०३ साउन २०८३, आइतबार

'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'का लागि कथा आह्वान [भिडियोसहित]

भदौ ३१, २०८०
काठमाडौं
'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'का लागि कथा आह्वान [भिडियोसहित]

बाह्रखरी मिडिया प्रालिले 'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'मा सहभागिताका लागि कथाकारहरूलाई आह्वान गरेको छ ।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले आगामी असोज मसान्त (३० गते)भित्र इमेलमार्फत कथा पठाउन आह्वान गरेको हो ।

सहभागिताका लागि कम्तीमा १५ सय र बढीमा ४ हजार शब्दसम्मका कथा पठाउन सकिने आयोजकले जनाएको छ ।

आगामी पुस ६ गते विशेष समारोहका बीच विजेता घोषणा गरिने बाह्रखरी डट्कमका प्रधानसम्पादक प्रतीक प्रधानले जानकारी दिए ।

कथाकारहरूलाई सिर्जनाका लागि प्रेरणा र उत्साह प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रधानले बताए ।

उनका अनुसार प्रथम हुने कथाकारलाई १ लाख, दोस्रोलाई ६० हजार र तेस्रोलाई ४० हजार नगदसहित पुरस्कृत गरिने छ ।

उत्कृष्ट २५ भित्र पर्ने अन्य २२ कथाकारले जनही ५ हजार पाउनेछन् ।

इमेल ([email protected], [email protected]) मार्फत प्राप्त हुने कथालाई शुरूमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारी संयोजकत्वको समितिले 'शर्टलिस्ट' गर्नेछ ।

५० वटा कथालाई अन्तिम प्रतिस्पर्धाका लागि निर्णायकसमक्ष पेश गरिने प्रालिले विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णायकमा समीक्षक प्रा.डा. सावित्री कक्षपति, कथाकार महेशविक्रम शाह र चर्चित लेखक सुविन भट्टराई छन् ।

निर्णायकहरूले प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट २५ कथा छनोट गर्नेछन् ।

प्रतियोगिताको पाँचौं संस्करणलाई 'डिसहोम'ले प्रायोजन गरेको आयोजकले जानकारी दियो । सहभागिताका लागि आयोजकले केही शर्तहरू समेत निर्धारण गरेको छ ।

यस्ता छन् शर्तहरू :

- नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।

- अघिल्ला वर्षका प्रतियोगितामा पठाइएका कथा दोहोऱ्याएर पठाउन पाइने छैन ।

- कथा अप्रकाशित र अप्रसारित (कतै प्रकाशन/प्रसारण नभएको) हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएका कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

- छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ । 'डिसहोम बाह्रखरी कथा प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न आयोजकसँग पूर्वस्वीकृति अनिवार्य छ ।

- कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।

- प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ

- प्रतियोगिताका लागि छानिएका कथाकारलाई आयोजकले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्