
सरकारले पछिल्लो एक सातामा २२ अर्ब रुपैयाँ खर्च गरेका कारण बैंकहरूमा निक्षेप केही बढेको छ । यद्यपि बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) भने अझै सहज हुन सकेको छैन ।
आयात दैनिकरूपमा बढिरहेको, केन्द्रीय बैंकसँग विदेशी मुद्राको सञ्चिति घटिरहेको र डलरको मूल्य बढ्दा नेपाली रूपैयाँ कमजोर भइरहेका कारण पनि तरलता सहज हुन नसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अुनसार चालू आवको ६ महिनामा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ९८ करोड डलर मात्रै रहेको छ, यसले साढे ६ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्न सक्छ ।
नेपालमा चालू आवको ७ महिनामा साढे ११ खर्ब रुपैयाँको आयात हुँदा रेमिट्यान्स आय भने जम्मा पौने ५ खर्बमै सिमित रहेको छ ।
पछिल्लो समय डलरको भाउ बढेर एक डलर किन्नमै १२३.४४ रुपैयाँ खर्चनुपर्ने भएको छ । डलरको भाउ बढेसँगै नेपालले आयातमा बढी पैसा खर्चनु परिरहेको छ ।
तेल खरिदमा परिणाम नबढे पनि खर्च बढी भइरहेको छ । नेपालबाट विभिन्न प्रयोजनमा बाहिरिने रकम डलरमा हुन्छ ।
वाणिज्य बैंकहरूमा फागुन तेस्रो सातासम्ममा आइपुग्दा माघको तुलनामा १३ अर्ब रुपैयाँले निक्षेप बढेको देखिएपनि तरलता भने भने सहज भइसकेको छैन ।
बैंकहरूमा १३–२० फागुनसम्ममा मात्रै ११ अर्ब रुपैयाँले निक्षेप बढेको छ । यो अवधिमा बैंकहरूले कर्जा लगानी जम्मा ५ अर्ब रुपैयाँले मात्रै बढेको देखिएको छ ।
पछिल्लो साता कर्जा लगानी कम र निक्षेप संकलन बढी भएपनि बैंकिङ प्रणालीमा तरलता सहज भने अझै हुन सकेको देखिँदैन ।
पछिल्लो एक सातामा सरकारको खर्च २२ अर्ब रूपैयाँले बढेका कारण बैंकिङ प्रणालीमा निक्षेप संकलन केही बढेको देखिएको मात्रै हो ।
तर, यथार्थमा एक साताको निक्षेपले नै तरलता सहज भने नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टले बताए ।
भट्टले लोकान्तरसँगको कुराकानीमा भने, ‘बैंकहरूमा पछिल्लो एक सातामा निक्षेप बढेको देखिएपनि बैंकहरूले राष्ट्र बैंकबाट एक साताका लागि पाउने स्थायी तरलता सुविधा (एसएलएफ) लिन छोडेका छैनन् ।’
उनका अनुसार दैनिक ४५/५० अर्ब रुपैयाँको एसएलएफ गइरहेको छ । आइतबार मात्रै बैंकहरूले ४९ अर्ब रुपैयाँ एसएलएफ चलाएका छन् ।
कर्जा निक्षेप अनुपात घट्ने, निक्षेप बढ्ने, कर्जा लगानी घट्ने, अन्तर बैंक दर कम हुँदै जाने, रेमिट्यान्स बढ्ने र सरकारी खर्च पनि बढ्दै गयो भने मात्रै तरलता सहज हुन्छ ।
अहिले तरलता सहज हुने गरी सबै सूचक सकारात्मक नभएकाले अहिले अझै तरलता सहज हुन यति नै समय लाग्छ भन्ने यकिन गर्न नसकिने राष्ट्र बैंकको भनाइ छ ।
भट्टका अनुसार अहिले पनि बैंकहरूमा तरलता सहज नभएकै कारण कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा बढी छ भने अन्तर बैंक ब्याजदर पनि ६.९८ प्रतिशत पुगेको छ । यसले गर्दा बैंकहरूमा तरलता सहज नभएको स्पष्ट देखिन्छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको ६ फागुनको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ४८ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तो रकमबाट बैंक तथा वित्तीय संस्थाहरूले ४६ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म वाणिज्य बैंकहरूले मात्रै ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरूमा गत शुक्रबारको तुलनामा आइतबार निक्षेप संकलन २ अर्बले बढेको भएपनि उक्त अवधिमा कर्जा प्रवाह भने स्थिर रहेको छ ।
अधिकांश ठूला बैंकको सीडी रेसियो तोकिएको ९० प्रतिशतभन्दा बढी भएका कारण कर्जा लगानी कम भइरहेको हुनसक्ने अनुमान छ । यो समयमा विकास बैंकसहितको अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप पनि स्थिर भएको छ ।
शुक्रबारसम्ममा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ५ खर्ब ६६ अर्ब निक्षेप थियो । उक्त निक्षेप आइतबार पनि सोही अंकमा सिमित भएको छ । यो निक्षेपबाट भएको कर्जा लगानी पनि शुक्रबारको तुलनामा आइतबारसम्ममा पनि ५ खर्ब २७ अर्ब रुपैयाँमै स्थिर नै रहेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकहरूको सीडी रेसियो ९०.२८ र अन्तर बैंकदर ६.९८ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत बैंकहरूको ८५ प्रतिशतसम्मको पूँजी निक्षेप कर्जा अनुपात (सीसीडी) खारेज गरेर सीडी रेसियोमा गणना गर्ने व्यवस्था गरेको हो । यो व्यवस्थाको कार्यान्वयन भने आगामी असार मसान्तदेखि मात्रै हुनेछ ।
असारदेखि बैंकहरूले ९० प्रतिशत भित्रै सीडी रेसियो बनाउनुपर्ने भएकाले अहिलेदेखि नै मासिक योजना पेश गरेर कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
बैंकहरूले ५ प्रतिशतसम्मको ब्याजदरमा लिन पाउने अन्तर बैंक दरलाई भने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले ७ प्रतिशतसम्म पुर्याएको छ ।
राष्ट्र बैंकले बैंकहरूलाई दिने एक साताको सुविधा एसएसएफको ब्याजदर पनि ७ प्रतिशत नै बनाएको छ ।