
सुर्खेतको वीरेन्द्रनगर–१० बेलघारीकी खैरुन निसा सैयद खासमा महिला स्वास्थ्य स्वयंसेविका हुन् तर उनी स्वास्थ्य स्वयंसेविकाकै रूपमा सीमित भइनन् ।
कठोर संघर्षकै परिणाम उनको यो परिचय पनि फराकिलो बन्दै गएको छ । खैरुन आफ्नै बस्तीमा स्वयंसेविकाका रूपमा परिचित छिन् भने बस्ती बाहिर मुस्लिम अधिकारकर्मी ।
बुवा मदार बक्स र आमा जोहोरा विविकी जेठो सन्तान हुन् खैरुन । उनको संघर्षको शुरूआत त्यतिबेलै हो, जतिबेला भाइबहिनीहरू लस्करै स्कूलतर्फ जाँदा उनी गोठालो जान्थिन् । स्कूल पठाउन उनका बुवा तयार थिएनन् ।
‘अरु सबै भाइबहिनीलाई स्कूल पठाउने, मलाई गोठाला भन्दै त्यतिबेला बुवासँग झगडा गरेकी हुँ, बुवा सितिमिती तयार हुनुभएन, रुँदै–रुँदै जबरजस्ती स्कूल गएपछि हेडसरले नाम लेखाइदिनुभो,’ बाल्यकालको संघर्षलाई उनले यसरी सम्झिइन्, ‘त्यतिबेला गागे्रताल स्कूलमा टीकाराम सुवेदी हेडसर हुनुहुन्थ्यो, बुवाले नचाहँदै–नचाहँदै स्कूल जान थालेकी हुँ ।’ बुवाले पढाउन नचाहे पनि खैरुन १ देखि ५ कक्षासम्म प्रथम भइन् । ५ कक्षासम्म निःशुल्क पढाइ हुन्थ्यो । ६ कक्षाबाट शुल्क तिर्नुपर्थ्यो । शुल्क तिरेर पढ्ने क्षमता थिएन । पोशाक किन्ने पैसा नहुँदा स्कूलमा उनले पिटी–परेड खेल्न पाइनन् । पढ्ने चाहनामा ‘बे्रक’ लाग्यो । फेरि खैरुनको गोठालो जीवन शुरू भयो, गोठाला गरेरै केही वर्ष पार गरिन् ।
‘जब मस्जिदमा घुँडा टेकाए’
खैरुन निसाको १४ वर्षको उमेरमा मोहम्मद इसाक दिनसँग बिहे भयो । ‘हामी दुवै जना शारीरिक र मानसिक रूपले परिपक्व थिएनौं, बिहेको ५ वर्ष बितिसक्दा समेत बच्चा जन्मिएन, यही कारणले श्रीमान्सँग कलह भयो, केही वर्ष माइतीमा बसें,’ उनी भन्छिन्, ‘जब ठूली छोरी गर्भमा रहिन्, तब हाम्रो सम्बन्ध सुध्रियो, लगातार ५ छोरी जन्मिए, समाजले छोरा चाहिन्छ भने पनि श्रीमान्ले कुनै तनाव दिनुभएन, यसमा भने श्रीमान्को नसोचेको साथ पाएँ ।’
२०५२ सालमा हेल्थ पोस्टले महिला स्वास्थ्य स्वयंसेविका खोजी गर्यो । २०५३ चैतमा स्वयंसेविकाको तालिम लिइन् । त्यतिबेला वार्षिक १५० रुपैयाँ भत्ता थियो । उनी भन्छिन्, ‘अहिले जस्तो पोशाक, यातायात खर्च जस्ता प्रोत्साहन भत्ता पाइन्थेन, घर खर्च चलाउन गाउँगाउँमा डुलेर कस्मेटिक सामान, माछा बेच्थें । स्वयंसेविका भएपछि बालबालिकालाई विभिन्न खोपहरू, भिटामिन ए, पोलियो थोपा खुवाउने कार्यक्रमदेखि समुदायमा परिवार नियोजनका साधनहरूको वितरण लगायतका कामहरू गर्नुपर्थ्यो । डिपो प्रोभेरा सूइँ स्वास्थ्य संस्थामै लगाउन जानुपर्थ्यो, पिल्स, कण्डम लगायतका साधनहरू घरबाटै दिन्थिन् ।
मुस्लिम समुदाय परिवार नियोजनमा कट्टर । बस्तीमा परिवार नियोजनबारे कुरा गर्नु चानचुने थिएन । परिवार नियोजन, शिशु जन्मान्तरको कुरा गर्दा महिला–पुरुष सबै जना एकसाथ खनिन्थे । ‘खैरुनको भातपानी बन्द (एक प्रकारको सामाजिक बहिष्कार) गर्नुपर्छ, हाम्रो जात, धर्ममा नभएको काम गर्न थाली भन्ने जस्ता नानाभाती आरोप लगाउन थाले,’ उनी भन्छिन्, ‘पलपलमा गाली सहँदै आफ्नो कर्ममा लागिरहें, परिवार नियोजनका साधनहरूको प्रयोगबारे बुझाउन निकै संघर्ष गरें, अहिले आएर बल्ल बुझे । अहिले श्रीमान् हुन् या श्रीमती घरमै आएर चाहेको परिवारको नियोजनका साधन लिन्छन् ।’
बेलघारीमा २५० मुस्लिम घरधुरी छन् । बस्तीको सिरानमा नेपाली सुन्नी गुल्सने मदिना अध्ययन केन्द्र छ, जुन मस्जिद हो । २०६६ सालको कुरा हो, परिवार नियोजनबारे कुरा गरेको भन्दै त्यही मस्जिदमा गाउँलेहरूले खैरुनलाई घुँडा टेकाएर माफी माग्न लगाए । मस्जिदमा मानिसहरू खचाखच थिए । त्यहाँ महिलाहरूको साथ पाउने उनको अपेक्षा रहेछ ।
उनी भन्छिन्, ‘उल्टै महिलाहरू पुरुषभन्दा चर्का कुरा गर्न थाले, मैले पनि के नचाहिँदो काम गरेकी छु र भन्ने लाग्यो, माफी माग्दै मागिनँ । आफ्नो अडानमा अडिग रहें ।’ जसले पहिले गाली गरेका थिए, पछि उनीहरू नै स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन जान थाले, बिस्तारै बुझ्दै गए । घरमै सुत्केरी हुनुको साटो अस्पताल जान थाले ।
तलाखविरुद्ध अभियान
मुस्लिम समुदायमा मौखिक रूपमा सम्बन्धविच्छेदका घटना खुबै हुन्थे । पुरुषले श्रीमतीलाई ३ पटक तलाख भनेकै भरमा सम्बन्धविच्छेद हुन्थ्यो । महिला कुनै अंश वा न्याय विनै रित्तो हात माइतीमा फर्कनुपर्थ्यो । पुरुषले चित्त नबुझे ३ पटक तलाख भन्दैमा सम्बन्धविच्छेद हुनु हिंसा हो, महिलामाथि घोर अन्याय हो भन्नेमा उनी दृढ थिइन् । त्यसपछि उनले तलाख दिने पुरुषहरूविरुद्ध अभियान चलाइन् ।
‘महिलाहरू श्रीमान्ले तलाख दिए भनेर रुँदै आउँथे, छोराछोरी भएकालाई पनि अनाहकमै सामान्य कुरामा निहुँ खोजेर छाडिदिने चलन थियो,’ उनी भन्छिन्, ‘तलाईं अर्काको घरबारमा किन चासो ? किन बिगार्ने घरबार भन्दै पुरुषहरू घरमै धम्क्याउन आउँथे तर पनि हिम्मत हारिनँ, महिलालाई जनावरजस्तो व्यवहार गर्नु धर्म होइन, पाप हो भनेर बुझाउन सफल भएँ ।’ अहिले मुस्लिम समुदायमा तलाखको प्रचलन हटिसकेको छ । उनी हालसम्म १५/१६ जना महिलालाई तलाखबाट जोगाएको बताउँछिन् । कतिपयलाई कानूनी कठघरामा पनि पुर्याएकी छन् खैरुनले ।
निरन्तर समाजसेवा
२०५३ सालमा स्थानीय गैरसरकारी संस्था समाज जागरण केन्द्र (स्याक) ले मुस्लिम बस्तीमा प्रौढ महिलाका लागि अनौपचारिक शिक्षा सञ्चालन गर्यो । खैरुन त्यस कार्यक्रमको सहयोगी कार्यकर्ता थिइन् । नाम लेख्न नसक्ने, बोल्न नसक्ने, सामान्य हिसाबकिताब गर्न नसक्ने महिलाहरू ६ महिनामै साक्षर बने । बिहानैदेखि साँझसम्म खेतबारी, घरभान्साको काममा व्यस्त दिदीबहिनीहरू साँझ खाना खाइवरी लालटिन बोकेर बालबच्चासहित कक्षा लिन आउँथे । दिदीबहिनीहरूको सिकाइबाट प्रभावित भएर स्याकले उनलाई उत्कृष्ट सहयोगी कार्यकर्ताको सम्मान गरेको थियो । आवाज संस्थाले कानून शिक्षामार्फत किशोरीलाई बालविवाह, स्वास्थ्य सुरक्षा, सुरक्षित महिनावारी लगायतका विषयमा छलफल चलाउँथ्यो । त्यसमा पनि उनले सहजकर्ताको काम गरेकी थिइन् ।
बेलघारी टोलमा विकास निर्माणको काममा पनि खैरुनकै अगुवाइ छ । उनी अगाडि लागिनन् भने विकासको जग बस्दैन् । सडक नाला निर्माण होस् या खानेपानी, शौचालय निर्माण सबै सामाजिक काममा उनैले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् । खुला दिसापिसाब गर्ने टोलमा पहिलोपटक ९० वटा कच्ची शौचालय बनेका थिए । त्यसका लागि बजेट जुटाउनेदेखि निर्माण सम्पन्न गरेर प्रयोग भए/नभएको अनुगमन गर्नेसम्मका काम खैरुनले नै गर्थिन् । समुदायमा दृष्टिविहीनको आँखाको उपचार गराउनेदेखि अपाङ्गता भएकाहरूको परिचयपत्र बनाउने काममा पनि उनी अघि सर्नुपर्यो ।
‘गाउँमा जस्तोसुकै समस्या देखियो कि दौड्दै आइहाल्छन्, १२ जनाको आँखाको अपे्रसन गराउन नेपालगञ्ज आफैं पुगेकी हुँ, उनीहरूले आँखाको ज्योति पाएपछि मलाई ‘एकको एक्काइस होस्’ भन्दै आशीर्वाद दिएका थिए,’ उनी भन्छिन्, ‘आफ्नै खर्चमा बिरामी लिएर नेपालगञ्ज, काठमाडौंदेखि भारतको लखनउसम्म पुगेकी छु ।’
२०७१ साउन २८ र २९ गते सुर्खेतमा आएको बाढीबाट मुस्लिम समुदाय पनि प्रभावित भएका थिए । पिपिरा खोलाको कटानले ७ घर विस्थापित भएका थिए । परिवारलाई सुरक्षित स्थानान्तरण गर्ने, अस्थायी बसोबासको प्रबन्ध मिलाउने दायित्व समुदायको अगुवा भएका कारण उनकै काँधमा आइपुगेको थियो । राहत सामग्रीको अपिल गर्नेदेखि वितरण गर्ने, आवास निर्माणका लागि सहायता रकम जुटाउने काम गरेकी थिइन् ।
अशिक्षा र धार्मिक अन्धविश्वासमा रुमल्लिएको मुस्लिम समुदायको चेतना र विकासको दियो बाल्ने खैरुन निशाले यति धेरै काम गर्दा के पाइन् त ? ‘मैले केही पाएको जस्तो पनि लाग्छ, केही पाएकी छैन भन्ने लाग्छ, पैसा कमाउन सकिनँ होला, प्रतिष्ठा कमाएकी छु, समाजलाई बदल्ने साहस गरें, आज समाज उज्यालो बाटोमा अग्रसर भएको देख्दा औंधी खुशी लाग्छ । बस ! मैले पाएको शिक्षा र कमाएको सम्पत्ति भनेको यही हो,’ उनले भनिन् ।
उनको संघर्ष, समाज रूपान्तरण र महिला स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको स्वस्फूर्त मूल्यांकन पनि नभएको होइन । बरु उनको कर्मका अगाडि ती सम्मान नगण्य जस्ता लाग्छन् ।
खैरुन ३० हजार राशीको डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार (२०७६), वीरेन्द्रनगर नगरपालिकाद्वारा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मान (२०७४), पोखरामा आयोजित चौथो राष्ट्रिय बेटी सम्मेलनमा चेलीबेटी सशक्तीकरण सम्मान (२०७८), दिदी नेपालद्वारा नारी सम्मान (२०७५), जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतद्वारा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मान (२०६५) बाट पुरस्कृत भइसकेकी छन् ।