२७ जेठ २०८३, बुधबार
परिकार

गैरनेवारले किन नखाने योमरी ? जाडोमा उत्तम र स्वास्थ्यवर्द्धक परिकार

पुस १८, २०७७
गैरनेवारले किन नखाने योमरी ? जाडोमा उत्तम र स्वास्थ्यवर्द्धक परिकार

योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो । तर अहिले गैरनेवारहरूले पनि योमरी मन पराउन थालेका छन् ।

जाडो महिनामा यो खानाको ज्यादा माग हुने गर्छ । योमरी चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो ।

हेर्नमा निकै आकर्षक देखिने रोटी स्टिम गरेर पकाइने हुनाले स्वास्थ्यका हिसाबले पनि फाइदाजनक मानिन्छ । धन्य पूर्णिमाका दिन नेवार समुदायले ‘योमरी पुण्ही’ चाड मनाउँछन् । 

धान भित्र्याइसके बित्तिकै ‘योमरी पुण्ही’ चाड शुरू हुन्छ । नेवारी भाषामा योमरीको अर्थ मन पर्ने स्वादिष्ट रोटी भन्ने बुझिन्छ । योमरीलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन नेपाल पर्यटन बोर्डले प्रकाशनमा ल्याएको  नेपाली ‘अथेन्टिक कुजिन’ पुस्तकमा पनि योमरीलाई नेपालको एक प्रमुख डेजर्टका रूपमा समावेश गरिएको छ । योमरी अहिले आएर नेवारी समुदायमा मात्र नभएर सर्वत्र लोकप्रिय हुँदै गएको छ ।   

योमरी कसरी बनाइन्छ ?

सामग्रीः चामलको पिठो, ४०० ग्राम, मैदा १०० ग्राम (अतिरिक्त), मोलासिस अर्थात् चाकु २०० ग्राम, भुटेको तिल ३ चम्चा, काजु वा बदाम १५० ग्राम, नरिवल १२० ग्राम, तेल २ चम्चा, पानी आवश्यकता अनुसार

विधिः चामल र मैदाको मिठोलाई हल्का मन तातो पानीमा मुछेर एक ठाउँमा राख्नुस् र केहीबेर आराम गर्न दिनुस् । अर्कोतर्फ काजु, नरिवल, तिल सम्पूर्ण सामग्रीलाई चप वा ग्रेट गरेर तयारी अवस्थामा राख्नुस् । एउटा सस प्यान तताउनुस् र चाकुलाई पगालेर चप गरेको ड्राइ फूडलाई मिसाउनुस् र तिल हालेर चलाउनुस् ।

मिक्चर तयार भएपछि एउटा कचौरामा सुरक्षित राख्नुस् र धमाधम हातमा तेल लगाएर माछाको आकारका मिक्चर भरेर योमरी बनाउनुस् । सम्पूर्ण योमरी बनाउन सकिएपछि मःमको भाडो वा राउस कुकरको जालीमा स्टिम दिएर पकाउन सक्नुहुन्छ । 

मिठो गोलभेडा पोलेर बनाएको चटपटा र पिरो अचारसँग योमरी सर्भ गर्न सकिन्छ । योमरी चाकुमा जस्तै खुवा भरेर पनि बनाउन सकिन्छ । 

जाडोमा योमरी खादा के फाइदा ?

– शरीरमा तापक्रम बृद्धि हुन्छ ।
– गर्भवती महिलाका लागि उत्तम भोजन ।
– बाफमा पकाउने हुँदा स्वास्थ्यबद्र्धक, कुनै अधिक चिल्लो नहुने ।
– योमरीले कोल्ड फ्लुबाट बचाउन मद्दत पुर्‍याउँछ । 
– बुढा वा बच्चा सबैलाई उत्तम भोजन । 
– योमरीको भित्र ड्राइ नट भरेको हुनाले ड्राइ नटस् स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
– धार्मिक हिसाबले पनि निकै महत्त्व बोकेको योमरी, बच्चा जन्मँदा र चौरासी गर्दा पनि प्रयोग गरिन्छ । 
– चाकुले शरीरमा तापक्रम बृद्धि गर्ने हुनाले जाडो महिनामा खुब प्रयोग गरिन्छ । घ्यू चाकु भात पनि जाडो महिनामा खुब लोकप्रिय खाना मानिन्छ । 
– तिलको दानाले पनि स्वस्थ्यका लागि कयौं फाइदा बोकेको हुनाले योमरीमा तिल भरेकाले धेरै फाइदा मानिन्छ ।  

योमरीमा पाइने वास्तविक पोषण 

साधारणतया एउटा योमरीमा ११५ क्यालोरी हुन्छ र २२ ग्राम कार्बोहाइडेड, १ ग्राम चिल्लो र २ ग्राम प्रोटिन रहन्छ । प्रतिशतका हिसाबले ७७%  कार्बोहाइडेड, ८% चिल्लो र ७% प्रोटिन हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्