउँछ ।
- Vitamin C, Vitamin D3, Vitamin E, Vitamin B12, Zinc, Amino Acid को सप्लिमेन्ट वा यी पाइने खानको सेवन गर्नाले कोरोना संक्रमणसँग लड्ने शक्ति प्राप्त हुन्छ । संक्रमितलाई छिटो निको हुन्छ ।
- अमला, कागती, किवी, डल्ले खुर्सानी, तेजपात, दालचिनी, तुलसीको पात, असुरोको पात, जाइफल, ज्वानो लगायतको नियमित सेवनले पनि कोरोना संक्रमणसँग लड्ने क्षमता वृद्धि हुन्छ ।
- रक्सी, चुरोट, सुर्ती, गुटखा आदिको सेवनले हाम्रो शरीरको इम्युनिटी सिस्टम कमजोर हुन्छ । जसले गर्दा कोरोना संक्रमित गम्भीर हुने जोखिम बढ्दछ ।
- मनतातो पानी तथा प्रोटिनयुक्त सुप (मसरुम सुप, चिकेन सुप, मटन सुप, सी फुड सुप ) को नियमित सेवन गर्नाले कुनै पनि संक्रमणसँग लड्ने स्टामिना प्राप्त हुन्छ ।
- पिज्जा, बर्गर, चाउमिन, दालमोठ, डोनट, चिप्स, चाउचाउ लगायतका खानाले तौल बढ्ने, नुनको मात्रा ज्यादा हुने भएकोले रक्तचाप बढ्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्छ, तसर्थ महामारीको समयमा घरेलु तथा अर्गानिक खाना नै सर्वोत्तम हुन्छ ।
- मौसम अनुसारका अन्न, फलफूल, तरकारी, दाल आदिको सेवनले प्रकृति र शरीरबीच सन्तुलन निर्माण गर्दछ । बेमौसमका तरकारी तथा फलफूलमा विषादी तथा अन्य रसायनको प्रयोग भएको हुन्छ । त्यसैले मौसमी खानामा ध्यान दिनु जरुरी छ ।
चिन्ता, तनाव, डर तथा अत्यासले रोगसँग लड्ने क्षमता घटाउँछ । योग, ध्यान, नाचगान, व्यायाम, हाँसोठट्टा, सकारात्मक सोच, आशावादी गुण तथा सधैँ खुसी हुने अभ्यास गर्यौं भने हाम्रो आत्मबल तथा रोग्प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
Advertisment