०१ असार २०८३, सोमबार
कोरोना कहर

घातक ‘होम आइसोलेसन’ : अस्पतालमा छैनन् शय्या, घरमै धमाधम मृत्यु

कात्तिक ६, २०७७
घातक ‘होम आइसोलेसन’ : अस्पतालमा छैनन् शय्या, घरमै धमाधम मृत्यु

बुटवल उपमहानगरपालिकाका नायव सुब्बा नारायणप्रसाद ज्ञवाली कोरोना भाइरसविरुद्ध सन्देश प्रवाह गरिरहेका थिए । उनको फेसबूक प्रोफाइलमा नै ‘म घरमा बसेको छु, देशलाई संक्रमणबाट बचाउन मद्दत गर्नेछु’ भन्ने फोटो राखिएको थियो ।

असोज २८ गते कोरोना संक्रमण भएर बुटवल–८ का वडा सचिव समेत रहेका ४५ वर्षीय ज्ञवाली ‘कोरोनालाई घरमै बसेर जित्छु’ भनेर अस्पताल गएनन् । कात्तिक १ गते उनलाई एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । परिवारले हारगुहार गरेर अस्पताल लैजान खोज्दा कोरोनाको उपचार हुने बुटवलका सबै अस्पतालका शय्या भरिएका थिए ।

आईसीयूमा राख्नुपर्ने भए पनि ज्ञवालीले कोरोना अस्पतालमा शय्या नपाउँदा असोज १ गते साँझ छट्पटाउँदै मृत्युवरण गरे । अझै संयोग कस्तो रह्यो भने उनी कार्यरत उपमहानगरको सहकार्यमा कोरोना विशेष अस्पताल बनेको थियो तर उनले सोही अस्पतालमा उपचारका लागि शय्या नपाउँदा मृत्युवरण गर्नुपर्‍यो ।

‘स्वास्थ्यप्रति जिम्मेवार हुँदाहुँदा आफ्नै कर्मचारी गुमाउनुपर्‍यो,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ।

संक्रमण भएर होम आइसोलेसनमा बस्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ४७ वर्षीय पुरुषको बुधवार निधन भयो । १ हप्ताअघि संक्रमण पुष्टि भएर घरमै बस्दै आएका ती पुरुषको बुधवार बिहान निधन भएको छ । उनको शव तिलोत्तमा नगरपालिकाले व्यवस्थापन गरेको छ ।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका दाङको लमही नगरपालिकाका ४३ वर्षीय पुरूषको मंगलवार घरमै मृत्यु भयो । जन्डिसको उपचारका लागि काठमाडौं गएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो । घर (लमही) आएर पीसीआर गर्दा ती पुरुष र उनकी पत्नीलाई पनि संक्रमण देखियो । १ हप्तादेखि होम आइसोलेसनमा बसेका ती पुरूषको मृत्यु भयो भने पत्नीको अवस्था सामान्य छ ।

सोमवार साँझ कोरोना संक्रमण पुष्टि भएकी बुटवल–११ की ४१ वर्षीया महिलाको एकबिहानै निधन भयो । श्वासप्रश्वासमा समस्या र उच्च ज्वरोको लक्षण देखिएपछि ती महिलालाई राति नै बुटवलको कोरोना विशेष अस्पताल पुर्‍याइएपछि मंगलबार एकबिहानै मृत्यु भयो । 

पछिल्लो समय लक्षण सहितका संक्रमित ह्वात्तै बढेसँगै होम आइसोलेसनमा बस्दा खतरा देखिएको छ । सरकारले कोरोना पोजेटिभ देखिएका तर लक्षण नदेखिएकाहरू होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था ल्याएको छ । संक्रमण सबै क्षेत्रमा तीब्र रूपमा फैलिएपछि बिरामीका लागि घातक सावित भइरहेको छ । अस्पतालले संक्रमितबाट कोरोनाको उपचार खर्च लिन थालेपछि बिरामीहरू पीसीआर जाँच नगरी घरमै बस्ने वातावरण बन्दै जाँदा घरको बसाइ खतरापूर्ण हुने चिकित्सकको चेतावनी छ । 

पीसीआर पोजेटिभ देखिएपछि एक्कासि लक्षण देखिन सक्ने र रातभरमै स्थिति गम्भीर हुनसक्ने भएकाले सकेसम्म अस्पतालमै रहनुपर्ने भए पनि अस्पतालमा शय्या नहुँदा संक्रमित घरमै बस्न बाध्य छन् । 

लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. सागर न्यौपानेले महामारीको ‘पिक आवर’ आएकाले अबको अवस्था एकदमै खतरापूर्ण रहेको बताए । उनले भने, ‘संक्रमितले अस्पताल भरिएर जटिल केसहरूलाई राख्ने बेड छैनन् । घरमा चिकित्सकको निगरानी नपुग्दा अझै जोखिम बढ्यो । अब जोखिम अस्पतालसम्म नआउनेमा बढी भयो ।’

लुम्बिनी प्रदेशको मुख्य शहर बुटवल र नेपालगञ्जमा संक्रमत तीब्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना पनि गरिएको देखिँदैन । बजारमा बेपर्वाह भीडभाड छ ।

बुटवलको कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बजारको बेपर्वाह भीडभाड र सार्वजनिक गाडीमा समेत कुनै स्वास्थ्य सावधानी नअपनाइँदा संक्रमणले इटालीको जस्तै अवस्था निम्ताउन सक्ने देखिएको दाबी गरे । उनले भने, ‘अस्पताल जान बेड छैनन् । घरमा स्वास्थ्यकर्मीको निगरानी हुँदैन । रगतमा अक्सिजनको मात्रा घट्दै जाँदा संक्रमणले ग्रस्त नभएको व्यक्तिको पनि एक्कासि मृत्यु हुन्छ ।’ रुपन्देहीमा दैनिक २–३ जनाको संक्रमणबाट मृत्यु हुन थालेको छ । 

लुम्बिीमा संक्रमितको संख्या १५ हजार नजिक छ । संघीय सरकारले संक्रमितको उपचार गर्न नसक्ने बताए पनि लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने बताएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका कोरोना उपचारलाई बनाइएका ४ वटै अस्पतालमा निःशुल्क सेवा निरन्तर जारी रहने बताएका छन् । मुख्यमन्त्री पोखरेलले निःशुल्क उपचार हुने भनेपनि अस्पतालमा पर्याप्त शय्या नहुँदा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्