
नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेलिकले जनाएको छ ।
सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ ।
यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्नेछ ।
२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ ।
नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नभएको कम्पनीले जनाएको छ ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने छ ।
यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np मा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ ।
ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरू एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।
एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरूलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहोर्याई आफूले चाहेबमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।