०३ साउन २०८३, आइतबार
कलिलो उमेरमै लोभलाग्दो सफलता

‘टेक्निक’ लगाएर पढ्दा १९ वर्षमै निमावि शिक्षक बनिन् लेकिडोमा, ६ घण्टा पैदल हिँडेर स्कूल जान्थे नवीन

माघ १३, २०८०
विराटनगर
‘टेक्निक’ लगाएर पढ्दा १९ वर्षमै निमावि शिक्षक बनिन् लेकिडोमा, ६ घण्टा पैदल हिँडेर स्कूल जान्थे नवीन

पाँचथरको फाल्गुनन्द गाउँपालिका– १ नवमीडाँडाकी लेकिडोमा तामाङ भर्खर १९ वर्षकी पुगिन् । तर उनले सफलता भने लोभलाग्दो हासिल गरेकी छिन् । लेकिडोमाले शिक्षक सेवा आयोगको परीक्षामा एकैपटकमा नाम निकाल्न सफल भएकी हुन् । उनी कम उमेरमै निमाविकी स्थायी शिक्षक बन्न सफल भइन् । यसले उनको स्थानीय स्तरमा मात्र नभएर देशैभरि वाहवाही भएको छ ।

लेकिडोमा गत वैशाखको ९ गते आयोगको परीक्षामामा सहभागी भएकी थिइन् । शिक्षक सेवा आयोगले कोशी प्रदेशका लागि गणित विषयमा ४७ जनाको दरबन्दी खुलाएको थियो । जसमा ८५३ जनाले दरखास्त दिएका थिए । लेकिडोमाले १६ आँै नम्बरमा नाम निकालेकी छिन् । आदिवासी–जनजाति समुदायकी उनले खुलामा नाम निकालेकी हुन् । ‘आदिवासी–जनजाति कोटामा नाम निक्लिए हुनेथियो जस्तो लागेको थियो,’ उनले लोकान्तरसँग कुराकानी गर्दै भनिन् ‘तर खुलामै नाम निकाल्न सफल भएँ ।’

 

लेकिडोमाले १४ वर्ष पूरा नभई एसइई दिन नपाइने भएपछि कक्षा ९ को ‘रजिस्ट्रेसन फारम’ भर्दा एकवर्ष उमेर बढाएकी थिइन् । सरकारी कागजातमा २० वर्ष उमेर भए पनि आफू अहिले १९ वर्षकी मात्रै भएको उनले बताइन् ।

२०७४ सालमा सिद्धकाली मावि फेदायपबाट एसईई उत्तीर्ण गरेर लेकिडोले २०७६ सालमा फिदिमस्थित कञ्चनजंघा माविबाट गणित विषयमा प्लस टू सकेकी थिइन् । उनी अहिले मोरङको सुकुना बहुमुखी क्याम्पस बीए दोस्रो वर्षमा अध्ययनरत छिन् ।  उनले पढाइमा धेरै मेहनत नगरेको बताइन् । तर ‘टेक्निक’ लगाएर नियमित रुपमा थोर–थोरै पढ्ने आफ्नो बानी रहेको उनी सुनाउँछिन् । २०७९ मा शिक्षकको लाइसेन्स परीक्षा पहिलो पटक पास गरेकी लेकिडोमाले शिक्षक सेवाको परीक्षा पनि पहिलो पटक नै पास गरेकी हुन् । 

उनकी आमा वीरमाया तामाङ सिद्धकाली मावि, फेदायपको निमावि तहमा सामाजिक विषय शिक्षिका हुन् भने बुवा सन्तवीर सिद्धदेवी माविकै  गणित विषयका शिक्षक छन् । बुवा–आमा नै शिक्षक– शिक्षिका भएकाले कुनै पनि दुःख–कष्ट भोग्नु नपरेको उनले सुनाइन् ।

लेकिडोमा तामाङ ।

लेकिडोमा सिद्धकाली माविमा ऐच्छिक गणित विषय पढ्ने एक्ली विद्यार्थी थिइन् । यसले उनी पढाइमा तगडा थिइन् भन्ने पुष्टि गर्छ ।   

संखुवासभा सिलिचोङ गाउँपालिका वडा नम्बर– ४ माङसेवाका नवीन राई पनि भर्खर २० वर्षका भए । तर उनले सफलता भने लोभलाग्दो हासिल गरेका छन् । नवीनले विज्ञान विषयतर्फ निम्न माध्यमिक तहमा नाम निकालेका छन् । नवीनले जनजाति माध्यमिक विद्यालय, माङसेवुङवाट एसएलसी उतीर्ण गरेका थिए । उनले कक्षा–३ सम्मको अध्ययन भने ज्ञानोदय आधारभूत विद्यालयबाट गरे । कक्षा ४ दखि १० सम्म भने जनजाति माविमा अध्ययन गरेका थिए । त्यहाँ अध्ययन गर्दा उनले दैनिक ६ घण्टा पैदल हिँड्नु पर्यो । ‘स्कूल जान तीन घण्टा र आउन तीन घण्टा पैदल हिँड्नु पथ्र्याे । मैले ६ वर्षसम्म यसरी नै दुःख गरेँ,’ उनी भन्छन् । बिहान ७ बज्दा स्कूल हिँड्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

नवीन १० कक्षामा पढ्न थालेपछि उनको दुख देखेर बुवाआमाले विद्यालय छेउमै घर किनिदिएका थिए ।

शिक्षक सेवा आयोगमा नाम निकालेर लेकिडोमा र नवीन नेपालकै कान्छा–कान्छी शिक्षक बन्न सफल भएका छन् ।

त्यसाे त नवीनको परिवार सामान्य खालको छ । उनका बुवा–आमा खेतीकिसानी गर्ने गर्छन् । पहिले अवस्था झनै नाजुक थियो । उनका बुवा प्रजाबहादुर सामान्य हातमुख जोर्न अर्काकोमा हली बसेका थिए । तर अहिले आर्थिक अवस्था सुधार भएको छ । ‘पारिवारकोे आर्थिक अवस्था कमजोर भएका कारण बुवा हली बस्नु भएको रहेछ,’ रवीनले लोकान्तरसँगको कुराकानीका क्रममा भने, ‘ऋण तिर्न १९ वर्षसम्म अर्काकोमा हलो जोत्नुभएको थियो ।’ बुवा प्रजाबहादुर २ वर्षको हुँदा नै हजुरबुवा बितेकाले घरको ऋण बुवाको काँधमा आएको उनले सुनाए ।

नवीनका अनुसार उनका बुवा १९ वर्षपछि ऋणमुक्त भएर घरमा आइ पढ्न थालेका थिए ।  ‘बुवा १९ वर्षको उमेरमा कक्षा १ मा भर्ना हुनु भएको थियो रे,’ उनले भने, ‘२५ वर्षको उमेर कक्षा ५ मा पुग्नुभएछ । ५ कक्षा पढ्दै गर्दा उहाँको विवाह भएकाले पढाइ रोकिएछ ।’ आमा कल्पना राईले भने पढ्न पाइनन् । आफूले नपढे पनि उनले छोराछोरीको पढाइमा ठूलो सहयोग गरेको नवीनले सुनाए ।

नवीन राई ।

परिवारका जेठा सन्तान नवीनले २०७८ सालमा संखुवासभाको सदरमुकाम खाँदबारीको बागेश्वरी माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए । उनले ०७९ सालमा अध्यापन अनुमति पत्रमा नाम निकालेका थिए । उनले पहिलोपटकमै नाम निकालेका हुन् । यद्यपि, उनले एक वर्षअघिदेखि नै अध्यापन गराइरहेका छन् । आफैँले पढेको विद्यालयमा २०७९ सालदेखि पढाउन थालेको उनले बताए । उनी यसअघि भने करारमा काम गर्ने गर्थे । 

शिक्षकसेवा आयोगमा नाम निकालेका नवीन र लेकिडोमा दुवैजना नेपालकै कान्छा–कान्छी शिक्षक भएको सुकुना बहुमुखी क्याम्पसको दाबी छ । ‘हामीले सोधी खोजी गर्दा दुवैजना नेपालमै कम उमेरका स्थायी शिक्षक हुन् भन्ने बुझेका छौँ,’ सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले भन्छन् । 

नवीन र लेकिडोमा दुवै कक्षा १ देखि १० सम्म नै प्रथम भएका विद्यार्थी हुन् । दोस्रो स्थान ल्याउँदा कस्तो हुन्छ उनीहरूसँग अनुभव छैन ।  


 

salt training

कमेन्ट गर्नुहोस्