३० जेठ २०८३, शनिबार
बहुचर्चित ३३ किलो सुनकाण्डको एउटा पाटो

रहस्यको पर्दा नखुलेको ३३ किलो सुनकाण्डः गोरेको फोनदेखि अनुसन्धान र अदालतको गोलचक्करसम्म

साउन ३२, २०८०
काठमाडौं
रहस्यको पर्दा नखुलेको ३३ किलो सुनकाण्डः गोरेको फोनदेखि अनुसन्धान र अदालतको गोलचक्करसम्म
गोरे र सुनको प्रतीकात्मक तस्वीर

मितिः १७ फागुन २०७४ ।​
स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।​
समयः मध्याह्न । 

सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै भन्यो, ‘हेलो, म गोरे बोलेको । एउटा मान्छे इन्डियनले मारिदियो । यसको (शव) व्यवस्थापन गर्नुपर्‍यो ।’

अपराध अनुसन्धान विभागका प्रमुख थिए, तत्कालीन एसएसपी दिवश लोहनी (पछि एआईजीबाट अवकाशप्राप्त) । विभागमा हल्लाखल्ला भयो । उताबाट गोरेले शवदेखि घटनास्थलको फोटो/भिडियो समेत पठाइसकेको थियो । गोरेले पठाएका सन्देशहरू बालकृष्णले लोहनीलाई देखाए । 

घटनाबारे यकिन भएपछि टोली खटिने कुरा भयो । लोहनीले तत्कालीन डीएसपी प्रजित केसीको नेतृत्वमा टोली गइदिए हुन्थ्यो भन्ने मनसाय प्रकट गरे ।

खासमा जानुपर्ने थियो, ज्यानसम्बन्धी मुद्दा हेर्ने एक नम्बर पिलरको इन्चार्ज रविन कार्की । तर, उपत्यकाबाहिरको केसमा अपराधीसँग ‘नेगोसिएसन’का लागि उपयुक्त पात्र केसी हुने लोहनीको तर्क थियो ।

प्रजित (हाल एसपी, भक्तपुर परिसर प्रमुख) गुन्डागर्दी नियन्त्रण पिलरको इन्चार्ज थिए ।

उनी अपराधीसँग ‘नेगोसिएसन’ कसरी गर्ने भन्ने विषयमा अमेरिकाबाट लामै तालिम प्राप्त गरेका कमान्डर हुन् । विज्ञता प्रयोग गर्नका लागि लोहनीको ‘च्वाइस’मा उनी परेका थिए ।

तत्कालीन आईजीपी प्रकाश अर्याल बिदा बसिसकेका थिए । बमबहादुर भण्डारी निमित्त प्रहरी प्रमुख थिए । लोहनीले चेनअफ कमान्डअनुसार भण्डारीसँग अनुमति लिए ।

डीएसपी प्रजित सई बालकृष्ण र २ जवानलाई लिएर एउटा गाडीमा साँझ ६ बजे उर्लाबारीतिर लागे ।

प्रहरीसँग दोहोरो कुरा गर्दै भारत छिरे गोरे

‘हामी हिँड्यौं, एकजना डीएसपी’साप हुनुहुन्छ, ढुक्क हुनुस्’, बालकृष्णले गोरेलाई भने । गोरेले ‘कहाँ आइपुग्नुभयो ?’ भनेर बालकृष्णलाई तारन्तार फोन गरिरह्यो । बालकृष्णले गोरेलाई ‘डील’ गर्न सकेनन् ।

‘गोरेसँगबाट जसरी पनि शव बुझ्नु थियो । शव बेपत्ता भए केस ढिसमिस हुन्छ भनेर प्रजित’सापले चलाखीपूर्ण तबरले ‘नेगोसिएसन’ गर्न थाल्नुभयो,’ टोलीका एक सदस्यले लोकान्तरसँग भने ।

उनका अनुसार प्रजितले गोरेलाई शव व्यवस्थापन गरेर सहयोग गरिदिने भनेर ‘नेगोसिएसन’ गर्दै थिए । गोरेले आफूनिकट अर्का प्रहरी अधिकृतसँग पनि नियमित सम्पर्क गरिरहेको रहेछ ।

‘मलाई सहयोग गर्न डीएसपी प्रजित केसी आउँदैछन्,’ भनेर गोरेले आफूनिकट प्रहरी अधिकृतसँग सूचना आदान–प्रदान गरेछ ।

ती अधिकृतले भनेछन्, ‘तँलाई प्रजित केसीले सहयोग गर्छ जस्तो लाग्छ ? तेरो ज्यानै लिन सक्छ, त्यहाँबाट भागिहाल ।’

यो कुरा गोरेले पछि प्रहरीसँगको बयानमा पनि स्वीकारेका छन्  । ‘प्रजितले सहयोग गर्दैन भनेर मलाई अर्को प्रहरी अधिकृतले भनेका हुन् । त्यही भएर इन्डियातिर भागेको हुँ,’ बयानका क्रममा गोरेले भनेका छन् ।

गोरेले शुरूमा उर्लाबारी बोलाएको थियो । प्रहरी टोलीले निर्वाण होटल छेउको चारकोशे झाडीमा भेट्ने कुरा गरेको थियो । पछि उसले भानु चोकमा बोलायो । रातको करीब २ बजेतिर एकजना मान्छे गाडीमा सरर आयो । गाडीबाट झरेर चोकमा उभियो । 

‘गोरे खोइ ?’, प्रजितले सोधे ।

‘दाइ त इन्डिया गइसक्नुभयो’, गाडी चलाएर आएको व्यक्तिले जवाफ दियो ।

प्रजितको टोलीलाई एउटै चिन्ता थियो, शव चारकोसे झाडीमा फ्याँके वा कोशीमा बगाए । 

प्रजितले सोधे, ‘लास खोइ ?’

‘गाडीमा छ ।’

‘दाइ (गोरे)लाई फोन लगाऊ ।’

फोन लागेन । प्रजितले फेरि अह्राए, ‘भाउजू (गोरेको श्रीमती)सँग भारतको नम्बर माग ।’

गोरेकी श्रीमतीले भारतको नम्बर दिइन् । तत्कालै त्यो नम्बर केसीले लोहनीलाई पठाए । 

घटना भएको ठाउँ भानुचोक नभएकाले उनले शव हेरेनन्, हेरेको भए त्यही मुचुल्का उठाउनुपर्ने बाध्यता हुन्थ्यो । सबै इटहरीतर्फ लागे ।

यता लोहनीले गोरेको टेलिफोन ‘ट्रेस’ गरिसकेका थिए । गोरे कोलकत्ता पुगेको थाहा भयो । उनीहरूलाई लागेछ, अब गोरे कोलकत्ताबाट अन्तर्राष्ट्रिय उडानमार्फत तेस्रो मुलुक जाँदैछ ।

बिहान ४ बजेतिर इटहरी पुगेर एउटा होटलमा बसे । शव भएको गाडीलाई पार्किङमा राखेर माथि झ्यालबाट हेर्दै एकछिन आराम गरे ।

त्यतिबेलासम्म विराटनगर, धरान, इटहरी सबै कमान्डमा खबर गरिसकेका थिए, प्रजितले । सहयोगका लागि ‘अलर्ट टीम’ तयारी अवस्थामा थियो । 

शव राखेको गाडीका चालकको माध्यमबाट अन्य दुईजनालाई इटहरीमै फेला पारियो । उनीहरूले रुँदै भने, ‘गोरेले हामीलाई बेस्सरी यातना दियो ।’ 

त्यसपछि गाडीको डिक्की खोल्दा सनम शाक्यको शव फेला पर्‍यो । यातना दिन प्रयोग गरिएको करेन्टको तार सबै गाडीमै फेला पर्‍यो । विराटनगरका एसपी अरुण जिसीसहितको टीमले शवको मुचुल्का उठायो । 

त्यतिबेला गोरे आफैं नेपाल आओस् भन्ने सोचेर उसको नाम नराखी मुचुल्का प्रतिवेदन बुझाएको अनुसन्धानमा संलग्न एक अधिकारी दाबी गर्छन् ।

‘गिरफ्तारीमा परेका तीन जनाले गोरेलाई पोल्छन् । त्यसलाई गोप्य राखेर उसलाई स्वदेश बोलाउन सकिन्छ भन्ने निष्कर्षका आधारमा गोरेको नाम उल्लेख नगरी मुचुल्का प्रतिवेदन बुझाइएको थियो,’ ती अनुसन्धान अधिकारीले भने ।

गोरे र ‘३३ किलो’ सुनको कथा

सनम हत्यामा संलग्न मुख्य नाइके गोरे नै हो भन्ने जानकारी पक्राउ परेका तीन जनाबाट भइसकेको थियो । आखिर गोरे को थियो त ? पहिले पनि उसको वास्तविक नाम थाहा नभएर सीआईबीले एउटा अनुसन्धान थाती राखेको रहेछ । पक्राउ परेकाहरूले सुन हराएपछि आफूहरूलाई यातना दिइएको र त्यही क्रममा सनम शाक्यको हत्या भएको बयान दिए ।

गोरेको नाम पछि थाहा भयो, चुडामणि उप्रेती । सबै छानबिन हुँदै जाँदा ३३ किलो सुन हराएको भन्ने बयान आयो । एयरपोर्टबाट पास भएको सुन अनामनगरबाट हराएको बयान उनीहरूले दिए ।

हराएको भनिएको सुन कहाँ गयो अहिलेसम्म कुनै अत्तोपत्तो छैन । बरु यो ३३ किलो सुन काण्डका रूपमा चर्चित छ । सुनकै कारण सनमको हत्या भएको अनुसन्धानमा फेला परेपछि पहिलो चरणको अनुसन्धानमा संलग्न अपराध अनुसन्धान विभागकै टोली छानबिनको घेरामा पर्‍यो । 

‘सनमका हत्यारा र सुन तस्कर गोरे उर्फ चुडामणि उप्रेतीलाई भगाएको, पैसा बार्गेनिङ गरेको’ भनेर प्रजितमाथि नै छानबिन थालियो ।

तर, प्रजितले छानबिन समितिलाई दिएको बयानमा उक्त आरोप खण्डन गरेका छन् ।

‘मुख्य दोषीसम्म पुग्नकै लागि नेगोसिएसन गर्ने, फकाउने रणनीतिका लागि विभागीय प्रमुख लोहनी र तत्कालीन निमित्त प्रहरी प्रमुख भण्डारीसँग पनि अनुमति लिइएको उहाँको बयान छ,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

‘गोरेलाई फकाएर सहयोग गर्छौं भन्ने, पैसाको बार्गेनिङ गर्ने, उनीहरू ठूलो संख्यामा रहेछन् र खतरा आइपर्‍यो भने सुट गर्ने आदेश समेत टोलीलाई थियो,’ टोलीका एक सदस्यले लोकान्तरसँग भने ।

छानबिनदेखि अदालतसम्म

छानबिनका आधारमा हेर्दा ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७४ माघ ८ गते बाहिरिएको थियो ।

त्यहीबेला सुन बेपत्ता भएपछि गोरेले भरिया सनम शाक्यको हत्या गरे । एकजना एयरपोर्टमै दुर्घटनामा पारी मारिए भने अर्का एकजनाले हिरासतमै आत्महत्या गरे ।

गोरेलाई इन्टरपोलको सहयोगमा २०७५ जेठ ८ गते भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

प्रहरीमाथि नै अनुसन्धान गर्नुपर्ने भएपछि सह–सचिव ईश्वरी पौडेल, तत्कालीन एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहितको छानबिन समिति बनेको थियो ।

छानबिनका क्रममा प्रजितले अपरेसनमा जाँदा विभागीय प्रमुखसँग भएको कुराकानी र आदेशको फोन रेकर्ड नै उपलब्ध गराए । तर बाहिर पैसाका लागि बार्गेनिङ गरेको, सल्लाहमै भगाएको भन्ने कुरा छ्यापछ्याप्ती भइसकेको थियो ।

त्यसैको आधारमा छानबिन समितिले लोहनी, केसी, सञ्जेल, गोविन्द निरौला र परशुराम खत्रीलाई आरोपित गर्‍यो ।

प्रजित २२ दिन विराटनगरस्थित प्रहरी हिरासतमा बसी पुर्पक्षका लागि कारागार चलान भए । पाँच महिना कारागार बसाइपछि उच्च अदालत विराटनगरले उनलाई सफाइ दियो ।

छानबिन समितिले आरोपित गरेका कसैमाथि पनि आरोप पुष्टि भएन । प्रजितको टीमले प्रमाणसहित पक्राउ गरेकाहरू भने अहिले कैद भुक्तान गरिरहेका छन् । समितिद्वारा आरोपित सबैले सफाइ पाइसकेका छन् ।

३३ किलो सुनबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत समितिले ठूलै काम गरेको जस्तो कुरा सुनाएछन् । प्रहरीहरूलाई पनि कारबाहीको दायरामा लिनुपर्छ भनेर ओलीले त्यतिबेला निर्देशन दिएका थिए । 

गोरेसहितका अभियुक्तहरूले आफूले गरेको अपराधको सजाय भोगिरहेका छन् । केही निर्दोष सावित भएकाहरू आफ्नो पुरानै दैनिकीमा फर्किएका छन्, तर ३३ किलो सुन अझै रहस्यकै गर्भमा छ ।

कसले चोर्‍यो, कहाँ पुर्‍याइयो, त्यसको कुनै सुराक समेत उपलब्ध छैन ।

salt training

कमेन्ट गर्नुहोस्