मेलम्ची बाढीको पीडा- '२० जनालाई रोजगारी दिएको थिएँ, अब कट्टु र गञ्जी मात्र बाँकी छ'

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

शुक्रवार दिउँसो मेलम्ची नगरपालिका–११ बसपार्कनजिकै रहेको निलो घर हेर्दै कहिले यता, कहिले उता गर्दै थिए, सोनामबहादुर तामाङ ।

कुनै बेला खिस्स हाँस्दै साथीभाइसँग कुराकानी गरेर मन बुझाइ रहेका थिए, त कहिले मलिन अनुहार लिएर घरनजिकै पुग्थे । 


Advertisement

तल हेर्दा उही धमिलो बाढी आफ्नै रफ्तारमा बगिरहेको थियो । के गर्ने, के नगर्ने उनले केही सोच्नै नसकेको भान हुन्थ्यो । अर्धबेहोशी जस्तै थिए ।

बाँच्नलाई खानाको भाग त बस्थे तर घाँटीबाट तल जाँदैनथ्यो । जाओस् पनि कसरी, जिन्दगी भरको कमाई एक लप्को बाढीले उडाइदिएको थियो ।

‘बिहान खान बसेँ बाँच्न त पर्‍यो भनेर, तर घाँटीबाट तल गए पो ! सम्झिएर झस्काउँछ सर,’ सोनामले लोकान्तरसँग भने, ‘बिहान पानी नभएर १० वटा मिनलर वाटर किनेर साथीको ग्यास मागेर भएका थियौं ।’
बाढी आएको ३ दिनसम्म त खल्तीमा भएको पैसाले खाना खाए तर अब कसरी खाने उनीसँग कुनै उपाए छैन् ।

‘बिहानसम्म त ५ सय थियो, अब त यी खल्ती रित्तै छ,’ गोजी देखाउँदै उनले भने, ‘माथितिर राहत आएको छरे कता हो कुन्नि, हामीलाई देख्दैनन् ।’

४२ वर्ष अगाडि श्रीमतीलाई ससुरालीले दिएको गहना बेचेर घरनजिकै ग्रिल उद्योग खोलेका थिए । त्यो उद्योगको त अहिले नामोनिशान छैन । 

‘त्यो बेलामा श्रीमतीको सुनको गहना बेचेर ग्रिल पसल खोलेँ । घर बनाउन ४२ वर्ष लाग्यो, अहिले त्यै घर ५ मिनेटमा सखाप बनायो बाढीले,’ सोनामले दुखेसो पोख्दै भने, ‘सम्झिँदा पनि पागलै हुन्छु जस्तो छ, छोरा मान्छे हो सहनै पर्ने ।’

उनले ग्रिल उद्योगमा २० जनालाई रोजगारी दिएका थिए । २० परिवारको पेट पालेका थिए, तर अहिले आफैँ आफ्नो पेट कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

ग्रिल उद्योगमा ५ वटा मेसिन थिए । २ वटा गाडी थिए । २ वटा मेसिन र एउटा त बचाउन सफल भए, तर अरू सबै बाढीले बगायो ।

‘उद्योगमा २ करोडभन्दा धेरै लगानी पुर्‍याएको थिएँ, साढे १ करोड हालेर घर बनाएको थिएँ । सबै खोलाले बगायो अब त आफूले लगाएको कट्टु र गञ्जी मात्रै बाँकी रह्यो,’ सोनामले आफ्नो शरीरको कपडा देखाउँदै भने, ‘अब आफ्नै पेट पाल्न समस्या छ ।’

बाढी आउँदाको बेलुका घरमा खाना खाँदै थिए । हेलम्बुमा पहिरो गएको भन्ने सूचना पाए । खाना खाएर बाहिर निस्किएर २ मात्र मशिन सुरक्षित ठाउँ सार्दा बाढी आइहाल्यो । आँखै अगाडि बाढी पस्यो । सबै बगाएर लग्यो ।

अहिले उनीहरूको परिवार मेलम्चीभन्दा केही पर वैशाखदेखिको भाडा तिर्ने गरी कोठा खोजिरहेका छन् । तर सबै बगाएको मान्छेलाई कोठा दिन्छन् कि दिँदैनन् भन्ने चिन्ता रहेको सोनामले लोकान्तरलाई बताए ।

‘छोराछोरी त राख्न पर्‍यो, के गर्नु, कोठा पनि देलान् कि नदेलान् ?,’ सोनामले भने ।

सोनामका साथी दीपेश गहतराज पनि उनीसँगै थिए । 

सटरअगाडि पुर्पुरोमा हात लगाएर सटर हेरिरहेका थिए । बाढीले तल्लो तलामा रहेको उनको सुन पसल पुरै बगाएर लगेको थियो ।

खाना खान गएको समयमा बाढी आएको सूचना पाएसँगै पसलमा दौडिएर आए । केही सुन बचाउन त सके तर २०/२५ तोला सुन भने बाढीले बगाएर लग्यो ।

सोनामसँगै व्यापार थालेका दीपेशले साहुको ऋणमा तीज र विवाहको समय भएकाले सुनका थपेका थिए, बाढीले बगाइदियो ।

‘विवाहको समय छ, तीज आउन थाल्यो भनेर सुन हालेको थिएँ । २५ तोला जति त बगाएर लग्यो,’ दीपेशले लोकान्तरसँग भने, ‘२० हजार घाटा जाँदा त उकास्न धौधौ हुन्थ्यो २५/२७ लाख गयो, अब उकास्ने कसरी ?’

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्