३० असार २०८३, मंगलबार

इलामका महिलाद्वारा सञ्चालित उद्योगमा रोजगारी सिर्जना

इलामका महिलाद्वारा सञ्चालित उद्योगमा रोजगारी सिर्जना

इलामको कोशेली ललिपप धेरैको रोजाइमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किंदा कोसेलीको रूपमा प्रायः लिएर जाने गर्दछन् ।

निकै स्वादिलो मिठाइका रूपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारी समेत पाएका छन् ।

ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाले आत्मनिर्भर मात्र हैन धेरै महिला तथा पुरुषलाई रोजगारी दिएका समेत छन् । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् तर इलाममी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएकी छन् ।

सानो लगानीबाट शुरू गरेको ललिपप उद्योगबाट धेरै महिला दिदीबहिनीलाई रोजगारी दिन सफल भएकी छन् ।

उनी इलाम तिल्केनीकी दीपाको दिनचर्या अहिले निकै व्यस्त छ । ८ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाएका छन् । बिहान ४ बजेदेखि राति अबेरसम्म उनी काममा नै व्यस्त रहन्छिन् । उनको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ ।

इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौंसम्म पुग्ने गरेको छ । ६ जनाबाट शुरू भएको उनको उद्योगमा अहिले ४६ जना महिलाले दैनिक काम गर्छन् । ५ लाखबाट शुरू भएको उनको उद्योगले अहिले वार्षिक ३५ लाख रुपैयाँसम्म कमाइ गर्दै आएको छ । 

इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गरेकी छन् । उनले पनि ३४ जना कामदार राखेर उद्योग सञ्चालन गर्दै आएकी छन् । ४ लाख रुपैयाँको लागतबाट शुरू भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उनले सुनाइन् । थोरै लगानीबाट शुरू भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनीहरू आत्मनिर्भर समेत बन्दै गएका छन् ।

उद्योगमा सबैलाई कामको बाँडफाँट गरिएको छ । मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टास्ने, प्याकेजिङ गर्ने काममा महिला दिदीबहिनीले रोजगारी पाएका छन् । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिला समेत उद्योगबाट स्वरोजगार बन्दै गएका छन् । उनीहरूले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताएका छन् । बरु उल्टै परिवारमा पैसा सरसहयोग गर्न पाएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।

दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्यरूपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुला बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो विद्युतीय प्रविधिबाट समेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरी लगायतका परिकार बनाइन्छ ।

हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको संख्या समेत बढ्दै गएको छ । 

कतिपय युवायुवती बेरोजगार बनेर विदेश पलायन भइरहेको अवस्थामा इलामका ललिपप उद्योगले धेरैलाई रोजगारी दिइरहेका छन् । कोरोना संक्रमणमा धेरै मार खाएका यी उद्योगलाई टिकाइराख्न राज्यका सम्बन्धित निकायले भने ध्यान दिन नसकिरहेको उद्योगीको भनाइ छ ।

जिल्लामा अनुदानका केही कार्यक्रम आए पनि वास्तविक व्यक्तिसम्म पुग्न नसकेको उद्योगीको गुनासो छ । यस विषयमा समेत सम्बन्धित निकायले सोच्न आवश्यक छ । 

salt training

कमेन्ट गर्नुहोस्