
कोरोनाभाइरस (कोभिड– १९)को महामारीका कारण अर्थतन्त्र स्थिर हुँदा बैंकिङ क्षेत्रमा पैसाको थुप्रो लागेको छ ।
अर्थतन्त्र चलायमान बनाउनका लागि आवश्यक अधिकांश काम बन्द हुँदा बैंकमा तरलता (लगानी योग्य पुँजी) बढेको हो ।
सरकारले कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनीकरणका लागि गत चैत ११ गतेदेखि हालसम्म विभिन्न किसिमका निषेधाज्ञा जारी गर्दै आएको छ ।
बीचको महिना असार र साउनमा केही मात्रामा निषेधाज्ञा खुकुलो भएपनि आर्थिक क्रियाकलाप नहुँदा बैंकमा पैसाको थुप्रो लागेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूमा अहिले २ खर्ब रुपैयाँ बराबरको तरलता छ ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहाल अहिलेसम्म यति धेरै तरलता भएको थाहा नभएको बताउँछन् ।
उनले लोकान्तरसँग भने, ‘यो हालसम्मकै धेरै तरलता हो । साउन महिनामा केही बढी हुने भएपनि यति धेरै भने अहिलेसम्म भएको थाहा थिएन ।’
गत आर्थिक वर्ष २०७६/७७ को साउन महिनामा बैंकमा करीब १ खर्ब रुपैयाँ तरलता थियो ।
अध्यक्ष दाहाल भन्छन्, ‘गत आर्थिक वर्षको साउनमा बैंकमा तरलता त थियो, तर त्यस अवधिमा अर्थतन्त्र चलायमान थियो भने लेनदेन पनि भइ नै रहेको थियो ।’
बैंकमा तरलता वृद्धि कहिलेसम्म हुन्छ भन्ने कुरा यकिन हुन सकेको छैन । बैंकहरूले महामारी नरोकिँदासम्म अवस्था उस्तै हुन सक्ने बताउन थालेका छन् ।
अर्थतन्त्र चलायमान नहुँदासम्म बैंकमा पैसाको थुप्रो लागिरहने देखिएको अध्यक्ष दाहालको भनाइ छ ।
उनी भन्छन्, ‘उद्योग कलकारखाना ठप्प छन्, अर्थतन्त्र स्थिर छ, यस्तो अवस्थामा बैंकबाट नगद प्रवाह हुने कुरै भएन ।’
तरलता बढ्दै गए के हुन्छ ?
बैंकमा तरलता बढ्नु भनेको लगानी योग्य पुँजी बढ्नु हो । अर्थात पैसाको थुप्रो लाग्नु हो ।
बैंकमा तरलता वृद्धि हुँदा बैंकलाई नोक्सान हुने बैंकर्स संघका अध्यक्ष दाहाल बताउँछन् ।
बैंकहरूले २ खर्ब निक्षेप संकलन गर्नका लागि औसतमा करीब ६ प्रतिशत खर्च बेहोर्नुपर्छ ।
उनले भने, ‘२ खर्ब रकम उठाउनका लागि औसत ६ प्रतिशत खर्च बैंकको पर्दछ । यो भनेको करीब १२ अर्ब हुन्छ, १२ अर्ब बैंकलाई वार्षिक रूपमा सिधै घाटा हुनेछ ।’
कसरी हुनसक्छ तरलता व्यवस्थापन ?
तरलता बढ्दै गएमा राष्ट्र बैंक र सरकारले लिन सक्दछन् ।
यस्तै राष्ट्र बैंकले नन डेलिभरेबल फर्वार्ड भन्ने अवधारणा छ, त्यसमा बैंकहरूलाई लगानी गर्ने सीमा ३० प्रतिशत व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले त्यो सीमा बढाइदिएमा समस्या हल हुने अध्यक्ष दाहालको भनाइ छ । उनी भन्छन्, ‘त्यो सीमा बढाइदिएमा राष्ट्र बैंकको खर्च नभइकन बैंकहरूको समस्या समाधान हुन्छ ।’
यसबारे राष्ट्र बैंकलाई सुझाव दिइएको उनले बताए ।
राष्ट्र बैंक भन्छ– 'अझै केही समय तरलता बढ्न सक्छ'
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अहिले बैंकमा २ खर्ब रुपैयाँ तरलता रहेको लोकान्तरलाई बताए ।
उनले भने, ‘अन्य कुराहरू त छँदैछन्, अर्थतन्त्र चलायमान नहुँदा बैंकमा पैसा थुप्रिएको हो ।’
अघिल्लो आर्थिक वर्षमा साउन, भदौमा सामान्य रूपमा तरलता वृद्धि हुने गरेको भएपनि अहिले यो बढी नै बढेको उनले बताए । उनले भने, ‘पहिलो त्रैमासमा सामान्य रूपमा तरलता वृद्धि हुन्थ्यो भने, पुस माघ, फागुनमा तरलतामा दबाब देखिन्थ्यो ।’
तरलता बढ्नुको मुख्य कारण आयात नबढ्नु भएको उनको भनाइ छ । ‘महामारीका कारण अहिले आयात बढ्न सकेको छैन, जसका कारण तरलता बढेको हो,’ उनले भने ।
यस्तै राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाइदिएको कारणले पनि तरलता देखिएको उनको भनाइ छ ।
‘पहिले सीआरआर ५ प्रतिशत, ६ प्रतिशत रहेको अवस्थामा तरलता कम देखिन्थ्यो अहिले घटाएर ३ प्रतिशतमा झारिएको छ, त्यसकारण तरलता बढ्न गयो,’ उनले भने ।
कर्जा विस्तार गर्न बैंकहरूलाई सहज होस्, कर्जाको व्याजदर कम होस् भन्नका लागि राष्ट्र बैंकले सीआरआर घटाएर आफैं तरलता बढाएको उनले बताए ।
उनले भने, ‘तीन वर्षअघि ६ प्रतिशत रहेको सीआरआर अहिले ३ प्रतिशतमा आएको छ, मानौं, त्यो ६ प्रतिशत भएको भए अहिले १ सय २० अर्ब अटोमेटिकल्ली घट्थ्यो ।’
कुनै न कुनै हिसाबले कर्जाको ब्याजदरमा दबाब नपरोस्, कर्जा विस्तारमा बैंकहरूलाई सहज होस् भनेर राष्ट्र बैंकले यस्तो गरेको उनको भनाइ छ ।
उनले अझै केही समय बैंकमा अधिक तरलता हुने बताए ।
‘सरकारले २ सय २५ अर्ब ऋण उठाउने बताएको छ, सरकारले ऋण उठाउन थाल्यो, आयात बढ्न थाल्यो भने यो विस्तारै घट्दै जान्छ,’ उनले भने ।