१८ असार २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

एमाले-राप्रपा सम्भावित तालमेलले गृहमन्त्री अप्ठ्यारोमा, कुर्दै दीपक बोहोराको 'मुभ'

भदौ १९, २०७९
एमाले-राप्रपा सम्भावित तालमेलले गृहमन्त्री अप्ठ्यारोमा, कुर्दै दीपक बोहोराको 'मुभ'

नेपाली कांग्रेसको सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाका उत्तराधिकारीका रूपमा आफूलाई प्रस्तुत गर्दै आइरहेका गृहमन्त्री बालकृष्ण खाँणको नाम रूपन्देही– २ बाट पनि प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिश भएपछि जिल्लामा राजनीतिक तरंग आयो ।

सरकारको दोस्रो वरीयतामा रहेका खाँण रूपन्देही– ३ छाडेर अर्को निर्वाचन क्षेत्रको खोजीमा रहेको चर्चा हुने गरेको थियो । सधैँ शक्तिमा रहिरहन खोज्ने खाँणको नाम रूपन्देही– २ मा पहिलो नम्बरमा राखेर सिफारिश भएपछि त्यसको पुष्टि भएको छ ।

२०६४ यताका कुनै पनि निर्वाचनमा हाल रूपन्देही– २ मा पर्ने भुगोल (बुटवल क्षेत्र) बाट एमाले उपाध्यक्ष विष्णु पौडेलले हार बेहोर्नुपरेको छैन । पौडेलले सहजै चुनाव जित्दै आएको क्षेत्रमा खाँणको नाम सिफारिश हुनुले धेरैलाई अचम्ममा पारेको छ ।

कांग्रेस स्रोतका अनुसार रुपन्देही– ३ मा एमाले र राप्रपाबीचको सम्भावित तालमेलले चुनौती थपिन सक्ने चिन्ता खाँणलाई छ । त्यो क्षेत्रमा राप्रपा दीपक बोहोराको राम्रो प्रभाव छ ।

अघिल्लोपटक वाम गठबन्धन हुँदा खाँण उक्त क्षेत्र दीपक बोहोरालाई छाडेर समानुपातिकमा बसेका थिए । तर, चुनावमा बोहोरालाई वाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम भुसालले पराजित गरे ।

एमालेका बौद्धिक नेता भुसालले अहिले चुनाव लड्न खासै रुचि नदेखाएको चर्चा छ । एमाले र राप्रपाबीच गठबन्धन भएमा दीपक बोहोरा उम्मेदवार बन्ने सम्भावनाले खाँणलाई झस्काएको छ ।

राप्रपाले यस क्षेत्रमा आफ्नो १५ हजार भन्दा बढी मत रहेको दाबी गर्ने गरेको छ ।

गएको स्थानीय निर्वाचनमा रुपन्देही– ३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो । यो उक्त पार्टीका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको कुल योगफल हो ।

यस्तै कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवावदीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका थिए ।

सत्ता गठबन्धनको मत जोड्दा ४४ हजार १९४ हुन आउँछ । एमाले र राप्रपाको मत योगफल ४२ हजार ४४५ छ । लोसपाको मत कता जान्छ यकिन छैन । 

स्थानीय तहको तथ्यांकले गृहमन्त्री खाँणलाई ढुक्क हुने स्थिति छैन । सोही कारण एमाले–राप्रपा तालमेल हुने स्थितिमा गृहमन्त्री खाँणले कुनै अर्को क्षेत्रबाट उम्मेदवारी दिनसक्ने चर्चा छ ।

पार्टीभित्रको गुटबन्दी चुनावका बेला बाहिर आउन सक्ने जोखिम पनि उनले देखेका छन् । 

अहिले प्रतिनिधिसभा/प्रदेशसभाका उम्मेदवार सिफारिशका क्रममा पनि कांग्रेस रूपन्देहीमा विरोधका स्वर सुनिन थालेका छन् ।  

खाँणकै गृहनगर तिलोत्तमामा संस्थापनइतर समूह सशक्त छ । राज्य पुनःसंरचनामा भैरहवा (सिद्धार्थनगर) सहितको क्षेत्र अहिले रूपन्देही– ३ मा पर्छ ।

भैरहवा राप्रपा नेता दीपक बोहोराको गृहनगर हो । त्यहाँ एमाले र कांग्रेसको संगठन बराबर हैसियतमा छ ।

एमालेसँगको अनौपचारिक छलफलमा राप्रपाले रूपन्देही– ३ वा रूपन्देही– १ मध्ये एउटा क्षेत्र आफूहरूलाई दिनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

यी दुवै क्षेत्र यस अगाडि एमालेले जितेको हो । दुवै क्षेत्रमा राप्रपाको संगठन राम्रै छ ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा रूपन्देही– १ बाट नै प्रत्यक्ष चुनाव लड्ने गरी तयारीमा छन् । रूपन्देही– ३ वा रूपन्देही– १ मध्ये कुनै एउटा क्षेत्रबाट चुनाव लड्ने गरी राप्रपा वरिष्ठ नेता दीपक बोहोराले पनि चुनावी तयारी थालेका छन् । 

स्थानीय चुनावमा रूपन्देही– १ बाट कांग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, र नेकपा एसले १२४३ मत पाएका छन् । लोसपाको मत ३२५ छ । यो वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हो ।

सत्ता गठबन्धनको कुल मत ४५ हजार १३९ हुन्छ भने एमाले र राप्रपाको मत योगफल ४४ हजार ९४६ हुन आउँछ । एमाले–राप्रपा गठबन्धनले यस क्षेत्रमा पनि सत्ता गठबन्धनमाथि चुनौती थप्ने निश्चित छ । रुपन्देही– ३ बाट १ मा मतदाता नामावली सारेका खाँण यस क्षेत्रमा उम्मेदवार बन्न पनि राप्रपाको मत नै बाधक बन्ने अवस्था आएको चर्चा छ ।

तर, रूपन्देही क्षेत्र नम्बर ३ का कांग्रेस सपभाति सुशील गुरुङ गृहमन्त्रीको क्षेत्र परिवर्तनको सम्भावना कम देख्छन् । ‘उहाँ (खाँण)लाई कसैसँग डर छैन, कांग्रेस आफँैमा बलियो छ,’ गुरुङले लोकान्तरसँग भने, ‘नेतृत्व जुन ठाउँबाट चुनावी प्रतिस्पर्धा गर्ने हो त्यहीँ केन्द्रित हुन्छ । अहिले गृहमन्त्री क्षेत्र नम्बर– ३ मै केन्द्रित हुनुहुन्छ ।’ सभापति गुरूङले क्षेत्र नम्बर ३ बाट खाँणबाहेक अरू कोही पनि आकांक्षी नदेखिएकाले उनको एकल नाम सिफारिश हुनसक्ने बताए ।

भातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरूण दलको राजनीति हुँदै पार्टी राजनीतिमा देउवाका सारथि बनेका खाँण एमाले उपाध्यक्ष पौडेलसँग सकभर भिड्न नपरोस् भन्ने चाहन्छन् । अहिलेसम्म पौडेल र खाँणको मित्रवत् व्यवहार नै देखिन्छ ।

तर, स्थानीय निर्वाचनमा बुटवलमा कांग्रेसले जीत निकालेकाले खाँणलाई रुपन्देही– २ मा ल्याउन कांग्रेसको एउटा पंक्ति लागिपरेको छ । उनी अहिले पार्टीभित्र र गठनबन्धनलाई पनि सन्तुलनमा राखेर अगाडि बढन खोजिरहेका छन् । खाँणको प्राथामिकता पनि रूपन्देही– २ होइन । 

एमाले रूपन्देहीका सचिव यज्ञ गैरेले जिल्लाको परिवेश अनुसार राप्रपासहित अन्य दलसँग चुनावी तालमेल गर्न एमालेले खुला छलफल अगाडि बढाएको बताए ।

‘राप्रपासँग तालमेल हुँदा क्षेत्र नम्बर १ र ३ मध्ये एउटा छाड्नुपर्ने अवस्था आउन सक्छ भन्ने विषयमा एमालेले ‘माइन्ड मेकअप’ गरेको छ,’ उनले भने ।

क्षेत्र नम्बर– १ मा एमाले सचिव विश्वकर्माले चुनावी तयारी थालिसकेका छन् । उनी राप्रपालाई छाडेर समानुपातिकमा बस्न तयार देखिएका छैनन् ।

रूपन्देहीका सबै क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको एमालेले क्षेत्र नम्बर– १ का पालिकामा स्थानीय निर्वाचनमा जीत हात पारेको छ । राप्रपाको पनि क्षेत्र नम्बर– ३ भन्दा १ मा संगठन बलियो छ ।

बहुदल आएप्छि २०४८ सालमा पहिलो आम निर्वाचनमा खाँण बुटवलबाटै उम्मेदवार भएका थिए । त्यसबेला उनले पुराना कम्युनिस्ट नेता एमाले उम्मेदवार केशरमणि पोखरेललाई पराजित गर्न सफल भएका थिए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका मोदनाथ प्रश्रितसँग खाँण पराजित भए । 

त्यसपछि उनी २०६४ सालमा भएको संविधानसभाको चुनावमा तत्कालीन रूपन्देही– ३ अर्थात मणिग्राम क्षेत्रबाट उम्मेदवार बने । त्यतिबेला उनले एमाले नेता लीला गिरीलाई पराजित गरे ।

२०७० सालमा एमाले नेता घनश्याम भुसाललाई पराजित गरेर खाँणले बाजी मारे । २०७४ मा परिस्थिति फेरियो ।

वाम गठबन्धन भएपछि खाँण चलाखीपूर्वक समानुपातिकमा बसे अनि राप्रपाका दीपक बोहोरालाई सघाए । बोहोरा एमाले नेता भुसालसँग पराजित भए ।

गृहमन्त्री खाँण र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह र पूर्व राज्यमन्त्री अब्दुल रज्जाक एउटै समूहमा भए पनि जिल्लामा तीनै नेताको अलग–अलग गुटगत समूह छन् । रज्जाकलाई कांग्रेसले क्षेत्र नम्बर १ बाट एकल नाम सिफारिश गरिसकेको छ । 

खाँण सकेसम्म दीपक बोहोरा रूपन्देही ३ बाट नलडून् भन्ने चाहन्छन् । बोहोराको चाहना पनि हेभीवेट उम्मेदवारसँग भिड्न नपरोस् भन्ने नै देखिन्छ ।

राप्रपाका सहायक महामन्त्री ताहिर अलीले दीपक बोहोरा क्षेत्र नम्बर १ बाट नै चुनाव लड्ने निचोडमा पुगेको बताए ।

उनले लोकान्तरसँग भने, ‘क्षेत्र नम्बर १ मा हाम्रो मत २० हजार छ । क्षेत्र नम्बर ३ मा ‘नियर अबाउट’ १५ हजार छ । उहाँ (बोहोरा) १ बाट नै उठनुहुन्छ होला । त्यहीअनुसार एमालेसँग छलफल भइरहेको छ ।’

स्थानीय तह निर्वाचमा क्षेत्र नम्बर १ का रोहणी गाउँपालिकामा उपाध्यक्षसहित ४ वटा वडा, देवदह नगरपालिका २ वटा वडा र ओमसतियामा १ वटा वडामा राप्रपाले जीत निकालेको छ । 

एमाले देवदह नगर इञ्चार्ज यम रानाले छविलाल विश्वकर्मालाई क्षेत्र नम्बर १ नछाड्न कार्यकर्ताबाट ठूलो दबाब रहेको बताए ।

उनले भने, ‘केन्द्रबाट अन्य क्षेत्रबाट लडनुहोस् भन्ने आए फरक कुरा हो, नत्र उहाँले क्षेत्र नम्बर १ छाड्नुहोला जस्तो लाग्दैन ।’

घनश्याम भुसाल जिल्लामा सक्रिय नहुँदा एमालेबाट क्षेत्र नम्बर ३ मा तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरेले इच्छा देखाएका छन् ।

अहिले सबै दलहरू आ–आफ्नो पार्टीमा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार सिफारिशमा जुटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्