०२ असार २०८३, मंगलबार
सफलता

वैदेशिक रोजगारीमा धोका पाएपछि घाँस खेती, वार्षिक १५ लाख कमाइ

असोज ९, २०७८
वैदेशिक रोजगारीमा धोका पाएपछि घाँस खेती, वार्षिक १५ लाख कमाइ

पहाडबाट तराई झर्दाको संघर्षमय जीवन यात्रा र वैदेशिक रोजगारीमा निकै हन्डर खाएका शंकरसिंह बिष्ट बल्ल सुखानुभूति गर्दैछन् ।

कैलालीको कैलारी गाउँपालिका–५ पवेराका ३३ वर्षीय बिष्ट छोटो अवधिमै कृषि व्यवसायबाट मिलेको सफलताले उत्साहित भएका छन् ।

एकीकृत कृषि व्यवसायबाट वर्षमा २८ लाख रुपैयाँ बढीको कारोबार हुन थालेपछि उनी तथा उनको परिवार हाल थालेको व्यवसायबाट निकै नै उत्साहित भएका छन् ।

बन्डोली एकीकृत कृषि फर्ममार्फत व्यावसायिक कृषि व्यवसाय थालेका उनले चालू वर्षमा मात्रै घाँस खेतीबाट २० लाख रुपैयाँ बढीको कारोबार गरेको बताए ।

फर्मको व्यवस्थापक रहेका बिष्ट भन्छन्, ‘व्यावसायिक रूपमा ६ विघामा रोपिएको घाँसबाट यो वर्ष करीब २० लाख रुपैयाँको कारोबार भएको छ । सम्पूर्ण खर्च कटाएर १५ लाख रुपैयाँ आम्दानी भयो ।’

२०७१ सालमा तराई झरेको बिष्ट परिवारले थालेको व्यवसायले दिनप्रतिदिन आकार लिँदै गएपछि उनीहरूले व्यवसायलाई झन्झन् गति दिएका छन् । जुन सफलताले बिष्ट परिवारले विगतमा गरेको संघर्ष तथा दुःखका ती घाउ पुरिँदै गएका छन् ।

बिष्ट परिवारको स्थायी घर दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ सरमोली हो । व्यावसायिक रूपमा केही इलम गर्नुपर्छ भनेर बिष्ट परिवार तराई झरेको थियो । शुरूमा बिष्टले कञ्चनपुरको महाकाली नगरपालिकामा व्यवसाय गर्ने योजना बनाएका थिए ।

तर व्यवसाय गर्ने वातावरण नबनेपछि उनी वैदेशिक रोजगारीका लागि दुबई हानिए । विदेशमा पनि सोचे जस्तो काम नपाएपछि उनी ३ महिनामै गाउँ फर्किए । 

‘मेनपावर कम्पनीमार्फत वैदेशिक रोजगारीको लागि गएँ,’ उनले भने, ‘सम्झौता एक किसिमको थियो, उता काम अर्कै थियो । काममा धोखा पाएपछि स्वदेशमै केही गरौंला भनेर फर्किए ।’ ३ जना विदेश गएको बताउँदै बिष्टले आफूहरूको ७ लाख २० हजार रुपैयाँ कम्पनीले डुबाएको पीडा सुनाउँछन् ।

वैदेशिक रोजगारीबाट हन्डर खाएपछि बिष्टले पहिल्यैदेखि सोचेको व्यवसाय कैलालीको कैलारी गाउँपालिका–५ पवेरामा शुरू गरे । बिष्टले २०७५ भदौदेखि व्यावसायिक घाँस खेती शुरूआत गरेका हुन् ।

बन्डोली एकीकृत कृषि फर्म दर्ता गरी शुरूमै जमिन भाडामा लिई उनले व्यावसायिक घाँस खेती शुरू गरे । १०/१० वर्षको लागि २ स्थानमा साढे ३ लाख रुपैयाँमा जग्गा भाडामा लिए उनले ।

‘पहिल्यैदेखि कृषि गर्छु भनेर लागेको थिएँ । पहाडमै तरकारी खेती गर्थें । दार्चुलाको गोकुलेश्वरमा २ वर्ष होटल चलाएँ । बारीमा रोपिएको तरकारीले नभएपछि तराई झरेर व्यावसायिक घाँस खेतीको शुरूआत गरें,’ उनले भने ।

‘चितवनबाट सुपर नेपियर जातको घाँसको बिउ खरिद गरी ५ कट्ठाबाट शुरूआत गरेको घाँस खेतीको विस्तार गर्दै १ विघा ५ कट्ठा पुर्‍याएँ,’ उनले भने, ‘हाल ६ विघामा सुपरनेपियर, सुम्बा सेटेरिया, पासपालम, किम्बु, भटमासे, गोदामे, जै, बरसीन, बाह्रै महिना, हिउँदे, वर्षीय, बहुवर्षीय लगायत घाँसको बेर्ना र बिउ उत्पादन गर्दै आएको छु ।’

आफ्नो उत्पादन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आपूर्ति गर्दै आएको बिष्ट सुनाउँछन् ।

‘घाँस खेतीमा सोचेजस्तै राम्रो भएको,’ फर्मकी सञ्चालक सुशीला विष्टले खुशी साटिन्, ‘यो वर्ष २० लाख रुपैयाँको घाँस बिक्री गरेका छौं । खर्च कटाएर १५ लाख बचत भएको छ ।’

मुख्यगरी घाँसको बिउ उत्पादन गर्दै आएका उनीहरू घाँसको डाँठ पनि बिक्री गर्दै आएका छन् । जसबाट दोहोरो फाइदा हुने गरेको सञ्चालक बिष्ट बताउँछिन् ।

उनले अगाडि थपिन्, ‘व्यावसायिक रूपमा गाई, भैंसी, बाख्रा, कुखुरा, माछापालन गर्ने कृषकहरूले घाँस गर्छन् भने घाउँको बिउ भने सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहले खरिद गर्दै आएका छन् ।’

घाँस खेतीसँगै बिष्ट परिवारले गाई र भैंसी पालेर दुग्ध उत्पादन, गड्यौला पालेर भर्मिक कम्पोस्ट मल उत्पादन पनि अगाडि बढाएका छन् ।

हालसम्म व्यवसायमा ३० लाख रुपैयाँ लगानी भएको बताउँदै बिष्टले आफूहरूको ९ जनाको परिवार नै स्वरोजगार भएको सुनाउँछिन् ।

पशुपालन पनि उत्साहजनक

फर्ममा १० वटा माउ भैंसी, २ वटा माउ गाई र पाडापाडी रहेका छन् । गाईभैंसीबाट दैनिक ४५ लिटरसम्म दुध उत्पादन हुँदै आएको छ । आफ्नै फर्म र अन्य कृषकबाट उत्पादित दूध संकलन गर्ने गरेको समेत व्यवस्थापक बिष्ट बताउँछन् ।

उनले दैनिक ६०–७० लिटर संकलन हुने दूध धनगढी बजारमा पुर्‍याउँदै आएको बताउँदै भने, ‘मेरो उद्देश्य उत्पादकदेखि उपभोक्तासम्म स्वच्छ र सफा दूध उपभोग गरौं भन्ने हो । सोही अनुसार उत्पादित दूध धनगढी बजारमा होम डेलिभरी गर्दै आएको छु ।’

बिष्टले चालू वर्ष गड्यौलाबाट करीब १८ क्वीन्टल भर्मिक कम्पोस्ट मल उत्पादन भएको बताउँछन् । १३ किलो बिउ गड्यौलाबाट व्यवसाय थालेको सुनाउँदै उनले मलको बजार पनि राम्रो भएको प्रतिक्रिया दिए ।

तराईमा १० कट्ठा जमिनको मालिक

एकीकृत कृषि व्यवसायबाट राम्रो आम्दानी भएपछि बिष्टले हाल १० कट्ठा जमिन समेत जोर्न सफल भएका छन् । खरिद गरेको जमिनमा व्यवसायको आकार बढाउँदै जाने बिष्टको योजना छ । यति मात्रै होइन, हाल दुग्ध पदार्थ संकलन गर्दै आएका बिष्टले डेरी उद्योग सञ्चालनको तयारीमा समेत जुटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्