माघ १८, २०७९
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...
प्रतिनिधिसभा निर्वाचनमा मधेशमा नेकपा (माओवादी केन्द्र) पत्तासाफ भएको छ । मधेश प्रदेशको कुल ३२ सीटमध्ये पाँचदलीय सत्ता गठबन्धनबाट ६ सीटमा चुनाव लडेको माओवादीले एउटा सीट पनि जित्न सकेन । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ५ सीट जितेको माओवादी यसपटक नील नै भयो ।
संगठनको गतिविधि शून्य हुनुका साथै संगठन हाँक्ने माओवादीका दुई नेताहरू मात्रिकाप्रसाद यादव र गिरिराजमणि पोखरेलबीचको अन्तरविरोध र गुटगत राजनीति पनि माओवादीको हारको कारण रहेको सोही पार्टीका नेताहरू बताउँछन् ।
त्यसबाहेक पछिल्लो पाँच वर्षदेखि माओवादी केन्द्रीय सत्तामा र २ वर्षदेखि मधेश प्रदेश सरकारमा सहभागी हुँदा पनि मधेशका लागि केही पनि नगरेको आक्रोश जनताले माओवादीमाथि पोखेको कतिपयको विश्लेषण छ । मधेशलाई केन्द्र बनाएर जनताका लागि गर्नुपर्ने डेलिभरी समेत नगर्नुको परिणाम माओवादीले भोग्नुपरेको देखिएको छ । गठबन्धनको मत ट्रान्सफर हुन नसक्दा पनि माओवादी उमेदवारहरू कमजोर ठहरिए ।
२०७४ सालको निर्वाचनमा धनुषा- १ बाट मातृकाप्रसाद यादव, महोत्तरी- १ बाट गिरिराजमणि पोखरेल, रौतहट- ३ बाट प्रभु साह, सिरहा- २ बाट सुरेशचन्द्र दास, सर्लाही- ३ बाट रामेश्वरराय यादव प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
ठूला नेताकै हार !
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव धनुषा- १ मा पराजित भएका छन् ।
उनलाई जनता समाजवादी पार्टीका दीपक कार्कीले पराजित गरेका हुन् । मधेशका प्रभावशाली नेता यादवले २१ हजार ४८३ मत ल्याउँदा कार्की २७ हजार ४३१ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यसैगरी माओवादीका अर्का उपमहासचिव गिरिराजमणि पोखरेल महोत्तरी- १ मा पराजित भएका छन् । उनलाई नेकपा एमालेका लक्ष्मी महतो कोइरीले पराजित गरेका हुन् ।
पोखरेलले २२ हजार ३७२ मत ल्याउँदा कोइरी २३ हजार ४०२ मत ल्याएर निर्वाचित भएका छन् ।
माओवादीले जित्ने ठानिएको सर्लाही- ३ मा पनि पराजय भोग्नुपरेको छ । नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई नेकपा एमालेका हरिप्रसाद उप्रेतीले पराजित गरेका छन् ।
कलवारले ३२ हजार १६८ मत ल्याउँदा उप्रेतीले ३२ हजार ९३८ मात ल्याएका छन् ।
रौतहट- ३ मा माओवादीका आधिकारिक उम्मेदवार रवीन्द्र पटेल भए पनि सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई आधिकारिक बनाउँदा त्यहाँ पनि माओवादी केन्द्रले जित्ने ठानिएको सीट गुमाउनु परेको छ । प्रभु साहले चुनाव जिते पनि उनी स्वतन्त्र नै रहेकाले माओवादीलाई धक्का लागेको देखिन्छ । अहिले उनी स्वतन्त्र अभियान नै चलाउने मनस्थितिमा देखिन्छन् ।
माओवादीले जित्नसक्ने अर्को क्षेत्र बारा- २ मा पनि पराजय भोग्नुपरेको छ । बारा- २ मा माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा पराजित भए । जसपाका रामसहायप्रसाद यादवले कुशवाहालाई पराजित गरेका हुन् । कुशवाहाले १३ हजार ४६८ मत ल्याउँदा यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जिते ।
सर्लाही- २ मा माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले चुनाव जितेका छन् । माओवादीको चुनाव चिह्न प्रयोग गर्ने गरी नेसपाले सहमति गरेको थियो ।
बरु माओवादी छाडेर एमालेमा लागेकी ज्वाला साह बारा- ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी छन् । जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई पराजित गरेर चुनाव जित्न उनी सफल भएकी हुन् । त्यसैगरी माओवादी छाडेर एमालेमा र पछि स्वतन्त्रबाट चुनाव लडेका प्रभु साह पनि रौतहट- ३ बाट निर्वाचित भएका छन् ।
सिरहा- ३ मा माओवादीका विश्वनाथ साह एमालेका लीला श्रेष्ठसँग पराजित भए । श्रेष्ठले २८ हजार ६४ मत ल्याउँदा साहले २६ हजार ८८२ मत मात्र पाए ।
गिरिराज भन्छन्, 'भोट किन्न नसक्दा हारियो '
चुनाव हारेका माओवादी केन्द्रका उपमहासचिव पोखरेलले समग्र मधेशमा चुनाव हार्नुको कारणबारे रिपोर्ट आउन बाँकी रहेको बताए । तर, आफू पराजित हुनुमा निर्वाचन प्रणालीमा देखिएको विकृति प्रमुख कारण रहेको उनको जिकिर छ ।
'भोजभतेर गर्ने, साडी बाँड्ने, माछा खुवाउने, रक्सी खुवाउने, मोटरसाइकलमा तेल हाल्ने, मोबाइलमा रिचार्ज हाल्ने, भोट किन्ने प्रवृत्ति देखियो,' पोखरेलले लोकान्तरसँग भने, 'जातिवादका आधारमा मत दिने कुराले समाज बन्छ र ? त्यसका विरुद्ध जहिले पनि लाग्ने मान्छेलाई जातपात गरेर हराइएको छ ।'
यद्यपि यसबाट शिक्षा पाएको भन्दै उनले कमीकमजोरी सुधारेर अगाडि बढ्ने बताए । 'नियमितरूपमा जनतामा जानुपर्नेमा नसकेको, गरेको कामको पनि प्रचार गर्न नसकेकाले चुनाव हारेको हुँ,' उनले भने, 'ती कमजोरीलाई सच्याएर अघि बढ्छु ।'
मातृका भन्छन्, 'गठबन्धनको भर पर्दा हारियो, एक्लै लड्दा जितिन्थ्यो'
धनुषा- १ मा पराजित भएका माओवादी नेता मातृकाप्रसाद यादव भने गठबन्धनको भर पर्दा हार्नुपरेको बताउँछन् ।
'गठबन्धनमा आबद्ध घटक दलबाट नाम मात्रको मत आयो, हाकाहाकी गठबन्धनका साथीहरूले मेरो प्रतिद्वन्द्वीलाई भोट मागेको देखेको थिएँ,' यादवले लोकान्तरसँग भने, 'गठबन्धनको भर पर्नुको साटो एक्लै लड्नुपर्थ्यो । बरु एक्लै लडेर हारेको भए अर्को कुरा हुन्थ्यो ।' चुनाव एक्लै लड्नु पर्ने र सरकार निर्माण गर्दा मात्र गठबन्धन गरेर जानु पर्ने सिकाइ यो चुनावबाट भएको उनले बताए ।
'लटक्ले बेटा त गेले बेटा' भनेर बस, ट्रक, ट्र्याक्टर आदिमा लेखिएको हुन्छ, ठीक त्यस्तै हामी पनि गठबन्धनको पछि लट्किदा दुर्घटनामा पर्यौं,' यादवले भने, 'गठबन्धनको चाल र षड्यन्त्र बुझ्न सकिएन ।'
पार्टीको आन्तरिक व्यवस्थापनमा देखिएको समस्या पनि हारको कारण रहेको उनको विश्लेषण छ । 'स्थानीय चुनावमा अन्तर्घात गर्नेहरूलाई कारवाही नगर्दा यसपटक पनि पार्टीकै साथीहरूले ठाउँठाउँमा अन्तर्घात गरे,' उनले भने ।
मधेशको मुद्दा छाडेका कारण पार्टीप्रतिको आकर्षण समेत कम भएको उनको बुझाइ छ । 'जनयुद्धमा हामीले मधेशको मुद्दा उठाएका थियौं । पछि छाड्दा अन्य मधेशवादी शक्तिको उदय भयो,' यादवले थपे, 'अहिले नै रेशम चौधरीको पार्टीको उदय भएको छ । थरुहटको मुद्दा हामीले छाडेपछि अहिले नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ ।'
उनले थपे, 'मधेशको राजनीतिक मुद्दा हल गर्न नसक्दा मधेशमा माओवादी अन्य पार्टीभन्दा पृथक पार्टी हो भनेर भन्न सक्ने स्थिति नै भएन । सरकारमा हुँदा पनि हामीले सडक र सदन छाड्नु हुँदैन्थ्यो । कम्तीमा सडक अरूलाई कब्जा गर्न दिनुहुँदैनथ्यो ।'
गिरिराज र मात्रिकाबीचको स्वार्थ तथा गुटगत राजनीति बन्यो पत्तासाफको कारण
माओवादी पार्टीका मधेश प्रदेश इञ्जार्ज समेत रहेका गणेश साह भने पछिल्लो ५ वर्षदेखि पार्टी केन्द्र सरकारमा सहभागी भएपनि मधेशको हितमा काम गर्न नसक्नु नै मधेशमा पत्तासाफ हुनुको प्रमुख कारण ठान्छन् ।
'मधेशको राजनीतिक, आर्थिक, सामाजिक मुद्दालाई सम्बोधन गर्नेतर्फ पार्टीले सरकारमा हुँदा केही पनि क्रियाशीलता, सक्रियता देखाउन सकेन,' माओवादीका सचिव समेत रहेका साहले लोकान्तरसँग भने, 'चुनावअघि मधेशमा आएर अध्यक्ष प्रचण्डले नागरिकता विधेयक ल्याउँछु भनेर भन्नुबाहेक अन्य कुनै काम नभएका कारण पत्तासाफ भएको हो ।'
मधेशमा पार्टीभित्रको संगठनात्मक अन्तरविरोध पनि खराब चुनावी नतिजाको दोस्रो कारण रहेको उनले बताए ।
'पार्टीमा संगठनात्मक अन्तरविरोध छ । समितिहरू बनेका छैनन् । संगठन त शून्यमा नै छ,' उनले थपे, 'त्यसबाहेक गठबन्धनका अन्य घटक दलहरूको मत माओवादी उम्मेदवारमा ट्रान्सफर हुन सकेन । हामीले गठबन्धनका उम्मेदवारलाई मत हाल्यौं, तर साथीहरूले हाम्रा उम्मेदवारलाई इमान्दारीपूर्वक मत हालेनन् ।'
त्यसबाहेक लामो समयदेखि एकै उम्मेदवारलाई पटक-पटक अवसर दिइँदा कार्यकर्ताहरूमा पनि उत्साह नदेखिएको उनको बुझाइ छ ।
स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका सम्बन्धमा कारवाही नहुँदा पनि असर परेको उनले बताए ।
'स्थानीय तहको चुनावमा भएको अन्तर्घातका विषयमा गठन भएको अनुशासन आयोगको रिपोर्टमाथि कुनै पनि कारवाही नहुँदा पनि कार्यकर्ताहरूमा उत्साह देखिएन,' उनले थपे, 'अनुशासन आयोगको रिपोर्ट अध्यक्ष प्रचण्ड कमरेडकोमा त्यसै थन्किएर बसेपछि पार्टीकै कार्यकर्ताहरू निराश भइदिए ।'
नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्मा मधेशमा माओवादीको पराजय हुनुमा गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादवलाई मुख्य जिम्मेवार मान्छन् ।
विगत १५ वर्षदेखि पार्टीको संगठन र सत्तामा समेत शिखरमा रहेका ती दुवै नेताहरूको आ-आफ्नो स्वार्थ र गुटबन्दीका कारण मधेशमा माओवादीको पत्तासाफ भएको उनको बुझाइ छ ।
'दुवैजना विगत डेढ दशकदेखि पार्टीको पदमा र सत्तामा पनि पटक-पटक आसीन भएर मन्त्री बन्ने अवसर पाउनुभयो,' शर्माले भने, 'मधेशको कमाण्ड गरेका ती दुई नेताको भोगविलास र सामन्त, सर्वहारा चिन्तन प्रवृतिका कारण स्थानीय चुनावमा माओवादीको महापराजय भएको थियो भने अहिले त मृत्यु नै भइसकेको छ ।'
उनले पोखरले र यादव दुवैजनाको जीवनशैलीमाथि नै प्रश्न गरे ।
'जनयुद्धमा एउटा क्रन्तिकारी सर्वहारा नेताको रूपमा मातृकाजीको छवि थियो, तर संसदीय राजनीतिमा पुगेपछि मातृकाजीको छवि नवसामन्त, नवसम्भ्रान्त वर्गको रूपमा रुपान्तर भएको छ,' शर्माले थपे, 'अहिले उहाँको गाउँ सबैलामै सबैभन्दा ठूलो आलिसान भवन कसको हो भनेर सोध्नुभयो भने मातृकाजीको नै हो भनेर जवाफ पाउनुहुन्छ । गाउँदेखि काठमाडौंसम्म दृश्य/अदृश्य सम्पत्ति जोड्नुभएको छ ।'
उनले थपे, 'उहाँले मधेशमा पार्टीको संगठन विस्तार गर्नुपर्छ भन्ने विषयमा कहिल्यै ध्यान दिनुभएन । आफ्नो मान्छे मात्र बनाउनु भयो,' उनले थपे, 'त्यसबाहेक दृश्य-अदृश्य शक्तिसँगको उहाँको सम्बन्धका कारण पनि मधेशमा माओवादीलाई क्षति भएको छ ।'
त्यसैगरी गिरिराजमणि पोखरेलले पनि पार्टीको संगठन विस्तार गर्नुभन्दा आफ्नो निर्वाचन क्षेत्रलक्षित केही सीमित गुट मात्र निर्माण गरेकाले उनको हार भएको शर्मा बताउँछन् ।
'उहाँ बौद्धिक र वैचारिक नेता भए पनि उहाँले संगठन निर्माणको नाममा आफ्नो एउटा गुट मात्र बनाउनुभयो,' शर्माले थपे, 'तर, यसपटक उहाँले आफ्नो गुट पनि बचाउन सक्नुभएन । गुटमै विद्रोह हुँदा गुट पनि ध्वस्त भएका कारण उहाँको पराजय हुन पुग्यो ।'
पोखरेल बाहिरबाट मात्र सर्वहाराको नेताजस्तो देखिएको, तर भित्रबाट पूर्णरूपमा सम्भ्रान्त वर्गको रूपमा स्थापित भइसकेका कारण जनताले उनलाई हराएको शर्माको विश्लेषण छ ।
'ती दुई नेताबीच स्वार्थ मिल्दा एकै ठाउँ आउने तर स्वार्थ नमिल्दा गुटगत संघर्ष हुने गरेका कारण मधेशमा माओवादीको संगठन नै ध्वस्त भइसकेको छ,' शर्माले भने, 'माओवादी अध्यक्ष प्रचण्डले अब ती दुवै नेतालाई हारको जिम्मेवार ठहर गरी पदबाट मुक्त गरी दण्ड दिनुका साथै नयाँलाई नेतृत्वको अवसर दिनुपर्छ ।'
त्यसबाहेक मधेशमा माओवादीको पत्तासाफ हुनुमा माओवादी अध्यक्ष प्रचण्डको मधेश मुद्दाप्रति इमान्दार नदेखिनु पनि कारण रहेको उनको बुझाइ छ । 'संविधान निर्माण हुनुअघि २२ दलीय गठबन्धनको नेता नै प्रचण्ड हुनुहुन्थ्यो,' उनले थपे, 'तर, संघर्षको मैदानलाई छाडेर सत्ता प्राप्तितर्फ लाग्दा मधेशको मुद्दा छाडेर गएपछि मधेशी जनतामा माओवादीप्रति वितृष्णा बढेको हो ।'
जनयुद्धको एजेन्डाप्रति प्रतिबद्ध नहुनु, मधेशको मुद्दा तथा आन्दोलनलाई बीच बाटोमै छाडेर जानुले पनि राजनीतिक रूपमा माओवादी कमजोर हुँदै गएको उनको कथन छ ।
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...
म्यान्मारमा दुई वर्षअघि भएको सैन्य कूले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । त्यतिखेर सेनाको कदमका विरुद्ध भएको राष्ट्रव्यापी प्रदर्शन अहिले गृहयुद्धमा परिणत भएको छ । म्यान्मार सेनाले विरोध...
सूचनाको हकसम्बन्धी ऐनको दफा २७ मा केही संवेदनशील सूचनाहरू छन् भने त्यसलाई संरक्षण गर्नका लागि वर्गीकरण गर्न सकिने व्यवस्था छ । तर, त्यो व्यवस्था गर्नका लागि मुख्यसचिवको अध्यक्षतामा कुन मन्त्रालयसँग सम्बन्धित सूचना हो, ...
अमेरिकाको परराष्ट्र मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमण सकेर सोमवार भारततर्फ गएकी छन् । यस भ्रमणमा नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ...
‘रविजी, तपाईंलाई गृह (मन्त्रालय) चाहिएको हैन ? ल लैजानुस् । बाँकी हामी मिलाउँछौं,’ प्रधानमन्त्रीमा शपथ लिनुअघि पुस ११ गते बानेश्वरमा मन्त्रालयको प्रारम्भिक भागबण्डा गर्न बसेको बैठकमा एमाले अध्यक्ष केप...
‘जसले राष्ट्रपति कार्यकारी हुनुपर्छ भनेको छ, त्यो राष्ट्रपतिले यत्रो अधिकार कहाँबाट प्रयोग गर्यो भनेर विरोध गरेको छ । जसले राष्ट्रपति कार्यकारी हुनुहुँदैन भनेको थियो, त्यसले राष्ट्रपतिले ठीक गरेको छ भने...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...