२५ जेठ २०८३, सोमबार

बैंकमा थुप्रिएको ५६ खर्ब निक्षेपमा निजी क्षेत्रको नजर, सकेसम्म बढी हत्याउन होडबाजी

साउन ११, २०८०
काठमाडौं
बैंकमा थुप्रिएको ५६ खर्ब निक्षेपमा निजी क्षेत्रको नजर, सकेसम्म बढी हत्याउन होडबाजी

निजी क्षेत्रको आँखा बैंकिङ प्रणालीमा रहेको ५६ खर्ब रुपैयाँ निक्षेपमा रहेको देखिएको छ ।

हाल नेपालको बैंकिङ प्रणालीमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यही रकमलाई ऋणका रूपमा लिन ठूला व्यापारी तँछाडमछाँड गरिरहेका छन् ।

अहिले पनि बैंकिङ प्रणालीको ऋण सीमित व्यक्तिको हातमा पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म ५ करोडवटा खाता विभिन्न बैंक तथा वित्तीय संस्थामा छन । यस्तो निक्षेप खाता वाणिज्य बैंकहरूमा मात्रै ४ करोड ३५ लाखवटा रहेको छ ।

बैंकिङ प्रणालीमा भएका खातामध्ये हालसम्म ऋण लिने ऋणीको संख्या भने जम्मा १८ लाख ५५ हजार मात्रै छ । यसमध्ये वाणिज्य बैंकका ऋणीको संख्या १५ लाख २७ हजार रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । 

केन्द्रीय बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल नै बैंकबाट प्रवाह हुनेमध्ये ८० प्रतिशत ऋण ठूला व्यापारीले चलाएको र बाँकी २० प्रतिशत मात्रै अन्यको हातमा पुगेको स्वीकार गर्छन् ।

ठूला ऋणीले कुनै परियोजनाका नाममा कर्जा लिएका छन् । ठूला ऋणीले धेरै ऋण चलाएकै कारण रोजगारीमा योगदान गर्ने, कुल गार्हस्थ उत्पादन (जीडीपी)मा योगदान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने उद्यमीहरूले ऋण पाइरहेका छैनन् ।

ठूला ऋणीको स्रोत र पहुँच भएकै कारण बैंकले पनि साना ऋणीलाई नहेरेको देखिएको छ ।

पोखरेल भन्छन्, ‘ठूला ऋणीहरूले ऋण लिनु नराम्रो नै त होइन, तर सीमित स्रोतलाई सीमित व्यक्तिले नै चलाउने गरेका कारण ठूलो वर्ग पहुँचबाट बाहिर भयो कि भन्ने चिन्ता हो ।’

राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमै ठूला ऋणीहरूको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने उल्लेख गरेको छ । यसको अर्थ ठूला ऋणीले चलाएको ऋणको सदुपयोग भयो कि भएन वा यसको प्रभावकारिता कति हो भनेर हेर्न खोजिएको राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले बताए । राष्ट्र बैंकले तयारी गरिरहेको छुट्टै मार्गदर्शनले ठूला ऋणको वर्गीकरण गर्न सक्ने पनि पोखरेलको भनाइ छ ।

पोखरेलले अगाडि भने, ‘बैंकिङ प्रणालीमा भएको निक्षेप परिचालन गर्ने र ऋण चलाउने विषय सम्बन्धित बैंकमै भर पर्ने हुन्छ । बैंकहरूले आफू विश्वस्त भएर र ऋणीको सम्पत्ति धितो राखेर ऋण दिने भएकाले ठूला ऋणीलाई कर्जा दिँदैमा सबै बिग्रिन्छ भन्ने छैन ।’

सरकारले वास्तविक गरिखाने वर्गले पाउनुपर्ने गरी दिन थालेको सहुलियतपूर्ण कर्जा समेत ठूला ऋणीबाटै दुरुपयोग भएको छ । ठूला ऋणीबाट सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएकै कारण बैंकहरूले सेवा बन्द गरेका छन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ २०८० सम्ममा १ लाख ४७ हजार ५ सय १० जनाले सहुलियत पूर्ण कर्जा लिएका छन् । यी ऋणीले २ खर्ब ३ अर्ब १० करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो ऋणमा पनि ठूलो हिस्सा पहुँचवाला व्यवसायी र उद्यमीकै भएको निष्कर्ष केन्द्रीय बैंककै छ । यस्तो सहुलियत ऋण प्रदान गर्दा केन्द्रीय बैंकले बैंकहरूलाई उक्त कर्जा प्रवाह गरेबापत दिएको ब्याज अनुदान मात्रै २२ अर्ब ३९ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकबाट कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा पनि पहुँचवालाकै पोल्टामा परेको देखिएको छ । यस्तो कर्जाका लागि केन्द्रीय बैंकले गरेको लगानी आम सर्वसाधारण तथा साना व्यवसायीको पहुँचमा पुग्न नसकेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थतन्त्रका जानकार नरबहादुर थापा तथ्यांकमा १८ लाख ऋणी देखिए पनि बढीमा १०० ठूला व्यवसायीको हातमा वित्तीय क्षेत्र गएको दाबी गर्छन् । 

थापा भन्छन्, ‘पहुँचवाला र ठूला व्यापारीकै कारण सर्वसाधारणले बैंकबाट ऋण नै नपाउने अवस्था बन्यो । केही गर्ने सोच भएका र सानो पूँजीबाट व्यवसायमा जम्न सक्ने ऋणी बैंकका प्राथमिकतामा नै नपर्नुको असर वित्तीय क्षेत्र विकराल अवस्थामा जाँदै छ भन्ने संकेत हो ।’

थापाले अगाडि भने, ‘अहिले बैंकहरूले सीमित व्यक्तिलाई दिएको ऋण र जग्गाको आधारमा गरेको लगानी समस्यामा परेको अवस्थामा कसले सकार्ने ? भोलिका दिन यो समस्या आयो भने वित्तीय क्षेत्र नै विकराल हुन सक्छ ।’ 

अहिले त कि घरजग्गामा लगानी, कि त पुँजी पलायन गर्ने काम भइरहँदा पनि बैंक तथा वित्तीय संस्थाको साथ पाइरहेको अवस्था अहिले पनि देखिएको थापाको दाबी छ । 

ठूला ऋणीले एकपटक ऋण लिएपछि पुनरतालिकीकरण गर्ने र ऋण नतिर्ने समस्याले वित्तीय क्षेत्र ठूलो संकटमा फस्न सक्ने तर्क थापाले गरे ।

नेपालको निजी क्षेत्रले अर्थतन्त्रमा ८० प्रतिशत योगदान दिएको छौं भन्दै आफैं हालिमुहाली गर्न खोजेको थापाले बताए । अहिले नेपालका वित्तीय संस्थाले जुन अभ्यास गरिरहेका छन्, त्यसको कारण नवप्रवर्तकलाई बाटो नै छेकिएको छ । जबसम्म राष्ट्र बैंकले अहिलेको कमजोरी सुधार गर्न सक्दैन तबसम्म अर्थतन्त्रको अवस्था अहिलेको भन्दा माथि जान सक्दैन । अहिलेम्म जेनचेत चलिरहेको अर्थतन्त्र ठूलो संकटमा फस्नबाट जोगाउन पनि अहिल्यैदेखि सचेत हुनुपर्ने सुझाव पनि अर्थविद्ले दिएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म वाणिज्य बैंकहरूले मात्रै ४९ खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर ४२ खर्ब ९५ अर्ब रुपैयाँ ऋण प्रदान गरेका छन् । यस्तो ऋणमध्ये ठूला व्यापारी र उद्यमीकै हातमा थमाउने गरेको पाइन्छ । वाणिज्य बैंकबाहेक अन्य वित्तीय संस्थाले जम्मा गरेको ६ खर्ब ७२ अर्ब रुपैयाँको निक्षेपबाट पनि निजी क्षेत्रले ५ खर्ब ६० अर्ब कर्जा उपयोग गरिरहेको तथ्यांकले देखाएको छ । 

ऋण नतिर्ने र सर्वसाधारणको पैसा मात्रै चलाउने खोज्ने व्यवसायीको नीति देखिएको अर्थविदहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्