×

आलेख

'भ्रष्टहरूलाई पाता कसेपछि मात्र प्रधानमन्त्रीको राजीनामा'

काठमाडाैं | असार २४, २०८०

तपाईंहरूले सर्पको छाला काडेको देख्नुभएको होला । कालो पाहाको छाला काडेको देख्नुभएको होला । राँगाको मासु खानेहरूले राँगाको छाला काडेको देख्नुभएको होला । बंगुरको छाला काडेको पनि देख्नुभएको होला । तर, आजको मितिसम्म भ्रष्टाचारीहरूको छाला काडेको भने देख्नुभएको थिएन भन्ने लाग्छ ।

Laxmi Bank

यदि साँच्चै देख्नुभएको थिएन भने प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीहरूको छाला काड्ने अर्थात पाता कस्ने कार्यक्रम जारी राखेको छ । यतिखेर भ्रष्टहरू आफ्नो र आफ्ना प्रिय मान्छेहरूको छाला जोगाउन भरपुर प्रयासमा छन् । छाला जोगाउने भित्री अभिष्टस्वरूप मागिएको छ- प्रधानमन्त्री प्रचण्डको एकथान राजीनामा ।


Advertisment

आधा बोतल बीयर तन्काउन नपाउँदै टोपबहादुर रायमाझी पक्राउ परे । सिम कार्ड चपाएर फालेका कारण आफन्तलाई फोन गर्न पनि पाएनन् । भर्खर सुक्खा रोटी टोक्न थालेका बालकृष्णले श्रीमतीसँग कानेखुशी समेत गर्न नपाई प्रहरीको भ्यानमा चढ्नुपर्‍यो । मीनबहादुर नाम गरेका भाटभटेनीका साहु अन्तत: चक्रपथको पटके चोरसँग हिरासतमा सँगै सुत्नुपर्‍यो । शायद भ्रष्टाचारीहरूको छाला काड्ने भनेको यही हो ।


Advertisment

हरेक दिन कोही न कोही पक्राउ परिरहेकै छन् । अलि ठूलै मान्छेलाई पक्राउ पुर्जी नकाटिएको दिन नेपालीलाई निद्रा लाग्नै छाड्यो । ठग पक्राउ पर्नु अब सामान्य भैसक्यो । करोडभन्दा तलको धरौटी तोकिन पनि छाड्यो । सीआईबीको हिरासतले चाप धान्न नसकेको भन्ने सुनिन्छ । जनतालाई रुवाउने ठूला माछाहरूको त कुरै छाडौं, जनतालाई सधैं हँसाउने बल्छी ध्रुवेले पनि प्रहरी हिरासतको चिसो छिँडीमा रात बिताउनुपरिरहेको छ ।

तर, केपी ओलीज्यूलाई भ्रष्टाचारीको छाला काडेको मन परिराखेको छैन । यति मात्रै हैन, राहदानी लिन रातभरी बस्नुपर्ने लाइन हटेको पनि मन परेको छैन । समयमा नै पुस्तक वितरण गरेको पनि मन परेको छैन । हजारौं अनागरिकलाई नागरिकता दिएको पनि मन परेको छैन । मुख्य कुरा त जिरोमा पुगिसक्यो भनेर खिस्सी गरिएका प्रचण्ड एकाएक हिरो भएर उदाएको पनि पटक्कै मन परेको छैन ।

श्रीमतीलाई मन नपराउन सकिन्छ, तर बिहे गर्दा दिएको सुनको सिक्री फिर्ता लेऊ भन्न त मिलेन नि ! आफैंले बनाएको प्रधानमन्त्री मन नपर्न पनि सकिन्छ, तर मन परेन भन्दैमा पदबाट राजीनामा देऊ भन्न पनि त मिलेन नि ! मिल्न सक्ने एउटै उपाय थियो, समर्थन फिर्ता लिने, त्यो उहिल्यै लिइसक्नुभएको छ । अब ओलीज्यूले फिर्ता लिनुपर्ने त्यस्तो केही चिज बाँकी छैन ।

दुलाहा/दुलहीजस्तो देखिने गरी बार्दलीमा एकै साथ निस्किएर, सँगै हात हल्लाएर ओलीज्यूले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएको थियो । विगतमा आफैंले गरेको कुरा भुलेर प्रधानमन्त्री कसले बनाएको हो भनेर प्रश्न गरिरहनुभएको छ ।

कुरा के त भन्दा एउटा सामान्य पञ्जाबी ट्रक ड्राइभरका सन्दर्भमा भनेको कुराका आधारमा ओलीज्यूले सार्वभौम संसद् अवरुद्ध गर्नुभएको रहेछ । संसद्लाई त देख्नै नसक्ने, के भएको होला त्यस्तो ? अरे यार, 'इन्डिभिजुअल' मानिसका सन्दर्भमा अनेक किसिमका कुरा हुन्छन् नि ! इटालीका एक प्रोफेसरले पृथ्वी नै मैले बनाएको हो भनेर दाबी गर्थे । लामो समयदेखि नेपालमा बसिरहेका ती सरदारले सगरमाथा मैले बनाएको हो भनेर दाबी गरेका त छैनन् होला । खुला लोकतन्त्र र राजनीतिमा सरकार बनाउन भनसुन गरेको दाबी गर्नु के आश्चर्यको विषय हो र ?

चामल ढुवानी गर्न दिल्ली, हरियाणा, जालन्धर पुगेका बेला कुन गल्लीमा, कुन चोकमा, कुन क्वालिटीको दारु पिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने कुरा यिनले आफ्नो बाल्यकालका दौँतरीहरूसँग गरे वा आफ्नो जन्मभूमिको गाउँ पञ्चायतका सदस्यहरूसँग गर्न पुगे, त्यसको केही अर्थ छैन । चायवालाको रूपमा चर्चा हुँदै गर्दा बब्लु शैलुनमा काम गर्ने मोतिहारीका लडकाहरूलाई मैले पनि नरेन्द्र मोदीलाई भोट हाल्न आग्रह गरेको थिएँ । अब के मोदी सरकार ताराखोलाको दिलबहादुरले बनाएको हो त ?

'तत्कालीन युद्धरत माओवादी र सरकार पक्षको शान्ति वार्ता गराउन मैले महत्त्वपूर्ण भूमिका खेलेको हुँ' भनेर पत्रकार ऋषि धमलाले दाबी गरेका थिए । यति मात्रै हैन, 'भारतले गरेको नाकाबन्दी खुलाउने प्रयास पनि आफूले नै गरेको' धमलाको दाबी थियो । यस्तो भइरहन्छ । नेपालमा प्रधानमन्त्री बन्न कसैलाई पनि पञ्जाबी ट्रक ड्राइभरको सहारा लिनु आवश्यक पर्दैन ।

ओलीज्यूलाई प्रचण्डको राजीनामा मात्रै हैन, प्रचण्ड बसेको कुर्सी चाहिएको हो । प्रचण्ड बस्ने सरकारी निवास चाहिएको हो । त्यो झण्डावाला गाडी पनि चाहिएको हो । मागेर एक प्लेट म:म पनि नपाइने जमानामा ओलीज्यूले प्रधानमन्त्रीको राजीनामा माग्नुभएको छ । यो राजीनामा भन्ने जिनिस पनि बडो काइदाको हुने रहेछ, माग्न सजिलो, तर दिन भने बहुत गाह्रो ।

'ए तो होना ही था' भन्ने हिन्दी फिल्ममाजस्तै आखिरीमा ओलीज्यूले प्रचण्डको कुर्सीमाथि आफूसँग रहेको ब्रह्मास्त्र प्रहार गर्नुभएको छ । ओलीज्यूको ब्रह्मास्त्रलाई पश्चिम दिशाबाट लामिछाने बाबु र दक्षिण दिशाबाट लिङ्देन बाबुले टेको लगाइरहनुभएको छ । र, दोहोरी गीत गाएजस्तो सामूहिक स्वरमा भनिरहनुभएको छ, प्रचण्डको राजीनामा त चाहियो, चाहियो । एक चाहियो, दुई चाहियो, तीन चाहियो ।

प्रचण्ड सरकारले पशुपतिको जलहरी फुकाल्दिएर स्वर्ण अक्षरमा लेखिदिएको ओली तथा भण्डारी वंशको नामावली नै मेटाइदिएको थियो । त्यसपछि ओलीज्यूले प्रचण्डको अस्तित्व नै मेटाइदिन्छु भन्न थाल्नुभयो । पशुपतिनाथ रहेसम्म आफू पनि सधैं अमर, अटल भएर जीवित भइरहने उहाँको सपनामाथि तुषारापात भएकै हो । तर, अन्य हाउडे बाबुहरूलाई प्रचण्डको राजीनामा किन चाहिएको हो ? किनकि बाबुहरूको नागरिकता काण्ड मिलेकै थियो । राहदानी काण्ड मिलेकै थियो । ड्राइभर छतबाट घसेर भएको 'दुर्घटना' प्रकरण पनि सामान्य सोधपुछ समेत नगरी मिलेकै थियो । जगतलाई नै रुवाएर प्राण त्यागेका पुडासैनी काण्ड पनि मिलेकै थियो । पृथ्वी जयन्तीमा एकदिन बिदा मिलेकै थियो । तर, पनि बाबुहरूलाई खै के पुगेन, पुगेन ।

आफ्नो पालामा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा संसद् विघटन जायज ठान्ने ओलीज्यूले यतिखेर प्रचण्डको राजीनामा माग्नुको बलियो आधार भेटिएको छैन । तर, केही आधार पक्कै छन् । उहाँहरूलाई जनताले 'आई लभ यु प्रचण्ड' भन्न थालेको मन परेको छैन । प्रहरी तथा कर्मचारीले खुरुखरु काम गरेको पनि मन परेको छैन ।

तर मलाई लाग्छ, ओलीज्यू फेरि आफैं प्रधानमन्त्री बन्न यो सबै नाटक गरिरहनुभएको छ । यदि त्यस्तो हो भने कुनै पनि थिएटरमा प्रदर्शन गर्न अयोग्य यस्तो नाटक मञ्चन नगर्न आग्रह छ । तपाईंले जति नाटक देखाउनु थियो, त्यो देखाइसक्नु भयो । बाँसुरी बजाउनु भयो । एलओडी क्लब जानुभयो । सारंगी रेट्नुभयो । मादल घन्काउनु भयो । तपाईंले एउटा जीवनमा एउटा मान्छेले गर्नुपर्ने सबै कर्म गर्नुभयो । यतिसम्म गर्नुभयो कि गरीब किसानको मर्का बुझेर धान पनि रोप्नुभयो । गर्न बाँकी एउटै थियो- प्रचण्डको राजीनामा माग, अब त त्यो पनि गर्नुभयो ।

ओलीज्यू फेरि प्रधानमन्त्री बन्न त्यति सजिलो छैन, किनकि दुई-दुईपटक संसद् विघटन गर्दा उहाँसँग सबैजना तर्सिएका छन् । सबैभन्दा धेरै तर्सिएको मान्छे शेरबहादुर देउवा हुन् । आजको दिनमा देउवा वा प्रचण्डविना कुनै पनि सरकार बन्दैन । आजको अंकगणित यही हो । अब ओलीज्यूले विजय शाहीसँग कुनै त्यस्तो जादू वा टुनामुना सिकेर चमत्कार गर्नुहुन्छ भने त हामी सोझासाझा जनताको भन्नु केही रहेन ।

राजीनामाको मागमा कुर्लिएका अर्का एक मनुष्य पनि छन्, अनुहार हेर्दा काटीकुटी जेलेनेस्की जस्तो । मुग्लिनको पहिरोले अवरुद्ध सडक खुलाउन आफैं महादेव बनेर हात फैलाउँदै उपस्थित भएका यिनले काठमाडौं फर्केपछि संसद् अवरुद्ध गर्न शुरू गरे । सडक अवरुद्ध हुनु र संसद् अवरुद्ध हुनु एकै हो भनेर यिनले बुझ्न सकेनन् ।

एयरपोर्ट जान ढिलो भएका श्रमजीवीको दु:खमा झण्डै रुवाबासी गरेका यिनले लाखौं मिटरब्याजीपीडितहरूको पेटमा लात्ती हाने । मिटरब्याजीपीडितहरूको पेटमा हानेको त्यही लात्ती लगेर फेरि सुदूरपश्चिमको दु:खिया घरको बार्दलीमा चढाई आफूलाई हेर्न आएका २१औं शताब्दीका रैतीहरूलाई सादर प्रणाम गरे । र, फेरि अर्कोपटक गरीबहरूको अस्मितामाथि लात्ती हाने । ओलीज्यूको आज्ञाकारी छात्र भएर उठे उठ, बसे बस शैलीमा यिनी 'मिनी ओली' भएर निस्किएका छन् । यस्तै ताल हो भने एकदिन यिनी प्रधानमन्त्री त यस्तै हो 'केपी ओली प्रो म्याक्स' भने पक्कै बन्ने छन् ।

शंकास्पद् पात्रजस्तो देखिने यिनी गृहमन्त्री रहँदा यिनको आदेश एउटा सिपाहीले पनि मानेको थिएन । एउटा फरार सांसद् समात्न नै हम्मेहम्मे परेको थियो, किनकि यिनलाई नेपालको कर्मचारीतन्त्र र सुरक्षा प्रशासनले राजनीतिज्ञका रूपमा विश्वास गर्दैन । तर फेरि पनि यिनी बिरालोले मुसा ढुकेजस्तै कुनै मालदार मन्त्रालय ढुकेर बसेका छन् । यो ६ महिनाभित्रमा इँजार फुस्किएको थाहा छैन, तर मिसन २०८४ को सपना देखेर हिँडिरहेका छन् ।

यिनको मिसन २०८४ टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी जस्तै हो, अर्बौंको लगानी पानीको फोकामा बिलाई जाने । आफू गृहमन्त्री भएको बेला जाबो एउटा फरार सांसद समात्न नसक्नेले भोलिको दिनमा यो देशको राजकीय नेतृत्व सम्हाल्न पुगे भने के होला ? पक्कै पनि टोलटोलमा गुण्डाहरूको उदय हुनेछ । देश युक्रेन हुनेछ । राप्रपालाई बिलय गराउन उदाएको शक्तिको उचित प्रयोग हुनेछ । रामराम ! सुन्दा पनि शरीरमा काँडा उम्रिन्छ ।

यसो भन्दै गर्दा केही मानिसहरूलाई लाग्न सक्ला अत्यधिक बहुमतका साथ चुनाव जितेको सांसदको यस्तो अपमान गर्ने? तिनीहरूले बुझ्नुपर्छ, संसारको दृष्टि नै परिवर्तन गरिदिने, सोच र चेतना नै उल्ट्याइदिने नेल्सन मण्डेला, महात्मा गान्धी र राइट ब्रदरहरूले कुनै चुनाव जितेका थिएनन् । चुनाव जित्ने भावनात्मक र प्राविधिक कुरा हो । संसारमा धेरैले चुनाव जितेका छन्, तर विचार र चेतनाविनाको विजयको कुनै अस्तित्व रहँदैन ।

उदाहरणका लागि शाही थर गरेका एकजना 'फर्जी सीए' सांसदलाई हेर्नुहोस् । 'ह्वाट इज योर फादर, पुट इज योर नेम' स्टाइलमा अंग्रेजी बोल्दा पनि यिनलाई कुनै लाजशरम लागेको छैन । यिनले भन्दा राम्रो अंग्रेजी त नर्सरी पढेको बच्चाले पनि बोल्न सक्छ । अंग्रेजी नजान्नु कुनै ठूलो कुरा हैन, तर नजानेर पनि जानेको छु भन्नु राष्ट्रकै बेइज्जत हो । 'राज खानदानी हुँ' भन्ने दम्भ बोकेको मान्छेसँग एउटा गोठालाको छोराको जति चेतना पनि छैन । शिक्षा/दिक्षा पनि छैन ।

यिनले आफूलाई भारतीय सेनाको हतियार अडिटरको रूपमा परिचित गराएका छन् । ओलीज्यूले 'नेपालमा पौडी खेलेर भारतमा निस्किन्थें' भन्ने गफ लडाउनुहुन्थ्यो । आखिरीमा यिनी पनि 'ओली प्रो म्याक्स' नै भएर निस्किए । अनि यिनको अंकगणित पनि शानदर ढंगको रहेछ । चालिसमा बीस जोड्दा असी हुन्छ भनेर नेपालको जीडीपीको व्याख्या गर्दै थिए । मेरा बाबा नि, यस्तो मान्छे भोलि अर्थमन्त्री भयो भने के होला मेरो देशको हालत ? सम्झी ल्याउँदा पनि आजैदेखि नाक/मुख छोपेर हिँड्न शुरू गरौंजस्तो लाग्छ ।

हाम्रो गाउँको साथी थियो, सिमलामा स्याउ टिप्न गएको । स्याउको भारी बोक्दा उसको तालुको कपाल जति झरेको थियो । तर दशैंमा घर फर्किने बेला कुनचाहिँ गोर्खा सैनिकको कपडा चोरेर ल्याएको रहेछ । गाउँ आएपछि उसले आफू भारतीय सेनाको मेजर भैसकेको भन्थ्यो । तालुको कपाल कमाण्डो तालिम गर्दा खुइलिएको हो भन्थ्यो । जम्मु कश्मीरमा छु, मर्न पनि सक्छु भनेर घरमा आमालाई रुवाउँथ्यो । तर सिमला पुगेपछि ऊ स्याउ भरिया नै हुन्थ्यो ।

मलाई लाग्छ, शाही थरका यी मनुष्य अडिटर त पक्कै हुन्, तर प्रेसर कूकरको । शायद भारतीय सेनाका हाकिमहरू प्रेसर कूकरमा नै भात पकाएर खान्छन् होला । यिनै प्रेसर कूकर मेकानिकले पनि प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । उनकै भाषामा राजाले बनाएको यो देशको कुनै सरकारी स्कूलमा भर्ना भएर 'पास्ट टेन्स' र 'प्रिजेन्ट टेन्स' अनि 'ही कुड' र 'दिस उड' सिक्न छाडेर प्रधानमन्त्रीको राजीनामा माग्ने ?

सहकारी ठग र मिटरब्याजीहरूलाई पाता नकसेसम्म अनि ठूल्ठूला घोटालामा संलग्न शक्तिशाली मान्छेहरूलाई पाता नकसेसम्म प्रधानमन्त्री प्रचण्डको राजीनामा आउनेवाला छैन ।

ओहो, एउटा कुरा त झण्डै छुटाएको । एकाथरी मान्छेहरू नाथ्री फुट्नेगरी कराएको देखिन्छ, मानौं कि यो देशमा कराउने प्रतियोगिता चलिरहेको छ । र, यिनीहरूले सान्त्वना पुरस्कार प्राप्त गर्दैछन् । दुलाहा/दुलहीजस्तो देखिने गरी बार्दलीमा एकै साथ निस्किएर, सँगै हात हल्लाएर ओलीज्यूले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएको थियो । विगतमा आफैंले गरेको कुरा भुलेर प्रधानमन्त्री कसले बनाएको हो भनेर प्रश्न गरिरहनुभएको छ । जमानामा एउटी बज्यै ऐनामा आफ्नै अनुहार देखेर तर्सिएजस्तै ओलीज्यू र उहाँको मण्डली आफैंले बनाएको प्रधानमन्त्री देखेर तर्सिराखेको अवस्था छ ।

ओलीज्यूहरू तर्सिएको देखेर जनतालाई मज्जा आइरहेको छ । र, आनन्दसँग प्रचण्ड सरकारले देखाएको फिल्म हेरिरहेका छन् । कुनै पनि फिल्मको मुख्य हिरोले पिटाई खाएको कसैलाई पनि मन पर्दैन । कसैले देखाउन नसकेको फिल्म देखाउँछु भनेर भर्खर भाग १, भाग २ र भाग ३ देखाउन भ्याएका प्रधानमन्त्रीलाई पिट्न थालिएको छ, तर पनि फिल्म रोकिएको छैन । जति कुटे पनि फिल्म रोकिने छैन, किनकि अन्तिममा हिरोको जीत निश्चित हुन्छ ।

सहकारी ठग र मिटरब्याजीहरूलाई पाता नकसेसम्म, ठूल्ठूला घोटालामा संलग्न शक्तिशाली मान्छेहरूलाई पाता नकसेसम्म प्रधानमन्त्री प्रचण्डको राजीनामा आउनेवाला छैन ।

हिजोसम्म 'गूड लक रवि दाइ' भनेर सामाजिक सञ्जालमा आशीर्वाद दिनेहरू यतिखेर 'गूड लक प्रचण्ड' भन्न थालेका रहेछन् । माहोल किन यसरी फेरियो त भनेर समाचार हेरेको बुढाले त बबालै काम गरेका रहेछन् । देशको प्रधानमन्त्रीले यस्तो बबाल काम गरेको बेला मैले पनि एउटा बबाल लेख लेख्दिएको हो । माइन्ड नगर्नु होला ल !

(लेखकका निजी विचार हुन् । – सम्पादक)

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x