साइट क्लियर नहुँदा चक्रपथ विस्तारको दोस्रो खण्डको काम अझै अनिश्चित भएको छ ।
चिनियाँ सरकारले अनुदानमा चक्रपथ विस्तारको काम गरिदिन लागेको हो । तर, चिनियाँ कम्पनीले साइट क्लियरेन्सको सबै काम पूरा भएपछि मात्रै काम शुरू गर्न सकिने बताएको छ ।
चक्रपथअन्तर्गत कोटेश्वरबाट–कलंकीसम्मको सडक विस्तारको काम पहिलो चरणमा सम्पन्न भइसकेको छ । कलंकीको स्युचाटार पुलदेखि बसुन्धारा चोकसम्मको ८.२ किलोमिटर सडक दोस्रो चरणअन्तर्गत विस्तार गर्ने योजना छ । बसुन्धाराभन्दा अगाडिको सडक भने अहिले विस्तार नहुने भएको छ ।
उक्त सडक खण्डको साइट क्लियर गर्नको लागि अझै दुई महिना समय लाग्ने चक्रपथ सुधार योजनाका प्रमुख मेघराज मरासिनीले बताए ।
चक्रपथ विस्तार गर्दा स्वयम्भु क्षेत्रको भू-भाग भत्काउनुपर्ने देखिएपछि साइट क्लियर गर्न लामो समय लागेको थियो । विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूको केही भाग भत्काएर सडक बनाउँदा विश्व सम्पदा सूचीमा रहेको सम्पदा संरक्षणमा प्रश्न उठ्ने भएपछि साइट क्लियर हुन सकेको थिएन ।
चिनियाँ सरकारी टोलीले पनि उक्त विवादलाई निकै चासो साथ लिएको थियो । स्वयम्भू परिसर भित्र पर्ने करीब ८ मिटर सडकमध्ये २ मिटर मात्रै चक्रपथ सडक हो । त्यसबाहेकको ६ मिटर भने चक्रपथको सब–लेन हो । उक्त सब–लेन भने नेपाल सरकारले बनाउनुपर्छ ।
स्वयम्भू परिसरमा सडक विस्तार नगरेर अर्कोतर्फ सडक बढाउने गरी सडक विस्तार गर्न खोजिएको आयोजना प्रमुख मरासिनीले बताए ।
साइट निरीक्षणमा आएको चिनियाँ पक्षले उक्त स्वयम्भू र सानो भर्याङमा रहेका ६६ केभीएका २ वटा हाइटेन्सन टावरहरू सारिदिन चक्रपथ सुधार आयोजनालाई आग्रह गरेको मरासिनीले बताए ।
सडक विस्तारको कामलाई अवरोध गरिरहेका हाइटेन्सन टावरहरू हटाइदिन नेपाल विद्युत प्राधिकरणलाई भनेको र प्राधिकरणले उक्त टावर सार्न डेढ महिनाको समय लाग्ने बताएको मरासिनीले जानकारी दिए ।
‘आयात गर्नुपर्ने सबै समान आइपुगेको अवस्थामा करीब डेढ महिनाभित्र टावरहरू सारिदिने लिखित पत्र प्राधिकरणले दिएको छ । हामीले सोही पत्र चिनियाँ पक्षलाई पठाएका छौं,’ मरासिनीले भने ।
चक्रपथ विस्तारको लागि लगभग साइट क्लियर गरेको र अब काम शुरू गर्न सकिने आयोजना प्रमुख मरासिनी बताउँछन् । ‘सम्बन्धित सरोकारवाला संघ, संस्थासँग छलफल गरेर सहमतिमा काम शुरू गर्ने भनेका छौं । फिल्डमा अब सानोतिनो बाहेक खासै समस्या छैन,’ मरासिनीले भने ।
चिनियाँ पक्षले तत्काल काम शुरू गर्न चाहेपछि साइट उपलब्ध गराउन सकिने अवस्थामा रहेको मरासिनीको दाबी छ । तर, फिल्डको अनुगमन गरेर फर्किएको चिनियाँ पक्षले भने कहिलेबाट चक्रपथ विस्तारको काम शुरू गर्ने अहिलेसम्म बताएको छैन ।