कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
जीवनको तात्पर्य नबुझेको अर्थात् जन्मको अर्थ नबुझेको मान्छेसँग जिन्दगीको दैनिक र नियमित कार्यसूची हुँदैन । जसले आफ्नो जन्मको माने बुझ्छ, उसको सूत्रबद्ध क्यालेन्डर हुन्छ र उ त्यही अनुरूप चल्छ ।
लोभ र आशक्तिभन्दा माथि उठेको जीवन चरित्र हुन्छ । अक्सर यस्ता मान्छे सन्त वा दार्शनिक हुन्छन् । तर यस्तो उन्नत चेतना भएका कतिपय मान्छे राजनीतिमा पनि हुन्छन् ।
तिनैमध्ये कोही मण्डेला बन्छन्, कोही गान्धी र कोही बीपी । पिता पुर्खा, आफ्नो जातीय समुदाय वा आफैंले अरुबाट भोगेको प्रताडना वा उपेक्षाको पृष्ठभूमिमा पनि कतिपय पात्रहरू पैदा हुन्छन् र ती पात्रले आफ्नो भोगाइ, समाजमा व्याप्त उत्पीडन र शासन प्रणालीले थोपरेको विभेदलाई अन्त्य गर्न सम्पूर्ण जीवन समर्पित गर्दछन् र सफलता समेत पाउँछन् ।
कतिपय पात्र भने मानव सभ्यताको कलंक हिटलर, स्टालिन, पोलपोट र मुगावे आदि बन्छन् । विकृत मानसिकता र अपरिमित कुण्ठा बोकेर समाज व्यवस्था र समग्र मानव जातिको विरुद्धमा आफूलाई प्राप्त अवसरको चरम दुरुपयोग गर्छन् । यस्ता छद्मभेषी पात्र संसारभर पाइन्छन् ।
मानव समाजले यस्ता पात्रको दुर्व्यवहार सदियौंदेखि झेल्दै आएको छ । थाहा छैन, अझै कति झेल्नुपर्ने हो ?
यतिबेला समग्र नेपाल अथाह पीडामा छ । देशको मूल कानूनलाई क्षतविक्षत बनाएर मुलुकलाई विधिविहीनतातर्फ धकेल्ने प्रयत्न भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको मुहार बदलिएला र जनताले सुख पाउँलान् भन्ने आशामा बज्रपात भएको छ ।
नागरिक विवेक र चेतनालाई बन्धक बनाएर आफूखुशी शासन चलाउने अलोकतान्त्रिक प्रवृत्तिले शिर उठाउन खोजेको छ । नत्र शान्तिपूर्ण असहमति राख्न सडकमा ओर्लिएको प्रबुद्ध जमातमाथि पानीको फोहरा र लाठी बज्रँदैन्थ्यो । यो प्रवृत्ति नवपञ्चायती प्रवृत्ति हो ।
२०४६ साल र २०६२/६३ सालको जनआन्दोलनमा लाठी, अश्रुग्यास र पानीको फोहरा खाएको जमात आज फेरि त्यही नियति झेल्न बाध्य छ । यसको मतलब राजनीतिक प्रणालीले मात्रै काँचुली फेरेको रहेछ, प्रणाली चलाउने पात्रको चरित्र र प्रवृत्ति त उस्तै रहेछ । आफूसँग असहमति राख्नेहरूप्रति राज्यले गर्ने व्यवहार उस्तै भएपछि नयाँ तन्त्रको औचित्यमा प्रश्न उठ्छ कि उठ्दैन ?
यसको सिधा कारण नयाँ प्रणाली गलत र सर्वाधिक गलत पात्रको हातमा छ अर्थात् लोकतन्त्रको लगाम छद्मभेषी पात्रले समाएको छ र यस्ता पात्र नेपाली राजनीतिमा बग्रेल्ती छन् । राज्यको सबै तहमा यस्तै प्रवृत्तिको बोलावाला छ ।
संसारको मानचित्रमा रहेका विभिन्न देशहरू मध्येका आधाभन्दा बढी देशहरू अझैसम्म गरीबीको दुष्चक्रमा छन् । यसको कारण त्यहाँको राजनीति धुर्त र स्वार्थी राजनीतिज्ञहरूको फन्दामा पर्यो । अफ्रिकी, दक्षिण अमेरिकी र एसियाली देशहरूमा यो प्रवृत्तिले राजनीतिमा प्रभूत्व जमाउन पुग्यो । जनता र देशको नाममा राजनीति गरेका राजनीतिज्ञले आफ्नो जीवन मात्र बदले । हरेक निर्वाचनमा जनता अल्मल्याउन आकर्षक नारा र गुलियो आश्वासनबाहेक सत्तासीन दलहरूको कुनै कार्यसूची थिएन ।
चुनावी घोषणा पत्रमा उल्लेख भएका वाचा बन्धन देखाउने दाँत मात्रै भयो । राजनीति यति फोहोरी भयो कि विभिन्न कालखण्डमा पैदा भएका होनहार राजनीतिज्ञहरू एक्लो बृहस्पति साबित भए । आधुनिक नेपाल यस्तै दुष्चक्रको शिकार हुँदै आजसम्म घिस्रिरहेको छ । यसको एउटै मात्र कारण बेइमान राजनीतिज्ञ हुन्, जसमा राजा, राणा र राजनीतिक दल सबै पर्छन् । जनताबाट बारम्बार अवसर पाउँदा समेत निहीत स्वार्थमा मात्र केन्द्रित भएका यी सबै तागत सत्ताच्युत भएपछि गुलियो कुरा गर्न निकै माहिर छन् । नक्कली कुराले आफ्नो अयोग्यता ढाकछोप गर्ने कला यी सबैलाई राम्रोसँग थाहा छ । आफूबाहेक अरु सबैलाई खराब चित्रण गर्न सक्ने अद्भुत क्षमता छ । योबाहेक उनीहरूसँग कुनै पनि योग्यता छैन ।
नेपाल अहिले यस्तै पात्रको जञ्जालमा परेको छ । यस सन्दर्भमा एउटा प्रसंगको चर्चा गर्नु उपयुुक्त हुनेछ । केही दिनअघि पठन संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले एउटा सार्वजनिक समारोहको आयोजना गरिएको थियो । समारोहमा राजनीतिक दलकै हर्ताकर्ता मुख्य अतिथि थिए । कार्यक्रम छरितो थियो । आयोजकहरू वर्तमान प्रधानमन्त्रीको प्रभावका जस्ता लाग्दथे । देखिनका लागि स्वतन्त्र देखिए पनि वर्तमान सत्ताको तावेदारीले यस्तै कुरा दर्शाउँथ्यो । वक्ता धेरै थिएनन् तर मूल वक्ताको कुरा हाँसो उठ्दो थियो । उनले विषयवस्तुभन्दा प्रधानमन्त्रीको प्रशस्ती गाउनुलाई श्रेयस्कार ठाने र नेपालमा उनको शासन अभूतपूर्व रहेको चर्चा गर्दै केही समयमै नेपालले काँचुली फेर्न कुरा गरे ।
राज्यको उपल्लो तहका जिम्मेवार व्यक्तिको कुरा सुन्दा त्यहाँ सहभागी युवालाई पक्कै पनि निकै उदेक लाग्यो होला । कार्यक्रमको विषयवस्तुलाई प्रोत्साहित गर्दै नेपाली समाजमा पठन संस्कृतिलाई कसरी बढावा दिने भन्नेमा जोड दिनु आमन्त्रित वक्ताको कर्तव्य हुन्थ्यो तर त्यसो भएन । कारण आज नेपालमा सबैभन्दा बढी राजनीतिक क्षेत्रमा भएका व्यक्तिलाई पढाउनुपर्ने आवश्यकता देखिन्छ । उनीहरूलाई पढाउने मात्रै होइन, पढेको कुरा मनन गर्ने र त्यसको इमान्दार पालना गर्ने बनाउनुपर्ने आवश्यकता टड्कारो छ । यो कुरा नेपालका प्रधानमन्त्रीसँग समेत गएर जोडिन पुग्छ । किनकि प्रधानमन्त्रीले आफू स्वयंले लेखेको कुरा पढेनन् र पढे पनि मनन् गरेनन् । योभन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ?
नेपालको संविधान २०७२ मा लेखिएको कुरा अर्थात् प्रतिनिधि सभाको बिघटनको बाध्यकारी विकल्पको प्रयोग गर्ने सुविधा वर्तमान प्रधानमन्त्रीसँग नभएको कुरा स्वयं प्रधानमन्त्रीले पढेनन् र अक्षरमा आँखा दौडाए पनि मनन पटक्कै गरेनन् । त्यसैले नेपाल अहिले राजनीतिक अन्यौलतर्फ अग्रसर हुँदैछ । यति मात्र होइन, बेला न कुबेला नेपाली नागरिकलाई जीवन र जगतका अनेक आयाममा थरिथरिका प्रवचन र उपदेश दिने प्रधानमन्त्रीले बुझ्नुपर्थ्यो कि उपदेशकले नै सर्वप्रथम यी कुराको परिपालना गर्नु पर्दछ । हामी सबैलाई के कुरा राम्रोसँग थाहा छ भने लोकतन्त्रको प्राण विधिको परिपालनामा अडेको हुन्छ र यसको प्रथम पालनकर्ता स्वयं कार्यकारी प्रमुख हो ।
राजनीतिमा कतिपय मान्छेलाई लाग्न सक्छ कि २–४ पटक चुनाव जितेपछि पक्का नेता भइहालिन्छ । राज्यका २–४ ओहोदामा पुगेपछि त झन् राजनेता नै भइन्छ । योभन्दा ठूलो भ्रम अर्को हुन सक्दैन । जनताले राम्रोसँग नचिनेर चुनाव जिताएका पनि हुन सक्छन्, नत्र ठूलो ओहदामा पुगेको व्यक्तिको तस्वीर देख्दा जनताले किन धारे हात लगाउँछन् त ? टेलिभिजनमा अनुहार आउँदा किन च्यानल बन्द गर्छन् त ? यो आजको पेचिलो प्रश्न हो । नेपालको पछिल्लो राजनीतिले जनता साँच्चै आहत र व्यथित भएका छन् ।
राणाकालमा १ जना रैतीले आफ्नो काम गराउन सरकारी अड्डाको हाकिमलाई एउटा राडी उपहार वा घुस दिएछ । काम गराउन अरु पनि मान्छे लागेका रहेछन् । त्यही काम गराउन अर्को व्यक्तिले गाई नै घुस दिएछ । गाई दिनेको काम भएछ तर राडी दिनेको काम भएन । काम नभएको व्यक्तिले हाकिमलाई गुनासो गरेछ, मेरो काम किन भएन ? हाकिमले सहजै तर जालसाजीपूर्ण उत्तर दिएछ, तेरो राडी गाईले खाइदियो । जवाफ सुनेर राडी दिने व्यक्ति एक न दुई भएछ । निकै कोसिसपछि आफ्नो काम नभएको कारण पत्ता लगाएछ । यो प्रसंग किन उदृत गरिएको हो भने नेपालका प्रधानमन्त्रीले हिजोआज नेपाली जनतालाई दिने उत्तरहरू यस्तै छन् ।
संंविधान मिचियो भन्दा प्रधानमन्त्री भन्छन् – कहाँ मिचियो ? त्यतिले मात्र नपुगेर आफ्नो संविधान विरोधी कदमको ढाकछोप गर्न लोकतन्त्रमा जनतामा जानु सर्वाधिक लोकतन्त्र भन्न थालेका छन् । जनतामा जाने समय र तरिकाबारे संविधान स्पष्ट छ । नेपाली जनतालाई कसैले सिकाउनु पर्दैन ।
नेपालको मौजुदा राजनीतिक परिस्थितिको विवेचना गर्दा एउटा दुःखद निष्कर्षमा पुग्नुपर्ने हुन्छ । त्यो के भने राजा र राणाको दरबारिया खिचातानीमा विकृत भएको शासन व्यवस्थामा २००७ सालमा प्रजातन्त्रको स्थापनापछि पनि अपवादबाहेक गतिला राजनीतिज्ञहरू शासनमा पुगेनन् । अझ अत्यासलाग्दो संक्रमणकाल र अस्थिर राजनीतिको फाइदा उठाएर साँच्चै अगतिला व्यक्तिले राजनीतिको बागडोर सम्हाल्न पुगे । जसको परिणाम आजको परिस्थिति हो भन्दा कुनै अतिशयोक्ति हुने छैन ।
राष्ट्र निर्माणको दृढ संकल्प, सुनिश्चित कार्ययोजना र प्रस्ट कार्यसूची बेगर सत्तामा पुगेका राजनीतिज्ञको राजनीतिक अयोग्यता नेपाली समाजका निम्ति अभिशाप बन्न पुग्यो । यसैका नयाँ र धारावाहिक शृंखलाहरूको पटाक्षेप हो आजको राजनीति । आफैंले बनाएको विधि भत्काएर विधिकै गीता गाउनु र चुनावको एकतारे बजाउनु निकै हाँस्यास्पद देखिएको छ । संविधानको हूर्मत लिएर संविधानकै दुहाई दिनु बगरेले बुद्ध जयन्ती मनाउनु जस्तो मात्रै हो । यस्तो परिस्थिति धेरै दिन टिक्ने छैन ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...