×

NMB BANK
NIC ASIA

सुन तस्करीमा तीन तहको जालो, आवतजावत विन्दु बन्दै जनकपुर

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, १९ भदौ– सोमबार विहानै प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । चीनसँग जोडिएको रसुवाको केरुङ नाका हुँदै काठमाडौं पुर्याइएको उक्त सुन काठमाडौंबाट भारत लैजाने तयारी भइरहँदा प्रहरीले पक्राउ गरेको हो ।

नेपालको इतिहासमै पहिलोपटक सबैभन्दा बढी (८८ किलो) सुन बरामद भएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सुनसहित नेपाली नागरिक तथा सुन तस्करीमा प्रयोग भएको गाडीका चालक मनोज अधिकारीलाई पक्राउ गरेको छ ।

सुन तस्करीमा संलग्न रहेका एक चिनियाँ नागरिकलाई पनि सुनसहित पक्राउ गरिएको प्रहरीको विशेष स्रोतले जनाएको छ । यद्यपि औपचारिक रुपमा प्रहरीले चिनियाँ नागरिक पक्राउ परेको स्वीकार गरेको छैन ।

चीनबाट नेपाल हुँदै भारतमा सुनको तस्करी हुन्छ । भारतमा २४ क्यारेटको ब्रान्डेड सुन नपाइने हुनाले २४ क्यारेट सुनको तस्करी बढेको सुरक्षा अधिकारीहरु बताउँछन् । नेपाल र भारतबीचको खुला सीमाको फाइदा उठाउँदै तस्करहरुले चीनबाट सुन आयात गरी नेपाल हुँदै भारतीय बजारमा बिक्री गर्छन् । जसका लागि पूर्वी तराईको ऐतिहासिक शहर जनकुपर मुख्य ट्रान्जिट प्वाइन्ट बनेको छ ।

घटना १
१५ भदौ २०७४ मा सुन तस्करीमा आबद्ध रहेका भरियाहरुलाई अबैध सुनसहित तस्करी गरिरहेकै अवस्थामा धनुषा प्रहरीले रंगेहात पक्राउ गर्यो । काठमाडौंबाट सुन ल्याएर जनकपुरमा ‘डेलिभरी’ गर्न लागेकै बेला दिने र लिने ४ जना एजेन्टहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । काभ्रेको पाँचखाल नगरपालिका १ का विष्णु गौतम, भक्तपुरको सुर्यविनायक नगरपालिका ७ का ३४ बर्षिय राजेन्द्र खत्री र रविन खत्री, जनकपुर उपमहानगरपालिका ७ का ३८ बर्षिय दिपक साहलाई अबैध एक किलोग्राम सुनको लेनदेन गरिरहेको अवस्थामै प्रहरीले अप्रेशन गरी पक्राउ गर्न सफल भएको हो ।

केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा धनुषाका क्राइम ब्रान्चको टोलीले जनकपुरको रामानन्द चोकमा लेनदेन गरिरहेकै बेला पक्राउ परेको हो । पक्राउ परेका ४ जनामध्ये राजेन्द्र, रविन र विष्णुलाई काठमाण्डौबाट जनकपुरसम्म सुन पुर्याईदिन भनेर सुन तस्करले भरियाको रुपमा खटाएको तथा जनकपुरमा दिपकले सुन रिसिभ गरेर भारतको बजारसम्म पुर्याउने काममा खटिएको कुरा प्रारम्भिक अनुसन्धानबाट देखिएको धनुषा प्रहरीको क्राइम ब्रान्चका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीले बताएका छन् ।

एक किलो सुनको पातालाई ४ टुक्रामा टुक्रा पारी दुईटा टुक्रालाई जोडेर एउटा बनाई बाहिरबाट कागजले बेरेर कालो टेप लगाई ब्याट्री जस्तो देखिने गरी बनाई डेलिभरी गरिरहेको अवस्थामा चारैजनालाई पक्राउ गरिएको थियो ।

जनकपुरमा उक्त सुन रिसिभ गर्न आएका दिपकले दिएको जानकारी अनुसार उक्त सुन भारतको सिमावर्ती बजारमा गएर ४६ लाख रुपैयाँ प्रति किलोको दरले विक्री गर्नुपर्ने कामका लागि खटाइएको थियो ।

काठमाण्डौबाट आएका ३ जना र जनकपुरका दिपक सहित चारै जनालाई सुन डेलिभरी गरिदिने कामका लागि १५ देखि २० हजार रुपैयाँ सम्म दिने भनेर डिल गरिएको थियो । ती भरियाहरुले यस अघि पनि जनकपुर भएर भारतीय बजारमा गएर सुनको डेलिभरी पटक पटक गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एक किलो सुन भारतमा बेच्दा सबै खर्च काटेर नेपाली ३ लाख देखि साढे ३ लाख रुपैयाँ सम्म तस्करहरुलाई फाईदा हुने गरेको छ । पक्राउ परेका चारै जनालाई अनुसन्धान गरी संगठित अपराध अन्तर्गत मुद्दा चलाउने धनुषा प्रहरीले तयारी गरेको छ । यसअघिसम्म अबैध सुन तस्करीको घटनामा धनुषा प्रहरीले प्रारम्भिक अनुसन्धान मात्र गरी राजश्व अनुसन्धान विभाग पथलैया पठाउने गर्थ्यो ।

घटना २
२९ असोज २०७१ का दिन करिब ५ः१५ बजे सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट नगराइनको टोलीले चेक जाँचको क्रममा धनुषाको लगमा गाढागुठी–९ का हरिशचन्द्र साहको २७ वर्षिय छोरा राजकुमार साहलाई २० किलो चाँदी सहित पक्राउ गर्यो ।

सहायक प्रहरी निरीक्षक छविलाल रावतको कमाण्डमा गएको १३ जनाको प्रहरी टोलीले जनकपुर–जटही सडक खण्ड अन्तरगत नगराइन ३ भन्ने स्थानमा चेक प्वाइन्ट राखि व्यक्ति तथा सवारी साधन चेक जाँच गर्ने क्रममा कालो झोलामा २० किलो चाँदी राखि ना.३.प ७३० नम्बरको होण्डा प्यासन मोटरसाइकलमा सवार भई भारतको सिमा पार गर्न गईरहेको साहलाई सशस्त्र प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको थियो ।

प्रदिप भन्ने व्यक्तिले आफुलाई उक्त सामान लिएर बोर्डर कट्न तथा बोर्डरमा एक जना व्यक्तिले सम्पर्क गर्ने र उनलाई बुझाइदिने भनि भरियाको रुपमा उनी काम गरेको तत्कालिन सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरले पत्रकार सम्मेलनमा बताएका थिए ।

घटना ३
१६ साउन २०७१ मा धनुषाको पोर्ताहाबाट १० किलोग्राम सुनसहित एक व्यक्तिलाई पक्राउ गर्याे । बझाङ जिल्ला मुलबिसौनी १ स्थायी घर भई काठमाण्डौ महानगरपालिका वडा नं. ४ चावहिलमा डेरा गरी बस्ने २१ वर्षिय खम्बिर रौल्या पक्राउ परेका थिए ।

धनुषा प्रहरीको विशेष टोलीले गोप्य सुराकीको आधारमा धनुषा लवटोली गाविस वडा नं. ५ स्थित पुर्व पश्चिम राजमार्ग अन्तरगत पोरताहा खण्डमा काठमाण्डौबाट धरान तर्फ जाँदै गरेको ना.४ख. ६०९८ नम्बरको न्यू कोसी सुपर यातायात धरानको बसमा सबार भई गैईरहेको रौल्यालाई खान तलासी गर्दा निजको साथबाट सुन १० पिस अन्दाजी १० किलो बरामद भएको थियो ।

पक्राउ परेका रौल्यालाई अनुमानित रु. ४ करोड ८० लाखको अन्दाजी १० किलो सुन, बरामद गरिएको रु. १० हजार र १ थान मोवाईल सहित जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको थियो । काठमाण्डौको किंग्स कलेजमा विविएमा अध्ययनरत रहेको रौल्या भरिया मात्र रहेको पत्रकार सम्मेलनमा तत्कालिन प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका थिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका उनी भरीया मात्र रहेको र इटहरीमा सुन बुझाउने उनको तयारी थियो । पक्राउ पर्नु अघि उनी दुई पटक सुन अर्को भरियालाई बुझाइसकेका थिए । प्रहरीका अनुसार उनी १ किलोग्राम सुन निश्चित ठाउँमा पु¥याइदिए बापत रु. ५ हजार पाउने गरेका थिए ।

उनी बसमा सबार भएको बेला केही सुनको टुक्रा जुत्तामा, केही खुट्टामा बाँधेका थिए भने केही ब्लयाकलेभेलको खोलमा राखेका थिए । उनलाई पक्राउ गर्न धनुषा प्रहरीले महोत्तरीको वर्दिवास, धनुषाको लालगढ र ढल्केवर लगायत राजमार्गका विभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरेका थिए ।

घटना ४
जनकपुरबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ७४ किलो चाँदी सहित चारजनालाई ९ साउन २०७१ मा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा जनकपुर–१६ बस्ने २८ वर्षीय उमेश यादव, धनुषाको रमदैया भवाडी गाविस –१ बस्ने ३६ वर्षीय दिलिप कुमार साह, भारत बिहार राज्यको दरभंगा बस्ने ३६ वर्र्षीय रोशन कुमार साह र सोहि स्थानका ३२ वर्षीय प्रकाश गुप्ता रहेको थियो । चाँदीको सानो पोका जिउमा लुकाई छिपाई लग्दै गरेको अवस्थामा उमेश र दिलिपको साथबाट ४५ केजी तथा रोशन र प्रकाशको साथबाट २९ केजी चाँदी बरामद भएको भएको थियो ।

अवैध रुपमा भारत तर्फ सुन लग्दै गरेको अवस्थामा दुई नेपाली नागरीकलाई सीमावर्ती क्षेत्र लगमा –९ र दुई भारतीय नागरीकलाई नगराईन–३ बाट सशस्त्र प्रहरीको जटही बोर्डर आउट पोस्ट ईन्चार्ज होमराज न्यौपानेले पक्राउ गरेका थिए । साइकलमा जाँदै गरेको तिनीहरुलाई शंका लागि चेकजाँच गर्दा चाँदी बरामद भएको थियो ।

जनकपुरको राज ज्वेलर्सका संचालक राजकुमार साहले भारत र्पुयाउनका लागि आफुहरुलाई चांदी जिम्मा दिएको पक्राउ परेका उमेश यादवले पत्रकार सम्मेलनमा संचारकर्मीलाई बताएका थिए । ओसारपोसारका लागि प्रतिव्यक्ति पांच हजार देखी १० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरेको यादवले जानकारी गराए । यसभन्दा पहिला पनि उनीहरुले दुईपटक सुनचाँदी तस्करी गरिसकेको बताएका थिए ।
पक्राउ परेका तस्करहरुले ज्याकेट जस्तो लुगा लगाई त्यसभित्र चांदीको पोकाहरु लुकाएर सिमा पार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

घटना ५
१ जेष्ठ २०७१ मा जनकपुरको रामानन्द चौकबाट भारतको महाराष्ट्रका एक जना भारतीय सुन तस्कर सचिन कदमलाई १ किलोग्राम सुन सहित धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

घटना ६
२६ चैत्र २०७० मा सुन तस्कर बलराम गुप्तालाई सुनचाँदी र नगदसहित प्रहरीले पक्राउ गरेको थियो । महानगरीय अनुसन्धान महाशाखा काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले जनकपुर–२ शिवचोकस्थित बलराम प्रसाद एण्ड ब्रदर्सबाट गुप्तासहित भारी परिमाणमा सुनचाँदी र नगद बरामद गरेको थियो ।

विशेष सुराकीको आधारमा खटि गएको संयुक्त टोलीले गुप्ताको पसलमा छापामारी गरेर उक्त पसलबाट ६ किलो सुन, ३ सय ९० किलो चाँदी, ३० लाख दरका इन्भेष्टमेण्ट बैंकका दुई थान चेक र ७३ लाख ३० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी बरामद गरेको सुनचाँदी र नगद सार्वजनिक गरेका थिए । राजश्व छली अवैध तरिकाले करोडौंको कारोबार गर्दै आएका तस्कर गुप्तामाथि राजश्व ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि वढाइएको धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीले पत्रकार सम्मेलनमा बताएका थिए ।

चीनबाट ल्याएको सुन नेपाल हुँदै भारत तस्करी गर्ने र त्यसैगरी भारतबाट ल्याएको सुन नेपालको बाटो हुँदै चीनसम्म तस्करी गर्ने गुप्ताको धन्दा रहेको तत्कालिन प्रहरी उपरीक्षक सुवेदीले बताएका थिए ।
बरामद गरिएको सुन चीनको तिब्बत नाकाबाट राजधानी हुँदै जनकपुर ल्याएको, बरामद गरिएको सुन भारत तस्करी गर्ने तयारी गरिरहेकै अवस्थामा पक्राउ गरिएको थियो । बरामद गरिएको ६ किलो सुनको मुल्य दुई करोड ७५ लाख र तीन सय ९० किलो चाँदीको मुल्य दुई करोड ५० लाख रुपैयाँ रहेको अनुमान गरिएको थियो ।

भरीया पक्राउ परे पनि तस्करका नाइके पक्राउ पर्दैनन्

राजश्व छलेर अबैध रुपमा विना कागज सुन चाँदीको तस्करी गर्ने घटनाहरुमा प्रायःजसो भरियाहरु पक्राउ परेपनि तस्करका नाईकेहरु पक्राउ पर्दैनन् । नेपाल र भारत दुवै तर्फका तस्करहरुलाई पक्राउ गर्ने र संजाललाई नै ध्वस्त पार्ने काम धनुषा प्रहरीले गर्न सकेको छैन ।

नेपालबाट भारतमा सुन तस्करीका लागि धनुषा जिल्लाको सिमावर्ती नाकाहरु मुख्य नाकाको रुपमा तस्करीहरुले प्रयोग गर्दै आएका छन् । सुराकीको आधारमा प्रहरीले अवैध सुन चाँदी तस्करी गर्ने भरियालाई पक्राउ गर्न सफल भएपनि तस्करका सञ्जाल तथा मुख्य तस्करीहरुलाई प्रहरीले कानुनको दायरामा ल्याएर कानुनको कठघरामा उभ्याउन सकेको छैन ।

प्रारम्भीक अनुसन्धानबाट यति कुरा मात्र खुल्न सकेको र थप अनुसन्धानको लागि पथलैया पठाइएको भनेर प्रहरीले पनि आफ्नो काम सकिएको भनेर देखाउने प्रवृति पनि वढेको छ । भरियाले कहाँबाट सुन–चाँदी ल्याएको हो र कसलाई सुन–चाँदी बुझाउन खोजेको हो भन्ने कुरा पक्कै पनि प्रहरीले अनुसन्धानको क्रममा खुलाएको हुनुपर्दछ ।

तर, त्यसपछि फलोअप गर्ने र तस्करका सञ्जाललाई पक्राउ गर्ने र गिरोह नै समाप्त पार्ने कार्य प्रति नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कसैको ध्यान गएको देखिँदैन । माथिका तस्करहरु तस्करी गर्दै पक्राउ परेका हुन् । तर, पक्राउ नपरेकाहरुले पक्कै पनि नियमित रुपमा निरन्तर तस्करी गरिरहेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ । किनभने तस्करहरुले विभिन्न स्वरुपमा र विभिन्न हतकन्डा अपनाएर तस्करी गरिरहेको पक्राउ गरिएकाहरुको बयानबाटै पनि पुष्टि हुन्छ ।

धनुषामा सुन चाँदीको राम्रो व्यापार हुने गरेको छ । खास गरी मिथिलामा विहेवारी हुँदा सुन चाँदीको गर गहना अनिवार्य रुपमा किनमेल हुने गरेको छ । त्यसैगरी तिहारमा धनतेरसका दिन सुन चाँदी किन्नेहरुको पनि ठुलै भिड हुन्छ । प्रायः जसो हरेकको घरमा केही न केही सुन चाँदीका गर गहनाहरु अनिवार्य रुपले राखिएको हुन्छ ।

खास गरेर महिलाहरुले विवाह गर्दा जसरी आफ्नो सिउँदोमा सिन्दुर लगाएका हुन्छन् त्यसैगरी घाँटीमा सुनको मंगलसुत्र पनि लगाएकै हुन्छन् । अहिले झन धनुषाका यूवाहरु वैदेशिक रोजगारीका क्रममा विदेश गएर स्वदेश फर्किदा सुनको विस्कुट सरहको पाता लिएर फर्किने गरेका हुन्छन् । धनुषामा करिब १ सय ५० वटा सुन चाँदीको व्यवसायी रहेकोमा १ सय १० जना व्यवसायी जनकपुर सहरमा मात्र छन् ।

महेन्द्र नगर, सबैला, यदुकोहा र ढल्केवर लगायतको बजारमा समेत करिब ४० जना सुन चाँदी व्यवसायी रहेको सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ता बताउँछन् । गुप्ताका अनुसार एक दिनमा औषत करिब १ देखि १.२५ किलोग्राम सुन र १५ देखि २० किलोग्राम चाँदीको विक्री हुने गरेको छ । करिब ४ देखि ५ जना थोक व्यापारी छन् जसले कमर्सियल बैंकबाट सुन चाँदी किन्ने गर्छन् ।

खुद्रा व्यापारीहरुले ती थोक व्यापारीबाट आवश्यक परेको सुन चाँदी किन्ने गर्छन् भने पुराना सुन चाँदी बेच्न आउने उपभोक्ताहरुबाट समेत सुन चाँदी किनेर रिफाइन गराई खुद्रा व्यापारीले सुन चाँदी विक्री गर्ने गरेको गुप्ताले बताए ।

तस्करका तीन लेयर

जब बजारमा वस्तुको माग बढी हुन्छ, त्यसपछि त्यसमा कालोबजारी सुरु हुन्छ । अहिले भएको पनि त्यही हो । भारतीय बजारमा ठूलो परिमाणमा सुनको अभाव भएपछि चिनियाँ तस्करहरूले नेपालको बाटो प्रयोग गरेका हुन् ।

भारत र चीनको नाकामा सुरक्षा व्यवस्था कडा भएकाले त्यहाँबाट तस्करीको कुनै सम्भावना छैन, नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था फितलो भएकाले नेपाली बिचौलियाहरूले कम दररेटमा सुन भारत पुर्याउन थालेका हुन् । सबैभन्दा बढी वीरगन्ज नाकालाई तस्करहरूले प्रयोग गरेको पनि सुरक्षा अधिकारीहरूको दाबी छ ।

स्रोतका अनुसार तस्करहरूले खुला सिमानाको फाइदा उठाउँदै जतिबेला पनि डेलिभरी गर्छन् । यसका लागि उनीहरूले भन्सार कर्मचारीदेखि सुरक्षा निकायका अधिकारीहरूलाई समेत सहजै प्रयोग गर्ने गरेको देखिन्छ ।

सुन तस्करीको तीन वटा लेयर देखिएको छ । एउटा लेयर भनेको तिब्बतबाट सुन चाँदी नेपाल भित्र्याउने गिरोह हो । दोस्रो लेयरमा अर्को दोस्रो गिरोहले नेपालमा उक्त सुन चाँदी रिसिभ गर्ने र राजधानी काठमाण्डौंसम्म पु¥याउने ।

तेस्रो लेयर भनेको काठमाण्डौबाट तराईका विभिन्न जिल्लाहरुको नाका भएर भारतको बोर्डरसम्म वा बोर्डरको छेउछाउसम्म पुर्याउने गिरोह । धेरै पूँजी भएका व्यक्तिहरू, जो सुन चाँदीका थोक विक्रेताहरु हुन्छन् । उनीहरु तराईको विभिन्न नाकाहरु जनकपुर, विरगञ्ज, विराटनगर, सुन्सरी, भैरहवा लगायतका नाकाहरुलाई प्रयोग गर्दै भारत कटाउँछन् । ती सुन तस्करहरुले पारिश्रमिक दिएर विभिन्न लटमा विभिन्न भरियाहरुलाई प्रयोग गर्ने गर्छन् । त्यस्ता भरियालाई सुन चाँदी तस्करले व्यक्ति विशेषको आधारमा छनौट गरेको हुन्छ ।

धनुषामा लामो समयसम्म क्राईम ब्रान्च (अपराध शाखा)मा काम गरेका एक जना प्रहरी अधिकृतका अनुसार नेपाली व्यवसायीहरू यसमा लगानी गर्दैनन् । तर भारत लैजान सरकारी निकायमा जहाँ मिलाउनुपर्ने आवश्यकता देखिन्छ, ती सबै ठाउँमा मिलाउन भने नेपाली व्यवसायीहरु खप्पिस हुन्छन् । त्यसकारण पनि तिब्बती तस्करले नेपालीहरूलाई भरिया बनाएर प्रयोग गर्छन् ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य घटेपछि सुन बजारमा आउने भएकाले विगत केही वर्षदेखि ठूला मुलुकका धनाढ्यहरूले सुनको साटो डलर संकलन गरेर राख्ने सामान्य नियमले पनि सुन तस्करहरूलाई सहज भएको बताइन्छ ।

र, त्यसको असर नेपाली मार्गमा परेको बताइन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले सुन भित्र्याउन कठिन भएकाले पनि तस्करहरूले तिब्बतको नाका प्रयोग गरेका हुन् । पहिले दुबई, थाइल्यान्ड र मलेसियाबाट सुन ल्याइन्थ्यो । हङकङबाट पनि धेरै पटक तस्करी भएको थियो । स्रोतका अनुसार उच्च तहको मिलेमतोमा नीतिगत रूपमै सहज बनाई भन्सारमा ‘सेटिङ’ मिलाएर सुन तस्करी हुँदै आएको छ ।

तस्करी बढ्यो: भन्सार प्रमुख शर्मा

धनुषामा भारतको विभिन्न सिमावर्ती नाकाहरु मार्फत खाद्यान्न सामग्री, कपडा लत्ता, कस्मेटिकका सामानहरु, सुर्ती जन्य पदार्थहरु लगायतको तस्करी बढेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुको मिलेमतोमै भारतबाट अबैध सामानहरुको नेपालमा तस्करी भइरहेको छ ।

नेपाल–भारतको सीमा नाकामा सुरक्षाकर्मीहरु र भन्सारका कर्मचारीहरु खटिए पनि दैनिक लाखौं रुपैयाँको मालसामानहरु विभिन्न नाकाहरु भएर तस्करी हुने गरेको छ । साईकल, मोटरसाईकल, टायरगाडा, ट्याक्टर, पिकअप भ्यान लगायतका सवारी साधनहरुमा विना राजश्वका मालसामानहरु धनुषामा भित्र्याइन्छ ।

धनुषाका तस्करहरुले व्यक्तिगत रुपमा र संगठित रुपमा पनि तस्करी गरिरहेका छन् । कारवाही गर्ने निकायलाई नै मिलाए पछि पक्रिने कुरा नआउने एक तस्करले बताए । सीमामा खटिने र जनकपुरसम्म पुग्ने बाटोमा रहेका चौकीका नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भन्सारका कर्मचारीहरुलाई महिनावारी रकम दिएर भारतबाट सामानहरु तस्करी भइरहेको तस्करी संलग्न नै बताउँछन् ।

‘कहिले काहीँ सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरुले मालसामान पक्रेर माथि तस्करी भइरहेको छैन । तस्करी भएपनि सामान जफत गरिएको छ भनेर देखाउनका लागि मालसामानहरु पक्रिने गरिएको छ,’ उनले भने, ‘महिनावारीको रकम बढाउनुपर्यो वा हाकिमहरु परिवर्तन भएर नयाँ आएको अवस्थामा कडाई गरेर सुरुमा मालसामानहरु पक्राउ गरिन्छ । फेरी पछि दाम वढाएर लाइन मिलेपछि तस्करीको धन्दा चलिरहन्छ ।’

१७ भदौ २०७४ का दिन विहान २ बजेको समयमा जनकपुर भन्सारका कर्मचारीहरुले अबैध मालसामान सहित ज १ च १२७५ नम्बरको पिकअप भानलाई चालक सहित नियन्त्रणमा लियो । सिरहा ११ पदमपुरका सवारी धनी समेत रहेका चालक प्रकाश साहलाई भन्सारका कर्मचारीहरुले धनुषाको विरेन्द्र बजारमा पक्राउ गर्यो ।

लत्ता कपडासहित जनकपुरतर्फ आईरहेको उक्त गाडीलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका चालक साहका अनुसार सिरहाका रामनारायण महासेठले मालसामान लगिदिन भन्दै सिरहा माडरकै २ जना व्यक्तिहरु रविन्द्र यादव र श्याम भन्ने मानिसलाई साथ लगाएको थियो ।

तर, भन्सारको कर्मचारीले पक्राउ गर्ने बेलामा ती दुई जना फरार भएको साहले बताए । जनकपुर भन्सार कार्यालय धनुषाका भन्सार अधिकृत हेम चन्द्र शर्माका अनुसार तिनीहरुलाई आवश्यक कारवाहीको प्रक्रिया अगाडी वढाइएको छ ।

‘धनुषामा तस्करी हुँदै नभएको होईन, तस्करी खुलेयाम दिनदहाडै भईरहेको छ । तर, त्यसलाई नियन्त्रण गर्न भन्सार कार्यालय असफल भएकै हो, ।’ भन्सार अधिकृत शर्मा भन्छन, ‘तर तस्करीमा भन्सारको साँठगाँठ छैन । यदि कसैले मेरो पनि सेटिङ्ग छ भन्ने कुरा पत्ता लगायो भने मलाई कसैले पनि कालो मोसो लगाएर, जुत्ताको माला लगाई ट्याक्टरमा चढाई जनकपुरमा घुमाएर बर्दिवास कटाए हुन्छ ।’

धनुषाको खरिहानी, तुल्सीयाही, महिनाथपुर, भडरिया लगायतको नाकाहरु मार्फत साईकल देखि मोटरसाईकल र पिकअप भान तथा टयाक्टरमा तस्करी भईरहेको छ । भन्सार अधिकृत शर्माका अनुसार जनकपुरका तस्कर सोहन जालान, धनुषाको यदुकुहाका गफारका छोरा कलाम, तारापट्टी सिरसियाका सुरेश साह लगायत करिब २० जना तस्करहरु तस्करीमा सक्रिय छन् ।

शर्मा भन्छन, “तपाई पत्रकारहरु सिमावर्ती बोर्डर एरियामा गएर हेर्नुस, खुलेयाम तस्करी भईरहेको पाउनु हुन्छ । तर, त्यसमा मेरो कुनै पनि लाईन वा सेटिङ्ग छैन,” विगतमा भन्सारका कर्मचारीहरुको मिलेमतोमा तस्करी भईरहेको हुनाले त्यस्ता कार्यमा संलग्न ६ जना कर्मचारीहरुलाई कारवाही गरिएको शर्मा बताउँछन् ।

जनकपुर भन्सार कार्यालय धनुषाले आर्थिक बर्ष २०७३/०७४ देखि आर्थिक बर्ष २०७४/०७५ को भदौ १६ गतेसम्ममा करिब १ करोड रुपैयाँ बराबरको मालसामानहरु पक्राउ गरेको छ । जसमध्ये भन्सार कार्यालयले ५२ लाख रुपैयाँको र सशस्त्र प्रहरी तथा सो अन्तरगतका कार्यालय र नेपाल प्रहरी तथा सो अन्तरगतका कार्यालयले ६१ लाख रुपैयाँ बराबरको मालसामानहरु पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गराएको तथ्याङ्क छ ।

भन्सार अधिकृत शर्मा भन्छन, “प्रहरीहरुले पनि मालसामानहरु पक्राउ गरेकै छन् । भन्सारले पक्राउ गरेको भन्दा वढी नै पक्राउ गरेका छन् भने प्रहरीको पनि तस्करीमा सेटिङ्ग छ भनेर कसरी भन्ने ?” तर, बोर्डर एरियाको नाकामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरु तैनाथ रहेको अवस्थामा पनि कसरी तस्करी भईरहेको छ, त्यसलाई नियन्त्रण किन गरिएको छैन भन्ने सवालमा भन्सार अधिकृत शर्मा नाजवाफ छन् ।

उनी भन्छन, “तस्करी भईरहेको छ भन्ने कुरा मैले आफ्नो विभागबाट खटिने केन्द्रिय अनुगमन टोलीलाई पनि भनेको छु । तस्करी भईरहेको छैन भनेर त मैले भनेको छैन नि । अब तस्करी कसको कारण भईरहेको छ भन्ने कुरा पत्रकारहरुले पनि खोजी गर्नुपर्यो ।”

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x