२६ जेठ २०८३, मंगलबार

एकीकृत समाजवादी सत्तारुढ गठबन्धनलाई अगाडि बढाउने पक्षमा

मंसिर १३, २०७९
एकीकृत समाजवादी सत्तारुढ गठबन्धनलाई अगाडि बढाउने पक्षमा
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरूले सतर्क हुनुपर्ने आवश्यकता महसुस गरेको बताए । उनले गठबन्धनका दलहरूका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताए । 

त्यस्तै सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राखेको सन्दर्भमा सो विषयमा समेत छलफल भएको उनले जानकारी दिए । बैठकमा उदयपुर जिल्लाको विषयमा पनि छलफल भएको उनले बताए । 

‘हाम्रो पार्टीले देशभर पाएको मतको छलफल गर्‍यौँ । इलाम र उदयपुरबारे छलफल गर्‍यौँ । इलाममा अनेकौँ खालका विसंगतिहरु देखिए । विसंगति देखिएको सन्दर्भमा उम्मेदवार हुनुभएका झलनाथ खनालले गम्भीर आपत्ति जनाएर वक्तव्य दिनुभएको सन्दर्भमा कुनै कानूनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने कुरा उहाँले उठाउनुभएको छ । त्यस बारेमा छलफल भएको छ’, अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन गर्‍यौँ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भिरताकासाथ लिनुपर्ने र सतर्क  हुनुपर्ने आवश्यकता महसुस गर्‍यौँ । यस हिसाबमा गठबन्धनका दलहरुसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ ।’ 

बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भूमिका खेल्ने सरकारी निकायहरुलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीहरूलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावनाअनुसार काम गर्ने पार्टीको निस्कर्ष रहेको स्पष्ट पारे । उनले निर्वाचनको समग्र समीक्षा भने सबै जिल्लाहरूबाट रिपोर्ट आइसकेपछि आगामी बैठकहरुमा गरिने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्