×

NMB BANK
NIC ASIA

सन्दर्भ : भानु जयन्ती

‘भानुभक्त’को सम्मानका लागि दार्जिलिङलाई सलाम !

असार २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दार्जिलिङको चौरस्ता पुग्नेहरू ‘भानुभक्त’को प्रतिमासामु ननिहुरिने बिरलै होलान् । देश, विदेश जहाँसुकै बस्ने नेपालीलाई भाषाका माध्यमबाट एकताको सूत्रमा उन्न सफल महान् कवि भानुभक्त आचार्यको जुन मर्यादाका साथ यहाँ सम्मान प्रकट भएको छ, यसले नेपाली साहित्यका समुज्ज्वल ‘भानु’प्रति त आदरभाव व्यक्त गरेको छ नै, साथै नेपालीत्वको कीर्तिध्वज पनि फरफराएको छ । 

Muktinath Bank

कुदिरहेको बसको झ्यालबाट भानुभक्त आचार्य र तेन्जिङ नोर्गे शेर्पाको सालिक देखेर सिलिगुडीमा लहराएको यो मन दार्जिलिङ पुग्दा भावविभोर हुन पुगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली भाषा, साहित्य र संस्कृति भनेपछि भुतुक्कै हुने दार्जिलिङे प्रवृत्ति कम नरहेको उदाहरण धेरै देखिए । गोर्खाली सेनाका उत्कष्ट सौर्य, पूर्खाका पौरखी पाखुरी र तरुनी, तन्नेरीका बेजोड उत्साहले चम्काउँदै ल्याएको दार्जिलिङलाई तब त चिया बगानले मात्र चिनाएको छैन ।


Advertisment
Nabil box
Kumari

भाषा, साहित्य र संस्कृतिमा नेपाली कोहीभन्दा कम नरहेको ध्वन्यात्मक सन्देश फैलाइरहेको दार्जिलिङमा आफ्नो भाषा, आफ्नो साहित्य र आफ्नो संस्कृतिप्रति ठूलो गौरवबोध रहेको प्रतीकात्मक अर्थ पनि भानु स्मारक स्थलले दिएको छ । अनेपालीभाषी नेता समेत जब यहाँ आई आदिकवि भानुभक्तप्रति श्रद्धासुमन अर्पण गर्दै नेपाली भाषामा सम्बोधन गर्न रुचाउँछन्, त्यसबखत यहाँका आँखामा आत्मसन्तुष्टि र अधरमा मधु मुस्कान तैरनु अस्वाभाविक होइन ।

Vianet communication
Laxmi Bank

नेपाली जातीय कवि  

हातमा रामायण लिएका भानुभक्त आचार्यको पूर्णकदको प्रतिमामुन्तिर उल्लिखित व्यहोरा पनि मननीय बनेको छः ‘नेपाली जातीय कवि रामायणका रचयिता भानुभक्त आचार्य, जन्म संवत् १८७१, मृत्यु संवत् १९२५, नेपाली साहित्य सम्मेलन दार्जिलिङद्वारा स्थापित, संवत् २००६/१७ जुन १९४८ पुनर्प्रतिष्ठापित संवत् २८ असार २०५३/१२ जुलाई १९९६ ।’ 

उपर्युक्त व्यहोरामा ‘नेपाली जातीय कवि’का रूपमा आदिकविको परिचय गराइएको छ । विभिन्न धर्म, जात, जातिमा विभाजित नेपालीलाई भाषाका माध्यमबाट एकताको सूत्रमा गाँसिन मद्दत गर्ने विराटभाव समेटिएको यो चिनारी आफैंमा धन्य छ, स्तुत्य छ । त्यो फराकिलो सोच, त्यो आत्मीय अग्रसरता र त्यो दूरदर्शी आदरभावका लागि दार्जिलिङको जत्ति प्रशंसा गरे पनि मन अघाउँदैन । दार्जिलिङको यही नैसर्गिक स्वभावले भारतभरि छरिएर रहेका नेपाली/गोर्खालीलाई ऐक्यबद्धताको न्यानो अँगालोमा समेटिन हार्दिक सन्देश दिइरहेको छ । 

आजभन्दा ७४ वर्षअघि नेपाली साहित्य आकाशका ‘भानु’को प्रतिमा स्थापना गरी अपूर्व योगदान पुर्‍याएको दार्जिलिङकै उत्प्रेरणाको प्रतिफल मान्नुपर्छ, पछिल्ला दिनमा विभिन्न क्षेत्रमा यसका राम्रा बान्की देखापरिरहेका छन् । भानुभक्तका नाममा कैयन् समिति बनेका छन्, भानुभक्तको प्रतिमा स्थापना गरी जातीय गौरव अभिवृद्धि गर्नेक्रम बढ्दो छ । भानु जयन्तीका अवसरमा विभिन्न सम्मान, पुरस्कार, काव्यगोष्ठी, नाचगान आदि कार्यक्रम आयोजना हुनुले सौरभ थपेका छन् । यस सन्दर्भमा सिलिगुडीस्थित खोलाचन्द फाप्रीको भानुभक्त जनपुस्तकालय र भानुभक्त आचार्यको पूर्णकदको आकर्षक प्रतिमालाई पनि सम्झनैपर्छ ।

दार्जिलिङको यही नेपाली जातीय मूल्यवत्ताकै कारण हुनुपर्छ, आज त्यहाँ जातले होइन, नेपाली जातीयताले हरेकको मन, मुटु छुने गर्छ । दार्जिलिङमा बिहारी, पञ्जाबी, गुजराती आदिले समेत बडो मनोभावका साथ नेपाली बोलेको सुन्दा मजस्तो पहिलोपटक त्यहाँ पुग्ने जोकोही अचम्मित हुने नै भयो । 

भानुचोक नजिकै एउटा पसलमा पटेल थरका गुजराती साहुजीले मक्ख पर्दै ‘हामी पनि नेपाली हो, गोर्खाली हो’ भन्दा आश्चर्य होइन, अनुपम सुखद अनुभूति हुनपुग्यो । यसलाई दार्जिलिङको हार्दिकता र आङ्गीकारिताको नमूना मान्न रत्ती बेर लागेन !

कर्मले नेपाली

यही मेसोमा एउटा काव्यगोष्ठीको भिडियो हेर्ने अवसर जुट्न पुग्यो । एक कविको अभिव्यक्तिले छक्क तुल्याई रोमाञ्चित मात्र बनाएन, नेपालीपनको आकाशमा आनन्दको सौम्य वर्षा समेत गरायो । उनी भावनाको समुद्रमा यसरी बगिरहेका थिए –

‘मेरो नाम राजेश गुप्ता

जातले बिहारी भए पनि

कर्मले नेपाली हुँ

नेपाली भाषा लेख्न 

मलाई असाध्यै मन पर्छ

हिन्दी जान्दिनँ ... ।’

उनलाई यो भावभूमि दार्जिलिङले प्रदान गरेको हो, प्रोत्साहन पनि दार्जिलिङले गरेको हो । यस अर्थमा दार्जिलिङ उदाहरणीय वा प्रशंसनीय मात्र होइन, अनुकरणीय समेत बनेको छ । कवि गुप्ताको ‘कर्मले नेपाली हुँ’ भनिएको अंशले अरू क–कसको के–के छोयो खै ! मेरो चाहिँ मन छोएको छ, जन्मले होइन, कर्मले जात हुने श्रीमद्भागवद् गीताको मार्मिकता यहाँ प्रवाह भए जस्तो लाग्यो ।

पुर्ख्यौली धरोहर

आजको दार्जिलिङ हिजो–अस्तिको रूपान्तरण हो । पूर्खाले भाषा, साहित्य, संगीत र कलाका बीउ नरोपेका भए, प्रतिकूलता र चुनौतीका राग मात्रै गाएर बसेका भए आजको पुस्ताले वाङ्मय गरिमाको महिमागान गर्न पक्कै पाउने थिएनन् । लोकभाकादेखि चल्दै आएको परम्परालाई निरन्तरता दिने तमाम ज्ञात, अज्ञात पूर्वज तथा निःस्वार्थ भावले समर्पित समस्त आत्मीय जनप्रति आभार व्यक्त गर्न केको कञ्जुस्याइँ !

दार्जिलिङको भूमिमा जन्मिई त्यहाँ सुवास फैलाइरहेका अथवा नेपालमा समेत आई जातीय गौरव बढाएका अथवा अन्यत्र जन्मिई दार्जिलिङलाई केही अवधि कर्मभूमि बनाएर नेपालीपनको झण्डा उचालेका ती सबै महान् व्यक्तित्वको सम्झना गर्न यतिबेला सम्भव हुँदैन नै, तैपनि साहित्य, संगीत, कला, न्याय, चलचित्र, समाजसेवा आदि क्षेत्रका केही नाम सरसरती यसरी स्मरण गर्न सकिन्छः रूपनारायण सिंह, ‘सूधपा’ (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान), रामकृष्ण शर्मा, हरिप्रसाद प्रधान, लैनसिंह वाङदेल, विष्णुकुमारी बाइवा (पारिजात), इन्द्रबहादुर राई, तारानाथ शर्मा, अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, ईश्वर वल्लभ, रञ्जित गजमेर, शान्ति ठटाल, सुवास घिसिङ, अगमसिंह गिरी, लक्खीदेवी सुन्दास, पिटर जे. कार्थक, कुन्ती मोक्तान, शिला मोक्तान, तुलसी घिमिरे, श्रवण घिमिरे, शम्भु प्रधान, चन्द्रकला किरण, अनुराधा कोइराला, अम्बिका श्रेष्ठ, सुभद्रा सुब्बा दाहाल, इन्दिरा प्रसाई, दिव्य खालिङ, शरण प्रधान, जितेन्द्र बर्देवा, दिलमाया खाती, कर्म योञ्जन, उदय सोताङ, मनिता सोताङ, डा. जीवन नान्दुङ, प्रेम प्रधान, कृष्ण प्रधान, सुकराज दियाली, प्रशान्त तामाङ, निरुता सिंह आदि । यस्ता अनेक व्यक्ति तथा संस्थाको क्रियाशीलताका कारण आज नेपालीत्वको महाकाश दिनानुदिन फराकिँदै गएको छ । 

प्रकाशनको फाँटमा पनि दार्जिलिङको इतिहास सुनौलो छ । सन् १९०१ मा थालिएको ‘गोर्खे खबर कागत’ र त्यसयताका चन्द्रिका, आदर्श, नेपाली साहित्य सम्मेलन, नेबुला, परिवर्तन, खोजी, गोर्खा, पुकार, भारती, हाम्रो कथा, साथी, हिमालकिशोर, सुस्केरा, कमल आदिले सिर्ज्याएको पृष्ठभूमिमा अनेक पत्रपत्रिका छन् ।

संस्थागत रूपमा हेर्दा सन् १९१३ मा स्थापना भएको गोर्खा जनपुस्तकालय, नेपाली साहित्य सम्मेलन (सन् १९२४), गोर्खा दुःख निवारण सम्मेलन (सन् १९३२), अल इन्डिया गोर्खा लिग (सन् १९४२) आदि संस्थाले नेपालीलाई सुख, दुःखमा साथ दिई  चलाएको अविरल यात्रा निःसन्देह उच्च मूल्यांकनका विषय हुन् ।

सुगौली सन्धि (सन् १८१६ मार्च ४) को घाउका कारण पराइ मुलुकमा गाभिन बाध्य हुनु परे तापनि उहिलेको ‘गुन्द्रीबजार’ अर्थात् अहिलेको दार्जिलिङको मन चाहिँ नेपाली नै छ । अंग्रेजले चौपट्टै मन पराएको र गोर्खाली पौरखले सिर्जिएको दार्जिलिङ यसै ‘पहाडकी रानी’ कहलिएको होइन । 

घात, प्रतिघात र शकुनिजन्य अन्तर्घातसित जुध्दै तथा भोक, रोग र शोकका बादल पन्छाउँदै अस्तित्व स्थापनाको यात्रामा अघि लम्किएको दार्जिलिङको उत्साह बेजोड छ, अतुल्य छ । 

जहाँ चौडिन्छ छाती

गोर्खा रंगमञ्च परिसरमा स्थापित स्वनामधन्य संगीतकार गोपाल योञ्जनको प्रतिमा नजिक पुग्दा झङ्कृत नहुने मन सायदै होला भने दुनियाकै सर्वोच्च शिखर सगरमाथामा प्रथम पाइला टेक्ने तेन्जिङ नोर्गे शेर्पाको प्रतिमास्थलमा पुग्दा कसको छाती गर्वले नचौडिँदो हो ! अग्रणी आरोही तेन्जिङले प्रयोग गरेका हिमाल आरोहणसम्बन्धी पोशाक, उपकरण एवं तस्वीरहरूले संग्रहालयको महत्त्व बढाएका छन् । नेपालको झण्डा तथा नेपाली विवरण सहितका प्रस्तुति मनोहारी हुने नै भए ।

दार्जिलिङ घुम्ने क्रममा स्थानीय चालकले ‘ऊ त्यो तेन्जिङको घर’ भनी बाटोमास्तिर औंल्याएका मात्र के थिए, दृष्टि दौडिहाल्यो । तेन्जिङको घर देखाउन पाउँदा चालकको अनुहारमा देखिएको ओज र बोलीमा रहेको तेज विशेष थियो । 

चाँदबारीका मोतीलाल    

भोलिपल्ट ‘जीडीएनएस’ (गोर्खा दुःख निवारण सम्मेलन) पुग्दा त्यहाँ ढोका बन्द हुनु अनौठो थिएन । बिहान साढे ६ बजे पुग्दाको परिणति योबाहेक अरु के हुनसक्थ्यो र ! तैपनि वरपर कोही त सरोकारी होलान् नि भन्ने ध्येयले पुगिएको थियो । सोधपुछ गर्दै अघि सर्दा विद्यावारिधि गरिरहेकी छात्रा चेतना राईसित भेट हुन पुग्यो । 

नेपाली भाषा, साहित्यसित उनको प्यारो सम्बन्ध रहेछ । बडो श्रद्धाभावका साथ पारसमणि प्रधानको नाम लिई त्यहाँ उनको परिवार बसोबास गर्ने जानकारी पनि दिइन् र मेरो आशय बुझेपछि उनले त्यसका लागि चोकबजारस्थित जिल्ला पुस्तकालय छ तर उपयुक्त निकटतम स्थान चाहिँ नेपाल साहित्य सम्मेलन हुने बताएर त्यताको बाटो देखाउँदै सहर्ष बिदा भइन् । 

म आफूसित भएका २ वटा किताब ‘प्रथम नेपाली महिला र बिर्सनै नहुने कृष्णप्रसाद’ च्यापी त्यतैतिर हानिएँ । केहीबेरमै सम्मेलनमा पुगें तर कुरो उही रह्यो ।  

‘डामडुम्म’ त्यत्रो भवनमा भित्रबाट चियाउने कोही थिएन । एमानको ताल्चा नियालिरहेको देखेर ट्रकबाट तरकारी झारिरहेका एक सज्जन नबोलिरहन सकेनन् । उनको मिठो नेपाली बोलीले नै मन तानेको थियो, त्यसमाथि उनले सम्बद्ध अध्यक्षको फोन नम्बर समेत उपलब्ध गराएर गुन लगाए तर सम्पर्क हुन सकेन । 

यत्तिकै फर्कन मन मानेन । किराना पसलमा सोध्दा नजिकै पत्रिका पसल रहेको थाहा पाएपछि केही आशा पलायो ।

चाँदबारी, दार्जिलिङमा मोतीलाल शर्मा (खतिवडा) को ‘शर्मा पुस्तक पसल’ चर्चित रहेछ । ७८ वर्षीय मोतीलाल धमाधम पत्रपत्रिका बेच्न व्यस्त थिए । लामिडाँडा, दोलखाबाट हिँडी सानैमा दार्जिलिङ छिरेका मोतीलालले यो पत्रिका पसल खोलेको पनि ३८ वर्ष भएछ । नेपाली साहित्य सम्मेलनकी पदाधिकारी ‘सरिता संकल्प’सित फोनैबाट सम्पर्क गरी त्यहाँ पुस्तक छाड्ने काम उनकै सौजन्यबाट पूरा हुन सक्यो । 

रेलको कथा    

दुवै पुस्तकको थोरै भए पनि दार्जिलिङसित साइनो गाँसिएको छ । ‘प्रथम नेपाली महिला’मा कतिपयको सम्बन्ध दार्जिलिङसित छ भने ‘बिर्सनै नहुने कृष्णप्रसाद’मा दार्जिलिङको ऐतिहासिक प्रसङ्ग छ । 

‘दार्जिलिङ घूम पहाड बस्ने प्रतापसिंह कामी अमलेखगञ्जमा रेलवे खडा हुने सुनेर नेपाल आई तत्कालीन कम्यान्डर इन चिफ भीमशम्शेरलाई भेट गर्दा सिंहदरबार दर्शन गर्न जानू’ भनिएपछि श्री ३ चन्द्रशमशेर जंगबहादुर राणाकहाँ गई रेलवेको काम गर्न पाउँ भनी निवेदन दिए । सो रेलवेको काम मास्र्टिन कम्पनीसँग बन्दोबस्त भइसकेकाले उनलाई हेटौंडा, विराटनगरतिरको अर्कै काम लगाइएको रहेछ ।

‘घूम’मा रेल देख्दा लाग्यो, रेलवे निर्माणका बखत ती प्रताप सिंहले कुनै न कुनै काम गरेको हुनुपर्छ, तब त नेपालमा रेलवे बन्न लागेको सुनी काठमाडौं हानिएका होलान् ! उतिखेर प्रताप सिंहको इलेक्ट्रिकद्वारा खुकुरी, कर्द, छुरा आदि बनाउने कारखाना घूम पहाडमा रहेको र त्यहाँको बङ्गलामा कृष्णप्रसाद आचार्यसँगै मेनेजर अगमसिंह गिरी पनि साथ बसेको उल्लेख छ ।

सिलिगुडीबाट दार्जिलिङ गइँदा होस् वा दार्जिलिङको चोकबजारबाट सुखिया, फाटक हुँदै पशुपतिनगर भई कन्यामको बाटो तताउँदा ‘घूम’ले धुमधाम स्वागत गरेको थियो । गाडीबाटै भए पनि ‘क्लिक, क्लिक’ घूम रेलवे स्टेसनका तस्वीर खिँची रमाइलो मानियो ।

दार्जिलिङको रेल कथा पुरानो मात्र छैन, गौरवपूर्ण पनि छ । उतिबेला बाफले चल्ने रेल मात्र कुद्थ्यो । विश्व सम्पदा सूचीमा समाविष्ट ‘जलपाईगुडी–दार्जिलिङ’ चल्ने हिमालयन रेलवे पर्यटकका निम्ति मनमोहक छ । ब्रिटिश शासकले सन् १८८१ मा यहाँ रेल (टोय टे«न) पुर्‍याएको इतिहास पाइन्छ । यतिखेर न्यू जलपाईगुडीको रेलवे स्टेसन हातामा ‘हाम्रो सम्पदा’ जनाई राखिएको बाफले चल्ने रेलको इन्जिन अविस्मरणीय छ । ‘एनजीआर (नेपाल–रक्सौल रेल्वे/सन् १९२७) र एनजेजेआर (नेपाल जयनगर–जनकपुर रेलवे/सन् १९३७) रेलवेको स्वर्णिम इतिहासबाहेक हामीसित वर्तमानमा देखाउन मिल्ने र बखान्न सकिने भरपर्दो कुनै कुरो नभएकाले मन मारेर मौनता साध्नु मात्र बुद्धिमानी देखिन्छ ।

सिद्रापोङ र फर्पिङ 

दार्जिलिङको सिद्रापोङ पनि मानसपटलमा छाएको छ । यो त्यही नेपालीबस्ती हो, जहाँ एसियामै पहिलोपटक जलविद्युत् केन्द्र निर्माण भएको मानिन्छ । यसपछि दोस्रो हुने श्रेय नेपालको फर्पिङ जलविद्युत् केन्द्रले पाएको छ । १० नोभेम्बर १८९७ मा निर्माण पूरा गरिएको सिद्रापोङ जलविद्युत् केन्द्रलाई उता राष्ट्रिय सम्पदा घोषणा गरिएको छ । फर्पिङ जलविद्युत् आयोजना चाहिँ तत्कालीन श्री ३ चन्द्रशमशेरले युरोप भ्रमणबाट विक्रम संवत् १९६५ भदौ १२ गते फर्किएलगत्तै निधो गरी अर्को वर्ष काम थालेर २ वर्षभित्रै विक्रम संवत् १९६८ (सन् १९११) निर्माण सम्पन्न गराइएको उल्लेख पाइन्छ । दुःखको कुरो, फर्पिङ जलविद्युत् केन्द्र (चन्द्रज्योति हाइड्रोइलेक्ट्रिक पावर स्टेसन वा चन्द्रज्योति गृह) का सम्बन्धमा चाहिँ शतवार्षिकी मनाउनुबाहेक बखान्न मिल्ने कुनै काम भएको देखिँदैन । 

थप आकर्षण

बादलको घुम्टो नओढेका बखत दार्जिलिङबाट देखिने कञ्चनजंघा हिमाल शृंखला बेग्लै आकर्षणको पाटो हो । सूर्योदयको आनन्द लिन चाहनेलाई टाइगर हिलले मोहित बनाएझैं घूमको गुम्बा र गोर्खाली अमर शहीदप्रति समर्पित ‘बतासे लूप (सर्पिल रेलमार्ग)’ले पनि प्रफूल्लित तुल्याउँछ । तेन्जिङ रक, हिमालयन पर्वतारोहण संस्थान, हिमालयन प्राणी उद्यान, केवल कार जस्ता पक्ष त छँदैछन्, चुन्नु समर फल्स (रक गार्डेन) ले पनि आह्लादित बनाउँछ । फुजी गुरु निचीदात्सु फुजीद्वारा स्थापित निप्पोन्जन म्योहोजी जापानी बौद्ध मन्दिर र त्यहाँ वाद्यधूनसँगै गुरुको स्वरलाई साथ दिँदै गरिने प्रार्थना, अनि छेवैमा रहेको मनोरम शान्तिस्तूप बेग्लै आनन्ददायी छन् ।

वज्रै हो दार्जिलिङ

सांस्कृतिक सद्भावले परिपूर्ण ‘महाकाल’को छत्रछायामा विद्यमान दार्जिलिङको नामकरण तिब्बती भाषा अनुसार दोर्जे (वज्र/चट्याङ) र लिङ (स्थान) शब्दबाट बनेको छ । यस आधारमा दार्जिलिङको अर्थ वज्रको स्थान भन्ने हुन्छ । जस्तोसुकै उतारचढाव आए तापनि दार्जिलिङवासीले नेपाली परम्परा, संस्कृति, भाषा र स्वत्वको लडाइँमा जुन ‘वज्र’को परिचय दिँदै आएका छन्, यसले विगतलाई सम्मान र वर्तमानलाई आश्वस्त मात्र पारेको छैन, भविष्यप्रति विश्वस्त हुने आधार पनि प्रशस्त दिएको छ । यसका लागि दार्जिलिङलाई लाखौं सलाम गरे पनि अपुग हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x