
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् ।
शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् ।
उपराष्ट्रपति निर्वाचनमा रूपमा रामसहाय देखिए पनि सारमा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका हुन् ।
सप्तरीमा डा. सीके राउतसँग पराजित भएपछि उपेन्द्रले संसद् छिर्ने बाटो खोजिरहेका थिए । अर्को पाँच वर्ष सत्ताबाहिर रहन उपेन्द्रसँग धैर्यता थिएन । त्यसैले आफ्ना सच्चा आदेशपालक रामसहायलाई उम्मेदवार बनाएर बारा– २ को निर्वाचन क्षेत्र खाली गराए ।
‘टूरिस्ट उम्मेदवार’ बनेर उपेन्द्रले प्रतिनिधिसभामा आउने बाटो खुला गरेका छन् ।
प्राविधिक हिसाबले रामसहायको उम्मेदवारी संविधानसम्मत नै रहे पनि समावेशिताको हिसाबले उपयुक्त थिएन । राष्ट्रप्रमुख पुरुष निर्वाचित भएको सन्दर्भमा उपराष्ट्रपति महिला भएको भए झनै सुन्दर हुने थियो ।
कुनैबेला देशका प्रमुख पदहरूमा राष्ट्रपति, सभामुख र सर्वोच्च अदालतको प्रधानन्यायाधीश महिला थिए । अहिले सबैजसो प्रमुख पदमा पुरुष छन् ।
उपराष्ट्रपतिमा प्रमिलाकुमारी यादवको उम्मेदवारीलाई आधिकारिक बनाएको भए उपेन्द्र यादवले मधेशी जनताको मुक्तिको नारा लगाएको सुहाउँथ्यो ।
मधेशी महिला पहिलोपटक उच्च ओहोदामा पुग्दा पिछडिएका मधेशका महिलाको आत्मसम्मान र आत्मबल बढ्यो । मधेशमा उपेन्द्र यादवको सर्वस्वीकार्यता बढ्थ्यो ।
‘सत्ता राजनीतिको नसा’ लागेका यादवले त्यो दूरदर्शिता र त्याग देखाउन सकेनन् । कथंकदाचित रामसहायको उम्मेदवारी खारेजी हुन्छ कि भन्ने भयमा प्रमिलाको उम्मेदवारी खडा गरियो । ‘डमी’ उम्मेदवार बनाएर उपेन्द्रले ढोक्साचाहिँ थापिराखेका थिए ।
सादगी नेतालाई विलासी आहाल !
शिक्षण पेशा हुँदै राजनीतिमा आएका रामसहाय यादव मधेशको राजनीतिमा एकजना इमान्दार नेता हुन् ।
शेरबहादुर देउवा सरकारमा वन मन्त्री बनेर पहिलोपटक गाउँ जाँदा श्रीमतीले सामान्य कच्ची घरमा स्वागत गरेको तस्वीरले उनको सादगीपन झल्काएको थियो ।
यादव लामो समयदेखि उपेन्द्र यादवको पार्टीको महासचिव रहे । उपेन्द्रले नै संरक्षण दिएका कयौं नेताहरू टुटफुटमा लागे । पार्टी चहारे, तर रामसहायले भने उपेन्द्रको साथ छाडेनन् । संसदीय दलको नेता समेत बने ।
स्वार्थ उपेन्द्रकै भए पनि इमानको राजनीतिले रामसहायलाई देशको महत्त्वपूर्ण पदमा पुर्याएको छ । सम्पूर्ण सुविधा भएको यस्तो पद, जहाँ बस्दा जनताको करबाट सेवा सुविधा लिने, तर काम केही गर्न नसकिने । औचित्यका हिसाबले उपराष्ट्रपति पद देशका लागि घाँडो बनेको छ । ‘सेतो हात्ती’ भनेर आलोचना खेपिरहेको छ ।
शुक्रवार संसद् भवनमा उपराष्ट्रपतिको मतदान चलिरहेको समयमा मधेशतिरकै एक सांसद भन्दै थिए, ‘माननीय रामसहाय अब विलासी आहालमा प्रवेश गर्न लाग्नुभयो ।’
कामको हिसाबले बेकामे रहेको उपराष्ट्रपति पद व्यक्तिका कारण भने बेलाबखत चर्चामा आइरहन्छ । पहिलो उपराष्ट्रपति परमानन्द झा शपथका कारण विवादमा परे । उनले दोहोर्याएर शपथ दिनुपर्यो ।
दोस्रो कार्यकालका उपराष्ट्रपति नन्दबहादुर पुन प्रतिनिधिसभा विघटन सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध वक्तव्य निकालेर विवादमा तानिएका थिए ।
सादगी छवी बनाएका रामसहायको कार्यकाल कस्तो रहन्छ, आगामी दिनले नै देखाउनेछ ।