स्वर साधनाका नारायण गोपाल

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

मन मस्तिष्कका अव्यक्त भावनाहरू यदाकदा परिस्फुरण भैदिन्छ, तिनमा स्वर, संगीतको भावचित्र रचना हुन्छ । अझ हृदयका वेदनापूर्ण भावाभिव्यक्तिहरू आफ्ना हृदयपटमा स्वररेसाहरूको अनौठो समागममा गेयात्मक पनि भैदिन्छन् ।

उपरोक्त भावाभिव्यक्तिहरूलाई हामी संगीत अन्तर्गत प्रविष्ट गर्दछौं । संगीत कला हृदयको निर्मल प्रकाशन हो ।


Advertisement

कलाकार कलाको हार्दिक निसृतिमा बढी उदार र आदर्श भैदिएर मानव मूल्यहरूलाई हार्दिक प्रगाढता प्रदान गर्दछ । सन्दर्भमा नेपाली संगीत छ र केन्द्रीय विषय हो नारायण गोपाल । जसलाई उनको कलेवर स्वरकण्ठीका कारण महान् स्वर साधकका रूपमा नेपाली संगीत जगतमा चिनिरहेका छौं । 

कलाकारका २ व्यक्तित्व हुन्छ, पहिलो व्यवहारगत र दोस्रो कलागत । कलाकारको मूल्यांकन उसको वैयक्तिक स्वभाव र दिनचर्याबाट माथि उठेर कला मूल्य र साधनाबाट गर्नुपर्छ । प्रतिभा र उसले विधामा दिएको योगदानका आधारमा गर्नुपर्छ ।


Advertisement

सम्पूर्णमा उ मानिस हो, उसको पृथक स्थापना र विश्लेषण गर्नु हुँदैन । त्यसभन्दा माथि उसको भावगत दुनियाँ र अन्तरप्रकाशनले कलाको परिभाषालाई चिनाएको हुन्छ । अतः उ पूर्ण छ ।

होइन केही अस्वाभाविक र केही प्रकृतिजन्य छ । त्यो नै विश्लेषणको विषय हो । मानक चाहिँ हाम्रै हृदयको संवेदनासूचक पारो हो, जो कला निसृतिका समयमा रसमुग्ध भएर आनन्दिएको हुन्छ । 

संगीतलाई मानसिक मूल्यमा त्यति सारो नलिएला र पनि हृदयिक पक्षमा अन्य विधाभन्दा पनि प्रखर  कला हो । हृदयका अन्तर कुन्तरमा निसृतिको माध्यम पहिल्याउन स्वररेसाहरू छरपष्ट छचल्किन्छन् । यही परिवेशमा कलाको शास्वत मूल्य र महत्ता प्रस्टिन्छ ।

जो कलाकार अन्तरङ्ग प्रकाशनमा सफल छ, त्यो नै कलाको वैशिष्ट परिणति हो र हामी उसलाई दोस्रो व्यक्तिका रूपमा सम्झनामा निम्त्याउँछौं । नारायण गोपाल त्यै निम्त्याइ हो, जो नेपाली जनमानसको र त्यही प्रसारण हो कलाको जो सम्पूर्णतः प्रवाहशील छ । 

उनका स्वरहरू खटाएर स्वरकण्ठीबाट पोखिँदैनन्, घ्वाप्पै पोखिन्छन्, त्यसैले ती कृत्रिम लाग्दैनन् । उनका स्वरहरू सुनिन्छन्, रेडियो, अडियो, भिडियोहरू बज्छन्, श्रोताका दिलमा अनौठो सम्प्रेषण शक्तिको अभ्युदय हुन्छ, मानिसहरू एकाग्र हुन्छन् । कुन कस्तो यन्त्र छ उसको स्वरकण्ठीमा र श्रोतामन विमुग्ध हुन्छ ? कति सरल प्रश्न । तर यसको अनुभूति सरल भएर पनि उत्तर भेटिएको छैन । 

उनमा संगीतकलाको मर्म र मूल्यहरू पोखिएका छन् र पाश्र्वित छन् । जसले श्रोता मनलाई बेस्सरी स्पर्श गर्छ । त्यसैले उनी महास्वर साधक बने । स्वरशिरोमणि बने । स्वर साधकका हुलमा महास्वर साधक बने । 

नारायण गोपालको कलाकरण शास्वत छ । प्राकृतिक छ । उसको कलाकरण रहरभन्दा बेगल कुरा हो । रहरले मात्र को कलाकार बनेको छ र ? अभ्यासभन्दा उच्च र अनन्त सहज छ । उ नारायणको भावावृत्ति हो, उ प्रकृतिको शालिन सस्वरता हो ।

शहर बजारका चोक र गल्लीहरूमा भेटिने स्वरावृत्ति, मोफसल र गाउँका पाखा–पखेरुमा भेटिने प्रकृति गुञ्जनले नारायण गोपाल भावावृत्तिको इन्द्रेणी हो । यसकारण कि सप्तरङ्गी इन्द्रेणीका मधुरभाव लेपन र नारायण गोपालका सातै स्वरहरूको आरोह अवरोहको मधुरता कलागत सापेक्षमा छन् । इन्द्रेणी देखिन्छ, नारायण सुनिन्छ । बस फरक यत्ति हो । दुवैमा कलागत वैशिष्ट्यले मान्छेको मनका भावनाहरू आ–आफ्नै रंग र स्वरमा पोखिएका हुन् । ध्वन्यात्मक छन् र मनलाई लठ्याउँछन् । 

नारायण गोपाल व्यक्तिगत स्वर नभएर नेपाली स्वर तथा संगीतको पनि पर्याय हो । वैयक्तिक आचरणहरू उनका निजी हुन् तर कला सिर्जना हाम्रो सम्पत्ति हो । त्यसमा सार्वजनिक माया र ममत्व छ । चाहेर पनि कलाकार आफू एक्लो र निजी बन्न सक्दैन । निजत्वमा प्रस्फुरित कला पनि सामूहिक सम्पत्ति बन्ने गर्दछ । प्रयास र प्रयत्न वैयक्तिक भएर पनि सिर्जनाले सार्वजनिक मूल्य पाउँछ । त्यसैले कलाकारहरू अरुको मन मन्दिरमा सजिएका हुन् । 

उनमा संगीत रचनाको रहर होइन, पूर्णता छिपेको छ । केही अंश मात्र हामीले अनुभूतिमा उठाउन सकेका हौं । हाम्रा यादमा ब्युझेको नारायण गोपालको भाषा राताम्मे सगर पाकेको पश्चिमी क्षितिज हो । जो अनन्त टाढा छ, तैपनि नजिकको पूर्णत्वमा आभाषित छ । जो एकतर्फ देखिन्छ, तैपनि आयामिक महसूस हुन्छ । त्यसैले उ अव्यक्त भाव अभिलेख पनि हो । मनचिन्ते चित्रकला हो । अदृश्य आकृति हो । महास्वर साधक हो । सागरको क्षितिज हो । क्षितिजको सागर हो ।

प्रतिभा प्रस्फुरणका लागि वातावरण र प्रोत्साहनको संयोजन महत्त्वपूर्ण हुन आउँछ । प्रकृति र परिवेशलाई उछिनेर व्यक्ति अघि बढ्दा उससामु विध्नता र विपत्तिजस्ता जटिलता पनि आइपर्छन् । सफल साधर्क विपत्तिलाई पर्वाह गर्दैन, विपत्तिले पनि कहिलेकाहीँ प्रोत्साहनको भूमिका निभाएको हुन्छ । महाकवि कालीदास, किट्स, देवकोटा, माधव घिमिरेहरू यस्तै विध्नताका परिणति हुन् । 

सफलताका साथ व्यवधानको व्यथा हुन्छ । सिर्जनाको पृष्ठभूमि विपत्तिले भरिएको हुन्छ । अझ भनौं, विपत्तिमा भाव निसृति सहज हुन्छ । उद्देश्यका खुट्किलामा विपत्तिका काँडेतार भेटिन्छन् । यी व्यवधान कला र सिर्जनाका दृष्टिमा समारोह पनि बन्ने गर्छन् । के नारायण गोपाल विध्नताका यात्रामा थिएनन् र ? रियाजका प्रारम्भिक दिनहरू अहिलेको सफलताका बाहवाही थिए र ?

दूरको सपना क्षितिज भेट्न कलाकार कति पसिना, परिश्रम र आँसु रगतमा पनि मुछिन पर्छ । प्रतिभाशाली स्वरसाधक नारायण गोपालसँग सुन्दर सपनाहरू मात्र सँगालिएका थिए, मधुर कल्पनाहरू त्यसै बयेलिएका थिए ? के त्यो बयेलाइ र कल्पनामा व्यवधानमा थिएनन् ? उनको सिर्जनाका सहज भूमिमा यिनै परिवृत्तिको कल्पनाले नै मूर्तता पायो र कलाकार पनि बने ।

एउटा साधक साधनाको शिखरमा पुग्दा अत्यासलाग्दा विगत कुल्चिएको हुन्छ । विगत फर्केर हेर्दा अत्यास र आनन्दको मिश्रित अनुभूति आउला । हो, नारायण गोपालले पनि त्यसै गरे र संवेदनका मधुर लहर बनेर नेपाली जनमनमा गुञ्जिए । उ नारायण गोपाल हो, एउटा सिंगै प्रकृतिको स्वर र स्वरहरूको महासंयोजन । 

उनी किन अरुणाझैं सांवेदक छन्, मार्मिक र कारुणिक छन् ? उनी संवेदनाको गाढा निसृति हो । मधुरताको खानी हो । कलाकार आफैंलाई केन्द्रस्थमा राखेर विह्ल व्यथाहरू प्रकाशन गर्छ । आफ्नै हृदय प्रकाशन गर्छ । तर पनि ती प्रकाशनहरू अनन्त शास्वत भैदिनु, अरुमा समानुभूतिमा फैलिनु कलाको भावसांगठनिक वैशिष्ट्य हो । त्यसैको आधारवृत्तिमा नारायण गोपाललाई अनुभूति गरिएको हो । संवेदनाका अभिव्यक्ति हृदयका ढुकढुकी हुन् । हामी ढुकढुकीलाई आफ्नै अन्तरंगको नाद ठान्दछौं र कलालाई आफैंमा वरण गर्दछौं । उनका स्वर यति आफ्ना लाग्छन् कि ज्ञानेस्वरका वातावरणमा गुञ्जिए पनि नक्सालमा हृदयलीन भैदिन्छन् ।

रोशी, सुनकोशीका सेयेली स्वा..वा र पातलको मधुर पातगुञ्जनमा नारायण नै मिसिएको पाउँछौं । चियावारीमा घन्किन्छन्, मेलापातमा गुञ्जिन्छन् । त्यसैले उनी सबैका आफ्ना लाग्छन् । यो ममत्व अव्यक्त चेतपुञ्जमा समेत संवेदनाको जरुवा फुट्छ ।

नारायण गोपालका स्वरमा कलागत साम्यताको पनि प्राचुर्य छ । शास्त्रीय संगीत विधानमा पनि साम्य छन् ।  ‘सा’ देखि ‘नि’ सम्म श्रुतिमूल्यहरू बढ्दै जान्छन् ।  ‘नि’ देखि ‘सा’ सम्म ओर्लिंदै जान्छन् । यी ७ स्वरहरूको परिनिर्माण हो, हामी प्रत्येक प्राणीको स्वर यन्त्र । तर षडजदेखि निषादसम्मको संगीत प्रचुरताले व्यक्ति गायक बन्न सफल हुन्छ । त्यो स्वर संगीत हो, त्यसमा कविता वा शव्दसन्धानको गेयात्मकता र लयात्मकता मिसिएर मधुर बनिदिन्छ । मानव हृदय पनि मधुरताको पारखी छ, त्यही रम्छ, त्यही रुमल्लिन्छ । त्यसैले कला कलवर कविता र कृयान्वीतीको एकाग्र रूप हो, जसले हार्मोनी दिएको हुन्छ । हामी वरिपरिको नारायण गोपाल त्यही एकाग्र व्यक्तित्व हो । 

नारायण गोपाललाई हामीले स्नेहसूत्रमा बाँधिदिएका छौं । उनका गीतले हामीलाई हिप्नोटाइज्ड गरेको छ । उनका मधुर स्वरसँगै हामी भावनामा खेल्छौं । आफैंलाई खेलाउँछौं र केहीबेर भए पनि आफूबाट भुलेर जीवनको पूर्णआस्वाद गर्छौं । संगीत आफैं संगति हो, उनका संगीतकलामा जीवन संगति पाइन्छ । त्यसैले नारायण गोपाल कालजयी छन्, सर्वकालिक छन् । उनी नभएको अनुभूति छैन । 

नारायण गोपाल मौलिक छ । उसमा प्रयोगित शब्दहरू सम्पूर्णतः सँग्ला, मीठा र प्रकृतिजन्य छन् । प्रकृति र परिवेशसँग संगीतको नङ–मासुको सम्बन्ध छ । उनी विह्लवृत्तिको पुरुष स्वर हो । तर भावना र हार्दिकमा लिङ्गीय विभेद हुँदैन । करुणाको भाइव्रेसन हो नारायण गोपाल । करुणाको गीति प्रकाशन हो नारायण गोपाल । यस अर्थमा नारायण गोपालका कलाकर्मलाई सर्वोच्चता दिन २ विशेषताहरू नगिचिन्छन् । 

पहिलो, प्राणीहरूको हृदय विदारक परिवेशसँग, याने कि करुणाजनित अभिव्यक्तिसँग अपनत्व सहजता कायम गर्छ । हृदयचेतना सिर्जिन्छ । त्यसै कारणले होला, शरीर र आँखा रमाउने गीतहरूभन्दा हृदयविह्ल गीतहरू रुचाउन पुग्छौं ।

दोस्रो, विह्ल मनोवेदनामा पोखिएका वास्तविकीहरू गेयसुलभ हुन्छन् । स्वर सन्धान र अनुप्रासले ध्वन्यात्मक अर्थवत्ता सिद्ध गर्दछ । 

शास्त्रीय संगीतको प्रभावमा हुर्किएको स्वर नै उल्लिखित दुवै–दुवै विशेषता समीप हुन्छ । अतः नारायण गोपालका स्वर भावप्रकाशका उत्तम परिलक्षण हुन् । जो नबुझिएरै पनि मधुरावृत्तिमा आफूबोधबाट पर पुर्‍याई असिम मनमुग्द्धता दिने गर्छन् । 

कलाको कर्म, धर्म र मर्म पनि अव्यक्त मनोवेदनाको करुणाजनित अवस्था प्रकाशन हो । व्यक्तित्वमा उ अपूर्व छ, प्रस्ट छ तर साधारण हुन सक्दैन । जसका लागि केही प्रयत्न, प्रयास र अपूर्व प्रतिभा चाहिन्छ । त्यो असाधारण हो असाधारणमा । मनको उदात्तीकरणका लागि नै कलाको प्रादुर्भाव भएकाले संवेगात्मक पक्षमा प्रबल भैदिन्छ । विथोभन, रफी र नारायण गोपालका स्वरहरू अचेतन र अव्यक्त तहका संवेदनाहरू छताछुल्ल पार्दछन् । त्यसैले उनीहरूका गीत मधुर एवं कोमल छन् । 

रफीका गीतमा झै बाद्यधुनको पेलाइ छैन र पनि स्वरको मौलिक मिठासपनका कारण नारायण गोपाल स्रोता मन जित्न सफल छन् । हृदयिक गीतलाई केन्द्रीय आकर्षणमा ल्याउने अनौठो अनुभूति गाम्भीर्यता छ उनीमा । त्यसैले नारायण गोपाल अन्तरङ्ग प्रकाशनको अर्को नाम हो ।

नारायण गोपाल अनुभूतिको सिंगुल भाव र नेपाली संगीतको अनुपम उपहार हो । साहित्यमा महाकवि देवकोटा जस्तै अलौकिक स्वर साधक हो । देवकोटा, हरिभक्त कटुवाल र भूपि शेचरनका रचनामा उनी स्वयम्को, गोपाल योञ्जन र अम्बर गुरुङको संगीत संयोजन र स्वरको त्रिवेणीले संगीत कलाले चरमता प्राप्त गर्छ । हामी रम्छौं, रमाउँछौं र रल्लिन्छौं । त्यसैले नारायण गोपाल एउटा सुन्दर सपनाको इन्द्रेणी हो । आखिर गाएका त सबैले सातै स्वर न हुन्, तर त्यो मधुर कण्ठीले कुन्नी के गर्छ र प्रकृति लठिन्छ । 

आफ्ना स्वर आवहवाभरि फिजिएको, अरु धेरैले गाएको, आफ्नै सामथ्र्य र स्वरमा आफ्नो बनाएको देख्दा कति खुशी होलान् ? कलामार्फत आफू नै अरुको बन्दा कति खुशी होलान् ? तर त्यो अनुभूति गर्ने अवसरबाट ब्रह्मलीन कलाकार वञ्चित छन् ।

[email protected]

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्