०८ साउन २०८३, शुक्रबार

कोरोना कहर : विदेशी घुम्ने पोखरामा आन्तरिक पर्यटककै भर

असोज २४, २०७७
कोरोना कहर : विदेशी घुम्ने पोखरामा आन्तरिक पर्यटककै भर

कोरोना प्रभावका कारण थलिएको पोखराको पर्यटन बिस्तारै जुर्मुराउने तयारीमा छ । बाह्य पर्यटक अभावमा पनि आन्तरिक पर्यटककोे भरमा पोखराका पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन् ।

सरकारले असोज १ गतेदेखि पर्यटन क्षेत्रका गतिविधि सञ्चालन अनुमति दिएसँगै पोखरा र आसपासमा पर्यटकीय गतिविधि चलायमान हुन थालेका पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आकर्षित गर्न पर्यटनसम्बद्ध केही संस्थाले टूर प्याकेज नै घोषणा गरेका छन् । 

पर्यटन क्षेत्रमा विशेषगरी होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ, साहसिक गतिविधि, पर्यटन सवारी लगायत पर्छन् । पोखराको समग्र पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ ।

संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्र कोरोना भाइरस महामारीका कारण विगत ८ महिनादेखि नराम्ररी प्रभावित बन्यो । यति ठूलो लगानी डुब्ने खतरामा रहेपछि पर्यटन व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आन्तरिक पर्यटककै भरमा आफ्ना गतिविधि बिस्तारै चलायमान बनाउन थालेका छन् । 

पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन भन्छन्, ‘कोरोनाको जोखिमबीच पर्याप्त मात्रामा होटलहरू सञ्चालनमा नआए पनि आंशिकरूपमा सञ्चालनमा आएका छन् । पर्यटनका अन्य क्षेत्रको तुलनामा होटलमा ठूलो आकारको लगानी हुने भएकाले आन्तरिक पर्यटकले मात्रै धान्न सक्दैन । विदेशी पर्यटककै भर पर्नुपर्ने हुन्छ । तैपनि सानो आकारमा भए पनि सेवा दिन थालिएको छ ।’ तुलाचनका अनुसार पोखराका करीब ३५–४० प्रतिशत होटलले सेवा दिन थालेका छन् । 

ट्रेकिङमा जान चाहनेका लागि विभिन्न गाउँपालिकाले कोरोना जोखिमका कारण समय तोक्दै तत्काल घुम्न अनुमति नदिने गरेको र अन्य गतिविधि सञ्चालन हुन नसक्दा आन्तरिक पर्यटकहरू पनि पर्याप्त मात्रामा आउन नसकेका उनी बताउँछन् । 

पोखराको आकाशमा गत असोज १५ गतेदेखि औपचारिक रूपमा प्याराग्लाइडिङ उड्न थालेका छन् । विगत ६ महिनादेखि स्थगित उडान केही समय कोभिड–१९ विरुद्ध आवश्यक सचेतना अपनाउन परीक्षण उडानपछि औपचारिक रूपमा उड्न थालेका छन् । हाल नेपाल हवाइ खेलकुद संस्था (ना) सँग करीब ६० कम्पनी छन् । तीमध्ये आधाजसोले मात्र उडान थालेका छन् । ना अध्यक्ष कृष्ण भण्डारीले अनुसार दैनिक करीब १०० वटा प्याराग्लाइडर पोखराको आकाशमा उड्ने गरेको जानकारी दिए । प्याराग्लाइडिङ उड्नेहरू सबैजसो नेपाली हुन् ।

गत ६ महिनासम्म प्याराग्लाइडिङ रोकिँदा सो अवधिमा प्याराग्लाइडिङ व्यवसायीले समग्रमा करीब ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको भण्डारीले बताए । प्याराग्लाइडिङमा हाल करीब १ हजार जना प्रत्यक्ष रूपमा रोजगाररत छन् । ना अध्यक्ष भण्डारी भन्छन्, ‘उडान शुरू भएपछि यसले बिस्तारै गति लिनेछ । हाललाई सञ्चालन खर्च मात्र उठ्ने गरेको छ ।’

पोखरादेखि नजिकै रहेको माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकको रोजाइमा पोखरा पर्ने गरेको छ । पोखरामा फेवाताल, बेगनास, रुपताल लगायत महेन्द्रगुफा, चमेरेगुफा, डेभिजफल, संग्रहालय, सेती नदी, विन्ध्यवासिनी मन्दिर, तालबाराही मन्दिर, सराङकोट, विश्वशान्ति स्तुपा मुख्य पर्यटकीय गन्तव्य हुन् । नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक २–४ दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको थियो ।

पोखरालाई मुख्य आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुनः हिल लगायतमा पदयात्रामा जाने पर्यटकले केही रात बिताउने गर्छन् । नेपाल भ्रमण वर्ष २०२० को लागि पनि ठूलो मात्रामा लगानी थपिएको थियो । नेपाल आउने करीब ४० प्रतिशत पर्यटन पोखरा नघुमी फर्किंदैनन् । अघिल्लो वर्ष करीब ५ लाख पर्यटकले पोखरा घुमेका थिए । 

कोरोना जोखिमबीच पोखराका होटलमा बस्न पूर्णतः सुरक्षित छन् भन्ने अनुभूति हुने गरी कर्मचारीलाई पनि विशेष तालिम दिइएको छ । पश्चिमाञ्चल होटल संघले नै यसअघि सुरक्षा कार्यविधि, डिजिटल मार्केटिङ, होटल सञ्चालन लगायतका विषयमा तालिम दिएको छ । गाडी र होटलमा स्यानिटाइज गर्ने, पर्यटकसँग गरिने व्यवहार, स्वास्थ्य सजगता लगायतका विषय सिकाइएको छ । 

केही होटलले आयस्रोतका लागि होटललाई क्वारेन्टीनको रूपमा पनि विकास गरेका छन् । पोखराको माउन्ट एभरेस्ट, ग्रेट पोखरा, फिस्टेल इन, होटल बाटिका, रोयल मण्डला, होटल डीलाइट इन, होटल स्वप्न बाग लगायत होटलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै क्वारेन्टीन सुविधा दिइएको छ । 

कोरोना संक्रमितलाई राख्नका लागि पोखराको रोयल पाम र स्टे पोखरालाई आइसोलेसन वार्डको रूपमा विकास गर्न पोखरा महानगरले तयारी थालेको जनाएको छ । नेपालमा शुक्रवारदेखि कोरोना संक्रमितको संख्या १ लाख पार भइसकेकोमा कास्कीमा भने हाल सक्रिय संक्रमितको संख्या ५०० हाराहारीमा मात्रै छ । काठमाडौं लगायत केही शहरको तुलनामा पोखरामा कोरोना संक्रमणको जोखिम केही कम रहेको पाइन्छ ।

विभिन्न सेवामा छुट प्याकेज

कोरोना महामारीबीच पर्यटन प्रवद्र्धन गर्न विभिन्न संघसंस्थाले विभिन्न प्याकेज ल्याउन थालेका छन् । नेपाल एशोशिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा र वरपरका गन्तव्य घुम्नको लागि कात्तिक १ गतेदेखि लागू हुने गरी सस्तो प्याकेज ल्याएको जनाएको छ  । 

नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा र वरपरका गन्तव्य कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन आफूहरूले सस्तो प्याकेज ल्याएको बताए । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि पर्यटन क्षेत्र चलायमान बनाउन भ्रमण प्याकेज ल्याइएको हो । उनका अनुसार त्यस्तो प्याकेजमा २ रात ३ दिन पोखरा घुम्नेदेखि यस आसपासका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा छुट दिइएको छ । पदयात्रा मार्ग, धार्मिकस्थल, शक्तिपीठलगायत धेरै पर्यटकीय गाउँ आगामी कात्तिक १ गतेदेखि खुलाउने सरकारको तयारी रहेकाले पनि आफूहरूले सो प्याकेज ल्याएको सिग्देल बताउँछन् । उनका अनुसार २ रात ३ दिन पोखरा घुम्ने प्याकेजमा प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँबाट शुरू हुन्छ । ३ रात ४ दिनको पोखरा–घान्द्रुक प्याकेज छ । जसमा पोखरा प्याकेजसहित प्रतिव्यक्ति ८ हजार १५० रुपैयाँमा थप १ रात कास्कीको पर्यटकीय गाउँ घान्द्रक बस्न पाइन्छ ।

अर्को हो – ४ रात ५ दिनको मुस्ताङ प्याकेज । यस प्याकेज रोज्नेले कम्तीमा २५ हजार ५०० रुपैयाँ खर्च गर्नुपर्छ । होटल, हवाइ कम्पनी लगायत पर्यटकीय क्षेत्रसँग मिलेर घोषित विभिन्न प्याकेजमा पर्यटकलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी घुमाइने छ । लामो समयको लकडाउन र निषेधाज्ञाले मानिस घरभित्रै थुनिएको अवस्था र दशैंतिहारलगायत ठूला चाडपर्वमा लामो समय बिदा पनि हुने भएकाले मानिस पर्यटकीय क्षेत्र घुम्न रुचाउँछन् । त्यसका लागि यो उत्तम अवसर हुनसक्ने नाट्टाको दाबी छ । 

यसैगरी पोखराका होटलले कोठामा करीब ५० प्रतिशत छुट व्यवस्था गरेको होटल संघ अध्यक्ष विकल तुलाचनले बताए । विभिन्न होटलले आफ्नो रुममा करीब ५० प्रतिशत, खानामा १५ प्रतिशत, स्पामा १० प्रतिशतसम्म छुट गरेको उनी बताउँछन् । उनले भने, ‘पोखराका सबै होटलहरू सञ्चालनमा नआइसकेको र होटलहरू विभिन्न आकारका हुँदा एकरूपता दिन गाह्रो भएकाले दशैंतिहारपछि संघले नै घोषणा गरेर छुट्टै प्याकेज ल्याउने छ ।’ उनका अनुसार हाललाई सञ्चालनमा आएका होटलले आफूखुशी सेवा दिएका छन् । यसले पोखरा घुम्न आउनेहरूको लागि थोरै राहत महसूस हुनेछ ।

पोखरामा हाल करीब ७०० जति होटल छन् । तीमध्ये ४०० पश्चिमाञ्चल होटल संघमा आबद्ध छन् । विभिन्न होटलमा एउटा कोठाको लागि कम्तीमा १ हजार ५०० देखि १० हजार रुपैयाँसम्म पर्छ । 

प्याराग्लाइडिङ उड्नेले विगतको तुलनामा हाल आधा शुल्कमै उड्न पाएका छन् । नेपाल हवाइ खेलकुद संस्था (ना) ले ५० प्रतिशतसम्म छुट व्यवस्था गरेको हो । संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार विदेशी र आन्तरिक पर्यटकको लागि क्रमशः ८ हजार ५०० र ७ हजार ५०० मध्ये उडानमा ५० प्रतिशत छुट गरिएको हो । 

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिअनुरुप सरकारले संघीय बजेटमा पर्यटन व्यवसायको पुनरुत्थानका लागि १ खर्बको पुनर्कर्जा तथा सञ्चालन खर्च तथा मजदुरको पारिश्रमिक भुक्तानीको लागि ५० अर्ब बराबरको ऋण प्याकेज दिन ढिलाइ भइसकेको पर्यटन व्यवसायीको गुनासो छ । उनीहरूले तत्काल पर्यटनको राहतस्वरुप घोषित सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्