३० जेठ २०८३, शनिबार
राज्यको उपेक्षामा परेको भूमि

काठमाडौंले नदेखेको मेचीपारिको नेपाल

काठमाडौंले नदेखेको मेचीपारिको नेपाल

नेपालको सिमानाको कुरा गर्दा हामीमध्ये धेरैले भन्छौं पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म । तर, पूर्वको सीमामा पुग्दा मात्रै थाहा हुन्छ, मेची नदीभन्दा पारिपट्टि पनि नेपाल छ ।

सुदुरपूर्वको जिल्ला झापामा दुईवटा यस्ता बस्ती छन्, जुन भूभाग नेपालको हो तर, त्यहाँ बस्ने नेपालीलाई देशले भने पराई झैँ व्यवहार गरेको छ ।

मेचीभन्दा पारिको दुई बस्तीमध्ये एउटा मेचीनगर नगरपालिका र अर्को चाहिँ भद्रपुर नगरपालिकामा पर्छ । 

मेचीनगर नगरपालिको वडा नम्बर– १५ मा पर्ने झाडो बस्तीलाई मेचीपारिको नेपाल भनेर चिनिन्छ ।

भारतको बिहार र बंगालको सीमासँग जोडिएको उक्त बस्तीका नेपालीहरू वर्षायाम लागेपछि प्रशासनिक कामका लागि वडा कार्यालयसम्म पनि पुग्न सक्दैनन् । न त विद्यार्थीहरू विद्यालय नै जान पाउँछन् ।

उनीहरूले मेची नदीको पारिपट्टी पनि नेपालको भू–भाग रक्षा गरेका छन्, तर देशले भने विदेशीलाई जस्तो व्यवहार गरिरहेको छ ।

मेची नदीमा पानीको बहाव बढेपछि प्रशासनिक कामका लागि वडा कार्यालय पुग्न भारतीय बाटो हुँदै नेपाल–भारतको पूर्वी नाका काँकडभिट्टा पुग्नुपर्छ, जुन उनीहरूका लागि निकै मुस्किल छ । उक्त बस्तीमा सामान्य जीवनयापनका लागि न्यूनतम सुविधा पनि सरकारले पुर्‍याउन सकेको छैन । 

उनीहरूको मुख्य बजार भारत नै हो । आफ्ना उत्पादन बिक्री गर्न र तेल मसला खरिद गर्न भारतीय बजार नै जानुपर्छ । स्वास्थ्य उपचार र अन्य सेवाका लागि पनि भारत नै पुग्नुपर्छ । 

मेचीनगर नगरपालिकामा पर्ने यो बस्तीमा झाडो, ग्वाला र शिशौडाँगी टोल छन् । यी तीन टोलमा करीब ३८ घर परिवार छन् । ऐलानी जग्गामा बनेको बस्ती हो यो । तर, केहीले पनि जग्गाको लालपूर्जा पनि बनाएका छन् ।

राजवंशी र यादव समुदायको बसोबास, मैथिली भाषा

गाउँमा केही वर्ष अघि खुलेको विद्यालय छ । उक्त विद्यालयमा कक्षा २ सम्म मात्रै पढाइ हुन्छ । त्यहाँका सबैको जीविकोपार्जनको उपाय भनेकै पशुपालन र कृषि हो ।

ग्वाला बस्तीका स्थानीय मोतिलाल यादव गाउँका सबैको मुख्य पेशा कृषि र पशुपालन मात्रै भएको बताउँछन् । 

त्यहाँका नेपालीहरूलाई समस्या नै समस्या रहेको यादवले सुनाए ।

‘हाम्रा केटाकेटीहरू पढ्न पाएका छैनन् । कक्षा–२ सम्म मात्रै पढाइ हुने विद्यालय छ । वर्षाको बेलामा उनीहरूले पढ्न पाउँदैनन्’, यादवले भने । 

माथिल्लो कक्षा पढ्नका लागि मेची नदी तरेर आउनुपर्छ । उक्त बस्तीलाई जोड्ने पुल नहुँदा बालबालिकाहरू आवतजावत गर्न सक्दैनन् । 

कतिपय भने झाडो बस्ती छाडेर मेचीवारि नै आएर बस्न थालेका छन् । उनीहरू चियाबगानमा काम गर्छन् । तर, जसले पशुपालन र कृषि पेशा अपनाएका छन्, उनीहरूको लागि झाडो बस्ती नै सजिलो छ । 

यादव भन्छन्, ‘पशुपालनका लागि हामीलाई यहीँ सजिलो छ । पारि जाँदा गाइवस्तु पाल्न सकिँदैन ।’

यहाँका सबैजसोले गाई, भैँसीको दूध बिक्रीबाट आम्दानी गर्छन् । भारतीयहरू दूध खरिद गर्न गाउँमै आउँछन् । स्थानीयले दूध र तरकारी नेपालतिर बिक्री गर्न ल्याउँदा नेपाली प्रहरीले दुःख दिने गुनासो गरे ।

‘साइकलमा तरकारी लिएर गयो भने भारतबाट ल्याएको भनेर दुःख दिन्छन् । हरेक साइकलबाट १०० रुपैयाँ लिन्छन् र खल्तीमा हाल्छन्’, यादवले भने ।

प्रहरीले दुःख दिएको बेलामा स्थानीय जनप्रतिनिधिहरूलाई फोन गर्ने गरेको उनले बताए । 

स्थानीय तहको निर्वाचनका क्रममा राजनीतिक दलका प्रतिनिधिहरू मत माग्न पुगेका थिए । उनीहरूले पुरानै आश्वासन दोहोर्‍याएर फर्किएको स्थानीयले बताए ।  

‘झोलुङ्गे पुल बनाइदिन्छु भनेको दुई वर्ष भइसक्यो, अहिलेसम्म बनेको छैन । हिउँदमा त बत्ती बल्छ तर वर्षामा खोलाले पोल बगाइदिन्छ र बत्ती बल्दैन । अहिलेको चुनावमा पनि उम्मेदवारहरू यही कुरा दोहोर्‍याएर गएका छन्’, यादवले भने । 

उक्त ठाउँलाई नेपाली भूभाग हो भनेर विस्तारै अरूले चिन्न थालेको यादव बताउँछन् । ‘पहिले त यो नेपाली भूभाग नै हो भनेर धेरैलाई थाहै थिएन । भर्खर चिन्न थालेका हुन् । प्रहरीहरूले नै भारतीय हो भन्थे । तर, अहिले चाहिँ उनीहरूलाई पनि थाहा भयो’, यादवले भने । 

सीमा सुरक्षामा रहेका शसस्त्र प्रहरीलाई अहिले पनि नेपालको सीमा कहाँसम्म हो भन्ने थाहा नभएको झाडो बस्तीका स्थानीयहरू बताउँछन् ।

झोलुङ्गे पुल मुख्य एजेन्डा 

मेचीपारिको नेपाललाई राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनको एजेन्डा बनाएका थिए । निर्वाचन जितेमा स्कूल र विद्युत्को समस्या समाधान गरिदिने, मेची नदीमा पुल बनाइदिने आश्वासन उनीहरूको थियो ।

मेचीनगर नगरपालिकामा एमालेले निर्वाचन जितेको छ । एमालेका गोपालचन्द्र बुढाथोकी नगर प्रमुखमा र मीनाकुमारी पोखरेल उपप्रमुखमा निर्वाचित भएका छन् । 

मेचीपारिको बस्ती समेत पर्ने उक्त नगरपालिकाको वडा नम्बर–१५ को वडा अध्यक्ष भने कांग्रेसले जितेको छ । कांग्रेसका गुणराज भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् ।  

नगर प्रमुख निर्वाचित भएका बुढाथोकीले मेचीपरिको नेपालको विद्युत् समस्या समाधान गर्ने र मेची नदीमा झोलुङ्गे पुल बनाउने आफ्नो योजना रहेको बताएका छन् । 

‘नगरपालिकाको बजेटबाट भए पनि स्कूलमा शिक्षकको व्यवस्था गर्छौं । विद्युत्को समस्या सुल्झाउँछौं र मेची नदीमा झोलुङ्गे पुल बनाउँछौं’, बुढाथोकीले भने । 

पढ्नुहोस्, यो पनि :

salt training

कमेन्ट गर्नुहोस्