०२ साउन २०८३, शनिबार

क्यान्भासमा कापुचे लेकः रङमा कुची चोप्न नभ्याउँदै हिउँ बन्थ्यो पानी

माघ ८, २०७८
क्यान्भासमा कापुचे लेकः रङमा कुची चोप्न नभ्याउँदै हिउँ बन्थ्यो पानी

प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् । 

धेरैजसो समय काठमाडौं र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम मताङ र लक्ष्मीप्रसाद खोतेजा यसपालि कापुचेले तानेर त्यहाँ पुगेको बताए । 

यसअघि उनीहरूले मार्दीमा पुगेर त्यहाँका हिमशृङ्खला समेटेर चित्र बनाएका वर्ष नबित्दै अर्को महत्त्वपूर्ण यात्रा तय गरेका हुन् । 

कापुचे ताललाई समुद्र सतहबाट सबैभन्दा तल्लो ठाउँमा रहेको हिमतालका रुपमा चिनिन्छ । 'उक्त ताल र वरपरका दृश्यलाई क्यान्भासमा उन्दा नौलौ अनूभूति मिलेको छ,' उनले भने, 'रङमा कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी, क्यान्भासमा दुरुस्त रङ भर्न हम्मेहम्मे भयो, त्यो क्षणको अनुभूति शब्दमा भन्न सकिँदैन, स्वर्गको टुक्रामा बसेर कला सिर्जना गरेको महसुस भयो ।'

आइतवार बिहान पुग्दा ताल बरफमा परिणत भएको थियो । घामका किरणको स्पर्शपछि बिस्तारै फैलिन थाल्थ्यो । कलाकारले बोतलमा आइस हालेर पानी बनाई कला सिर्जना गरेको उनले सुनाए । 

कापुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पद मार्गका रुपमा विकास भएको क्षेत्र हो । कास्की जिल्लाको उत्तर–पूर्वमा पर्ने यो ताल पोखराबाट प्रकृतिसँग रम्दै छोटो समयमा पुग्न सकिने रमणीय क्षेत्र हो । समुद्र सतहबाट दुई हजार ५४६ मिटरको उचाइमा रहेको कापुचे पर्यटकीय क्षेत्र सिक्लेसबाट ६ घन्टाको पैदल यात्रामा पुगिन्छ । त्यहाँ पुग्दा लाग्ने थकान दृश्यावलोकनपछि सबै मेटिन्छ । 

त्यस वरपरका दृश्यले निकै लोभ्याउने कलाकार मताङले बताए । 

कापुचेको अर्थ झरेको बरफ हो । नाम अनुसारको दृश्य पनि सजिलै देख्न सकिन्छ यहाँ । हिउँले ढाकिएको पहाडको बीचमा पर्ने यो तालमा बेलाबेलामा हिमपहिरोले आकर्षण थप्छ । 

यसपालि शनिबारीय चित्रकला कार्यशालाका सक्रिय सदस्य यी दुई कलाकार कापुचे कलायात्रा पूरा गरेर फर्किएका हुन् । शनिवार र आइतवार दुई दिनको यात्रामा सिक्लेसबाट उनीहरूले अन्नपूर्ण दोस्रोको सुनौलो दृश्यलाई पनि क्यान्भासमा उतारेका छन् । 

कलाकारका अनुसार जानलाई केही चुनौती भयो । साँघुरो बाटो, भीर, पाखाका बुट्यान समाउँदै पुगिने त्यहाँका झरना, खोलालगायत पहाडी र हिमाली प्राकृतिक सौन्दर्यले बाटोको थकान सबै मेटिएको उनीहरूले बताए । 'बेलाबेलामा हिउँ खस्ने र त्यसबाट मेघ गर्जे झैँ निस्कने रहेछ, राति त्यस्तै आवाज आयो, ल पानी पर्ने भयो, चित्र सिर्जना गर्न नपाइने भयो भन्ने चिन्ता थियो आखिर त्यो मेघ नभएर हिउँ खसेको आवाज रहेछ, हामीलाई समयले पनि साथ दियो, अभियान सफल बनाएर आयौँ,' मताङले भने । 

गएको शुक्रवार काठमाडौँबाट हिँडेको दुई सदस्यीय कलाकार टोली शनिवार र आइतवार त्यहाँको दृश्य क्यान्भासमा कैद गरेर सोमवार काठमाडौं आइपुगे । अन्य बाँकी कलाकारले काठमाडौंकै विभिन्न क्षेत्रमा चित्र सिर्जना  गरेका थिए । 

विगत तीन वर्षदेखि शनिवारीय चित्रकला कार्यशाला अभियानका संयोजक दिवेश प्रधानले सुन्दर तर चुनौतीका बीच कार्यशालामा सहभागी भएर आएकाले दुवैलाई सम्मानसमेत गरेको बताए । 

कापुचे पुगेका दुईसहित चन्द्रा श्रेष्ठलाई ललितकला मञ्च नेपालले शुक्रवार सम्मान गरेको थियो । 

प्रधानको संयोजकत्वमा शनिवारीय कला कार्यशाला जारी छ । सोही अभियानअन्तर्गत दुई कलाकार प्रकृतिसँग रमाउँदै खुला आकाशभित्रका दृश्यलाई क्यान्भासमा कैद गर्न पोखराको विकट तर रमणीय क्षेत्र कापुचे पुगेका हुन् । 

संयोजक प्रधानका अनुसार अभियानकै क्रममा अब प्लेन एयर कन्भेन्सन, प्रतिस्पर्धात्मक चित्रकला कार्यशाला, प्लेन एयर टकलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । उनले यस अभियानअन्तर्गत कालापत्थरमा पुगेर चित्रकला कार्यशाला गर्ने योजना रहेको पनि बताए । 

'कलामा समाजवाद ल्याउने हाम्रो उद्देश्य हो, अहिले एउटा कला प्रदर्शनी गर्दा कम्तीमा एक लाख खर्च हुन्छ, त्यसलाई हामी खर्चै नगरी सामान्य कलाकारले पनि सिर्जना गर्न र प्रदर्शनी गर्न सकोस् भनेर अघि बढिरहेका छौँ,' उनले भने । 

राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका अध्यक्ष कृपाराम धमलाले कलाकार सबैको साझा गहना भएकाले यस्ता कलाकारलाई राज्यले नै सम्मान गर्नुपर्ने बताए । - नारायण ढुङ्गाना/रासस

salt training

कमेन्ट गर्नुहोस्