०५ साउन २०८३, मंगलबार

एनआईसी एशियाको खातामा मेशिनबाट सोझै नगद रकम जम्मा गर्न सकिने

एनआईसी एशियाको खातामा मेशिनबाट सोझै नगद रकम जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकका ग्राहकले अब नगद रकम मेशिनमार्फत सोझै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । बैंकले नगद रकम जम्मा गर्न सकिने मेशिन जडान गरेको छ । उक्त सेवाको हालै आरम्भ गरेको बैंकले जनाएको छ । 

उक्त सेवा प्रारम्भ भएपछि सेवाग्राहीले अब आफ्नो खातामा रकम जम्मा गर्नका लागि बैंकको काउण्टरमा लामो समयसम्म लाइन बस्न नपर्ने भएको छ । बैंकको काउण्टरमा लाइन बसेर नगद जम्मा गर्नुपर्ने बाध्यताबाट ग्राहकहरूलाई छुटकारा मिलेको बैंकले जनाएको छ । 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप यो सेवा आरम्भ गरिएको बैंकका सूचना अधिकारी अर्जुनराज खनियाँले जानकारी दिए । उनका अनुसार यो रणनीतिअन्तर्गत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गरिने छ । 

यस मेशिनबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ । सूचना अधिकारी खनियाँका अनुसार एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० सय र दैनिक अधिकतम् ९ लाख ९९ हजार ५ सयसम्म नगद जम्मा गर्न सकिने छ । 

मेशिनबाट नगद जम्मा गर्दा खाता नम्बर राखेपछि खातावालको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुने र उक्त ओटीपी मेशिनमा उल्लेख गरेर भेरिफाई भएपछि रकम जम्मा हुने बैंकले जनाएको छ । उक्त मेशिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिने खनियाँले बताए । त्यसको जानकारी एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ । 

बैंकले यो सेवा न्यूरोड बिशालबजार शाखाबाट शुरू गरिएको जनाएको छ । यो सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना रहेको उनले बताए । 

एनआईसी एशियाले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । एनआईसीले देशको कुल जनसंख्यामध्ये आर्थिक रूपमा सक्रिय करिब २५ प्रतिशत जनतालाई सेवा दिइरहेको दाबी गरेको छ । 

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको बताएको छ । बैंकले गत आर्थिक वर्षमा मात्र करिब रू.३ अर्ब ४१ करोडभन्दा बढी राजस्व सरकारलाई बुझाएर वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित भएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्