०२ साउन २०८३, शनिबार
उपनिर्वाचन २०८०

३ ठाउँमा उपनिर्वाचनः 'टुरिस्ट'देखि पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा

चैत १०, २०७९
३ ठाउँमा उपनिर्वाचनः 'टुरिस्ट'देखि पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा

नियमित चुनावको ५ महिनामा अर्थात् १० वैशाखमा देशका विभिन्न ३ वटा निर्वाचन क्षेत्रमा उपचुनाव हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जितेको तनहुँ १, उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचति भएपछि रिक्त रहेको बारा २ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेको चितवन २ मा एकैपटक उपचुनाव हुन लागेको हो ।

चुनावका लागि २० चैतमा उम्मेदवारी दर्ता हुनेछ। जसपा, रास्वपाबाट उम्मेदवारको लगभग टुंगो लागिसकेको छ भने नेपाली कांग्रेसका पनि चर्चामा रहेकैमध्येबाट उम्मेदवार तय गर्ने सुरसारमा छ।

तर सत्ता गठबन्धनबाट बाहिरिएको एमालेले यी तीन वटै क्षेत्रमा कसलाई उम्मेदवार उठाउँछ भन्नेमा कुनै आधिकारिक जानकारी दिइसकेको छैन। 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चितवन २ र तनहुँ १ बाट उम्मेदवारका लागि सिफारिस मागिएको जानकारी दिए। ‘हामी बारा २ मा सत्ता गठबन्धनसँगै छौं । तर चितवन २ र तनहुँ १ का लागि भने उम्मेदवार सिफारिस गर्न भनिएको छ’, शर्माले लोकान्तरसँग भने, ‘उहाँहरूले नाम पठाएपछि केही दिनमा हामी उम्मेदवार तय गर्छौ ।’ 

चितवन २ फेरि पनि चर्चामा

चितवन २ मा पार्टी गठनको छोटो समयमै रास्वपाका सभापति रवि लामिछानेले फराकिलो जीत हात पारेका थिए । लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए। यहाँ कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । राप्रपाका रविन अधिकारीले भने ९५५ मत पाएका थिए।

नागरिकता प्रकरणमा सांसद र गृहमन्त्री पद गएपछि पुनः नागरिकता प्राप्त गरेका लामिछाने नै यो क्षेत्रबाट उठ्दै छन्। अघिल्लोपटक उनी ३४ हजार ३१२ मतान्तरले विजयी भएका थिए। 

फेरि पनि लामिछाने नै उम्मेदवार बन्ने भएपछि चितवन २ सबैभन्दा बढी चर्चामा छ। देशका १६५ निर्वाचन क्षेत्रमा सबैभन्दा फराकिलो जीत दर्ता गरेका लामिछानेसँग यसपटक को उठ्लान् भन्ने पनि उत्तिकै चासोपूर्वक हेरिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको रास्वपा सरकारमा सहभागी भइसकेको छैन ।

चितवन २ सत्तारुढ दलभित्रैका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

एमालेबाट यसअघि पराजित भएका कृष्णभक्त पोखरेलले उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् । एमालेका अन्य सम्भावित उम्मेदवारमा रामप्रसाद न्यौपाने अगाडि छन् । त्यस्तै गोपी श्रेष्ठ र डा. तिलचन्द्र भट्टराई चर्चामा रहेका नाम हुन् । लगातार दुईपटक राष्ट्रपति भएकी विद्या भण्डारीसमेत उपचुनावमा लड्न आउने चर्चा चितवनमा छ । तर पार्टी राजनीतिमा फर्किने तयारी भए पनि तत्काल नै चुनाव लड्ने तयारीमा भने उनी छैनन्। 

यसअघि यहीँबाट पराजित श्रेष्ठ नै फेरि पनि उम्मेदवार बन्ने दाउमा छन्। श्रेष्ठ उम्मेदवारका रूपमा दोहोरिए पहिलेजति भोट आउने तर कांग्रेसले अरूलाई नै टिकट दिए त्यति पनि भोट नआउने जिल्लाका एक नेता बताउँछन् । 

‘अघिल्लोपटक भोट नभएका ठाउँमा पनि खर्च गर्दा श्रेष्ठले १७-१८ करोड रुपैयाँ खर्च गरेको बुझिएको छ । तर उहाँले पैसामात्रै छर्नुभयो, भोट जम्मा गर्न सक्नुभएन’, ती नेता भन्छन्, ‘यसपटक जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, पार्वती शाह, देवेन्द्र गुरुङ, देवकी गौतम र कमल आचार्यसहितले इच्छा देखाउनुभएको छ । तर स्थानीय उम्मेदवारले सहजै प्रतिस्पर्धा गर्न गाह्रो देखिएको छ ।’

चितवनमा लामिछानेसँग कि श्रेष्ठ नत्र बाहिरका नेतालाई ल्याउनुपर्ने उनी सुझाव दिन्छन्। 

कांग्रेस स्रोतका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने जीतनारायणलाई उम्मेदवार बनाउनुपर्ने गरी लबिङ गरिरहेका छन् । चितवनबाट चुनावमा उठ्न डा. मीनेन्द्र रिजाल, डा. डिला संग्रौलासहित नेताको माग भएको पनि बुझिएको छ । यद्यपि क्षेत्र हुँदै जिल्लाले सिफारिस गरेपछि कांग्रेसले उम्मेदवार चयनको तयारी गरेको छ ।

बारा २ मा 'टुरिस्ट' उम्मेदवार 'यादव

यसपटक बारा २ मा उपनिर्वाचन हुने धेरैले अपेक्षा गरेका थिएनन्। तर जसपा अध्यक्ष उपेन्द्र यादवले यो क्षेत्रबाट जितेका रामसहायलाई उपराष्ट्रपति बनाएर यो ठाउँ खाली गराए। फलतः उनी यहाँबाट जितेर संसदमा जाने दाउमा छन्। सत्तारुढ दलको पनि साथ पाइने भएपछि ४ मंसिरमा सप्तरीबाट हारेका यादव पनि जसरी पनि जित्ने धुनमा छन् ।

सप्तरी २ मा उनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग नमज्जाले पराजित भएका थिए। 

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले भने मात्र १६ हजार ९७९ मत ल्याएका थिए। उनी १८ हजार ६३ मतान्तरले पराजित भएका थिए। 

यादवको उम्मेदवारीपछि कांग्रेस, माओवादी, नेकपा एसले कम्तीमा पनि उम्मेदवारी दिने छैनन् । तर लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले यसअघि नै कार्यगत एकता गरिसकेका छन् । यसैले यी दलले संयुक्त रूपमा उम्मेदवार अगाडि सार्न सक्ने देखिएको छ । तर उम्मेदवार तय गरिसकेका छैनन् । 

बारा २ मा भने जसपाका रामसहायले साँघुरो जित दर्ता गरेका थिए । रायले १३ हजार ८२२ मत प्राप्त गर्दा माओवादी उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए।

रामसहाय ३ सय ५४ मतको साँघुरो जित निकाल्न सफल भएका थिए। यो क्षेत्रमा नेकपा एमालेले जसपा र कांग्रेस, नेकपा एसले माओवादीका उम्मेदवारलाई समर्थन गरेका थिए ।

यहाँ स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत प्राप्त गरेका थिए । त्यस्तै ​अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए ।

यसैले यो क्षेत्रमा स्वतन्त्रकै मत निर्णायक हुने देखिएको छ।

यादवले वैशाख १० मा लोसपा, जनमत र नागरिक उन्मुक्ति मात्रै होइन, एमालेसँग पनि कडै प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । अघिल्लोपटक स्वतन्त्रबाट उठेकालाई पनि लोसपाबाट धेरै भोट गएको बताइन्छ । यसैले क्षेत्र फेरेर आएका यादवलाई सत्ता गठबन्धनले समर्थन गरे पनि सहजै चुनाव जित्न गाह्रो हुने मंसिर ४ को मतपरिणामले देखाएको छ।

यहाँ जनमतका उम्मेदवार राजेश साहले २ हजार ७ सय २५ मत पाएका थिए। 

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ बाट को आउलान् सांसद ?

४ मंसिरमा भएको निर्वाचनमा तनहुँ १ बाट कांग्रेस नेता पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत प्राप्त गरी ५ हजार ३ सय ८० मतान्तरले पराजित भएका थिए ।

यहाँ स्वतन्त्रबाट कांग्रेसकै पूर्वनेता गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।

तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई, ध्रुव वाग्ले मुख्य दाबेदार देखिएका छन् । यी दुवै कांग्रेस केन्द्रीय सदस्य हुन् ।

भट्टराई नेविसंघका पूर्वनेता हुन् भने वाग्ले तनहुँ कांग्रेसका पूर्वसभापति हुन् । यसअघि कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भइसकेका रामचन्द्र पोखरेल पनि अर्का दाबेदार छन् । यसमध्ये सबैभन्दा बलिया उम्मेदवार भट्टराई रहेको कांग्रेस स्रोत बताउँछ ।

राष्ट्रपतिका आकांक्षी नेता कृष्णप्रसाद सिटौलाले चाहे उनलाई चितवन १ बाट उम्मेदवार बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा नै इच्छुक रहेको बताइन्छ । तर सिटौला आफैं आफू तनहुँबाट उम्मेदवार बन्ने सोचमा छैनन्। ​

यहाँ रास्वपाबाट रमेश प्रसाईं उम्मेदवार बन्ने चर्चा छ । एमालेबाट पौडेलसँग पराजित एकबहादुरकै एक आफन्तलाई टिकट दिने तयारी भएको बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्