०३ असार २०८३, बुधबार

कर्णालीको तनाव तीन दिनमै मत्थर, माधव नेपाल पक्षको पनि साथ पाउँदा मुख्यमन्त्रीलाई राहत !

असोज २७, २०७७
कर्णालीको तनाव तीन दिनमै मत्थर, माधव नेपाल पक्षको पनि साथ पाउँदा मुख्यमन्त्रीलाई राहत !

दिन दिनअघि सत्तारुढ नेकपाका १८ सांसदले संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि शुरू भएको तनाव कम हुने देखिएको छ ।

संसदीय दलको नेताकै हैसियतमा मुख्यमन्त्री शाही अल्पमतमा परेपछि सरकार ढल्नसक्ने अलड्कलबाजी पनि हुन थालेको थियो ।

यसबीचमा केन्द्रबाट नेताहरूलाई विवाद नबढाउन दबाब आइसकेको छ भने माधव नेपाल पक्षीय सांसदहरू ब्याक हटिसकेका छन् । माधव नेपाल पक्षमा ७ जना सांसद छन् ।

यसैगरी पूर्व माओवादी खेमाका १२ मध्ये ३ जनाले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए, उनीहरूलाई पनि ब्याक हटाउन पूर्व माओवादी पक्षले पहल गरिरहेको छ ।

सांसद अम्मरबहादुर थापाले आफूहरूले २/४ दिनपछि मात्र बैठक बोलाउन नेता यमलाल कंडेललाई आग्रह गरेको बताए ।

'सा‌ंसद चन्द्रबहादुर शाहीले नेता कंडेललाई २/४ दिनपछि मात्र बैठक राख्न आग्रह गर्नुभएको छ,' थापाले भने, 'अहिले नै बैठक बस्ने अवस्था छैन र सहमतिको विकल्प पनि छैन ।'

केन्द्रमा पनि यस्ता हस्ताक्षर अभियान चलिराख्ने भएकाले यसलाई अन्यथा लिइहाल्नु भने नपर्ने उनले बताए ।

पूर्व एमाले खेमाबाट माधव नेपालपक्षीय सांसदको साथ पाएपछि मुख्यमन्त्री शाही सुविधाजनक अवस्थामा पुगेका छन् ।

बरु हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता यमलाल कंडेल भने रक्षात्मक बनेका छन् ।

माधव नेपाल नेपाल पक्ष ब्याक हटिसकेको र पूर्व माओवादीका ३ सांसदको पनि भर नभएकाले हस्ताक्षरकर्ताहरू अल्पमतमा पर्ने देखिएको छ ।

तर, माधव नेपाल पक्षीय एक सांसद भने आफू हस्ताक्षरमा अडिग रहेको बताउँछन् । मृत्युशय्यामै जान परेपनि आफू पछाडि नहट्ने सांसद सुशील थापाले बताए ।

'मैले जुन उद्देश्यका साथ हस्ताक्षर गरेको हो, त्यहीअनुसार मेरो भूमिका रहन्छ,' उनले भने, 'म अहिले गुट वा उपगुट भन्ने पक्षमा छैन ।' उनी नेपाल पक्षीय सांसद हुन् ।

यता कंडेल पक्षीय सांसदहरू भने भावी रणनीति तय गर्नका लागि भेला भएका छन् ।​ कंडेलनिकट भनिएका सांसद धर्मराज रेग्मीलाई बारम्बार फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतकबाट हटाएको भनिएका गुलावजंग शाहले पनि फोन उठाएनन् ।

salt training

कमेन्ट गर्नुहोस्