भारतलाई चीनले निकै कडा जवाफ फर्काउनेछ : ग्लोबल टाइम्स

भारतका रक्षामन्त्री राजनाथ सिंहले गलवान उपत्यकामा जुन १५ मा भएको भिडन्तमा चिनियाँ पक्षतर्फ ठूलै संख्यामा हताहती भएको भनी मंगलवार बयान दिए । यस्तो भाषा भारतका राष्ट्रवादी शक्तिहरूलाई उत्प्रेरित गर्नका लागि उपयोग गरिएको हो र यहाँ यसको पर्दाफास गरिनेछ ।

चिनियाँ पक्षको सूचना राख्ने मानिसहरूका अनुसार, उक्त भिडन्तमा ज्यान बलिदान दिने चिनियाँ सैनिकहरूको संख्या भारतीय सैनिकहरूको भन्दा निकै कम छ । त्यसमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो र तीमध्ये धेरैजसोले समयमा उपचार नपाएर घाइते तथा कठ्यांग्रिएको अवस्थामा ज्यान गुमाउनुपरेको थियो । तर एक मात्र चिनियाँ सैनिक मारिएका हुन् भने पनि त्यसलाई ठूलै क्षति मान्नुपर्छ । 


Advertisement

यस पंक्तिकारले थाहा पाएसम्म अग्रपंक्तिमा रहेका अधिकारी र चिनियाँ जनमुक्ति सेनाका जवानहरू बहादुर तथा एकजुट छन् । उनीहरूमध्ये धेरैजसो सन् १९९० वा २००० को दशकमा जन्मेका हुन् । अचानक भएको भिडन्तमा उनीहरूमध्ये कोही पनि डराएनन् । 

भारतीय सैनिकहरूले आफ्नो प्रतिज्ञा पूरा गरेनन् । भारतीय सैनिकहरूले सीमा पार गरेपछि चिनियाँ सेनाका केही अधिकारी र सैनिकहरू वार्ताका लागि जाँदा भारतीय सैनिकहरूले कुनै पनि चेतावनी नदिइकनै उनीहरूमाथि आक्रमण गरे अनि भिडन्त भयो । 


Advertisement

भिडन्त हुन थाल्दा शुरूमा चिनियाँ सैनिकको संख्या थोरै थियो तर उनीहरूले अन्तिम साससम्म लडे र कसैलाई पनि भारतीय सेनाले कब्जामा लिन सकेन । चिनियाँ सेनाले प्रत्याक्रमण गरेपछि चाहिँ भारतीय सैनिकहरू तितरबितर भए र तीमध्ये केही पहाडबाट गुल्टिएर नदीमा खसे । थुप्रै भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनासमक्ष आत्मसमर्पण गरे ।
 

पांगोङ त्सो तालमा भएको पछिल्लो भिडन्तमा भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनाको गतिविधिलाई रोकेको अनि अग्लो ठाउँमा कब्जा गरेर चिनियाँहरूमाथि ढुंगा प्रहार गर्दै रणनीतिक लाभ लिएको भनिँदैछ । यसको अर्थ हुन्छ, भारतीय सैनिकहरूले अवैध रूपमा सीमा पार गरे । 

तर मैले थाहा पाएसम्म, चिनियाँ जनमुक्ति सेनाका बहादुर सैनिकहरूले भारतीय धम्कीलाई बेवास्ता गर्दै उच्च भूभागबाट उनीहरूलाई भगाए । चिनियाँ सेनाले गतिरोध भएका विभिन्न स्थानमा रणनीतिक लाभ हासिल गरिसकेका छन् । 

त्यहाँको घटनाक्रमका बारेमा जानकारी राख्ने मानिसहरूले बताएअनुसार, अग्रपंक्तिमा रहेका चिनियाँ अधिकारी र सैनिकहरूमा उच्च हौसला छ । उनीहरूका सामु भारतीय सैनिकहरूको कुनै हैसियत छैन । 

यस वर्ष भएका भिडन्तले चिनियाँ भूमि हडप्न खोज्ने भारतीय सैनिकहरूको घमण्डलाई चकनाचुर बनाएको छ । यसले चिनियाँहरूको दृढनिश्चयलाई बुझ्न भारतलाई बाध्य बनाएको छ । चीन आफ्नो सार्वभौम भूभागलाई दह्रो गरी प्रतिरक्षा गर्न अडिग छ ।

चिनियाँ र भारतीय परराष्ट्रमन्त्रीहरूले अघिल्लो साता मस्कोमा पाँच बुँदे सहमति गरेका छन् । चीन–भारत सीमा समस्या समाधानका सन्दर्भमा यो कोशेढुंगा साबित होस् भन्ने आशा गरौं । तर यसका लागि भारतीय सरकार र समाजले शान्त भएर दुई देशको सम्बन्धका विषयमा तर्कसंगत सोच राख्नुपर्छ । भारतले सीमाको समस्यालाई बल्झाउन खोजेमा कुनै फाइदा हुने छैन, उल्टो अझै क्षति बेहोर्नुपर्नेछ । 

चिनियाँ जनमुक्ति सेनाको हौसलालाई भारतीय सेनासँग तुलना गर्नै मिल्दैन अनि भारतीय सेनाको हतियार र राष्ट्रिय शक्ति पनि चीनसँग तुल्य छैन । चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो पोजिसन दह्रो बनाएका छन् र उसको बन्दोबस्ती क्षमता अत्युच्च छ । 

चिनियाँ अधिकारी तथा सैनिकहरू तात्तातो खाना पाउँछन् । उनीहरूलाई त्यहाँ जाडो बिताउन कुनै समस्या छैन । भारतीय सेनाले नयाँ उत्तेजक गतिविधि गरेमा चिनियाँ जनमुक्ति सेनाले कठोर प्रत्याक्रमण गर्नेछ र भारतीय सैनिकहरूप्रति चीन लचिलो हुने छैन भन्ने चिनियाँ जनताको विश्वास छ । 

यसको अर्थ हुन्छ, भारतले सीमाका विषयमा हासिल गर्न खाजेको तर्करहित अभीष्टका लागि भारतीय सेना बार्गेनिङ चिप बन्ने छैन । सम्झौतामार्फत समस्या समाधान गर्नु दुवै पक्षका लागि सही काम हो तर भारतका लागि चाहिँ यो एक मात्र विकल्प हो । 

ग्लोबल टाइम्सका सम्पादक हु सिजिनको आलेख
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्