
जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धिका कारण अहिले संसारका धेरै ठाउँमा सुक्खाको समस्या देखिएको छ ।
सुक्खाका कारण जलक्षेत्रहरू सुकेकाले पानीमुनि लुकेका वस्तुहरू पनि देखिन थालेका छन् । अमेरिकाको नेभाडास्थित लेक मीडबाट त हत्या गरिएका वा दुर्घटनामा परी डुबेका मानिसको भौतिक अवशेषहरू समेत फेला पर्न थालेका छन् ।
दोस्रो विश्वयुद्धमा युरोपको डानुबे नदीमा डुबेका जर्मन युद्धपोतहरू पनि देखिएका छन् । त्यस्तै चीनमा याङ्से नदीको जलस्तर घटेपछि ६०० वर्ष पुराना बुद्ध मूर्तिहरू भेटिएका छन् । उता इटलीको टाइबर नदी सुकेपछि ईसाको पहिलो शताब्दीमा बनेको पुलको भग्नावशेष समेत देखिएको छ ।
यसभन्दा पनि प्राचीन अति नै पुराना अवशेषहरू समेत देखिन थालेका छन् । अमेरिकाको टेक्ससमा रहेको ग्लेन रोजमा ११ करोड वर्षअघिको जीवनको अवशेष समेत भेटिएको अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
डाइनोसर भ्याली स्टेट पार्कमा एक्रोकानथोसरस डाइनोसरका पाइलाहरू पालुक्सी नदीको सतहमा भेटिएका छन् ।
सुक्खाका कारण नदीहरू सुक्ने मात्र नभई कृषिकर्ममा पनि अवरोध पुगेको देखिएको छ । अमेरिकाको क्यालिफोर्नियामा विगत १० वर्षमा तेस्रोपटक आएको सुक्खाको स्थितिका कारण खेतहरू बाँझो हुन थालेका छन् । भएका अलिअलि घाँसेमैदानहरू पनि घामले डढेर खैरो देखिन थालेका छन् ।
सुक्खासँगै डढेलोको प्रकोप पनि भयावह छ । युरोपमा यस गर्मी महिनामा विभिन्न देशमा लागेका डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । घर र कार्यालयहरू ठूलो संख्यामा नष्ट भएका छन् ।
एकातिर सुक्खा र डढेलोको स्थिति रहँदा अर्कातिर भयानक बाढीको प्रकोप पनि कतिपय ठाउँमा अनुभव गरिएको छ । पाकिस्तानको उत्तरपश्चिममा रहेको कोहिस्तानमा भयंकर बाढी आएको छ ।
अविरल वर्षापछिको बाढीका कारण पाकिस्तानको दुईतिहाइ भाग पानीमा डुबेको छ । देशै ससानो सागर जस्तै देखिन थालेको पाकिस्तानी अधिकारीहरू बताउँछन् । बाढीका कारण एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
त्यस्तै अफ्रिकी मुलुक कंगो, नाइजेरिया र सिएरा लियोन पनि बाढीको प्रकोपमा परेका छन् । नाइजेरियामा १० र सिएरा लियोनमा ६ जनाको ज्यान गइसकेको छ । उता फिलिपिन्समा फ्लोरिटा नामक आँधी आउँदा ४३ सयजना विस्थापित भएका छन् ।
विश्व तापक्रममा वृद्धि हुँदै जाँदा पृथ्वीको जलीय चक्रमा द्रुत गतिको परिवर्तन आएको अनि त्यसले बाढी र सुक्खाको तीव्रता बढाएको वातावरणविद्हरू बताउँछन् ।
गत फेब्रुअरी महिनामा वैज्ञानिकहरूले विगत केही वर्षयता चलिरहेको सुक्खाको स्थिति १२ सय वर्षकै सबभन्दा खराब भएको बताएका छन् भनी नेसनल जियोग्राफिकले लेखेको छ । यसरी विश्वको तापक्रम बढ्नुमा जीवाष्म इन्धनको अत्यधिक उपयोग प्रमुख कारणका रूपमा रहेको बताइएको छ ।
औद्योगिकीकरणको युग शुरू भएदेखि अहिलेसम्म विश्वको तापक्रममा लगातार वृद्धि भइरहेको छ । विशेषगरी सन् १८५० यतादेखि विश्व तापक्रम १.२ डिग्री सेल्सियसले बढेको पाइएको छ ।
औद्योगिकीकरणलाई गति दिनका लागि जीवाष्म इन्धनको अत्यधिक उपयोग गरिएकाले यस्तो स्थिति आएको हो । अहिले पनि पेट्रोलियम पदार्थ, कोइला र ग्यासले विश्वको ८० प्रतिशत ऊर्जा मागको आपूर्ति गरिरहेका छन् । उच्च कार्बन भएकाले जीवाष्म इन्धन वातावरणका लागि हानिकारक छन् ।
पेट्रोलियम पदार्थ र कोइलाले विश्वको ऊर्जा आपूर्ति धानेसँगै तापक्रम वृद्धिमा पनि योगदान गरिरहेका छन् । यस्ता जीवाष्म इन्धन डढाउँदा कार्बनडाइअक्साइड निस्कन्छन् । ती कार्बन उत्सर्जनहरूले वायुमण्डलमा तातोलाई रोकेर राख्छन् अनि जलवायु परिवर्तन तथा विश्व तापक्रम वृद्धि गराउँछन् ।
विश्व तातिएसँगै माटो सुक्खा हुने समस्या देखिएको वैज्ञानिकहरू बताउँछन् । सुक्खा माटोमा अन्न फलाउनका लागि बढी पानी आवश्यक पर्छ । त्यसैले विश्व जति तातिँदै जान्छ, त्यसको क्षतिपूर्तिका लागि त्यति बढी पानी पर्नुपर्ने हुन्छ । त्यस्तो स्थितिमा मानिसहरू बाँच्नका लागि आफू बसिरहेको थालथलोबाट विस्थापित हुन बाध्य हुनेछन् ।
इन्स्टिच्युट फर इकोनोमिक्स यान्ड पीस नामक अन्तर्राष्ट्रिय थिंकट्यांकले सन् २०२० मा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्व तापक्रम वृद्धिका कारण विस्थापित हुन बाध्य जलवायु शरणार्थीहरूको विशाल संख्याको प्रक्षेपण गरिएको छ । प्रतिवेदनले सन् २०५० सम्ममा संसारभरि जलवायु परिवर्तन र प्राकृतिक विपतका कारण १.२ अर्ब मानिस विस्थापित हुने आकलन गरिएको छ ।
सबभन्दा बढी वातावरणीय जोखिम रहेको क्षेत्र दक्षिण एसिया हो भनी उक्त प्रतिवेदनले औंल्याएकाले नेपालका लागि पनि यो खतरनाक स्थिति हो । सब–सहारा अफ्रिका, पश्चिम एसिया र उत्तर अफ्रिकासँगै दक्षिण एसियाका कतिपय भूभाग पनि सन् २०५० सम्ममा बस्नै नसकिने हुनाले व्यापक संख्यामा मानिसहरू विस्थापित हुनेछन् ।
अझ नेपालका दुवै छिमेकीहरू भारत र चीनमा सन् २०४० सम्ममा उच्च वा चरम जल अभाव देखिने प्रतिवेदनले औंल्याएको छ । त्यही जलका लागि मारामारी हुने सम्भावनाका बीच नेपालको लोभलाग्दो जलस्रोतमा शक्तिराष्ट्रहरूको आँखा लाग्ने सम्भावना छ ।
एकातिर सुक्खा र अत्यधिक गर्मीका कारण मानिसहरू विस्थापित हुने स्थिति आउनेछ भने अर्कातिर तटीय इलाकाका मानिस डुबानमा पर्ने सम्भावना बढ्नेछ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिको सचिवालयले सार्वजनिक गरेको आँकडाअनुसार, समुद्रको जलस्तर बढेका कारण तटीय क्षेत्रमा २६ करोडभन्दा बढी मानिस विस्थापित हुने जोखिममा छन् । तीमध्ये ९० प्रतिशत गरीब विकासशील मुलुक तथा साना टापु मुलुकका बासिन्दा हुन् ।
प्रशान्त महासागरका कतिपय टापुराष्ट्र डुब्ने सम्भावना रहेकाले त्यहाँका मानिस राज्यविहीन बन्ने खतरा देखिन्छ । अनि बंगलादेश जस्ता तटीय राज्यहरूमा समुद्रको नुनिलो पानी पसेर कृषियोग्य भूमिमा सामान्य अन्नबाली लगाउनै मुश्किल हुन थालेको छ र त्यो क्रम झनै बढ्नेछ ।
जलवायु समस्याले प्राकृतिक स्रोतका लागि चर्को प्रतिस्पर्धा अनि खाद्य असुरक्षामा वृद्धि गराउने हुनाले संसारका विभिन्न स्थानमा हिंसा तथा अस्थिरता बढ्ने आकलन गरिएको छ । त्यसो त अहिले नै हिंसा र द्वन्द्वका कारण भन्दा पनि जलवायु परिवर्तनले निम्त्याएका समस्याका कारण मानिसहरू आप्रवासन गरिरहेका छन् । सन् २०१० यता जलवायुले वर्षको लगभग दुई करोड भन्दा बढी मानिसलाई थातथलो त्याग्न बाध्य बनाएको आँकडा भेटिन्छ ।
यस्ता जलवायु शरणार्थीहरू विकसित मुलुकतर्फ नै जानेछन् । उनीहरूको आगमनले ती देशमा तनाव सिर्जना गर्नेछ ।
अमेरिकाको थिंकट्यांक संस्था द सेन्टर फर क्लाइमेट यान्ड सिक्योरिटीकी निर्देशक एरिन सिकोर्स्कीका अनुसार, जलवायु शरणार्थीको आप्रवाहका कारण तीनवटा भूराजनीतिक जोखिम देखिनेछन् ।
पहिलो, विभिन्न देशमा राजनीतिक अस्थिरता बढ्नेछ किनकि ग्रामीण जनसंख्या अत्यधिक संख्यामा शहरी क्षेत्रतर्फ सर्नेछ । यसले शासनमा समस्या ल्याउन सक्छ ।
दोस्रो, आप्रवासनका कारण सुरक्षा चिन्ता बढ्नेछ किनकि राज्यका अधिकारीहरू भन्दा पनि अतिवादी वा आपराधिक समूहहरू सशक्त बन्ने जोखिममा वृद्धि हुनेछ ।
तेस्रो, यसले विभिन्न देशमा तनाव बढाउनेछ । विशाल संख्यामा आप्रवासीलाई व्यवस्थापन गर्न तयार नरहेका सरकारहरूले मानवअधिकारविरोधी कारवाही गर्ने सम्भावना छ ।
यस्तो स्थितिलाई रोक्नका लागि जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धि रोक्नका लागि गम्भीर पहल हुनु जरूरी छ । नवीकरणीय ऊर्जामा संसारभरिका सरकारले अत्यधिक लगानी गर्नुपर्ने हुन्छ । ऊर्जा खपत घटाएर पर्यावरण संरक्षणका लागि जनताले पनि सरकारलाई सहयोग गर्नुपर्छ ।
अब पनि मानवता नसुध्रिएमा ठूलो विनाशको भुमरीमा पर्ने पक्का छ । जीवाष्म इन्धनको लत छोड्नु तत्कालीन आवश्यकता हो ।