२९ असार २०८३, सोमबार
घरभाडामा सांसदको लोभ

१५२ सांसदले बुझे घरभाडा, काठमाडौंमै घर हुनेले पनि छाडेनन् ! [सूचीसहित]

१५२ सांसदले बुझे घरभाडा, काठमाडौंमै घर हुनेले पनि छाडेनन् ! [सूचीसहित]

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ मध्ये १५२ सांसदले मासिक घरभाडा बुझ्न थालेका छन् । काठमाडौंमा घर भएका कतिपय सांसदले समेत घर नभएको भनेर पनि भाडा बुझेका छन् । 

राजधानी काठमाडौं उपत्यकामा घर नभएका सांसदले कानूनअनुसार नै मासिक घरभाडा पाउँछन् । संघीय संसद्का पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ मा ‘काठमाडौंमा घर नभएका प्रत्येक सदस्यलाई अनुसूची (१) बमोजिमको रकम आवास सुविधाबापत दिइने’ व्यवस्था छ । 

सोही नियमको उपदफा २ मा काठमाडौंमा घर हुने सांसदले आवास मर्मत सम्भारबापत भाडाको आधा रकम पाउने व्यवस्था छ । पुस २५ गते सांसद पदको शपथ गरेको दिनदेखि नै सांसदहरूले मासिक घरभाडा पाउन थालेका छन् ।

संघीय संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको विवरणमा १५२ जनाले काठमाडौं उपत्यकामा घर नभएको जनाएको उल्लेख छ । १ सय १२ जनाले काठमाडौं उपत्यकामा आफ्नो घर भएको विवरण सचिवालयलाई दिएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केही सांसदले भने घर भए/नभएको खुलाएका छैनन् । हाल सरकारी निवासमा बस्दै आएका प्रचण्ड बालुवाटार सर्नुअघि खुमलटारस्थित एक विवादास्पद व्यापारीले दिएको घरमा बस्दै आएका थिए । 

लोकान्तरले मासिक घरभाडा बुझ्ने सांसदको विवरण माग गरेकोमा सचिवालयले भने काठमाडौंमा घर भएका र नभएका सांसदको विवरण उपलब्ध गराएको छ । ‘काठमाडौंमा घर नभएका सांसदलाई नियमानुसार घरभाडा दिइएको हो,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

अघिल्लो कार्यकालमा काठमाडौंमा घर हुने राजनीतिक दलका प्रभावशाली सांसदले समेत घरभाडा लिएको खबर सार्वजनिक आएपछि त्यसको चर्को आलोचना भएको थियो ।

काठमाडौंमा घर भएर पनि भाडा लिएका सांसदले संसद् सचिवालयका कर्मचारीलाई आफूहरूको विवरण चुहाएकोमा आपत्ति जनाएका थिए । 

पटक–पटकको ताकेतापछि सचिवालयले घरभाडा बुझ्ने सांसदको विवरण दिएको हो । सरकारमा सहभागी मन्त्रीहरूले भने सचिवालयबाट घरभाडा पाउँदैनन् । प्रतिनिधिसभाको सभामुखका लागि सरकारले सरकारी आवासको व्यवस्था गरेको छ । उपसभामुख इन्दिरा रानाले भने राज्यकोषबाट घरभाडा बुझेकी छिन् । आफूले लिएको फ्ल्याटभन्दा सरकारले दिएको भाडा कम भएको भन्दै उपसभामुख रानाले असन्तुष्टि जनाएकी थिइन् । 

फागुन १९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले आफूले ४४ हजार तिरेर फ्ल्याट भाडामा लिए पनि सरकारले मात्र ३३ हजार उपलब्ध गराएको गुनासो गरेकी थिइन् । 

दलका प्रभावशाली नेता जसको काठमाडौंमा घर छैन !

संसद् सचिवालयले उपलब्ध गराएको विवरणअनुसार राजनीतिक दलका कतिपय शीर्ष र प्रभावशाली नेताहरूको काठमाडौंमा घर छैन ।

नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले काठमाडौंमा घर छैन भनेर भत्ता लिने गरेको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा देखिन्छ ।

महामन्त्री विश्वप्रकाश शर्माको पनि काठमाडौंमा घर नभएको सचिवालयले दिएको आधिकारिक सूचनामा उल्लेख छ । कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले पनि घर नभएको विवरण पेश गरेका छन् । मुस्ताङबाट निर्वाचित योगेश पूर्वमन्त्री एवं पूर्व सांसद रोमी गौचन थकालीका छोरा हुन् ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पनि काठमाडौंमा घर छैन भन्ने विवरण सचिवालयलाई दिएका छन् । एमाले सचिव छविलाल विश्वकर्मा, प्रदेश १ को मुख्यमन्त्री रहिसकेका नेता भीम आचार्य र पूर्वमन्त्री वसन्त नेम्वाङले पनि काठमाडौंमा घर नभएको विवरण दिएका छन् । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन तथा सचिव देवेन्द्र पौडेलको पनि काठमाडौंमा घर नभएको सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सांसद सर्वेन्द्रनाथ शुक्लाले पनि घर नभएको विवरण दिएका छन् । स्रोतका अनुसार महन्थ आफ्नी छोरीको घरमा बस्ने गरेका छन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि घर नभएको विवरण दिएका छन् । झण्डै २ दशक घट्टेकुलोको घरमा भाडामा बसेका केसी कोरोना महामारी शुरू भएपछि डेरा छाडेर भैरहवा गएका थिए ।

२०७९ मा सांसद जितेर आएपछि केसीले काठमाडौंमा कोठा पाउन मुस्किल परेको लोकान्तरमा एक अन्तवार्ता दिएर बताएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पनि काठमाडौंमा घर नभएको विवरण दिएका छन् । 

जसको काठमाडौंमा घर छ

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र महामन्त्री गगन थापाको काठमाडौंमा घर रहेको सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा घर भएका देउवा अहिले भने भाडाको घरमा छन् । भाडाको घरमा बसे पनि उनले भाडा लिएका छैनन् । 

भाडामा बस्नुको रहस्य भने अर्कै छ, पढ्नुहोस् यो पनि : 

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको घर रहेको सचिवालयले दिएको विवरणमा उल्लेख छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा ओलीको घर छ । प्रमुख प्रतिपक्षी दलको नेतालाई २५ हजार ६ सय ८ रुपैयाँ घरभाडा दिने ऐनमा व्यवस्था छ । 

संसद्को अग्रपंक्तिमा बस्ने एमालेका उपाध्यक्ष विष्णु पौडेल, अर्का उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङको पनि घर रहेको सचिवालयले दिएको विवरणमा देखिन्छ । एमाले सचिव गोकर्ण विष्ट, योगेश भट्टराई र रघुवीर महासेठको पनि काठमाडौंमा घर छ । 

माओवादी केन्द्रका ३२ सांसदमध्ये ५ जना (दुर्गा राई, पूर्ण घर्ती, माधव सापकोटा, रणेन्द्र बराली र रेखा शर्मा)बाहेक अरूले घरभाडा लिएका छन् । यी ५ सांसदले काठमाडौंमा घर रहेको विवरण दिएको सचिवालयले दिएको सूचनामा उल्लेख छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर रहेको विवरणमा उल्लेख छ । माधव नेपालको घर कोटेश्वरमा छ ।

नेकपा एकीकृत समाजवादीका १० सांसदमध्ये मेटमणि चौधरी र अम्बरबहादुर थापाबाहेक अधिकांशको काठमाडौंमा घर रहेको सचिवालयले दिएको विवरणमा उल्लेख छ । 

काठमाडौंकै सांसद जसको घर छैन !

काठमाडौं जिल्लाबाटै प्रतिनिधित्व गर्ने भए पनि केही समानुपातिक सांसदले घर नभएको विवरण दिएका छन् ।

संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार नेपाली कांग्रेसकी प्रतिमा गौतम र रास्वपाकी सुमना श्रेष्ठले काठमाडौंमा घर नरहेको भनेर घरभाडा लिने गरेको देखिन्छ ।

काठमाडौं जिल्लाकै सांसद भएर पनि घर छैन भन्ने विवरण पेश गरेको सन्दर्भमा लोकान्तरले गौतम र श्रेष्ठको प्रतिक्रिया लिन प्रयास गरेको थियो ।

रास्वपाकी सुमना श्रेष्ठले आफू काठमाडौंकै रैथाने नेवार भए पनि यहाँ आफ्नो घर नरहेको बताइन् ।

'म काठमाडौंकै रैथाने नेवार हो, तर मेरो घर छैन । लामो समयदेखि रेन्टमा बसिरहेको छु,' श्रेष्ठले लोकान्तरसँग भनिन् ।

यस्तै लोकान्तरको सम्पर्कमा आएकी अर्की सांसद गौतमले ‘आफ्नो नाममा घर नरहेको’ भन्ने प्रतिक्रिया दिइन् । कसको नाममा छ भन्नेचाहिँ उनले खुलाइनन् ।

‘मेरो नाममा घर छैन । भाडामा बस्ने/नबस्ने भन्दा पनि कानूनअनुसार पाउने सुविधा लिइरहेको छु,’ गौतमले लोकान्तरसँग भनिन् ।

काठमाडौंमा घर छैन भनेर सचिवालयमा विवरण पेश गरेका कतिपय सांसदको काठमाडौंमा घर रहेको जानकारहरू बताउँछन् ।

आमाबुवा, पति/पत्नी या परिवारका अन्य सदस्यको नाममा घर भएका सांसदले मासिक भाडा पाउने लोभमा झुटो विवरण टिपाएको हुन सक्ने कांग्रेसका एक सांसदले आशंका व्यक्त गरे । 

‘ज-जसले काठमाडौंमा घर छैन भन्नुभएको छ, त्यो पत्याउने अवस्था छैन,’ कांग्रेसकै एक सांसदले लोकान्तरसँग भने । काठमाडौंमा घर भएर पनि छैन भनेर भाडा लिनु गैरकानूनी हुने ती सांसदले बताए ।

हेर्नुहोस्, सांसदहरूको घर भए/नभएको विवरण :

nullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्