
कोरोना महामारीले शून्यमा झरेको पर्यटन क्षेत्रमा आक्रामक सुधार हुन थालेको छ । यो वर्षको वसन्त ऋतुमा हुने हिमाल आरोहणसँगै पर्वतीय पर्यटनप्रतिको आकर्षणले पर्यटन आय समेत बढाएको छ ।
पर्यटन विभागका अनुसार मंगलवारसम्ममा २३ वटा हिमाल आरोहण गर्न विभिन्न ७१ देशका ७४३ विदेशी जाने भएका छन् ।
यी विदेशीलाई आरोहण अनुमति दिएबापत सरकारले पर्वतारोहण रोयल्टी मात्रै ३५ लाख ३९ हजार अमेरिकी डलर (४२ करोड ९४ लाख रुपैयाँ) संकलन गरेको छ ।
आरोही आरोहणमा निस्कने अन्तिम दिनसम्म पनि अनुमति लिन आउने हुँदा यो वर्षको पर्वतारोहण रोयल्टी अझै बढ्ने अनुमान विभागको छ ।
पर्यटक आगमनको सहजतासँगै दैनिक दुई हजार विदेशी स्वदेश भित्रन थालेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । यो वर्षका लागि पर्यटकीय सिजन शुरू भएको छ । नेपाल भित्रिने पर्यटकको संख्याले एक सातादेखि दिनदिनै २ हजार जनासम्मको आंकडा छोइरहेको छ । यो तथ्यांक महामारीपछिकै धेरै हो । महामारीपछि मार्च २०२२ मा एकै महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या ४२ हजार छ ।
महामारी अगाडि सन् २०१९ मा वार्षिक करीब १२ लाख पर्यटक नेपाल भित्रिन थालिसकेका थिए । महामारीका कारण सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै आए । महामारीले एकै वर्ष ८० प्रतिशतले पर्यटक आगमन घट्यो । एकै वर्ष पर्यटक आगमनमा घटेको यस्तो तथ्यांक अहिलेसम्मकै धेरै हो ।
महामारीले लामो समय असर गर्ने र तत्काल सुधार नहुने क्षेत्रको रूपमा पर्यटनलाई चिनिन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्नुपर्ने, घुम्न निस्कनेको मनस्थिति बन्नुपर्ने, बिदा मिलाउनुपर्नेदेखि जहाँ शान्ति हुन्छ त्यहीँ घुम्न जाने पर्यटनको सिद्धान्त हो ।
महामारीबीचको असहजतामा पनि सन् २०२१ मा नेपालमा १ लाख ५० हजार जना आएका छन् । यो तथ्यांकको तुलनामा सन् २०२२ मा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।
डलर आम्दानीमा सुधार
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा १२ करोड ११ लाख डलर आम्दानी पर्यटन क्षेत्रले गरेको छ । यस्तो आम्दानी उक्त अवधिमा २१९ प्रतिशतले बढेको छ । गत वर्ष २०७७/७८ को ८ महिनामा ३७ लाख ९० हजार डलर आम्दानी यो क्षेत्रले गरेको थियो ।
पर्यटक आगमनले समग्र पर्यटन क्षेत्र तरंगित हुन्छ । कोभिडले थलिएको पर्यटन सुधार्न र २ वर्षदेखि ठप्प भएका व्यवसायीदेखि मजदूरसम्मलाई पर्यटनको माध्यमबाट चलायमान बनाउनुपर्ने छ । पर्यटक बढ्दा यस क्षेत्रमा क्रियाशील व्यवसायीदेखि मजदूरसम्मको गुजारा पनि सहज बनेको छ ।
नेपालमा महामारी अगाडि करीब १० लाख जनाले यो क्षेत्रमा रोजगारी पाएको अनुमान थियो । त्यो रोजगारी पुनः फर्काउने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डको भनाइ छ । यसका लागि बोर्डले मजदूर तालिम र अल्पकालीन रोजगारीको कार्याक्रम चलाएको छ । राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई बचाइराख्नकै लागि पुनरकर्जा यही क्षेत्रमा तुलनात्मक रूपमा धेरै दिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा ग्राहक ऋणीअनुसार स्वीकृत गरिएको १३ अर्ब रुपैयाँ पुनरकर्जा मध्ये ५० प्रतिशत हिस्सा पर्यटन क्षेत्रको मात्रै छ । यस्तो कर्जा गत आवमा प्रवाह भएको ४६ करोडमध्ये ४७ प्रतिशत (२१ अर्ब रुपैयाँ) पर्यटन क्षेत्रको मात्रै थियो ।
राष्ट्र बैंककै तथ्यांकअनुसार २ वर्ष अगाडि पर्यटन क्षेत्रबाट भएको प्रत्यक्ष डलर आम्दानी ७२ करोड ४३ लाख डलर छ । यो आम्दानी लक्ष्यलाई आगामी वर्ष पूरा गर्ने गरी समग्र पर्यटन क्षेत्रमै सुधारको काम भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीको भनाइ छ ।
रेग्मी भन्छन्, ‘नेपाल आइपुगेका पर्यटक कहाँ जान्छन्, कति खर्च गर्छन्, पर्यटकको अवस्था के छ भन्नेसहितको सम्पूर्ण तथ्यांक संकलन गर्ने गरी टुरिजम स्याटेलाइट एकाउन्टिङको पनि तयारी छ । यसबाट पर्यटकीय गतिविधि, नेपालमा आएकाले गर्ने खर्च, व्यवसायीदेखि श्रमिक वर्ग र कृषकसम्मले पाउने लाभसम्मको विवरण संकलन गर्ने प्रयास छ ।’
यो बाहेक भारतीय पर्यटकको पनि व्यवस्थित तथ्यांक संकलन र खर्च विवरण राख्नुपर्ने हुन्छ । नेपालमा हाल भारतीय पर्यटकले गने औसत खर्च भारु १७ हजार ६ सय हुने अनुमान पर्यटन बोर्डको छ ।
तेस्रो मुलुकबाट आउने पर्यटकले गर्ने खर्च र अनुमानित तथ्यांक भने राष्ट्र बैंकले मासिक रूपमै सार्वजनिक गर्ने गरेको छ । यस्तो तथ्यांक अनुसार सन् २०२० मा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च औसत प्रतिदिन ६५ डलर छ । यस्तो खर्च सन् २०२९ मा ४८ डलर मात्रै थियो । पछिल्लो समय विदेशीको खर्च बढिरहेको, बसाई अवधि बढाउन प्रयास भइरहेकाले यो वर्ष पनि औसत खर्च गत वर्षकै हाराहारीमा राख्न सकिए डलर आम्दानीमा उल्लेख सहयोग पुग्ने पर्यटन बोर्डको विश्वास छ ।
नेपाल आउने पर्यटकले गर्ने जहाज प्रयोगदेखि होटल बसाइ, टूर प्याकेज खरिद, नेपालमा गरिने पर्यटकीय गतिविधिसम्ममा डलर खर्च हुन्छ । यस्तो खर्च जति धेरै भयो उति नै विदेशी मुद्राको आम्दानी बढ्छ भने यसको लाभ शहरदेखि गाउँ घरसम्म पुग्ने बुझाइ पनि बोर्डका सीईओ रेग्मीको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट पर्यटक नेपाल भित्रिँदा उनीहरूले गर्ने खर्चका कारण विदेशी सञ्चिति बढाउन सहयोग पुग्ने बताउँछन् । भट्ट भन्छन्, ‘पर्यटक बढेसँगै विदेशी मुद्रामा परेको दबाब पनि विस्तारै कम गर्न सहयोग गर्छ, जसको योगदानले अहिलेको संकटोन्मुख अर्थतन्त्र सुधारमा सहयोग पुर्याउँछ ।’
भट्टले भने, ‘पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा दबाब पर्नुको कारण रेमिट्यान्स कम आउनु, पर्यटन आय नबढ्नु र नेपालबाट विभिन्न प्रयोजनका लागि डलर बाहिरिनु हो ।’ डलर आम्दानी बढाउने सबैभन्दा सहज माध्यम नै पर्यटन भएकाले जति सक्दो बढी विदेशी पर्यटन नेपाल ल्याउन भूमिका खेल्नुपर्ने उनले बताए ।
महामारीपछि नेपालमा पर्यटक आगमन