
नेपाली ग्राहकले चाहेअनुसार टेलिभिजन वितरण सेवाका लागि अलाकार्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ ।
सरकारले नीतिगत व्यवस्था गरेरै यो प्रविधि लगाउने भएको हो ।
सञ्चार मन्त्रालयले नीतिगत व्यवस्था गरेरै टेलिभिजन सेवाप्रदायकले दिने सेवा र सुविधामा स्तरोन्नति गर्न लागिएको सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताए ।
उनका अनुसार अलाकार्ट प्रणाली लागू गर्नकै लागि मन्त्रालयले सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेका छ । मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था गरिरहेकोले अबको एक महिनाभित्रमा तयारी पूरा हुने जानकारी पनि सुवेदीले दिए ।
'यो व्यवस्थाप्रति सस्तो प्याकेजमा टेलिभिजन हेरिरहेका ग्राहकलाई थोरै बढी पर्न सक्ला तर जसले महँगो शुल्क तिरिरहेका छन्, उनीहरूका लागि सस्तो पर्नेछ,' सुवेदीले भने, 'प्रविधि, सेवा, सुविधा र गुणस्तरका हिसाबले ग्राहकले शुल्क तिर्ने भएको यो प्रविधि बढी प्रभावकारी हुनेछ।'
निजी क्षेत्रको टेलिभिजन सेवाप्रदायक संस्थाहरूले यो प्रणाली लागू गर्न गरेको अनुरोधलाई सरकारले सम्बोधन गरे नेपाली ग्राहकले रोजेअनुसारको प्याकेज र टेलिभिजन च्यानल सस्तो दरमै हेर्न पाउने भएका हुन्।
हाल ग्राहकले आफूले नहेर्ने च्यानल पनि प्याकेजअन्तर्गत लिनै पर्ने बाध्यता छ । यस्तो बाध्यतालाई अब लागू हुने नयाँ प्रणाली अलाकार्टले अन्त्य गर्ने भएको हो । यो प्रणालीपछि ग्राहकले चाहेकै च्यानल र प्याकेज लिएर टेलिभिजन हेर्न सक्ने व्यवस्था हुन्छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी स-शुल्क च्यानलहरू हेर्न उपभोक्ताले तिर्नुपर्ने शुल्कलाई व्यवस्थित बनाउने आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । यो प्रणाली लागू भए थोरै च्यानल हेर्ने ग्राहकले धेरै शुल्क तिर्नुपर्ने छैन भने टेलिभिजन वितरकले पनि ग्राहकले हेरेको च्यानलको शुल्क मात्रै लिन पाउनेछन् ।
पछिल्लो समय डिजिटललाइजेनशसँगै ग्राहकलाई सहजीकरण भने भइरहेको छ ।
यो प्रणाली लागू भएपछि थप सहज च्यानलको वितरण व्यवस्थित हुने बुझाइ निजी क्षेत्रका सेवाप्रदायकहरूको छ ।
अहिलको प्रणालीले ग्राहकले कुन विदेशी च्यानल हेरिरहेको थाहा नहुने तर बाध्यात्मक रूपमा प्याकेजअनुसार शुल्क भने तिरिरहनुपरेको छ । अब नयाँ प्रणालीसँगै ग्राहकले न्यूनतम् प्याकेजको शुल्क तिर्ने र त्यो भन्दा बढीको लागि भने च्यानल नै छनोट गरेर पैसा तिर्न पाउने प्रणाली भएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।
यो प्रणाली लागू भए आम टेलिभिजन हेर्ने ग्राहकलाई लाभ हुन्छ भने विदेशी च्यानलले नेपाली ग्राहककै लागि कन्टेन्ट बनाउनुर्ने हुन्छ ।
आचार्यका अनुसार अहिले नेपाली बजारप्रति अपरिचित विदेशी च्यानलले नेपालमा आफ्नो च्यानलको प्रचार गर्नुपर्ने र त्यसका लागि कन्टेन्टमा पनि लगानी गर्नुपर्ने हुन्छ । यसले ग्राहकलाई इच्छाअनुसार च्यानल हेर्न पाउने सुविधा दिनुका साथै राज्यलाई पनि लाभ हुने बुझाई आचार्यको छ ।
यो प्रणाली लागू गरेपछि सानो वा ठूलो दुवै टेलिभिजन प्रदायकलाई लाभ हुने छ ।
ग्राहकले पैसा तिरेअनुसार सेवा लिने हुँदा सानाले ठूलो खर्च गर्नुपर्ने अवस्था हुँदैन। राज्यले लिने नयाँ नीतिमा आधारित यो सेवा सेवा ग्राहकको रुचिमा भर पर्छ। विदेशी च्यानलले नेपालबाट माग्ने पैसा तथा च्यानलको भ्यालु आफैं निर्धारण गर्ने हुँदैन, त्यस्तो शुल्क ग्राहकले तिर्ने शुल्कबाटै निर्धारण हुन्छ ।
यो प्रणाली लागू भएपछि पारदर्शी प्रणाली विकास हुने र यथार्थ अवस्थामा चल्ने हुँदा नेपाली ग्राहक, च्यानल वितरणसहित सरकारलाई लाभ हुने बुझाइ पनि डिसहोमका प्रबन्ध निर्देशक आचार्यले बताए ।