
बदलिँदो परिवेश र युवा अपेक्षाअनुसार पार्टी नेतृत्व नचलेको भन्दै यतिखेर नेपाली कांग्रेसका युवा नेताहरू देशभर पार्टी रूपान्तरणको कार्यक्रममा सक्रिय छन् ।
गुरु घिमिरे, डा. गोविन्द पोखरेल, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे र भरत खड्कासहितका नेताले यो अभियानलाई अगाडि बढाइरहेका छन् । यी नेताको हुलमा नरेन्द्र केरुङ, भूपेन्द्र थापा, धर्मेन्द्र नेम्वाङ, बिजुला बर्मा, विष्णुदेवी पाण्डे, रिता शाही, विक्रम खनाल, लक्ष्मी पाण्डे, सुवास लोहनी, तेजेन्द्र भटराईसहितका नेता सहभागी छन् ।
मुख्यगरी नेतृत्वको पार्टी सञ्चालन शैलीसँग असहमत हुँदै दबाब बढाउन र रुपान्तरण गर्न यो अभियान अगाडि बढाएको नेताहरूले बताएका छन् । पार्टी रुपान्तरणका लागि बाग्मती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अभियान सकाएको जानकारी अभियानकर्ता भुपेन्द्रजंग शाहीले दिए । अब यो अभियान कोशी प्रदेशमा केन्द्रित हुने शाही बताउँछन् ।
संरचना र शैली नबदल्ने हो भने पार्टी झन् कमजोर हुने र नयाँ दलको चुनौती सामना गर्न नसक्ने भन्दै पार्टी नेतृत्वलाई जानकारी गराएरै अभियान शुरू गरेको यो पक्षले जनाएको छ ।
अभियानकर्ता गुरुराज घिमिरे ६ वटा प्रदेशमा सकाइएको अभियानमा उत्साहपूर्ण सहभागिता देखिएको र थुप्रै समस्या पहिचान भएको बताउँछन् ।
‘हामीले मुख्यगरी ६ प्रदेशको केन्द्रमा ठूला अन्तरक्रिया गर्यौं । यी कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कांग्रेस कार्यकर्ताले पार्टी नेतृत्व र पार्टी सरकारमा हुँदा भइरहेको कमजोरीलाई प्राथमिकताका साथ उठाउनुभएको छ,’ घिमिरे भन्छन्, ‘ठूलो पार्टी भएर सरकारमा सहभागी हुँदा समेत नतिजा नपाएका हामी तपाईंहरूका समस्या के छन् भनेर पुग्दा उत्साहपूर्वक प्रस्तुत भएका छन् ।’
त्यसपछि जिल्ला र स्थानीय तहसम्मै कार्यक्रम लिएर जाने उनीहरूको तयारी छ ।

अर्का अभियानकर्ता भुपेन्द्रजंग शाही सम्भावित चुनौतीलाई लिएर देशभर पुग्दा कार्यकर्ताले भावना पोख्न पाएको टिप्पणी गर्छन् ।
उनका अनुसार पार्टीका नेताको परम्परागत शैली, विवाद, गुटबन्दी देखेर कार्यकर्ता आजित भएका छन् । नयाँ दल चुनौतीको रूपमा उभिएको भनेर मुख्य सुझाव आएको उनको भनाइ छ ।
‘पार्टीको कुनै कार्यक्रम नहुँदा हाम्रै कार्यक्रम पार्टीको अफिसियल कार्यक्रम हो कि जसरी कार्यकर्ताले लिए । कार्यकर्ताले आक्रोश, भावना पोख्न पाएका रहेनछन् । हामीले हजारौंलाई मञ्च दियौं । आक्रोश र पोख्ने र भावना राखेर शान्त हुने मौका कार्यकर्ताले पाएका छन्’ शाही भन्छन्, ‘ठूलो पार्टी भएर पनि सरकारले जनजीविकाका लागि प्रभावकारी काम गर्न नसकेको, पार्टीका संरचनाले प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा मुख्य चिन्ता भएको पाएका छौं ।’
सात प्रदेशका ७ ठूला अन्तरक्रियामा एक ठाउँमा एक सयजना बढी सहभागीको गुनासो सुनेको र त्यसलाई लिपिबद्ध गरिएको जानकारी उनले दिए ।
अभियान सकिएपछि सहभागीका गुनासा र पार्टीप्रतिका अपेक्षालाई प्रतिवेदन बनाएर पार्टी नेतृत्वलाई बुझाउने जानकारी शाहीले दिए ।
अभियानका क्रममा पार्टी ठूलो भएको रमितामा बसेको तर नयाँ दलले चुनौती बढाएकोप्रति सजग नभएको पाइएको उनले बताए ।
‘अहिले कांग्रेस ठूलो पार्टी र सत्तामा भएजस्तो छ, तर भोलि कांग्रेस हार्ला कि भन्ने चिन्ता धेरैमा देखिन्छ किनकि हामी सुस्ताउँदै गर्दा चुनौती बनेर नयाँ दल उभिएका छन्,’ शाही भन्छन्, ‘समयमा सचेत भएनौं भने हामी डुब्न सक्छौं । कार्यकर्ताको भावना पनि पार्टी नसुध्रिए अवस्था अनुकूल छैन भन्ने नै छ ।’ पार्टी नसुध्रिए २०८४ को चुनाव कांग्रेसका लागि कठिन हुने मत यो अभियानका क्रममा प्राप्त गरेको उनीहरूको भनाइ छ ।
यद्यपि पार्टीले केही गर्छ भन्ने आशा मारेकालाई पनि आफूहरूको अभियानले थोरै भए पनि आशा जगाएको उनको टिप्पणी छ ।

‘४५ डिग्रीको गर्मी छ । हामी रहरले हिँडेका हैनौं, समग्र पार्टीको चिन्ताले प्रतिबद्ध भएर हिँडेका हौं भन्ने धेरैले बुझेका छन् । यो गर्मीमा काठमाडौंमा एसीमा बस्ने र सामाजिक सञ्जालमा लेखेर टिप्पणी गर्ने जिम्मेवार नेताभन्दा यिनीहरू शुद्ध मनले आए भन्ने धेरैको बुझाइ पायौं,’ शाही भन्छन्, ‘हाम्रो अभियानले कांग्रेससँग आशा मारेकालाई केही आशावादी बनाएको छ किनकि हामी पनि कुनै पद र प्रतिष्ठा नपाएकाहरू त्यत्तिकै होमिएका हैनौं । पार्टीको चिन्ताले पुगेका हौं ।’
सभापतिले मात्रै होइन महामन्त्रीद्वयले पनि सकेनन् !
पार्टी नेतृत्वको काम गर्ने शैलीसँग केन्द्रमा महामन्त्रीद्वय नै असन्तुष्ट भइरहेका छन् । जिम्मेवार पदमा भएका उनीहरूले हस्तक्षेपकारी भूमिमा निर्वाह गर्न सकिरहेका छैनन् । सभापतिले काम गर्न नदिएको भन्दै पार्टीमा विद्रोह गर्नेसम्मको चेतावनी उनीहरूले दिइरहेका छन् । तर यही बेला गुरुहरू पार्टीमा रुपान्तरणको एजेन्डा बोकेर सात प्रदेशतिर हानिए । यो अभियानमा सभापतिदेखि पार्टीका जिम्मेवार युवा महामन्त्रीविरुद्ध पनि कार्यकर्तामा आक्रोश देखिएको अर्का एक अभियानकर्ता बताउँछन् ।
‘जसले जति गफ दिए पनि सभापतिले मात्रै काम नगरेको होइन, जिम्मेवार महामन्त्रीद्वयले पार्टी सुधारका लागि डेढ वर्षमा के गर्नुभयो ? दुनियाँले देखेको छ,’ ती नेता भन्छन्, ‘उहाँहरू पार्टीमा विद्रोहको कुरा गर्नुहुन्छ, तर हामी ४५ डिग्रीमा हिँडिरहँदा हाम्रो कार्यक्रमलाई ऐक्यबद्धता जनाउन सकिरहनुभएको छैन । महामन्त्रीहरू रुपान्तरणको पक्षमा भए हाम्रो अभियानमा सहमति जनाउन र प्रतिक्रिया व्यक्त गर्न किन खुट्टा कमाएको ? एसीमा बसेर सामाजिक सञ्जालमा टिप्पणी लेखेर असन्तुष्टि व्यक्त गरिरहने कि राजीनामा दिएर हामीसँगै सडकमा आउने महामन्त्रीद्वयसामू चुनौती तेर्सिएको छ ।’
कुनै गुटका विरुद्ध यो अभियान लक्षित नभएकाले सबै हितका लागि अभियान चालेको उनीहरूको भनाइ छ ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको चेतावनी
अभियान सकिएपछि गर्नुपर्ने सुधारको प्रतिवेदन पार्टीलाई बुझाउने र माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउनेसम्मको तयारीमा यो पक्ष छ ।
पार्टी बदलिनुपर्ने, नागरिकसँग जोडिने कार्यक्रम ल्याउनुपर्ने, पार्टीलाई थप चलायमान बनाउनुपर्ने उनीहरूको माग छ । तर नेतृत्वले बेवास्ता गरिरहे विधानअनुसार विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षर अभियान नै चलाउने चेतावनी यो समूहले दिएको छ ।
कसरी भयो कार्यक्रम ?
यो अभियानमा ६ प्रदेशका केन्द्रमा मुख्य र बाटो परेका जिल्लाका शहरका अन्तरक्रियाको कार्यक्रम गरेको शाही बताउँछन् । कतै पनि मञ्च, प्रमुख अतिथि र मुख्य अतिथि नबनाई अन्तरक्रियामा उनीहरूले सुझाव लिएका थिए ।
‘हामीले नेतालाई मञ्चमा राखेनौं । सबै तलै बसेर कार्यकर्ताको कुरा सुन्यौं । जाने नेता बोल्नेभन्दा तलका कार्यकर्ता र आम मान्छेको भावना बुझ्यौं,’ शाही भन्छन्, ‘एउटा कार्यक्रममा एक सय जनासम्मले बोल्नुभयो । एकैपटक २० केन्द्रीय नेता ६ प्रदेश पुग्यौं । यो हामी आफैंले खर्च उठाएर गरिएको कार्यक्रम हो ।’

प्रायः कार्यक्रममा सयौं नेता/कार्यकर्ता सहभागी भएको उनी बताउँछन् ।
‘सहभागीहरूको धारणा रेकर्ड गरेका छौं । भिडियो र अडियो सबै रेकर्ड हामीसँग छ,’ शाही भन्छन्, ‘पार्टी हितका बारेमा आएका महत्त्वपूर्ण सुझावलाई प्रतिवेदन बनाएर सभापति र पदाधिकारीलाई बुझाउँछौं ।’
धेरैले अब यसरी चल्दैन, अर्को महाधिवेशनमा आउन धेरै समय लाग्ने भएकोले विशेष महाधिवेशन गरेर जानुपर्छ सुझाव पनि दिएका छन् । तर पार्टीको संगठन सुधार्ने, संरचनालाई व्यवस्थित गर्ने, पार्टी सरकारमा हुँदा जनजीविकाका सबालमा राम्रो काम गर्नुपर्ने, भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने मुख्य सुझाव आएको छ ।
यसरी माग हुन सक्छ विशेष महाधिवेशन
कुनै कारण खुलाएर विधानअनुसारको प्रक्रिया पूरा गरे मात्रै कांग्रेसमा विशेष महाधिवेशन बोलाउन सकिन्छ । विधानको धारा १७ (२) मा केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन मिल्छ । कांग्रेस युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले अब चुप लागेर नबस्ने घोषणा गरिरहँदा अर्को पक्ष भने आवश्यक पर्दा विशेष महाधिवेशनको माग गर्नेसम्मको तयारीमा पुगेको हो ।
‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ कांग्रेस विधानमा उल्लेख छ ।
कांग्रेस विधानको धारा ४४ मा पार्टीका सबै तहका सभापति र पदाधिकारीविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाइने विषय उल्लेख छ ।
पार्टीका सबै तहका सभापतिविरुद्ध सम्बन्धित निर्वाचकहरूको २५ प्रतिशत सदस्यले अविश्वासको प्रस्ताव सम्बन्धित कार्यसमितिमा दर्ता गर्न सक्नेछन् । पेश हुन आएको अविश्वासको प्रस्ताव सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ ।
देउवाले शेखरलाई सोधे– यो अभियान किन ?
यो अभियान चलाउनेमा पूर्व संस्थापननिकट धेरै नेता छन् । यसैले पनि सभापति देउवाले देशभर गरिएको यो कार्यक्रमबारे नेता डा. शेखर कोइरालासँग चासो राखेको पाइएको छ ।
‘हामीले अभियान चलाएपछि सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई यो अभियान किन भनेर सोध्नुभएको रहेछ,’ एक नेता भन्छन्, ‘शेखरले घरमै सुतेर बस्नुभन्दा केही गतिविधि गर्नु, जनताको बीचमा गाउँगाउँ डुल्नु र समस्या बुझ्नु सकारात्मक हो भनेर सम्झाउनुभएछ ।’
तर आफूहरू शेखर टीमको सदस्यका रूपमा अभियानमा नहिँडेको ती नेता बताउँछन् । केही दिनअघि देउवा स्वयंले कार्यकर्ताको बीचमा जान र कांग्रेसको पक्षमा माहोल बनाउन नेता/कार्यकर्तालाई निर्देशन पनि दिएका थिए ।