×

Dabur
MG

अध्यक्ष केपी शर्मा ओलीले अन्तिमसम्म सहमतिका लागि दबाब दिए पनि नेकपा एमाले लुम्बिनीको नेतृत्व अन्ततः निर्वाचनबाट चयन भएको छ ।

yONNEX
Sagarmatha Cement

कुनै पनि हालतमा निर्वाचन नगर्ने ओलीको प्रयास असफल भएपछि चुनावी प्रक्रियाबाटै  नेतृत्व चुनिएको हो । यो एमालेको पहिलो प्रदेश अधिवेशन भएकाले अन्य प्रदेशमा पनि अब चुनावी प्रतिस्पर्धाका लागि बाटो खुलेको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

चितवन महाधिवेशनमा आफू सर्वसम्मत बन्न खोजे जस्तै ओलीले प्रदेशमा पनि चुनाव नगराउने नीति लिएका थिए । यसका लागि उनले नेता परिचालन गरेका थिए । तर, उनको प्रयास असफल हुन पुग्यो र लोकतान्त्रिक व्यवस्थाको मर्म मानिने निर्वाचनबाट नेतृत्व चयन सम्भव भयो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

पछिल्लो केही वर्षयता एमालेमा अध्यक्ष ओलीले चाहेभन्दा बाहिर गएर केही नहुने अवस्था थियो । माधव नेपाल तथा झलनाथ खनाल पार्टी विभाजन गरेर अलग भएपछि एमालेमा ओलीविरुद्ध बोल्न वा उनको इच्छाविपरीतको गतिविधि गर्न असम्भवप्रायः थियो ।

Vianet communication
Laxmi Bank

ओलीविरुद्ध अध्यक्षको प्रत्यासी बनेका भीम रावल र उपाध्यक्षको उम्मेदवार बनेका घनश्याम भुसालले चुनावमा टिकट समेत पाएनन् । अन्ततः घनश्याम पार्टीबाट अलग भए भने भीम रावल पार्टीमै रहेर पनि जिम्मेवारीबिहीन छन् ।

सोही कारण पनि पार्टी फोरममा होस् वा बाहिर कतै पनि अध्यक्षको चाहनाविपरीत बोल्ने र गतिविधि गर्ने हिम्मत कुनै नेताले देखाएनन् । तर, विस्तारै परिस्थिति फेरिँदै गएको संकेत लुम्बिनीको अधिवेशनले देखाएको छ ।

फरक मतलाई पेल्ने अध्यक्ष ओलीको नीतिका कारण असन्तुष्टि समेत व्यक्त गर्न नसकिरहेका नेताहरूले लुम्बिनीको अधिवेशनमार्फत पार्टीमा अब संस्थागत निर्णय र प्रक्रियामा जानुपर्ने सन्देश दिएका छन् ।

केन्द्रीय नेतृत्वको चाहना र निर्देशनविपरीत भएको चुनावबाट पाल्पाका राधाकृष्ण कँडेल पार्टीको प्रदेश कमिटी अध्यक्षमा निर्वाचित भएका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत पाए ।

प्रदेश अध्यक्षमा निर्वाचित कँडेल

कँडेललाई पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेलले अघि सारेका थिए ।

प्रदेश अधिवेशन भए पनि यो निर्वाचनलाई एमालेका प्रभावशाली नेताद्वय पौडेल र पोखरेलको शक्ति परीक्षणका रूपमा समेत हेरिएको थियो । लुम्बिनी प्रदेशबाटै प्रतिनिधित्व गर्ने पौडेल र पोखरेल पार्टीमा भावी नेतृत्वका प्रबल दाबेदार हुन् । 

उपाध्यक्षमा पनि कँडेल प्यानलबाट उम्मेदवार बनेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । रूपन्देहीका श्रेष्ठले ४५५ मत ल्याउँदा रिजाल प्यानलबाट उम्मेदवार बनेका रुपन्देहीकै विश्वराज बराल (अनुप) ले ३०६ मत मात्र ल्याउन सके ।

सचिवमा कँडेल प्यानलकै दाङका लक्ष्मण आचार्य निर्विरोध भएका थिए । त्यस्तैगरी उपसचिवमा पुरुषतर्फ रोल्पाका पूर्ण बुढा मगर निर्वाचित भएका छन् ।

रिजाल प्यानबाट उम्मेदवार बनेका बुढा ४१८ मतसहित विजयी हुँदा कँडेल प्यानलका दुर्गाप्रसाद थारूले ३९३ मत पाए ।

त्यस्तै उपसचिवमा महिलातर्फ कँडेल प्यानलकी लीला राना मगर १ मतले निर्वाचित भइन् भने लेखा समिति अध्यक्षमा कँडेल प्यानलकै दामोदर घिमिरे विजयी भए ।

१००४ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ३९ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

शनिवार शुरू भएको प्रदेश अधिवेशन पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेका थिए ।

सहमति नहुँदा चुनाव हुनु स्वाभाविक हो, तर एमाले लुम्बिनीको यो चुनावले रोचक समीकरण देखाएको छ । ओलीले रोक्न खोज्दाखोज्दै सचिव बाहेकमा पदमा चुनाव भयो ।

ओलीले महासचिव शंकर पोखरेल निकटका रिजाललाई सर्वसम्मत अध्यक्ष बनाउन अधिकतम पहल गरेका थिए । दुई दिन बुटवल बसेर सहमति जुटाउन आग्रह गर्दा पनि ओली असफल हुन पुगे । 

प्रदेशको पहिलो अधिवेशन निर्वाचनमा जाँदा गुटगत प्रभाव देखिने भन्दै ओलीले कुनै पनि हालतमा निर्वाचन गर्न चाहेका थिएनन्, किनकि लुम्बिनीमा निर्वाचन भएपछि अरू प्रदेशले पनि सहमति नमान्ने नजीर बस्नेमा ओली प्रस्टै छन् ।

अब बाग्मतीमा असोज ८ र ९ गते, कर्णालीमा १० र ११ गते प्रदेश अधिवेशन हुँदैछ । कोशीमा असोज १२ र १३ गते, गण्डकीमा १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा १९ र २० गते प्रदेश अधिवेशन तोकिएको छ । सुदूरपश्चिममा २१ र २२ असोजमा र मधेशमा २४ र २५ असोजमा अधिवेशन गर्ने एमालेको कार्यसूची छ । 

काम नगरेको त्यो चिर्कटो...

अध्यक्ष ओलीले सहमतिको अन्तिम प्रयासस्वरूप प्रदेश इन्चार्ज पद्या अर्यालमार्फत थमाएको चिर्कटो (कागजको टुक्रो)ले पनि काम नगरेको एमाले स्रोत बताउँछ ।

‘अध्यक्ष ओलीले हरि रिजालको नाममा सहमति गरेर टुंग्याऊ भनेर सचिव पद्या अर्याललाई चिर्कटो थमाउनुभएको थियो,’ एमाले स्रोत भन्छ, ‘तर केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक पदाधिकारीले कुनै पनि हालतमा रिजाललाई मान्न नसकिने अडान लिएपछि बाध्य भएर चुनाव गर्नुपरेको हो ।’

एमाले लुम्बिनी अधिवेशनको बन्दसत्र

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने पदाधिकारीमध्ये महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीमात्रै ओलीले सर्वसम्मत बनाउन चाहेका रिजालको पक्षमा खुलेका थिए । बाँकी सबै पदाधिकारी र युवा नेताहरू कँडेलकै पक्षमा खुले ।  

उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णु पौडेल, सचिवत्रय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र पद्या अर्याल पनि कँडेलकै पक्षमा लाग्न पुगे । यतिमात्रै होइन, निलम्बित सचिव टोपबहादुर रायमाझीले समेत पौडेल निकटका कँडेललाई साथ दिएको चर्चा छ । पूर्व मुख्यमन्त्री लीला गिरीदेखि युवा नेता ठाकुर गैरेसम्मको साथ कँडेलले पाएका छन् ।

कतिसम्म भने ओलीका हरेक कदमलाई चुपचाप समर्थन गर्ने सूर्य थापासमेत रिजालको पक्षमा खुल्न सकेनन् । प्युठानको आन्तरिक राजनीतिको प्रतिस्पर्धाले थापा रिजालको पक्षमा खुलेर लाग्न नसकेको स्रोतको दाबी छ । केन्द्रीय राजनीतिमा पहुँच बनाएर थापाले गत निर्वाचनमा टिकट लगेदेखि रिजाल असन्तुष्ट थिए । सोहीकारण थापासँग उनको सम्बन्ध राम्रो हुन सकेको थिएन ।

शंकर चीन गएपछि ओलीको चलाखी

१६ भदौमा महासचिव शंकर पोखरेल चीन भ्रमणमा गएका थिए । तर, उनी भ्रमणमा गएपछि अध्यक्ष ओलीले उपमहासचिव ज्ञवालीलाई निर्वाचनका लागि खटाएका थिए । 

‘महासचिव चीन गएपछि ज्ञवालीले महासचिवजस्तो बनेर होटल-होटलमा पुग्दै भोट माग्नुभएको थियो,’ एमाले स्रोत भन्छ, ‘कतिपयलाई त आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन समेत रिजाल समूहले दिएको पाएका थियौं ।’

भदौ १७ गते ओली बुटवलबाट काठमाडौं फर्किने बेला उपाध्यक्ष पौडेल उनलाई छाड्न एयरपोर्ट पुगेका थिए । तर, ओलीले बल गरेरै उनलाई काठमाडौं ल्याएको स्रोत बताउँछ ।

‘यहाँ उपमहासचिव भएपछि हुन्छ, तपाईं काठमाडौं हिँड्नुस् भनेर अध्यक्षले जोड गरेपछि पौडेलले टार्न सक्नुभएन,’ एमाले स्रोत भन्छ, ‘महासचिव नभएपछि उपाध्यक्ष पौडेलले बुटवल बसेर परिणामलाई प्रभाव पार्न सक्छन् भनेर अध्यक्षले बुटवल बस्न नदिएको चर्चा छ ।’

१७ गते ९ बजेको प्लेन छुटे पनि ओलीले पर्खिएरै पौडेललाई काठमाडौं लगेका थिए । तर, छविलाल, पद्यासहितका नेता भने बुटवलमै बसेका थिए ।

पोखरेल चीन गएको र पौडेल बुटवलमा नरहेको देखाएर ओलीले गुटबन्दी नरहेको सन्देश दिन खोजेको एमाले नेताहरू बताउँछन् ।

एमाले सचिव एवं प्रदेश इञ्चार्ज पद्या अर्यालले काम गर्ने जिम्मेवारी लिन एकभन्दा बढी नेता आकांक्षी भएकाले निर्वाचन गर्नुपरेको बताइन् । सर्वसम्मति गर्न खोजे पनि निर्वाचनमा जानुलाई अन्यथा लिन नहुने उनको भनाइ छ । 

‘पार्टी बनाउन कुर्बानी गरेका, क्षमता भएका र क्रियाशील नेताको ठूलो पंक्ति छ । काम गर्न खोज्नेले जिम्मेवारीमा इच्छा गरेपछि हामीले मात्रै सहमति गरेर भएन । सबैलाई अवसर दिनुपर्‍यो,’ अर्यालले लोकान्तरसँग भनिन्, ‘यसैले हामीले १२ जिल्लामा ८ वटामा सर्वसम्मत गर्‍यौं । ४ जिल्लामा चुनावको परिस्थिति बन्यो । प्रदेशमा पनि सचिव सहमतिमा टुंग्याएका छौं । अध्यक्षमा मात्र के भयो भनेर हेर्नुहुँदैन । धेरै संख्या सर्वसम्मत र थोरैमा चुनाव भएको छ ।’ 

सबैलाई चित्त बुझाउन नसकेपछि चुनाव नै लोकतान्त्रिक विधि भएको उनले बताइन् । ‘एकभन्दा बढी उम्मेवदार भएपछि चुनाव हुनु स्वाभाविक हो । एकभन्दा बढी उम्मेदवार हुँदा गुट भन्ने तर, एकजना सर्वसम्मत हुँदा टीके भन्ने व्याख्या गलत छ । हामीले निर्वाचन नै गरे पनि सौहाद्र्र र निष्पक्ष गरेका छौं । सबैलाई चित्त बुझाउन खोज्यौं, नभएपछि निर्वाचनमा गयौं ।’

लुम्बिनीमा भएको यस्तो चुनावबाट अरू प्रदेश र दलले पनि सिक्न सक्ने उनको भनाइ छ । 

मतगणना

‘यहाँबाट सिक्ने कुरा धेरै छन् । पहिलोपटक अधिवेशनबाट प्रदेश कमिटी चुस्त बनाउने पार्टी एमाले हो,’ उनले भनिन्, ‘अरू ६ प्रदशेले पनि लुम्बिनीबाट सिक्नुपर्छ र अन्य पार्टीले पनि हामीबाट सिक्न सक्छन् ।’

एमालेकै पूर्व नेता राधाकृष्ण मैनाली ओलीकै कारण दुईतिहाइको सत्ता गिराउने, पार्टी तीन चिरा पार्ने र नोक्सान पुर्‍याउने काम भएकोमा धेरै असन्तुष्ट रहेको बताउँछन् ।

‘ओलीले दुईतिहाइको सरकार गिराए । बलियो बन्दै गर्दा तीन चिरा भएर पार्टी सडकसम्मै पुग्यो । पार्टीलाई नोक्सानी पुर्‍याएको आरोप ओलीले खेप्दै गर्दा एकथरीले बरु विद्या भण्डारी आएर एमाले चलाए हुन्थ्यो भन्न थालेका छन् । यसैले आन्तरिक संघर्ष बढ्दै जाँदा लुम्बिनीमा चुनाव हुने स्थिति आयो,’ मैनाली भन्छन्, ‘यही बेला एमालेमा चिरा पर्दैछ भनेर प्रधानमन्त्रीले पनि कार्ड फ्याँक्नुभयो । बाहिरबाट आशंका गर्न थालेको बेला एमालेमा अन्तरसंघर्ष चल्न थाल्नु र असन्तुष्टि देखिनु ओलीले चाहेको परिस्थिति हैन ।’

विद्या राजनीतिमा आउने चर्चा सम्बन्धमा ओलीले गरेको नमीठो टिप्पणीले उनैलाई अप्ठ्यारो पारेको पनि मैनाली बताउँछन् । 

‘भण्डारी राजनीतिमा आउने चर्चाबारे पहिले नमीठो टिप्पणी गरे । दोस्रोपटक अलि सफ्ट भएको जस्तो देखिए । तर पनि विद्याको पक्षमा लाग्ने र नलाग्ने गरी एमालेका प्रस्टै गुट हुर्कँदै गएको छ । यही बेला अ‍ोलीमाथि प्रश्न उठेको छ,’ मैनाली भन्छन्, ‘फेरि पनि कमी कमजोरी केलाएर हटाएर मिलाउने होइन कि सरकार फेरेर असन्तुष्टलाई मन्त्री बनाउने र कमजोरी छोप्ने नीतिमा ओली देखिन्छन् । यसैले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध उहाँले श्रृंखलाबद्ध बोल्नुभएको छ । तर, देउवा टसमस भएका छैनन् ।’

ओलीमा आफूसँग स्वस्थ प्रतिस्पर्धा गर्न आउनेलाई रोक्ने, छेक्ने र बदला लिने भावना भएको भन्दै मैनालीले लुम्बिनीको जस्तै निर्वाचन सबैतिर हुनसक्ने बताए ।

‘कांग्रेसमा चुनाव हुँदा अनर्थ हुँदैन, तर ओलीसँग भीम रावलले प्रतिस्पर्धा गर्दा राजनीति नै सकाउन खोजे । उनीसँग प्रतिस्पर्धा गर्छु, सम्माजनक मत ल्याएर बस्छु भन्न पनि नपाउने अवस्था छ,’ मैनाली भन्छन्, ‘लुम्बिनीको असन्तोष अरू प्रदेशमा पनि सर्छ । यो लहरले कि ओलीलाई सुधार्छ, कि त बढार्छ ।’

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ २६, २०८०

२०६८ फागुन दोस्रो साता अपराह्नको समयमा संविधानसभा अध्यक्षको कार्यकक्षमा संसद् रिपोर्टिङ गर्ने पत्रकारहरू जम्मा भएर बसिरहेका थियौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सो समयमा नियमितजसो पत्रकारहरूसँग अनौपचारिक कु...

असोज ३, २०८०

भदौ ३०, २०७२ मा संविधानसभाको दुईतिहाइ बहुमतबाट संविधानको मस्यौदा पारित हुँदै गर्दा नेपालका लागि भारतीय राजदूत रञ्जित रे ‘नेपाल मामिला क्रिटिकल’ भएको भन्दै नयाँ दिल्ली उडे ।  नेपालमा स...

असोज २, २०८०

माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् ।  ‘पार्टीका नाममा जारी भएको अपान...

असोज ८, २०८०

संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...

असोज १२, २०८०

आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे । सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी...

असोज २, २०८०

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x