फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
घ्यूसँग नून साट्ने बुटवल (बटौली) शहरका पुराना होटल व्यवसायी हुन् माधव नेपाल तर उनको परिचय अहिले यतिमा मात्रै सीमित छैन ।
२०३० सालको दशकतिर शिक्षकको सरकारी जागिर त्यागेर १०० रुपैयाँ लिई गाउँ छाडेर हिँडेका नेपालले अहिले बुटवलमा सफल पर्यटन व्यवसायीको पहिचान बनाएका छन् । नयाँ पुस्ताका उद्यमीले नेपाललाई अभिभावक मान्छन् ।
२०१५ सालमा पाल्पाको रिब्दीकोट गाउँपालिका–२ (साविक देउराली गाविस) लघुवामा जन्मिएका नेपाल पढाइमा तगडा थिए । विद्यालय तहको पढाइ ३ वटा स्कूल फेरेर पूरा गरी माधवले तत्कालीन एसएलसी भैरव मावि कुशुमखोलाबाट २०३४ सालमा उत्तीर्ण गरे । एसएलसी उत्तीर्ण हुने वित्तिकै उनले शिक्षक हुने अवसर पाए ।
पाल्पाका तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) कविराज अर्यालले बोलाएर शिक्षण पेशा शुरू गर्न अनुरोध गरे । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका नेपालले लुम्बिनी निमावि लुहुङमा पढाउन थाले । २ वर्ष त्यही पढाए ।
त्यसपछि लक्ष्मी मावि मालमूल सरूवा भएर आए उनी । त्यहाँ आइपुग्दा नेपाल स्थायी भइसकेका थिए । १८५ रुपैयाँ मासिक तलबबाट जागिर थालेका नेपालको लुम्बिनी निमाविमा आउँदा तलब २५० रुपैयाँ पुगिसकेको थियो । तलबमध्ये ३५ रुपैयाँ उनले व्यक्तिगत खर्चका लागि राख्थे भने बाँकी पैसा बुवा निलकण्ठलाई दिन्थे । छोराको त्यो कमाइले बुवा निलकण्ठ परिवारको ठूलो गर्जो टार्थे ।
तर एक पटक भनेजस्तो भएन । तलब आएको दिन साथीभाइले ‘रमाइलो गरौ’ भने । गाउँकै १ जना मगर दाजुको घरमा उनीहरू बसे । सबैले कुखुराको मासु र रक्सी पिए । साथीभाइको करले पहिलो पटक मुखमा रक्सी हालेका उनलाई कतिले मात लाग्छ पत्तो भएन । अबेरसम्म खाएर राति ढुन्मुनिँदै घर पुग्दा आमा देव कुमारीले कुरेर बसेकी थिइन् । छोराको चालामाला देख्नेबित्तिकै आमा रून थालिन् ।
आमाले भनिछन्, ‘बुवा ७ गाउँमा श्राद्ध गर्दै हिँड्छन्, तँ रक्सीले मातेर हिँड्ने भइस् । भोलि उज्यालो भएपछि हामीले कसरी मुख देखाउने ?’
युवावस्थामा साथीसँग रौसिँदा जागिर मात्र होइन, घरै छाड्नुपर्ने खण्ड आइपरेको थियो । त्यो खैलाबैलाबाट ब्यूँझिएका बुवा पनि छोराको ताल देखेर मर्माहत भए । बुवाआमा रातभरि सुत्न सकेनन्, रिडीतिर गएर छोराको पाप कटाउने सल्लाह गर्दै उज्यालो पारे ।
बिहान भात खाएर स्कूलतिर लाग्दा मनमा आँधीबेहरी चलिरह्यो । बुवाआमालाई रिडी जानबाट रोक्न आफैं घर छाड्ने निर्णयमा पुगे माधव । ३ घण्टी पढाएपछि हेडसरसँग १०० रुपैयाँ सापटी मागेपछि ‘फर्किआएछु भने पढाउँछु नत्र अर्को व्यवस्था गर्नुहोला’ भनेर बिदा मागेर हिडे उनी ।
‘कहाँ जाने ठेगान थिएन,’ उनले भने, ‘तानसेनबाट बुटवलको बस चढें । बुटवल हुँदै भैरहवा पुगें । त्यहाँ बैंकमा काम गर्ने साथीसँग २०० रुपैयाँ सापटी मागेर रिक्सा चढी सुनौली पुगें ।’ सुनौलीमा वाणारसी लेखेको बस चढेर बनारस पुगेको माधव सम्झिन्छन् । बनारसमा तरकारी पसलको सहायक भएर काम थाले उनले ।
त्यहाँबाट उनी कलकत्ता गए । त्यहाँ एउटा निर्माण कम्पनीमा काम थाले । उनको तलब मासिक २५० रुपैयाँ भारु थियो । ‘साढे २ वर्ष त्यहीँ काम गरें । त्यो समयको बीचमा घर परिवारलाई सम्झिएर १२ पेजको चिठी लेखें । झण्डै ३० महिना भारतमा काम गरी २ हजार ९०० रुपैयाँ जम्मा पारेर घर फर्किएँ,’ उनले सम्झिए, ‘घर आएर त्यो पैसा बुवालाई दिएँ । घर आउँदा स्थायी शिक्षकको जागिर गुमिसकेको थियो । अब के गर्ने ? अन्यौल भयो । बुवालाई अब म बुटवलतिर गएर केही उद्यम गर्छु भनेर भारतबाट कमाएर ल्याएको त्यही २ हजार ९०० रुपैयाँ पुनः मागेर बुटवल झरें ।’
पारिवारिक सल्लाहअनुसार उनले २०४० सालमा २ हजार ५०० रुपैयाँले अस्पताल लाइनको भुड्कीचोकमा चिया पसल खोले । ‘केही समयपछि पत्नी गमलालाई पनि गाउँबाट बुटवलमै बोलाएँ,’ उनले भने । माधवको विवाह एसएलसी उत्तीर्ण हुने वित्तिकै भइसकेको थियो ।
व्यवसाय गर्ने कुनै अनुभव माधवमा थिएन, त्यसमाथि उधारो खाएर पैसा नदिनेहरू धेरै भए । पैसा माग्दा कतिले दादागिरी पनि देखाइरहे । १० वर्ष चिया पसल गर्दा पनि उनको खासै कमाइ भएन । ‘१० वर्षसम्म बुवासँग उधारो दशैं मनाएँ,’ माधव भन्छन्, ‘आफन्तहरूले बाहुनको छोरो भएर अरूका जुठाभाँडा माझ्ने काम गर्यो भनेर हैरान बनाए । त्यो बेला बुटवलमा मैले बनाएको चिया नखाएको मान्छे सायद कमै होलान् ।’
फेरि दिक्क भएर उनले चिया पसल मिलन चोकमा सारे । त्यतिबेलासम्म उनका २ छोरा र १ छोरी स्कूल जाने भइसकेका थिए । ‘खर्च बढ्दै थियो तर आम्दानी थिएन । पुराना फलाम कवाडीलाई बेचेर चामल किन्नेसम्मको अवस्था आयो,’ उनले भने, ‘एक दिन मिलन चोकको पसलमा लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक डा. ईश्वर गौतम चिया खान आए । अब चिया मात्र बेच्ने होइन, ठूलो होटल गर्नुहोस् आर्थिक सहयोग म गर्छु भनेर गौतमले माधवलाई हौसला दिए । गौतमले ट्राफिक चोकको सन्दीप होटल सञ्चालन गर्न अनुरोध गरे ।’
गौतमकै निर्देशनअनुसार आवश्यक व्यवस्थापनपछि होटल सञ्चालनमा ल्याएको उनले बताए । २ वर्ष त्यो होटल राम्रो गरी चलाएका उनले १ लाख मुनाफा पनि गरेका थिए । बैंकको ऋणमा रहेको होटल उनले छाड्नुपर्ने भयो ।
अब आफ्नै किसिमबाट होटल सञ्चालन गर्नुपर्छ भनेर हस्पिटल लाइनमा हाल बुटवल हस्पिटल प्रालिको भवनमा होटल न्यू इरा सञ्चालनमा ल्याए उनले । होटल राम्रो चल्दै गयो, दादागिरी गर्नेहरूसँग मुकाबिला गर्दै अगाडि बढेका थिए उनी । १ दिन उनको होटलमा ठूलो आक्रमण भयो । बैंकको ऋण गरेर निकालेका २ वटा गाडीमा आगजनी भयो, होटल तोडफोड भयो । त्यो कुरा सम्झिँदा नेपाल अहिले पनि झसङ्ग हुन्छन् । निदाएका छोराछोरीलाई निद्रामै छतबाट पल्लो घरको छतमा फालेर बूढाबूढी र १ जना कामदार सिँढीमा खुकुरी लिएर बसेपछि आक्रमणकारी भागे । त्यो समय २०५६ सालको निर्वाचनको सम्मुख थियो । त्यो ठाउँमा बसिरहन माधवलाई डर लाग्यो तर पनि होटल चलाउँदै गए । होटल राम्रो चल्दै गयो ।
माधव दम्पतीलाई होटल व्यवसाय फाप्न थाल्यो । दलहरूका ठूला नेता बुटवल आउँदा होटल न्यू इरामै बस्न थाले । होटलको आयबाट इँटाभट्टामा ३ कठ्ठा जग्गा पनि किने उनले । त्यो घरमा अस्पताल सञ्चालन हुने भएपछि होटललाई उनले नयाँ बसपार्कमा सारे । सँगै श्रवणपथमा पनि अर्को होटल चलाए । एउटामा आफू र अर्को होटलमा पत्नी गमलालाई बसाए ।
२०६० सालमा श्रवणपथको होटल बेचेर बुटवल–९ इँटाभट्टाको जग्गामा होटल बनाउन शुरू गरे । २०६२ सालदेखि उनले बुटवलकै ठूलो मानिने पर्यटकस्तरीय न्यू इरा होटल सञ्चालन गर्न थाले । माधव र गमला नेपाल दम्पतीले होटल व्यवसाय गरेर जेठो छोरालाई इन्जिनीयर र कान्छोलाई चार्टर्ड एकाउन्टेन्ट बनाएका छन् ।
छोरीले पनि बेलायतमा होटल म्यानेजमेन्ट पढिन् । माधवले होटल तथा रेस्टुरेन्ट व्यवसायीको छाता संस्थाको जिल्लादेखि केन्द्रसम्म नेतृत्व गरेका छन् ।
नेपाल दम्पती अहिले पाल्पा र बुटवलको सीमाना नुवाकोटमा डेढ अर्ब लागतको केबुलकार परियोजनामा साझेदार छन् । नुवाकोटमै निर्माणाधीन ५० करोड रुपैयाँको रिसोर्टका परिकल्पनाकार र सञ्चालक पनि नेपाल दम्पती नै हुन् । नेपाल दम्पतीको एकल लगानीमा बुटवलको बेलबासमा पनि रिसोर्ट सञ्चालनको तयारी हुँदैछ ।
होटल क्षेत्रमा व्यावसायिक सफलताका पछाडि मेहनत, धैर्य, इमान्दारी र सबैभन्दा महत्वपूर्ण परिवारको साथ रहेको माधव बताउँछन् । ‘आज म जे छु रातारात होइन, झण्डै ४ दशकमा भएको हुँ,’ उनी भन्छन्, ‘निरन्तर मेहनत, धैर्य, इमान्दारिता, गुणस्तरीय सेवा र परिवारिक सहयोग नै मेरो शक्ति हो ।’
उनले आफूलाई अहिलेको स्थापना पुर्याउन बाटो मोडिदिने डा. ईश्वर गौतमलाई सधैं सम्झिन्छन् । ‘मेरो ईश्वर नै इश्वर गौतम हुनुहुन्छ । उहाँले साथ र हौसला नदिएको भए अहिले चिया नै बेच्थें होला,’ उनी भन्छन् ।
माधवले बुटवलमा ठूलो पर्यटनको सम्भावना देखेका छन् । उनले पर्यटन क्षेत्रमा छिटो प्रतिफल नखोज्न आफूजस्तै व्यवसायीलाई सुझाव दिन्छन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...