नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेको निष्कर्षसहित नेपाली कांग्रेसले नयाँ सरकार निर्माणको परिस्थिति अझै परिपक्क नबनेको निष्कर्ष निकालेको छ ।
बिहीवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सहमहामन्त्री प्रकाशशरण महतले भने, 'नेकपा कानूनी रूपमा फुटेको छैन । संसदीय दलको नेता केपी ओली नै हुनुहुन्छ । उहाँहरू कसरी अघि बढ्नुहुन्छ भन्ने कुराले धेरै विषयको निर्धारण गर्छ ।'
नयाँ सरकार बनाउने विषयमा कांग्रेसले कुनै हतारो नगर्ने महतको भनाइ छ ।
'हामीले हतार गरेर के गर्ने ?' उनले भने, 'कम्युनिस्ट पार्टी एउटै छ । भोलि कस्तो परिस्थिति बन्छ त्यो अलग कुरा हो ।'
विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि नेकपाको एउटा पक्ष नयाँ सरकार गठनको दिशामा अघि बढेको छ ।
तर निर्वाचन आयोगमा विचाराधीन दलको आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण नहुँदासम्म नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्न गाह्रो देखिएको छ ।
यही विषयलाई लिएर नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल बुधवार सभापति देउवालाई भेट्न गएका थिए ।
नयाँ सरकार गठनका बारेमा देउवासँग कुनै सहमति जुट्न सकेको थिएन ।
सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउने गरी पुनःस्थापनाको फैसला गत फागुन ११ गते गरेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का समूहका अध्यक्ष केपी शर्मा ओली भने सर्वोच्चको फैसलाबमोजिम संसद बैठक बोलाउन तयार देखिएका छन् ।
बैठक बसिसकेपछि नयाँ परिस्थितिको निर्माण हुन सक्ने र त्यही अनुसार निष्कर्ष निकालेर अघि बढ्न सकिने कांग्रेसको बुझाइ रहेको छ ।
सहमहामन्त्री महतले भने, 'संसद बैठक बसिसकेपछि कस्तो परिस्थितिको निर्माण हुन्छ, त्यो कम्युनिस्ट पार्टीमै भर पर्छ । त्यसैले अहिले हामी हतारो गर्ने पक्षमा छैनौं ।'
लोकान्तर संवाददाता