१७ असार २०८३, बुधबार
माओवादी केन्द्रीय समिति बैठक

नाटकीय ढंगले रोकियो प्रचण्डको आलोचना, एकाएक प्रतिरक्षातर्फ मोडिन थाल्यो माओवादी बैठक !

साउन १९, २०८०
काठमाडौं
नाटकीय ढंगले रोकियो प्रचण्डको आलोचना, एकाएक प्रतिरक्षातर्फ मोडिन थाल्यो माओवादी बैठक !

लामो समयपछि बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र नेता अग्निप्रसाद सापकोटाले नै पार्टी भत्किएको र बिग्रिएको भन्दै रुपान्तरण आवश्यक भएको बताएका छन् ।

पहिलो र दोस्रो दिनको बैठकमा नेतृत्वको आलोचना भए पनि तेस्रो दिन भने बोल्ने अधिकांश सदस्य नेतृत्वको रक्षामा उत्रिँदा सापकोटाले पनि आलोचनात्मक समर्थन गरेका हुन् । ‘पार्टी भत्किएको छ, बिग्रिएको छ । पार्टी संगठन र नेतृत्वप्रति उठेका प्रश्न ठीक छन्’ सापकोटाले शुक्रवारको बैठकमा भने, ‘हामी सबै रुपान्तरण हुन जरुरी छ । तर हामीले राख्ने प्रश्न स्तरीय र मर्यादित भने हुनुपर्छ ।’

अघिल्ला दुई दिनको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले छोरी र ज्वाईंलाई अस्वाभाविक अवसर दिएको भन्दै आलोचना भएको थियो । तर तेस्रो दिनसम्म आइपुग्दा आलोचनात्मक टिप्पणी गरे पनि यस्तो आलोचना मत्थर भएको केन्द्रीय सदस्यहरू बताउँछन् । 

पहिलो दिनको बैठकमा प्रदेश कमिटीका सह–इन्चार्ज लक्ष्मण पन्त र केन्द्रीय सदस्य ओम शर्माले जनताका छोराछोरीलाई संगठन गर्न गाउँ पठाउने तर अवसर पाउने पदमा छोरी र ज्वाईंलाई अस्वाभाविक अवसर दिएको भन्दै आलोचना गरेका थिए । नाम नलिईकन अरू केन्द्रीय सदस्यले पनि पार्टीमा परिवारवाद हाबी भएको तथा पार्टी प्रचण्डको निजी कम्पनीजस्तो भएको भन्दै आलोचना गरेका थिए ।

null

नेतृत्वको रुपमा प्रधानमन्त्री, अध्यक्ष एवं आफ्नै बाबु प्रचण्डलाई आफ्नो नाम लिएर आलोचना गरेको भन्दै छोरी गंगा दाहालले आफूहरूको बचाउनमा बोलिदिन आग्रह गरेको बुझिएको छ । दबाबभन्दा पनि दाहालले आग्रह गरेर नेतृत्वको प्रतिरक्षा गरिदिन आग्रह गरेको केन्द्रीय सदस्यहरू नै बताउँछन् । 

‘मसम्म यो कुरा आएको छैन । तर पार्टी नेतृत्वको आलोचना मात्रै गर्दा गलत सन्देश जाने भएकोेले गरेका राम्रा काम समेतलाई छायामा पार्ने गरी नबोलीदिन आग्रह गरिएको छ भन्ने सुनेका छौं’ ती केन्द्रीय सदस्यले भने ।

सबै केन्द्रीय सदस्यलाई होइन विश्वासिला नेतालाई म्यासेज पठाउने र भेटेरै पनि गंगा दाहालसहितका केही विश्वासपात्र नेताले नेतृत्वविरुद्ध निर्मम नबन्न आग्रह गरेको बुझिएको छ । उनको आग्रहपछि शुक्रवार भने पार्टी नेतृत्वको विषयमा कठोरताका साथ नेताहरू प्रस्तुत नभएको बताइन्छ । सरकारले भ्रष्टाचार, तस्करी र अनियमितताविरुद्ध सकारात्मक काम गरिरहेकाले नेतृत्वलाई नखुइल्याउन भन्दै उनीहरूले नकारात्मक नभइदिन आग्रह गरेका हुन् ।

‘पहिलो एक दुई दिन नेतृत्वको आलोचनाजस्तो भएको थियो । तर दोस्रो दिनबाट नेतृत्वप्रति रक्षात्मक देखिने अवस्था छ । पार्टीलाई यहाँसम्म ल्याउने नेतृत्वको आलोचना गर्दै गर्दा वैकल्पिक नेतृत्व कसले गर्न सक्छ भन्ने प्रश्न उठ्न थालेपछि स्वतः अध्यक्षको प्रतिरक्षा हुने नै भयो’ केन्द्रीय सदस्य रेनु चन्दले भनिन्, ‘सचिवालयमा को मान्छे भर्ती भयो भन्ने परम्परात आलोचना हुन् । सकारात्मक आलोचनालाई सकारात्मक हिसाबले प्रचार गर्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य सन्तोष पौडेलले पनि पार्टीमा सबैलाई बराबरी पाँच मिनेट बोल्ने समय दिने र आलोचनाको लागि छुट दिने नेतृत्वको आलोचना गर्न जरुरी नभएको बताए ।

‘हाम्रो इतिहासमै सबैभन्दा व्यवस्थित र संयमित बैठक भइरहेको छ । नेतृत्वको विषयमा खुलेर आलोचना गर्ने ठाउँ पार्टीले दिएको छ’ पौडेलले भने, ‘कसैले स्वस्थ टिप्पणी गर्न सक्छन् । तर अनावश्यक लाञ्छना लगाउनेहरू आफैं मत्थर भएका छन् ।’

शुक्रवार वाइसियल अध्यक्ष सुवोध सिर्पालीले अहिलेकै गति र ढर्राले पार्टी नचल्ने भन्दै युवा र वयस्कलाई पार्टीका महत्वपूर्ण संरचना र विभागमा अवसर दिन आग्रह गरे । ‘पार्टीमा ५२ सालकैजस्तो उर्जा चाहिएको छ । साथ दिन हामी युवा तयार पनि छौं । किनकि अहिलेकै गति र ढर्राले पार्टीले पार पाउँदैन’ सिर्पालीले भने, ‘यसैले कुरा उही मान्छे उही, गति उही भएपछि नतिजा आएन । अब युवा र वयस्कलाई जिम्मेवारी दिएर केन्द्रीय संरचना र विभागका काम गर्ने अवसर दिऊँ ।’

पार्टी नेतृत्व र संगठनका काम गराईसँग फरक मत राखे पनि सिर्पाली प्रचण्डको सचिवालयमा छोरी गंगालाई अवसर दिएकोप्रति भने नरम देखिए । ‘अध्यक्षको परिवारमा समस्या भएको बेला उहाँलाई नजिकबाट सहयोग गर्ने व्यक्तिको खाँचो पर्छ’ उनले भने, ‘सचिवालयमा आफू अनुकूलको व्यक्तिलाई राख्दा अन्यथा लिइरहनुपर्छ भन्ने म ठान्दिनँ ।’

शुक्रवार पनि धेरै केही सदस्यले जम्बो केन्द्रीय कमिटीलाई छरितो बनाउन माग गरेका छन् । कतिपयले त दुई अंकमा अर्थात ९९ बाट तलको केन्द्रीय कमिटी बनाउन पनि माग गरेका छन् । तर अनिवार्य ३५ केन्द्रीय सदस्य महिला पुर्‍याउनुपर्ने भएपछि माओवादीमा शुक्रवार मात्रै २२ महिला सदस्य थप गरिएको छ । ​

तत्कालको खाँचो टार्न अघिल्लोपटक महाधिवेशन गरेकोजस्तो देखिए पनि कामकाजी नभएकोमासमेत सदस्यले प्रश्न उठाएका छन् । यसैले अब विधान सम्मेलनभन्दा विशेष महाधिवेशनतिर जानुपर्नेमा अधिकांशको मत आएको केन्द्रीय सदस्य राते कामीले जानकारी दिए । 

शुक्रवार नेतृ पम्फा भुसालले अनगिन्ती कामभन्दा गर्न सकिने संगठनात्मक कामलाई सूचीवद्ध अगाडि बढाउनुपर्ने बताइन् । ‘प्रविधि र युवाको जमाना छ । यसै स्प्रीटलाई लिएर पार्टी संगठनात्मक काममा अगाडि बढ्नुपर्छ’ भुसालले भनिन्, ‘एकैपटक धेरै काममा हात हाल्ने होइन परिणाम दिन सकिने र भ्याइने जति कामलाई अगाडि बढाएर पार्टी रुपान्तरण गर्नुपर्छ ।’

केन्द्रीय सदस्य रेनु चन्दले महिला नेतालाई केन्द्रीय सदस्यमा अवसर दिए पनि निर्वाचनमा लड्ने वातावरण नदिएको भन्दै आलोचना गरिन् । ‘महिलाले केन्द्रीय कमिटीमा जति ठाउँ पाएका छन् । यही अनुपातमा प्रत्यक्ष निर्वाचनमा कार्यक्षेत्र र टिकट दिनुपर्छ’ चन्दले भनिन् । 

केन्द्रीय नेताको लडाईंको चर्चा

माओवादीको बैठकमा केन्द्रीय सदस्य रामकुमार शर्माले मधेश प्रदेशमा नेताद्वय मातृका यादव र गिरिराजमणि पोखरेल आपसमा भिड्दा संगठन ध्वस्त भएको आरोप लगाए । ‘गिरिराजमणि र मातृका यादवको द्वन्द्वले मधेश प्रदेशमा साह्रै नै अप्ठ्यारो पर्‍यो’ शर्माले बैठकमा भने, ‘आफ्नो हित अनुकूल उहाँहरू मिल्नुहुन्छ । नमिल्दा गुटगत रुपमा टिम परिचालन गर्नुहुन्छ ।’ 

यो पनि पढ्नुहोस्  माओवादी बैठकमा आवाज– मातृका र गिरिराजमणिको द्वन्द्वले साह्रै अप्ठ्यारो पर्‍यो

​आफूहरूले मन्त्री हुँदा गिरिराजमणिलाई तराई मधेशमा स्वागत गरे पनि उनले आफ्नो जिल्लाबाहेकका मधेसीलाई नहेरेको आरोप पनि लगाए ।

​मधेशबाहेक कोश, कर्णाली, सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशका प्रतिनिधिले पनि संगठनमा देखिएको भद्रगोल हटाएर कामकाजी बनाउन आग्रह गरेका छन् । 

null

महरामाथि छानबिनको माग

केन्द्रीय सदस्य लेखनाथ दाहालले सुनकाण्डले पार्टीमाथि पनि प्रश्न उठेको भन्दै आवश्यक पर्दा आफ्नै नेता कृष्णबहादुर महरामाथि पनि छानबिन हुनुपर्ने धारणा राखे । ‘सुनकाण्डमा म दोषी छैन भनेर मात्रै पुग्दैन । सीआईबीले अब अनुसन्धान अगाडि बढाउने हो भने छानबिनमा सहयोग गर्छु भन्दै महरा स्वयंले निवेदन दिनुपर्छ’ दाहालले बैठकमा भने, ‘प्रश्न उठेपछि कोही पनि चुप लागेर बस्नु हुन्न ।’

अघिल्ला दुई दिन जस्तै तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले भ्रष्टाचार, तस्करी र अनियमितताविरुद्ध कठोर बनेर पार्टी प्रस्तुत हुनुपर्ने राय दिएका छन् । 

तेस्रो दिन शुक्रवार ६५ जनाले बोलेका थिए । विषय दोहरिन थालेको भन्दै १६ जनाले नाम फिर्ता लिए पनि अझै बोल्नका लागि दुई सय जनाले नाम लेखाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्