
एउटा बिरामी कहिले धामीकहाँ जान्छ, कहिले झाँक्रीकहाँ पुग्छ, कहिले वैद्यकहाँ धाउँछ । ऊ समयमै योग्य डाक्टर कहाँ नजाँदाको परिणाम जीवन नै जोखिममा पर्छ । अन्ततः डाक्टरसम्म पुग्दा उसको मृत्यु भइसक्छ । यसरी ऊ थाहै नपाई अनेक गुण भएका निदानकर्ताको प्रयोगशाला बन्छ र आफैं सकिन्छ । हाम्रा विपन्न बस्तीहरूले यस्तो पीडा निरन्तर भोग्दै आएका छन् । हो, यस्तै शैलीको राजनीतिक प्रयोगशालाको सिकार सिंगो मुलुक विगत लामो समयदेखि भइरहेको छ ।
बेलैमा सही उपचार गर्ने व्यक्ति नचिन्दा जसरी एउटा बिरामीको इहलिला समाप्त हुन्छ, त्यसरी नै मुलुक बनाउने एउटा शक्ति तयार नहुँदा जनताले दुःख व्यहोर्नुपर्ने रहेछ । अनेक अनुहारहरूको राजनीतिक प्रयोगशालाले देश नै कुपोषणको सिकार हुने रहेछ । राजनीतिका नाममा उदाएका ऐंजेरुहरू उपयोगवादको मायवी जालमा पार्न निकै सिपालु हुने रहेछन् । २००७ सालदेखि जन्मिएका अनेकौं राजनीतिक स्टन्टबाजको महासिकार बनेको नेपाल आजपर्यन्त उस्तै सिकारीहरूको निशानामा छ ।
आउनुहोस्, इतिहासदेखि वर्तमानसम्म चलेका नयाँ खाले स्टन्टबाजले नेपाली राजनीति कति दुर्गन्धित बनाए अनि मुलुक कसरी बर्बादीतर्फ धकेलियो भन्ने विषयमा संक्षेपमा चर्चा गरौं ।
वि.सं. २००७ सालमा प्रजातन्त्र आएपछि रंगीविरंगीवाद, आयातित सिद्धान्त, बहुरूपी अनुहार र हुल्लडबाजहरूको हारालुछले थिलिएको नेपाल अहिलेसम्म मुर्छित अवस्थामा छ । राजनीतिक परिवर्तन गर्ने नाममा हरेक कालखण्डमा नेपालले स्टन्टबाजहरूलाई झेल्नु परेको छ । राजा महेन्द्रको शासनकालको थोरै समयबाहेक नेपालले अनेक राजनीति स्टन्टबाजहरू देखिसकेको छ ।
७३ वर्षदेखि चलेको यो स्टन्टबाजी अहिले आएर एकथरि नयाँ अनुहारहरूमा ठोक्किएको छ । गफको भारी बोकेर हिँडेका नयाँ राजनीति शक्तिहरूले अन्नको भकारी भनेर झुक्याइरहेका छन् । यिनले स्वास्थ्य शिविर चलाए, तर गतिलो अस्पताल चलाएनन् । बिरामीलाई फलफूल बाँडे, तर बगैँचा निर्माण गरेनन् । एक झोला चामल वितरण गरे, तर अन्न उत्पादन गरेनन् । शिक्षाका पर्चा छरे, तर कहिल्यै किताब बाँडेनन् । गरीबका नाममा पैसा उठाए, आधा झ्वाम पारे, तर गतिलो काम दिएनन् ।
यी यस्ता भ्रष्ट आचरण हुन्, जसको कुनै मापन नै छैन । कमजोर वर्गको समाजलाई बहकाउन निकै सजिलो हुन्छ, आहारा छरिदियो, समर्थन जुटायो । यस्ता अनगिन्ती नक्कली कामहरू पुराना दलबाट नयाँ शक्तिहरूमा सरिरहेको छ र सँगसँगै हुँइकिइरहेको छ । यस्ता स्टन्टबाजले पटक–पटक मुलुक थचारिएको छ । तीव्र रूपमा हुर्किएका यी नौटंकीबाजहरू कहिले रोकिने हुन्, पत्तो छैन ।
हिजो र आजको स्टन्टबाज
२०६३ साल मंसिर अन्तिमतिरको कुरा हो, चितवनमा तत्कालीन माओवादीले सांग्ले जुलुस निकालेको थियो । भर्खर युद्ध छाडेर शिविरमा एकत्रित भएका माओवादी लडाकूहरू सांग्ले जुलुसमा सहभागी हुन राजमार्गमा उत्रिएका थिए । लडाकूको मुख्य शिविर चितवनकै शक्तिखोरमा थियो । चितवनका घर–घरबाट सारा मानिसहरू जुलुसमा सहभागी थिए ।
त्यो जुलुस यति लामो र ठूलो थियो कि भरतपुरदेखि भण्डारासम्मको करीब ३० किमी पूर्वपश्चिम राजमार्ग भरिभराउ थियो । राजमार्गका चोकचोकमा माओवादी नेताहरूले भाषण गर्थे । सोही प्रदर्शनलाई सम्बोधन गर्दै तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘हामी सधैँ जनताकै बीचमा हुनेछौं । जनताको दुःखसुखमा सँगै हुनेछौं । साधारण कपडा लगाउनेछौं । जनताका खेतमा काम गर्नेछौं र विलासी जीवन बिताउने छैनौं,’ उनको भाषणको सारसंक्षेप यस्तै थियो ।
केही दिन त माओवादी नेताहरूले किसानका खेतमा पुगेर काम पनि गरे । नेताहरूले साधारणखालका खाकी कपड लगाएर भाषण गर्दै हिँडे । स्वंय प्रचण्डले पनि नेपालमै बनेको सस्तो खाकी कपडाको पोशाक लगाए । यो देखेर चितवनका बासिन्दा प्रभावित भए । यो प्रभाव देशभर फैलियो । अन्ततः एक वर्षपछि भएको चुनावमा माओवादीले अत्यधिक भोट ल्यायो र प्रचण्ड प्रधानमन्त्री भए ।
देशभर उर्लेको जनउभारबाट प्राप्त भोटले जब माओवादीले सरकार बनायो, अनि उसले आफ्ना अतीतका वाचा बिर्सियो । माओवादीका नेताहरू कमाउ धन्दामा लागे । प्रचण्ड अनेक विदेशी पोशाकबाट सर्वाधिक चिटिक्क बन्दै गए । प्रचण्ड र उनको पार्टीका नेताहरू विलासी जीवनशैलीमा रुपान्तरित भए । आजसम्म त्यो निरन्तर जारी छ । यो सबैले देखेकै विषय हो । अनेकन नाटक गर्दै सत्ता हातमा लिएको माओवादी पहिलेका दलभन्दा राम्रो बन्न सकेन, किनकी उसले शुरूमा ‘स्टन्ट’ मात्र गर्न खोजेको रहेछ ।
‘स्टन्ट’ अंग्रेजी शब्द हो । तर, यसलाई नेपाली भाषामा पनि सजिलै बुझिन्छ । कसैले देखाउने नौटंकी वा असामान्य क्रियाकलापलाई ‘‘स्टन्ट’’ भनिन्छ । पछिल्लोपटक अनेक स्टन्टबाज चितवनतिरै सोझिएका छन् । चितवन कुनै समय ‘तोरी र छोरी’को नामले कहलिएको जिल्ला हो । प्लटिङले तोरी उत्पादन खुम्चिंदै गयो । तर, छोरीहरूको सक्षमता मजबुत छ । महिलाका लागि खुला समाज र सुरक्षित जिल्ला हो, चितवन । सार्वजनिक बसमा यात्रा गर्दा हिंसा व्यहोर्नुपर्ने अवस्था छैन ।
महिलाका लागि मात्र सार्वजनिक सवारी सडकमा गुड्दा समाजमा कल्पनै नगरेको लैंगिक भिन्नतालाई मलजल मिल्छ । यसले चितवनमा महिलाहरूले एक्लै बसमा यात्रा गर्न नसक्ने भाष्य तयार भएको छ । समाजमा महिला र पुरुषबीचको दूरीलाई दुरगामी रूपमा बढाउनेछ । छिटफुट हिंसा विकसित मुलुकमा पनि हुन्छन्, तर सिंगो समाज महिला हिंसाबाट पीडित छ भन्ने चित्रण तयार गर्दा यसले स–साना बालबालिकामा नकारात्मक छाप पार्छ ।
विश्वमा जहाँ महिलाका लागि मात्र सार्वजनिक सवारी चलेका छन्, त्यहाँको समाज सहनै नसक्ने हिंसामा भासिएका छन् । उदाहरणका लागि दिल्लीलाई हेरौं । दिल्लीमा सार्वजनिक सवारीमा एक्लै महिलाले यात्रा गर्न सक्दैनथे । दिनहुँ कुनै न कुनै हिंसाका घटना सार्वजनिक हुन्थे । त्यही हिंसालाई निराकरण गर्न महिलाका लागि निःशुल्क बस सेवा शुरू गरिएको हो । अरबी मुलुकहरूमा पनि यस्तो मापदण्ड राखिएको हुन्छ । तर, हाम्रोजस्तो खुल्ला समाज र स्वतन्त्रता, समानता र लैंगिक अधिकार भएको मुलुकमा यस्तो तरिका एक खास ‘स्टन्ट’ हो । महिला–पुरुषको दुरी बढाएर हिंसा घट्ने होइन । भौतिक रूपमा दुरी बढ्दै जाँदा लैंगिक भिन्नताले भेदभावको रेखा कोर्दै जानेछ ।
अर्को विषय हेरौं, चितवनको समथर भूभागमा घुम्ती मेडिकल शिविर पनि ‘स्टन्ट’ हो । हरेक व्यक्ति सामान्य स्वास्थ्य जाँच गर्न अस्पताल पुग्न निकै सुविधाजनक जिल्ला हो, चितवन । आखिर, घुम्ती शिविरले ठूला रोगको निदान गर्ने पनि होइन । चितवन मेडिकल सिटी हो र हरेक स्थानमा अस्पताल बग्रेल्ती छन् । सरकारी अस्पताल पुग्न पनि कुनै असुविधा छैन ।
चितवनका हरेक स्थानबाट अस्पताल आउजाउ गर्न निकै सुविधा छ । पहाडी क्षेत्रका बासिन्दालाई भने कठिनाइ छ । अतः जनताका नाममा तयार गरिएका यस्ता सुविधा उपयोगमूलक हुन् वा प्रचारमुखी मात्र हुन् भन्ने व्यावहारिक पक्ष नबुझ्दा त्यो ‘स्टन्ट’ मात्र हुन पुग्छ । जहाँ खोला छ, त्यहाँ कुलो पुर्याउँदा ‘स्टन्ट’ हुन्छ । तर, जहाँ सुख्खा छ, त्यहाँ सिँचाइ पुर्यायो भने त्यो विकास हुन्छ ।
के होइन स्टन्टबाज ?
सन् १९३९ अक्टोबरमा एकदिन बेलायती महारानीले जुद्ध शमशेरलाई एउटा चिठी पठाइन् । चिठीमा लेखिएको थियो, मित्रराष्ट्रको नाताले आज म यो अनुरोध गर्छु कि गोरखा सेनाको बहादुरी ब्रिटेनलाई आवश्यक परेको महसूस गरेकी छु ।’
लगत्तै राणा प्रधानमन्त्री जुद्ध शमशेरले भारदारहरूको बैठक राखे । अन्ततः बेलायतलाई सहयोग गर्न गोर्खाली सेना जर्मनीविरुद्ध लड्न जान तयार भयो । यसरी, दोस्रो विश्वयुद्धमा जुद्ध शमशेरले नेपालको पक्षधरता कूटनीति स्पष्ट देखाएपछि बेलायतले ठूलो आर्थिक सहयोग गरेको थियो । यो कुनै गुलामीले आएको सहयोग थिएन, बहादुरी देखाएको प्रतिफल थियो ।
आजसम्म तपाईं हामीले उपयोग गर्दै आएका स्कूल, कलेज, सडकलगायतका संरचना जति जीवित छन्, यी सबै जुद्ध शमशेरको पालाका योगदानहरू हुन् । त्यति मात्र नभई, उनकै पालामा कृषिमा आर्थिक क्रान्ति नै आएको थियो । नेपालले तेस्रो मुलुकसम्म कृषि उत्पादन निर्यात गर्थ्यो । शिक्षा र स्वास्थ्यमा जुद्ध शमशेरले नै क्रान्ति ल्याएका थिए ।
विश्वमै पहिलोपटक १० कक्षा पास गर्ने हरेकलाई अनिवार्य रोजगारी जुद्ध शमशेरले नेपालमा शुरूआत गरेका थिए । त्यसपछि उनैले मैट्रिकस्तरको पढाइ सञ्चालनमा ल्याए । उनको पालामा कोही बेरोजगार बस्न नपरेको इतिहासमा उल्लेख छ । हो, यो कुनै स्टन्टबाजी थिएन । यही हो, अहिले नेपाली जनताले खोजेको । जुद्ध शमशेरको राजनीति अर्को पाटो हो । त्यो विषय यहाँ उल्लेख गर्न खोजेको होइन । हो, १०४ वर्षको राणा शासनले मुलुक एउटै परिवारको निगाहमा चलेको थियो । भलै निरंकुश शासन भए पनि नेपाल विश्वमै आर्थिकस्तर, रोजगार र उत्पादनमा अब्बल थियो ।
अन्त्यमा, मुलुक र जनतालाई आवश्यकता के हो भन्ने कुरा गहिराइमा पुगेर बुझ्नु नै असल शासकको गुण हो । भोलि सरकार चलाउने उद्देश्य बोकेका दलहरूले अहिले नै स्टन्टबाजी देखाउन शुरू गर्दा भविष्यमा विश्वसनीयता समाप्त हुन्छ । सस्तो लोकप्रियताबाट उचालिएको ऊर्जा क्षणभरमै समाप्त हुन्छ भन्ने बिर्सन हुँदैन । यस्ता क्रियाकलापले बहुमत ल्याएर सरकारमा पुर्याउला, तर सफल भने बनाउँदैन ।
ठूलो दल हुनु र सरकार चलाउनु मात्र सफलता होइन । यसको गतिलो राजनीति शिक्षा २०६४ सालको चुनावी परिणाम हो । त्यतिबेला कांग्रेस र एमालेको सीट जोड्दा पनि माओवादी एक्लैको सीट संख्या बढी थियो । तर, विगतमा देखाएको ‘स्टन्ट’कै कारण न माओवादीले सरकार चलाउन सक्यो, न त्यसपछि ठूलो दलका रूपमा टिक्यो ।
‘स्टन्ट’ त्यस्तो विष हो, जुन शुरूमा गुलियो हुन्छ र अन्तिममा आफैंलाई खतम बनाएर छाड्छ । त्यसैले अबको राजनीति ‘स्टन्ट’का सिँढी चढेर होइन, यथार्थको धरातलमै टेकेर उभिनुपर्छ ।
अन्यथा, कुनै बेलाको चर्चित चुरेभावर राष्ट्रिय पार्टीको नियति नहोला भन्न सकिन्न । त्यो पार्टी उदाउँदा फैलिएको चर्चा चार वर्षमै बिलाएर गएको ताजै अनुभव छ । सामाजिक सञ्जालको आडमा बुर्कुसी मार्दै स्टन्टबाजी गर्दा ढिलोछिटो सत्यतथ्य कुरा बाहिर आएपछि तिनै सञ्जालकर्ताले खेद्नेछन् भन्ने त ‘एक्स माओवादी’ नेता बाबुराम भट्टराई नै उदाहरण हुन् नि !