कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
निर्वाचन आयोगले राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न दिन अस्वीकार गरेपछि त्यसविरुद्ध राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई साउन ८ गते बोलाएको थियो । साउन ८ गते दुवै पक्षको बहस सुनेपछि सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले निम्न बमोजिम अन्तरिम आदेश जारी गरेको छः
– ‘गाई’ निवेदकलाई प्रदान गर्न मिलेन भन्ने निर्वाचन आयोगको निर्णयमा कुनै कानूनी आधार उल्लेख गरिएको पाइएन,
– राजनीतिक दल सम्बन्धि ऐनको दफा ५१ बमोजिम दलले आफ्नो निर्वाचन चिह्न परिवर्तन गर्न पाउने नै देखिन्छ,
– ‘गाई’ चिह्नको विषयमा आयोग समक्ष कसैले विवाद गरेको भन्ने पाइएन,
– निर्वाचन चिह्न राजनीतिक दलको पहिचानसँग जोडिएको विषय समेत भएबाट निवेदकलाई पुग्न सक्ने हानी समेतलाई दृष्टिगत गर्दै निवेदकले माग गरेको चिह्न अन्य कुनै दललाई प्रदान नगर्नू,
– राप्रपा नेपाललाई ‘गाई’ चिह्न नदिने २०७९ असार २७ गतेको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु,
– विषयको गाम्भिर्यतालाई दृष्टिगत गरी लिखित जवाफ पेश गर्ने म्याद थाम्न नपाउने तथा मुद्दाको सुनवाई स्थगित नहुने
सर्वोच्च अदालतको उपरोक्त अन्तरिम आदेश पश्चात राप्रपा नेपालले ‘गाई’ चुनाव चिह्न पाउने संभावनाको ढोका खुलेको छ ।
सर्वोच्च अदालतमा रिट निवेदन लिएर म आफै बहसको निमित्त उपस्थित भएको थिएँ । ‘गाई’ चुनाव चिह्न मेरो भावनासँग गाँसिएको विषय हो । पार्टी एकता कायम राख्नु पर्ने दबाबमा तत्कालीन अवस्थामा हामीलाई ‘गाई’ चिह्न छोड्न वाध्य बनाइएको घटना म कहिल्यै बिर्सन सक्दिन । पार्टीको विचार र पहिचानलाई दृष्टिगत गर्दै ‘गाई’ नै उपयुक्त चुनाव चिह्न हुन्छ भन्ने मेरो अनुनय विनयको त्यसबेला पार्टी भित्र कुनै सुनवाई भएन । मलाई कमजोर बनाउने सुनियोजित योजना अनुरूप सो कार्य भएको थियो । जसले त्यसबेला हामीलाई ‘गाई’ चिह्न छोड्न बाध्य तुल्याए, तिनै मध्येका कतिपयले पछि मलाई ‘गाई बेच्यो, सिद्धान्त छोड्यो’ भन्ने जस्ता तल्लोस्तरको आरोप पनि लगाए । उनीहरू अहिले पनि राप्रपा नेपालले ‘गाई’ चिह्न नपाओस् भन्ने प्रार्थना गरिरहेको देख्छु ।
परिवर्तित सन्दर्भमा हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि ‘गाई’ चिह्न प्राप्त गर्न प्रयास गर्नु हाम्रो स्वभाविक चाहना र दायित्व समेत हो ।
यसै क्रममा राप्रपा नेपाल पुनर्जागृत भए लगत्तै हामीले ‘गाई’ चिह्न प्राप्त गर्न पहल गर्यौँ । पार्टीको केन्द्रिय समितिको पहिलो बैठकबाट ‘गाई’ चिह्न प्राप्त गर्न निर्वाचन आयोग समक्ष निवेदन दिने निर्णय भयो । तर, स्थानीय चुनाव नजिक आइरहेको सन्दर्भमा निर्वाचन आयोगसँगको परामर्शमा राप्रपा नेपालले तत्कालको निम्ति ‘तीर’ चिह्न लिएर चुनावमा सहभागी भयो । स्थानीय चुनाव सकिएपछि गत २०७९ आषाढ ९ गते राप्रपा नेपालले विधिवत ‘गाई’ चिह्न माग गर्दै निर्वाचन आयोग समक्ष निवेदन दियो । निर्वाचन आयोगबाट राप्रपा नेपालको माग बमोजिम ‘गाई’ चिह्न पाउनेमा हामी आशावादी थियौँ । तर, २०७९ असार २७ गते आयोगले राप्रपा नेपाललाई ‘गाई’ चिह्न दिन नसकिने निर्णय ग¥यो ।
निर्वाचन आयोगले कानूनविपरीत गरेको उक्त निर्णयविरुद्ध न्याय प्राप्तिका निम्ति सर्वोच्च अदालतको ढोका घचघच्याउनु बाहेक अर्को उपाय रहेन ।
निर्वाचन आयोगको मिति २०७९ असार २७ को निर्णय पश्चात गाई चिह्न पाउने अधिकारबाट राप्रपा नेपाल बञ्चित हुनपुग्यो । आयोगको उक्त निर्णय कानूनविपरीत छ र सो निर्णय बदर गरिपाउँ भन्ने नै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनको मुख्य विषय र माग हो । सम्मानित अदालतले ध्यान दिनु पर्ने विषय पनि यही हो ।
निर्वाचन आयोगको उक्त निर्णय कुन कानूनमा टेकेर भएको रहेछ भनी हेर्दा त्यसको कतै कुनै आधार भेटिएन । दललाई चुनाव चिह्न प्रदान गर्नेबारे नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र निर्वाचन आयोग ऐन र तत्सम्बन्धी नियमावली आकर्षित हुने रहेछ । ति कुनै पनि कानूनमा ‘गाई’ चिह्न दिन नमिल्ने उल्लेख छैन । आयोगलाई पार्टी दर्ता सम्बन्धमा निर्णय गर्ने अधिकार कानूनले दिएको भएता पनि आयोगको निर्णय स्वभावतः कुनै न कुनै कानूनको जगमा उभिएको हुनुपर्छ भन्नेमा कुनै विवाद छैन । आयोगले हचुवा र मनोगत आधारमा निर्णय गर्न मिल्दैन ।
२०७७ माघ ३ गते आयोगले गरेको निर्णय र त्यसैको आधारमा गरिएको २०७९ असार २७ गतेको निर्णयमा राष्ट्रिय चिह्न पार्टीको चुनाव चिह्न हुन नसक्ने मनोगत धारणा राखेको देखिन्छ । राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय गान सरह राष्ट्रिय जनावर वा राष्ट्रिय फूललाई समान हैसियत दिनु वा एउटैस्तरमा कायम गर्नु कुनै अवस्थामा पनि युक्तिसंगत हुँदैन । राष्ट्रिय झण्डा वा निशान छापको प्रयोगका सम्बन्धमा कानूनले नै निश्चित मापदण्ड बनाएको छ । त्यसर्थ, त्यसको प्रयोग जथाभावी हुन सक्दैन । तर, राष्ट्रिय जनावर वा फूलका सम्बन्धमा कुनै पनि कानून बनेको छैन । फूल, जनावर जस्ता राष्ट्रिय चिह्न चुनाव चिह्न दिन मिल्दैन भनेर कतै पनि उल्लेख छैन । वास्तवमा राष्ट्रिय जनावर वा फूलजस्ता विषय त व्यापक प्रचार प्रसार हुनु पर्दछ ।
विभिन्न मुलुकमा दलहरूले राष्ट्रिय चिह्न प्रयोग गरेको थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतमा त्यहाँको सरकारले ‘बाघ’लाई राष्ट्रिय जनावर घोषणा गरेको छ । त्यहाँ अल ईण्डिया फरवार्ड ब्लक ( All India Forward Block) नामको राजनीतिक दलको चुनाव चिह्न बाघ र शिवसेना नामक दलको झण्डामा बाघ अंकित रहेको छ । संयुक्त राज्य अमेरिकामा पनि त्यहाँको सिनेटले ‘बाईसन’( मिथुन गाई)लाई राष्ट्रिय जनावर घोषणा गरेको छ । त्यहाँको मिनेसोटा राज्यको स्वतन्त्रता पार्टी (Independence Party of Minnesota) को चुनाव चिह्न ‘बाईसन’ छ । बर्मा अर्थात हालको म्यानमारमा राष्ट्रिय चरा तथा स्वतन्त्रताको प्रतीकको रूपमा मयुर कायम गरिएको छ । त्यहाँ लोकप्रिय प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको ‘नेशनल लिग फर डेमोक्रेसी’ लगायत अन्य आठवटा राजनीतिक पार्टीहरूले विभिन्न प्रकारका पिककक सहितका चिह्न प्रयोग गरेका छन् । यस्ता थुप्रै उदाहरणहरू छन् ।
भारतीय जनता पार्टीको चुनाव चिह्न कमलको फूल पनि भारत सरकारको आधिकारिक वेबसाइटमा राष्ट्रिय फूल उल्लेख छ । यसप्रकार विभिन्न मुलुकमा राष्ट्रिय चिह्न भएको कारण कसैलाई पनि चुनाव चिह्न पाउनबाट रोकिएको छैन ।
नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना पछि बनेका नेपाल अधिराज्यको संविधान २०४७, नेपालको अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ सबैमा ‘गाई’लाई राष्ट्रिय जनावरका रूपमा कायम गरिएको छ । सो संवैधानिक व्यवस्था अन्तर्गत नै ‘गाई’ चुनाव चिह्न प्रयोगका सम्बन्धमा देहाय बमोजिमका तथ्यहरू रहेका छन्ः
१. २०४७ साल जेठ १५ गते स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)को चुनाव चिह्न ‘गाई’ थियो । २०४८ सालको आम चुनावमा सो पार्टीले गाई चिह्न लिएर चुनाव लडेको थियो र प्रतिनिधि सभामा निर्वाचित पनि भएको थियो ।
२. २०६४ सालमा तत्कालिन राप्रपा नेपालले ‘गाई’ चिह्न प्राप्त गरेको थियो । २०६४ साल चैतमा भएको संविधानसभाको निर्वाचन गाई चिह्न लिएर ४ स्थान प्राप्त गरेको थियो ।
३. २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पनि राप्रपा नेपालले गाई चिह्न लिएर चुनावमा भाग लिई २५ सिट प्राप्त गरेको थियो ।
४. २०७३ साल भाद्रमा तत्कालीन राप्रपा नेपाल र राप्रपाबीच एकता भएर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत चुनाव चिह्न गाई थियो । सोही चिह्नबाट २०७४ साल बैशाख–असोजमा भएको स्थानीय चुनाव र २०७४ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिई दुवै तहमा केही स्थानमा विजयी समेत भएको थियो ।
५. २०७६ चैतमा तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीचमा एकता भई ‘गाई’ नै चुनाव चिह्न कायम भएको थियो । पछि सो पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय भई ‘गाई’को सट्टा ‘हलो’ चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिइयो । सो निवेदनको आधारमा आयोगले राप्रपालाई ‘हलो’ चिह्न प्रदान गरी ‘गाई’ चिह्न फ्रिजमा राख्यो ।
६. यसै बीच राजनीतिक उतारचढावको क्रममा एक विशेष परिस्थितिमा निर्वाचन आयोगले २०७७-१०-३ मा निम्न बमोजिमको निर्णय गर्यो– ‘राजनीतिक दल दर्ता वा अभिलेख अद्यावधिक गर्दा आयोगले राजनीतिक दलहरूलाई प्रदान गरिसकेका चिह्नसँग मिल्दाजुल्दा प्रकृतिका चिह्न प्रदान नगर्ने, नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुँरास, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिह्न दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई त्यस्तो चिह्न प्रदान गरिसकेको भए सोको पुनरावलोकन गर्ने ।’
७. अर्को तर्फ २०७३ सालमा तत्कालिन राप्रपा नेपाल र राप्रपाबीच एकता भएर राष्ट्रिय प्रजातन्त्र पार्टी कायम भएको अवस्थामा धनकुटाका लाक्पा तामाङले २०७५ चैत २५ गते राप्रपा नेपाल नामको दल निर्वाचन आयोगमा दर्ता गराउनु भयो । त्यसबेला ‘गाई’ चिह्न राप्रपाले नै राखेको हुँदा लाक्पा तामाङले राप्रपा नेपालको निम्ति ‘साँढे’ चिह्न लिनु भयो ।
८. यसै बीच कमल थापा राप्रपाबाट अलग भै २०७८ फागुनमा लाक्पा तामाङको राप्रपा नेपालमा संलग्न हुनुभयो । लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिनु भएपछि पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिबाट कमल थापा राप्रपा नेपालको अध्यक्ष पदमा कमल थापा निर्वाचित हुनुभयो । कमल थापा अध्यक्ष भएपछि बसेको सो पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले ‘गाई’ चिह्न लिने निर्णय गर्यो । तदनुसार निर्वाचन आयोगमा निवेदन लिएर जाँदा ‘गाई’ चिह्न दिन नसकिने र स्थानीय चुनाव नजिकिँदै गएको हुँदा अर्को चिह्न लिन आयोगले परामर्श दिएकोले तत्कालको निम्ति राप्रपा नेपालले ‘तीर’ चिह्न लिएर चुनावमा भाग लियो ।
९. स्थानीय चुनाव सकिएपछि २०७९ असार ३ गते राप्रपा नेपाल केन्द्रीय समितिको निर्णय अनुसार ‘गाई’ चिह्न पाउन आयोग समक्ष निवेदन दिइयो । आयोगले २०७९ असार २७ गतेको निर्णयअनुसार राप्रपा नेपाललाई ‘गाई’ चिह्न दिन नमिल्ने जानकारी प्राप्त भयो ।
१०. २०६३ सालमा देखि २०७७ सालसम्म निरन्तर तत्कालीन राप्रपा नेपाल र पछि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चिह्न लिएको थियो । त्यो बेला जुन संविधान, ऐन र नियम थियो, अहिले पनि त्यही छ । कुनै परिवर्तन भएको छैन । त्यसबेला गाई ‘चिह्न’ राख्न मिल्ने अहिले नमिल्ने भन्ने कुनै कानूनी वा व्यावहारिक वा राजनीतिक कारण छैन ।
अर्कोतर्फ राष्ट्रिय चिह्न डाँफे राष्ट्रिय यथार्थवादी पार्टीको चिह्न कायम रहेको तथ्य राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दाको दिनसम्म निर्वाचन आयोगको ‘वेभसाइट’ मा उल्लेख छ ।
राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने सम्बन्धमा नेपालको संविधान २०७२, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र राजनीतिक दल सम्बन्धि नियमावली २०७४ आकर्षित हुन्छन् । उपरोक्त कुनै पनि कानूनले ‘गाई’ चिह्न दिन नमिल्ने भनेको छैन । निर्वाचन आयोगले निर्णय गर्दा स्वभावतः प्रचलित कानूनमा भएको व्यवस्था अनुसार गर्नु पर्दछ । आयोगलाई स्वेच्छाचारी ढंगबाट निर्णय गर्ने र दलहरू माथी हैकम चलाउने असाधारण अधिकार छैन । यस्तो स्वेच्छाचारी प्रवृत्तिले दलीय व्यवस्था, लोकतन्त्र र संवैधानिक मान्यतालाई नै कमजोर बनाउँछ ।
नेपालको संविधान र राजनीतिक दल सम्बन्ध ऐनले दलको चुनाव चिह्न ‘नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकुल हुने भएमा’ दल दर्ता हुन नसक्ने व्यवस्था गरेको छ । राप्रपा नेपालले माग गरेको ‘गाई’ चुनाव चिह्नबाट कुनै पनि अर्थ वा सन्दर्भमा उपरोक्त व्यवस्था प्रतिकुल हुने वा उल्लंघन हुने अवस्था रहेको छैन भन्ने तथ्यलाई विगतमा ‘गाई’ चिह्न प्रयोग हुँदा धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने वा सार्वजनिक नैतिकता प्रतिकूल हुने कुनै कार्य नभएबाट स्वतः पुष्टि गर्दछ ।
जहाँसम्म ‘गाई’ चुनाव चिह्नले धार्मिक गन्ध दिन्छ कि भन्ने तर्क छ, त्यसमा कुनै तुक छैन । वास्तवमा आयोगमा दर्ता भै हाल क्रियाशील धेरै दलहरूको चुनाव चिह्न कुनै न कुनै रूपमा धार्मिक सांस्कृतिक मान्यतासँग गाँसिएका छन् । त्रिशुल, षट्कोण, कमलको फुल, डमरु, वज्र, हात्ती, तारा, शंख त्यसका उदाहरणहरू हुन् । ‘सूर्य’ लाई सनातन धर्मावलम्बीहरू स्वयं भगवान कै रूपमा पूजा आराधना गर्दछन् ।
जहाँसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा ‘गाई’ अंकित भएको कारण राप्रपा नेपाललाई ‘गाई’ दिनु हुन्न भन्ने तर्क आफैँमा हास्यास्पद छ । राप्रपा नेपालले ‘गाई’ पाउने अवस्था बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि झण्डामा ‘गाई’ राख्ने बाटो स्वतः खुल्छ । फेरि झण्डामा गाई हुँदा चुनाव चिह्न हुन मिल्दैन भन्ने तर्कलाई त नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को उदाहरणले खण्डित गर्छ । नेकपा(माओवादी केन्द्र)को चुनाव चिह्न ‘हँसिया हथौडा’ नेकपा(एमाले)को झण्डामा अंकित रहेको छ ।
प्रजातन्त्रमा दलको महत्व रहन्छ, चुनाव चिह्नसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ । त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यता समेत कमजोर हुन पुग्छ । यो वास्तविकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तरिम आदेशमा समेत स्वीकार गरिएको छ । यसैगरी निर्वाचन आयोगले यथासम्भव राजनीतिक दलहरूलाई सहयोग गर्ने तथा दलहरूलाई सहज हुने ढंगबाट कार्य गर्नु पर्दछ भन्ने प्रत्येक दलहरूको अपेक्षा हुन्छ ।
उपरोक्त पृष्ठभूमि तथा गत साउन ८ गतेको अन्तरिम आदेशको आलोकमा निर्वाचन आयोगको मिति २०७९ साल साउन २७ को निर्णय बदर गरी राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न दिनु भन्ने सम्मानित सर्वोच्च अदालतबाट परमादेश प्राप्त हुने विश्वास गर्न सकिन्छ ।
(सर्वोच्च अदालतमा गरेको बहसमा आधारित)
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...