×

NMB BANK
NIC ASIA

बाल्यकालमा दशैं आउनु भनेको खुशीको इन्द्रेणी आउनु जस्तै लाग्थ्यो । त्यो बेला विदेश जानु भनेको लाहुर अर्थात् भारत जानु थियो । 

Muktinath Bank

भारतबाट टिनको बाकस बोकेर, नयाँ कपडा लगाएर तथा रेडियो घन्काउँदै आफन्त तथा छिमेकी आएको देख्दा लाग्थ्यो – आहा ! म पनि त्यस्तै हुन पाए त !
 
लाहुरबाट यो आयो, काठमाडौंबाट यो आयो, बटौली (बुटवल) बाट यो आयो .. भन्ने खबर गाउँका मुख्य खबर हुन्थे । मलाई लाहुर अर्थात् भारतबाट आएका आफन्तको घरमा गएर उनीहरूलाई सुन्ने तीब्र इच्छा लाग्थ्यो । हिन्दी र नेपाली मिसाएर भारतको वर्णन सुन्दा धेरैपटक भागेर लाहुर जाउँ कि भन्ने मनमा आइरहन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंको बेला मौसम पनि अत्यन्तै सुन्दर हुन्थ्यो । आकाशमा तालचराहरू हुलहुलमा उडिरहेका हुन्थे । बुवाले भन्नुहुन्थ्यो – ती तालचरा रुसको साइबेरियाबाट जाडो छल्न यता आएका हुन् ।


Advertisment
Nabil box
Kumari

दशैं संघारमा आउने बेलामा गाउँमा बाटो खन्ने चलन थियो । मलाई बाटो खन्न निकै रहर लाग्थ्यो । कोदालो बोकेर म मान्यजनसँग बाटो खन्न जान्थें । बाटोमा खाल्डा पुर्ने, ढुंगा मिलाउने तथा छेउकुना मिलाउने काम हुन्थ्यो । बाटो खन्ने दिन र समयको जानकारी अघिल्लो दिन कटालेले हाक हालेर थाहा हुन्थ्यो – साहेब हो, भोलि बिहान १० बजे बाटो खन्न सबै जना कलापोख्रा जम्मा हुनुहोस् साहेब हो !

Vianet communication
Laxmi Bank

दशैं आउनुअघि घर तथा आँगन सफा गर्ने एवं लिपपोत गर्ने प्रचलन थियो । म धेरै पटक आमासँग कमेरो लिन २ घण्टा टाढाको कमेरोखानी गएको छु । किशोर भाइ त धेरैपटक गएको थियो । बुल्मा भन्ने ठाउँबाट रातो माटो बोकेर स्थानीय मान्छेहरू गाउँ आउँथे । उनीहरूले रातोमाटो दिएर मही, अन्न आदि लैजाने चलन थियो । कहिलेकाहीँ मगमग बासना आउने बेलौती रखुब मिठो सख्खरखण्ड लिएर आउने गर्दथे ।

बुवासँग म र किशोर घरमा कमेरो (सेतो रंगको माटो) छ्याप्न तथा आमासँग बहिनीहरूले रातो माटो लिप्न उत्सुक हुन्थ्यौं । घरका भित्ताको माथिल्लो भागमा कमेरो र तल्लो भागमा रातो माटो लिपपोत गर्दा घर चिटिक्क परेको देखिन्थ्यो । त्यस्तै क्याम्पा र कौसीमा रंग लगाइन्थ्यो ।

दशैंको पूर्व सन्ध्यामा पिङ निकै खेलिन्थ्यो । जहाँ पिङ देखे पनि एकल वा दुकल रूपमा पिङमा मच्चिएर मुखले पात टिप्ने गर्थ्यौं । एक पटक स्वामीको रुखमा भाइ, म र अन्य साथी पिङ खेल्न गएका थियौं । म मच्चिएर मुखले समिका पात टिपिरहेको थिएँ । अचानक तल भूइँमा गोरु आएर चर्न लाग्यो । म पिङमा माथि अडिएर बस्ने सम्भव थिएन । पिङ तल जाँदा गोरुको टाउको वा ढाडमा बजारिने स्थिति आयो । त्यसपछि मैले मच्चिरहेको अवस्थामा बिस्तारै पिङको डोरीमा माथि–माथि समाउँदै पिङको टेकेको भाग छोडें । यसरी गोरुको ढाडमा पिङको टेक्ने ठाउँ बज्रियो, म भने डोरीको माथिल्लो भाग समाएर झुण्डिएको हुनाले बच्न सफल भएँ । त्यसपछि पिङ खेल्दा गाईगोरु नआउने ठाउँमा मात्र खेल्न थालें ।

दशैं आएपछि बोका तथा खसी काट्ने ठाउँमा जान खुब मन पर्थ्यो । खसी काट्ने घरमा रक्ति लगायतको भुटुवा बनाएर सालको पातको दुनोमा दिने गर्थे । त्यो खाँदा जिब्रो मात्र होइन, मनले समेत मिठो मान्थ्यो । घरमा मासु पकाएको बासना टाढादेखि आउँथ्यो । त्यति मात्र कहाँ हो र ? अनदीका चामल र कोपी ( फूलगोभी) पकाएको बासना बाटोबाट नै थाहा हुन्थ्यो ।

हाम्रो बारीमा सुन्तलाका सयौं रुख थिए । बेलौती ( अम्बा), कागती, अमिलो, रुखमै पाकेका केरा तथा अन्य मौसमी फलफूल निकै थिए । बारीको घाँसमा सुतेर रेडियोमा गीत सुन्दा कतिपटक सर्प आएर छेउमा लठ्ठ पर्दथे । सायद संगीतको कारण सर्प जम्मा हुन्थे । सर्प देख्दा सातोपुत्लो उड्थ्यो ।

सप्तमीसम्म त दशैंको रौनक मध्यम खालको हुन्थ्यो । अष्टमीदेखि भने हाम्रो खास दशैं आउँथ्यो । अष्टमीको दिन कालापोख्राको मन्दिरमा भाकल अनुरुप परेवा चढाउने, परेवा उडाउने, बोका काट्ने तथा पाडा काट्ने हुन्थ्यो । त्यो हेरेर घरमा जाँदा खाना पकाएको बासनाले मनै रंजित हुन्थ्यो ।

नवमीमा बिहानको खाना खाएपछि म, किशोर तथा अन्य साथीहरू धुर्कोट रजस्थलको टुप्पोमा अवस्थित कोट जान्थ्यौं । चांपारुख पुगेपछि थकाइ मार्न घाँसमा बस्थ्यौं अनि स्वयम्भुबाट काठमाडौं हेरेजस्तै हाम्रो गाउँ, स्कूल, मन्दिर आदि हेर्थ्यौं । थकाइ मार्ने क्रममा अन्य साथीसँग भेट हुन्थ्यो अनि ठूलो समूह बनाएर उकालो लाग्थ्यौं ।

कोटमा पुगेपछि टाढा टाढासम्मका गाउँ देखिन्थे । यो बस्तु, यो नयाँगाउँ, यो पिपल्धरा, यो भनभने, यो हाडहाडे, यो जैसीथोक, यता वाग्ला, यो खनदह भनेर हामीले दृष्टि पुर्‍याउँथ्यौं । कोटको वरिपरिका दुकान सबैभन्दा प्रिय स्थल हुन्थे । जुल्पी (जलेबी), गजा (मिठाइ), सिंगडा (समोसा), सेल, पकौडा आदि पकाइरहेका हुन्थे । बेलौती, सुन्तला, सख्खरखण्ड, बदाम, कटुस ... बेच्न राखेका हुन्थे । जेरी र सख्खरखण्ड खुब मिठो लाग्थ्यो । बुवाआमाले दिएको पैसा तथा अलिअलि बुवाको खल्तीबाट झिकेको पैसाले हाम्रो जिब्रोलाई स्वादिलो बनाउँथ्यो ।

नवमीको दिन कोटबाट देवता निकाल्ने प्रचलन थियो । एकछाक खाएर बसेका क्षेत्रीयहरूले हातमा खड्क, खुँडा, तरबार, खुकुरी लिएर जेठा देवता, माइला देवता, कान्छा देवता हुँदै अन्य देवता निकाले चलन थियो । ती देवतालाई फूल, अबिर, माला, पैसा र धजाले ढोग्ने परम्परा थियो । त्यसपछि पंचबलिको रूपमा राँगा, बोका, परेवा, कुभिन्डो तथा काँक्रो चढाउने लगायतका कार्यक्रम हुन्थ्यो ।

जेठो राँगो र कान्छो राँगो काट्ने चलन सनसनीपूर्ण हुन्थ्यो । एउटा गाउँको साहुले ठूला तथा बलिया राँगा किन्ने तथा अर्को गाउँको क्षेत्रीले ९ दिनसम्म घ्यू खाएर नवमीको दिन राँगा काट्ने परम्परा थियो । एकैपटक च्वाट्ट राँगो छिन्ने व्यक्तिको अबिर जात्रा हुन्थ्यो भने एकैपटक छिन्न नसकेमा धकेलाधकेल तथा कुटपिट पनि हुन सक्थ्यो । एकै चोटमा छिन्न नसक्नेलाई ९ दिनसम्म घ्यू खाएछस्, तेरा बाउको पिण्ड भन्दै खुब बेइज्जत गर्ने गर्दथे ।

भोलिपल्ट दशमीमा टीका लगाउने तयारी स्वरूप आमाले सेल, रोटी, पुरी, काँक्राको अचार आदिको तयारी गर्नुहुन्थ्यो भने बुवाले दक्षिणाको लागि ५, १०, २०, ५०, १०० रुपैयाँका नोट मिलाएर राख्नुहुन्थ्यो ।

दशमीको बिहान घरमा राखेको जमरा तथा टीका लिएर हामी कालिकास्थानको मन्दिरमा जान्थ्यौं । मन्दिरमा पूजा भएपछि मन्दिरको टीका, जमरा र हाम्रो टीका जमरा मिलाएर घरमा ल्याउँथ्यौं । टीकाको साइत आएपछि बुवाआमाले हामी ४ जना छोराछोरीलाई टीका तथा जमरा लगाइदिनुहुन्थ्यो । बहिनीलाई दक्षिणा दिनुहुन्थ्यो । त्यो बेला हामीलाई लाग्थ्यो – हामी छोरी भएर जन्मिएको भए हामीले पनि दक्षिणा पाउने थियौं । बुवाआमाको आशिर्वाद जीवनमार्ग लाग्थ्यो – ‘धेरै पढ्नु, सधै फर्स्ट हुनु, डाक्टर बन्नु, नाम कमाउनु, असल मान्छे बन्नु, निरोगी हुनु, दीर्घायु हुनु, बाटोमा कतै ठेस नलागोस्, खुट्टामा काढा नबिझोस् ... ।’

घरमा टीका लगाएपछि हामी जेठो बुवा तथा माइलो बुवाको घरमा जान्थ्यौं । त्यसपछि आफन्त, छिमेकी तथा सकेसम्म धेरै मान्यजनको घरमा जान्थ्यौं । आयु द्रोण सुते ... देखि धेरै आशिर्वाद सुनेर कर्तव्यबोध गर्थ्यौं । घरमा बुवाआमाको हातबाट टीका लगाउनेको भीड रातिसम्म हुन्थ्यो । १ दिन मात्र टीका लगाउने हाम्रो परम्परा भएकाले दशमीको दिन निकै धपेडी हुन्थ्यो । अर्घाखाँचीको बल्कोटदेखि इश्मासम्मबाट टीका लगाउन आफन्त आउनुहुन्थ्यो । इश्माका भिनाजुले हरेक दशैंमा ल्याउनुहुने कुरौनी र भूइँकटहर खुब मिठो लाग्थ्यो ।

एकादशीको दिन बिहानैदेखि गाउँमा बाजाको मिठो आवाज आउँथ्यो । एकादशीमा कालिकास्थानको मन्दिरमा राम (मेला) हुन्थ्यो । राम हेर्नको लागि टाढाटाढादेखि मान्छेहरू आउँथे । चौरको वरिपरि जुल्पी, गजा, सिंगडा पकाइरहेका हुन्थे । बेलौती, केरा आदि फलफूल बेचिरहेका हुन्थे । दमाहा, झ्याली, सहनाई, नरसिंहा, टेम्कुलो, ढोलक आदि बाजाको आवाजले मनका तारहरू समेत बजेको अनुभूति हुन्थ्यो । 

अपराह्नपछि धुर्कोटको सम्पदाको रूपमा रहेको सराएं नाच हुन्थ्यो । हातमा तरबार, खुकुरी, लठ्ठी, रुमालमध्ये जे हुन्छ, त्यही समाएर बाजाको तालमा ‘बाँचे आइसल् ... वाख्खई !’ भन्दै गोलाकार रूपमा सयौं जना नाच्ने परम्परा थियो । बुवा, म र भाइ पनि सराएं खेल्ने गर्थ्यौं । यो रौनकको बीच ‘राँगो आयो’ भन्दै हल्ला चल्थ्यो अनि त्यहाँ भागाभाग हुन्थ्यो ।

रक्सी खाएकाबीच झगडा पनि हुन्थ्यो । त्यतिबेला मलाई रक्सी खाएमा मान्छेसँग असाध्यै डर लाग्थ्यो । रक्सी खाने एकदम खराब हुन् भन्ने मनमा छाप परेको थियो ।

द्वादशीका दिन हामी बुल्म अवस्थित रामदल चौरमा हुने मेला हेर्न जान्थ्यौं । त्यहाँ पनि उस्तै मेला, उस्तै सराएं तथा उस्तै खाद्यान्न हुन्थे ्र मर्भुंग, अर्जे, इश्मा, घमिर, बस्तुदेखि राम हेर्न आउनेको भीड हुन्थ्यो । लोक गायक बमबहादुर कार्कीलाई हेर्ने तथा सुन्नेको भीड हुन्थ्यो । २–४ राउन्ड सराएं खेलेपछि हामी उकालो लाग्थ्यौं ।

तिरादशी अर्थात् त्रयोदशीमा हामीहरू डाँडाको राम हेर्न जान्थ्यौं । कोरापानी, कोट, नयाँगाउँ, पिपलधारा आदिबाट मेला तथा सराएं हेर्न धेरै मान्छे आउने गर्दथे । खानेकुराको भेराइटी पनि त्यहाँ धेरै हुन्थ्यो । साँझ पर्ने बेलासम्म सराएं खेलेर हामीहरू जुनेली रातको उज्यालोमा घर फर्किने गर्थ्यौं । डाँडाको राममा झगडा तथा कुटपिटका घटना धेरै हुन्थे । खास गरेर मसालका नेता बिनबहादुर कुँवर र कांग्रेसका स्थानीय नेता र कार्यकर्तामध्ये जसले सक्छ, अर्को पक्षलाई आक्रमण गर्दथे । बिनबहादुरले साइकलको चेन कम्मरमा बाँधेर हिँड्छ रे ! बिनबहादुरले साइकलको चेनले हानेर भीरबाट हाम फालेर कोदो बारीमा लुक्यो रे ... जस्ता धेरै किम्बदन्ती सुन्न पाइन्थ्यो । त्यो बेला बिनबहादुर कुँवर डरलाग्दो बिम्बको रूपमा स्थापित भएका थिए ।

चतुर्दशीको दिन घरमै बसिन्थ्यो । पालुखामा राम त हुन्थ्यो तर हामी त्यहाँ गएनौं ।

पुन्यु अर्थात् पूर्णिमाको दिन सबैभन्दा धेरै रौनक हुन्थ्यो । एउटा पूर्णिमामा म र भाइ किशोर अर्जेको राम हेर्न गएका थियौं । अरु वर्षहरूमा धुर्कोटको रजस्थलस्थित कोटमा जान्थ्यौं । कोटमा राम हेर्न गुल्मी मात्र होइन, बागलुङ, प्युठान र अर्घाखाँचीदेखि मान्छेहरू आउँथे । धुर्कोटको सराएं त्यति लोकप्रिय थियो । कोटको मैदान मात्र होइन, वरिपरिका बारी तथाढिकमा समेत भीड हुन्थ्यो । त्यहाँ पहिले तुरी हुन्थ्यो । त्यहाँ खेलिने तुरीको विशेष आकर्षण हुन्थ्यो । गन्धर्व परिवारमा बाउछोराले भनेको तुरी (दोहोरी जस्तो) सुन्न ठूलो भीड लाग्थ्यो । तुरी खेल्ने बाउछोराले दौरा सुरुवाल, कोट, टोपी तथा दुबोको माला लगाएका हुन्थे । प्रत्येक भनाइपछि बाजा बजाउने चलन थियो । तुरिको दोहोरी यस्तो हुन्थ्यो –

बाउ – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो छोरालाई देखें मैले कुती खोलाको भूत जस्तो ।

छोरा – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो बाउलाई देखें मैले भीरमा हिँड्ने स्याल जस्तो ।

बाउ – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो छोरालाई देखें मैले झिक्रामा बसेको छेपारो जस्तो ।

छोरा – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो बाउलाई देखें मैले रुखमा चढेको ढेदुवा जस्तो ।

बाउ – तुरीखेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो छोरालाई देखें पूर्णिमाको जुन जस्तो ।

छोरा – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो बाउलाई देखें मैले उदाएका सूर्य जस्तो ।

यसरी शुरूका २ राउन्डमा आरोप–प्रत्यारोप हुन्थ्यो भने अन्त्यमा एकअर्काको प्रशंसा गरेर तथा छोराले बुवालाई ढोगेर तुरी नाच सकिन्थ्यो ।

त्यसपछि पट्टा नाच शुरू हुन्थ्यो । देब्रे हातमा ढाल र दाहिने हातमा रुमाल समाएका २ जनामध्ये रुमाल समाएकोले आक्रमण गर्ने तथा ढाल समाएकोले बच्ने दाउ खेल्दथे । झुक्याएर रुमालले टाउकोमा हानेपछि जित्यो भनेर बढाइ गरिन्थ्यो । प्राचीनकालमा खुकुरी र ढालले खेलिने पट्टा नाच युद्धको अभ्यास हो ।

पट्टापछि छ्यौंली शुरू हुन्थ्यो । ढाल, तरबार, खुँडा, खुकुरी आदि हतियार लिएर ५–६ वटा घेरा बनाएर बिस्तारै बाजाको तालमा दाइँमा गोरु घुमेझैं नाच्ने गर्दथे । सबैभन्दा भित्रि घेरामा बुढा तथा भद्र भलादमी हुन्थे । बाजाको ताल छिटो हुँदै जाँदा उनीहरू पनि हो! हो! हो! हो! भन्दै दौडिने गर्थे । यो चक्र ३ पटक चल्थ्यो ।

त्यसपछि प्रमुख आकर्षणको रूपमा रहेको सराएं नाच लामो समयसम्म चल्थ्यो । हातमा हतियार, लठ्ठी, टर्च लाइट, रुमाल आदि बोकेर ‘खेल, भाइ हो ... बाँचे आइसल ... वाख्खई ...’ भन्दै बाजाको तालमा सराएं खेल्दथे । मैले पनि हरेक वर्ष खेल्ने गरेको थिएँ । बिस्तारै आनन्दको नाच, पंचेबाजाको मिठास, दर्शकको भीडभाड तथा नयाँ कपडा लगाएका मान्छेहरू ... गजबको हुन्थ्यो धुर्कोटको सराएं ।

त्यो बेला गरिब परिवारमा दशैंमा मात्र मासु भात खाने चलन थियो । दशैंमा नयाँ कपडा सिलाउने परम्परा थियो । नयाँ कपडा लगाउँदा धेरै दिनसम्म कपडाको बासना आउँथ्यो । खानपिन, कपडा, दक्षिणा आदिको कारण दशैं धेरैको लागि दशा साबित हुन्थ्यो ।

जब दशैं आउँछ, मेरो मानसपटलमा बाल्यकालका स्मृति चलचित्रझैं घुमिरहन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x