
विगत एक महिनामा चीनले नयाँ कूटनीतिक दिशातर्फ संकेत गर्ने नियुक्तिहरू गरेको छ ।
एक दशकसम्म परराष्ट्रमन्त्री रहेका वाङ यीको स्थानमा अमेरिकाका लागि चीनका राजदूत रहेका छिन काङलाई ल्याइएको छ । वाङलाई बढुवा गरेर चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगका निर्देशक बनाइएको छ । त्यो भनेको पार्टीका महासचिव सी चिनपिङभन्दा ठीक मुनिको सर्वोच्च कूटनीतिकर्मीको पद हो ।
नयाँ परराष्ट्रमन्त्री छिन अमेरिकामा राजदूत हुँदा उनलाई बाइडन प्रशासनले धेरै वास्ता नगरेको रेस्पोन्सिबल स्टेटक्राफ्टका जेक वर्नर लेख्छन् । छिन राष्ट्रपति सीका निकटवर्ती नेता नभएको आकलन गरी बाइडन प्रशासनले उनलाई बेवास्ता गरेको थियो । तर सीले छिनलाई परराष्ट्रमन्त्री बनाएपछि अमेरिकीहरू आश्चर्यमा परेका थिए ।
अमेरिकी प्रशासनले धेरै वास्ता नगरेपछि छिनले कूटनीतिक भेटघाट भन्दा पनि अमेरिकाका विभिन्न उद्योग र कृषि फार्महरूको भ्रमण गरेका थिए । अमेरिका छोड्ने बेलामा उनले द वाशिङटन पोस्टमा (जनवरी ४ मा) एउटा भावुक लेख लेख्दै चीन र अमेरिकाको सम्बन्ध स्थिर हुनुमा पृथ्वीको भविष्य अडिएको छ भनी तर्क गरेका छन् ।
अर्थात्, अमेरिकासँग जोरी खोज्ने भन्दा पनि मिलेर अघि बढ्ने चाहना चीनका राष्ट्रपतिले देखाएको संकेत छिनलाई परराष्ट्रमन्त्री बनाएबाट पुष्टि हुन्छ । त्यसको पनि आफ्नै कारण छ ।
सन् २०२० देखि २०२२ सम्म कोभिडकालमा अमेरिका र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण रहेकोमा चीनले अब अमेरिकासँग मात्र नभई पश्चिमसँग कूटनीतिक सम्बन्ध बढाउन चाहेको सन्देश नयाँ नियुक्तिले दिएको छ ।
वाङ यी स्वयं पनि समन्वयकारी तथा जोरी खोज्न नचाहने प्रबुद्ध परराष्ट्रमन्त्री थिए । उनलाई बढुवा गरी सर्वोच्च कूटनीतिकर्मी बनाइनु अनि अमेरिकामा अनुभव बटुलेका छिनलाई नयाँ परराष्ट्रमन्त्री बनाइनुले सीको प्राथमकितामा कूटनीति रहेको देखिन्छ ।
नयाँ नियुक्तिमार्फत चीनले गरेको पहलबाट पश्चिमाहरूले चीनका विषयमा बनाउने गरेको गलत धारणा चिरिएको छ ।
चीनमा कोभिड, घरजग्गा कारोबार संकट तथा सुस्त आर्थिक वृद्धि लगायतका समस्या रहेकाले आन्तरिक चुनौतीबाट जनताको ध्यान हटाउनका लागि सरकारले बाहिर दबाब बढाउने गरेको निष्कर्ष पश्चिमा तथा भारतीयहरूले निकाल्ने गरेका थिए । ताइवानमा चिनियाँ सेनाले गरेको आक्रामक अभ्यास तथा भारतको अरुणाचल प्रदेशको तवाङमा चिनियाँ सेनाको प्रवेशलाई यही आलोकमा व्याख्या गरिएको थियो ।
तर जनगणतन्त्र चीनको इतिहास हेर्दा चीनभित्र समस्या उब्जिँदा बाहिर आक्रमण गरेको उदाहरण नपाइने वर्नरको भनाइ छ । बरू अहिले चीनले चालेका कदमहरू हेर्दा चीन युद्धतर्फ भन्दा पनि कूटनीतितर्फ अग्रसर रहेको देखिन्छ ।
त्यसैक्रममा चीनले आफ्ना जोधाहा कूटनीतिकर्मी चाओ लिच्यानलाई परराष्ट्र मन्त्रालयको प्रवक्ताबाट हटाएर सीमा तथा महासागर मामिला विभागका उपप्रमुख बनाएको छ । कोभिडकालमा चाओले अमेरिका, अस्ट्रेलिया तथा पश्चिमका अन्य मुलुकहरूलाई चिढ्याउने अभिव्यक्ति दिने गरेका थिए ।
चाओ तथा अन्य चिनियाँ कूटनीतिकर्मीहरूको यस्तो व्यवहारलाई पश्चिमले वुल्फ वारियर डिप्लोमसी भन्ने गरेको थियो । चीनको सर्वाधिक सफल चरम राष्ट्रवादी फिल्म वुल्फ वारियरका आधारमा त्यो नाम राखिएको थियो ।
तर चीनमाथि गरिएका शाब्दिक आक्रमणको प्रतिरक्षा गर्ने क्रममा चिनियाँ कूटनीतिकर्मीहरूले प्रत्याक्रमण गर्ने गरेको कुरमा विचार गर्नुपर्ने राजनीतिक विश्लेषक टिमुर फोमेन्को लेख्छन् ।
नेपालमा पनि चिनियाँ कूटनीतिकर्मीहरूको आक्रामकता एकाधपटक देखिएको थियो । यहाँको एउटा अंग्रेजी दैनिकले चीनका सम्मानित नेता माओ चतोङलाई मास्क लगाएको तस्वीर बाहिरी मिडियाबाट ल्याएर छाप्दा त्यसको प्रतिकारमा चिनियाँ दूतावासले लिखित तथा श्रव्यदृश्य सामग्री निकालेर आलोचना गरेको थियो ।
अनि हुम्लामा चीनले नेपालको सीमा मिचेको विषयमा नेपाली कांग्रेसका नेताहरूले कुरा उठाउँदा उक्त पार्टी र चिनियाँ दूतावासबीच कडा भाषामा पत्र आदानप्रदान भएको थियो । त्यही दौरान नेपाल कम्युनिस्ट पार्टीको सरकार छँदा तत्कालीन चिनियाँ राजदूतले राजनीतिक हस्तक्षेप महसुस हुने गरी भेटघाट बढाएकी थिइन् ।
जे होस्, सी चिनपिङ राष्ट्रपति बन्नुअघि चिनियाँ कूटनीतिकर्मीहरू नरम हुने गर्थे अनि अहिले उनको पालामा आक्रामक भइरहेका छन् भनी पश्चिमले व्याख्या गर्ने गरेको छ । के कारणले चिनियाँ कूटनीतिकर्मीहरू आक्रामक देखिएका हुन् त भनी पश्चिमाहरूले गतिलो व्याख्या गर्ने गरेका छैनन् ।
सीले तङ स्याओपिङकालीन ‘आफ्नो शक्ति लुकाऊ, समयको प्रतीक्षा गर’ भन्ने नीतिलाई परित्याग गरी कूटनीतिकर्मीहरूलाई जोरी खोज्ने किसिमको बनाएको भनी पश्चिमाहरूले गरेको संकेत गलत देखिन्छ । सीले हालै गरेका कूटनीतिक नियुक्तिले पनि उनी जोधाहापनमा विश्वास नगर्ने नेता रहेको पुष्टि हुन्छ ।
खासमा चीनमाथिको आक्रमणको प्रतिकारलाई सीले अनुमति दिने गर्थे । तर जानाजान कुनै देशमाथि शाब्दिक आक्रमण गर्न सीले आफ्ना कूटनीतिकर्मीहरूलाई कहिल्यै अह्राएनन् ।
त्यसैले हालका कूटनीतिक नियुक्तिसँगै चीन नरम हुँदै गयो भन्न पनि मिल्दैन । दक्षिण कोरिया र जापानले कोभिडको बहाना देखाउँदै चिनियाँ यात्रीहरूमाथि लगाएको प्रतिबन्धको जवाफ जस्ताको त्यस्तै फर्काउन चीनले पनि ती दुई देशका नागरिकको प्रवेशाज्ञा निवेदन रोकिदिएको छ ।
पश्चिमले जसो गर्यो त्यसैलाई दोहोर्याउने जापान र दक्षिण कोरियाको कदमप्रति यसरी चीनले आक्रोश व्यक्त गरेको छ । भनाइको मतलब, चीनमाथि अर्घेल्याइँ गर्ने मुलुकहरूप्रति चीनले आक्रामक देखिने व्यवहार जारी राख्नेछ ।
तर पश्चिमा मुलुकहरूले पनि चिनियाँ यात्रुमाथि यस्तै किसिमको प्रतिबन्ध लगाएकोमा चीनले प्रतिकार नगर्नुबाट ऊ पश्चिमसँग सुमधुर सम्बन्ध बनाउन इच्छुक रहेको संकेत दिन्छ ।
त्यसका पछाडि पनि एउटा कारण छ । अमेरिकाले युक्रेन युद्ध तथा चीनसँगको प्राविधिक प्रतिस्पर्धामा युरोपेलीहरूलाई बलिको बोको बनाएर भरपूर फाइदा उठाएको तीतो सत्य हो । आफ्ना युरोपेली साझेदारहरूलाई अप्ठ्यारो हुने गरी अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउन जोड दिएको छ भने चीनसँग सेमिकन्डक्टर चिप्स तथा अन्य प्राविधिक कारोबार नगर्न भनेको छ । त्यसले गर्दा युरोपेलीहरूको उद्योग र व्यापार दुवैलाई विशाल क्षति पुगिरहेको छ ।
यस्तो स्थितिबाट आजित भएर केही युरोपेली मुलुकहरू चीनसँग सम्बन्ध बढाउन खोज्दैछन् । जर्मनीका चान्सलर ओलाफ शोल्जले गत नोभेम्बर महिनामा चीनको भ्रमण गरेका थिए । अनि अमेरिकाको साझेदार मुलुक साउदी अरबले अमेरिकी राष्ट्रपतिलाई चिसो स्वागत गरेकोमा चीनका राष्ट्रपतिलाई चाहिँ उच्च सम्मान दिएर न्यानो स्वागत गरेको थियो ।
बदलिँदो विश्व राजनीतिक समीकरण देखेको चीनले अमेरिकालाई झगडा गरेर नभई कूटनीतिक पहल गरेर रोक्न सकिने निष्कर्ष निकालेको विश्लेषक फोमेन्को लेख्छन् । कोभिडकालमा तीन वर्षसम्म विश्वबाट अलगथलग जस्तै बनेको चीन अब क्रमशः खुल्न थालेको छ र यस खुलापनलाई उसले कूटनीतिक पहलमार्फत आफ्नो पक्षमा विश्वलाई ल्याउनका लागि उपयोग गर्न खोजेको छ । त्यसैक्रममा चिनियाँ अधिकारीहरूले युरोपेली अधिकारी तथा पत्रकारहरूलाई युक्रेनमाथि आक्रमण गर्ने विषयमा रुसले आफूलाई पूर्वसूचना नदिएको कुरा बताएको फाइनान्सियल टाइम्समा जेम्स किंगे, सुन यु र सिनिङ लु लेख्छन् ।
चीनले यस्तो कूटनीतिक पहल गर्न खोज्दा अमेरिका चाहिँ तनाव बढाउनका लागि उद्यत देखिन्छ । केही दिनअघि जापानका लागि अमेरिकी मरिन कोप्र्सका सर्वाेच्च कमान्डर लेफ्टिनेन्ट जनरल जेम्स बिएरम्यानले ताइवानलाई पनि युक्रेन जस्तै गरी सशस्त्र बनाउने अनि चीनको घेराबन्दी गर्ने भनी ठाडा कुरा गरे ।
त्यस्तै अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूको बहुमत आएपछि सदनले कंग्रेसनल सिलेक्ट कमिटी अन चाइना नामक नयाँ समिति गठन गरेको छ । चीनसँगको अमेरिकी प्रतिस्पर्धालाई थप घनीभूत बनाउने त्यसको उद्देश्य हो ।
उक्त समितिको अध्यक्षता गर्न खोजेका सांसद माइक गालागरले चीनविरुद्धको नयाँ शीतयुद्ध जितेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अब कम्तीमा दुई वर्ष अमेरिकी संसद्ले लगातार चीनविरोधी विधेयकहरूमा विचारविमर्श गर्ने अनि कतिपय विधेयक पारित गर्ने सम्भावना देखिन्छ ।
यस्तो अवस्थामा चीनलाई अमेरिकाप्रति नरम व्यवहार देखाउने अवसर प्राप्त हुने छैन । अमेरिकीहरूले चीनप्रति गर्ने छुद्र व्यवहारलाई चिनियाँहरूले प्रतिकार गर्नैपर्ने हुन्छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्त वाङ वनपिनले चाओ लिच्यानको युग समाप्त भएपछि चिनियाँ कूटनीतिमा परिवर्तन देखिन्छ कि भनी सोधिएको प्रश्नमा चीनको सार्वभौमसत्ता, सुरक्षा तथा विकास चासोलाई उच्च प्राथमिकता दिने सवालमा आफूहरू कहिल्यै विचलित नहुने बताएका छन् । त्यसबाट पनि चीनले आफूमाथिको आक्रमणलाई हाँसीहाँसी नसहने स्पष्ट सन्देश दिएको छ ।
तर यस्तो प्रतिकारसँगै सक्रिय कूटनीतिक पहललाई पनि चीनले अघि बढाएर विश्वको मन जित्दै अमेरिकाको घेराबन्दी प्रयासलाई विफल पार्ने जमर्को चाहिँ गर्नेछ ।