
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे ।
माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै वरपर घुम्छ, तर पार्टीभित्र रहेका स–साना गुटको सक्रियातबाट पद बाँडफाँडमा प्रचण्ड सधैँ हैरानीमा पर्छन् । राष्ट्रिय राजनीतिलाई आफ्नै भाषामा ‘उथलपुथल’ गराउन सक्ने सामर्थ्य प्रचण्डमा छ । सोही नीति उनले पार्टीमा पनि लागू गर्छन् । प्रचण्डका लागि पार्टीभित्र ‘सबै आफ्नै, तर सबै टाढा’जस्तो ।
पछिल्लोपटक मन्त्रिपरिषद् विस्तारमा तीन अनुहार दोहोरिएपछि सबैभन्दा बढी आक्रोशित सिन्धुपाल्चोक– १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोध भए । माओवादी ‘जनयुद्ध’मा परिवारिक सदस्यदेखि गाउँका सबै जनतालाई हिँडाउन सफल अग्नि सापकोटाको ‘अग्लो छवि’को जगबाट उदाएका माधवले आक्रोशपूर्ण, तर भावुक शब्द खुलेरै प्रकट गरे ।
‘दशवर्षे जनयुद्धमा मेरो घरबाटै ३ जना शहीद भएका छन् । हाम्रो सापकोटा परिवारबाट ८ जना र गाउँभरिमा २२ जना शहीद भएका छन् । गाउँमा अझै पनि माओवादीको जनाधार बलियो छ । मैले मन्त्री नपाएर विरोध गर्यो भन्नुभएको होला, अहिले यो सांसद पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा लाग भन्नुहुन्छ भने तयार छु । तर, विधि र पद्धतिलाई मिचेर घुर्की देखाउने, धम्की दिने र बार्गेनिङ गर्नेलाई मन्त्री बनाइयो । यस्तो विधि पार्टीमा कहाँ छ ?’, आइतबार संसदीय दलको बैठकमा सापकोटाले भने ।
शान्ति प्रक्रियासँगै एकतामा जोडिएका पार्टी उपाध्यक्ष तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘जनयुद्ध’मा योगदान नगरेको, पार्टीमा ‘लाभ’ लिइरहेको भनेर सिधै आरोप लगाए । सापकोटाले भने, ‘देशको कुनै पनि ठाउँबाट चुनाव जितेर देखाउनुस् ।’
श्रेष्ठ माओवादी बनेपछि २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट पराजित भएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् ।
राजनीतिक आन्दोलनमा सबैका आ–आफ्नै भूमिका छन् । श्रेष्ठले हरेक पद पाउँदा ‘युद्ध लडेको हो र ?’ भन्ने खालको प्रश्न सामना गर्दै आएका छन् ।
माओवादीको सांगठनिक आधार क्षेत्र रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र सिन्धुपाल्चोकलगायत जिल्ला हुन् ।
अहिले पनि माओवादी केन्द्रमा भन्ने गरिन्छ, ‘कुनै भ्रातृ तथा जनवर्गीय संगठन पदाधिकारीको मूल नेतृत्व लिने बेला एकता प्रक्रियाबाट आएकाको डीएनएमा बारुद छ कि छैन भनेर चेक गरिन्छ । यदि छैन भने क्षमता हुँदा–हुँदै पनि पद पाउँदैनन् ।’
नारायणकाजीलाई कसरी चिन्ने ?
नारायणकाजी श्रेष्ठसँग पूर्व एकता केन्द्रको एउटा लामो इतिहास जोडिएको छ । त्यही पूर्व एकता केन्द्र गुटकै ‘ह्याङओभर’ले नारायणकाजीको ‘डीएनएमा बारुद’ छैन भनेर ‘अपहेलित’ भइरहनुपरेको छ । २०४८ सालमा एकता केन्द्र गठन हुँदा दीपक शर्माका नामबाट सचिव बनेका नारायणकाजीका धेरै उपनामहरू छन् । तत्कालीन नेकपा (एकता केन्द्र)का महामन्त्री प्रचण्ड थिए । उनले त्यसलाई विभाजन गरेर २०५१ मा नेकपा (माओवादी) गठन गरे ।
बाँकी रहेका शेषलाई एकता केन्द्र नै बनाई राख्ने जिम्मा उनै सचिव दीपक शर्माको काँधमा आइलाग्यो । प्रचण्डको टीमले एकता केन्द्र छाडेपछि बाँकी रहेको टीमले ललितपुरको ठेचोमा महाधिवेशन सम्पन्न गर्यो । त्यही महाधिवेशनबाट दीपकबाट नाम बदलिएर उनी ‘क. सन्देश’ भए । त्यहीँबाट अर्ध भूमिगत सन्देश फेरि ‘क. प्रकाश’ भनेर उदाए ।
२०६४ देखि खुला राजनीतिमा प्रवेश गरेपछि नारायणकाजी श्रेष्ठ भनेर राजनीतिक वृत्तमा केही चर्चा रह्यो । १२ बुँदे सहमतिको सूत्राधारमध्ये एक उनी माओवादीमा समाहित भए । ‘माओवादी’को नाममा अगाडि एकीकृत जोडियो । अहिले पार्टीको नाम नेकपा (माओवादी केन्द्र) छ ।
माओवादी केन्द्रको पथप्रदर्शन सिद्धान्तमा समेत उनले ‘मार्क्सवाद, लेनिनवाद, माओवाद/विचारधारा’ बनाउन सफल भए ।
नारायणकाजीको अर्को खुबी हो, कम्युनिस्ट पार्टी संस्थापक सदस्यहरू जीवित रहँदासम्म आफूसँग राख्नु । पछिल्लो समयसम्म संस्थापकका परिवारसँग पार्टीको सिंगो इतिहास जोड्नु नारायणकाजीको अर्को सफलता हो ।
इतिहासको कालखण्डमा नेपाल कम्युनिस्ट पार्टीका दुईजना संस्थापकहरूसँग नारायणकाजीले लामो समय बिताए । त्यही बेला सात दल र माओवादीबीचको १२ बुँदे सहमतिअघि सिलिगुडीमा माओवादीसँगको चर्चित वार्तामा उनको भूमिका रह्यो, जुन कुराको चर्चा संस्थापक सदस्य कर्माचार्य जीवित रहँदासम्म पटक–पटक गरिरहन्थे । पहिलोपटक अर्किड होटल, त्रिपुरेश्वरमा सार्वजनिक भएपश्चात् नारायणकाजी चिरा परेका कम्युनिस्टहरू मूलधारमा आउनुपर्छ भन्नेमा केन्द्रित देखिए ।
इतिहास संशोधनमा जीवितहरूको बयान
नेपाल कम्युनिस्ट पार्टीमा संस्थापक सदस्य को–को हुन् ? भन्ने विषयमा चौथो महाधिवेशन पक्षधर र पुष्पलाल समूहबीच लामै विवाद चलेको इतिहास छ । जब दुई जीवित सदस्यले नारायणकाजीको साथ थिए, उनीहरूको दाबीले केही विवाद साम्य पार्यो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले शुरूका वर्षमा लगातार सेप्टेम्बर १५ लाई पार्टी स्थापना दिवस मान्दै लेख्ने तथा बोल्ने गरे । पार्टीको मुखपत्र ‘कम्युनिस्ट– ०१५’ सालको चुनावमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको पहिलो सम्मेलनको राजनीतिक प्रतिवेदन, प्रथम महाधिवेशनमा पारित दस्तावेजलगायतका धेरै ठाउँमा पार्टी स्थापनाको मिति १५ सेप्टेम्बर १९४९ भनेर दस्तावेजीकरण गरिएको छ ।
कम्युनिस्ट पार्टी विभाजन हुँदै जाँदा स्थापना दिवसबारे किचलो आउन थाल्यो । ०३४ सालमा तत्कालीन नेकपा (चौम) को मुखपत्र ‘मसाल’मा स्थापनाकालका तीन नेताहरू नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलाश जोशीको टीमले पार्टी स्थापना २२ अप्रिलमा भएको भन्यो । उनीहरूले आफ्नो दाबीलाई गलत साबित गर्न चुनौती दिए ।
साथै, उनीहरूले २२ अप्रिललाई स्थापना दिवस मनाउन अनुरोध गरे । यसप्रति पुष्पलालले कुनै खण्डन वा आफ्नो प्रतितर्क दिएनन् । पछि एमालेको पाँचौं महाधिवेशनले १० वैशाख (२२, अप्रिल १९४९) मा नै कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि यसबारे पछिल्लो समय बहस भएको पाइँदैन ।
त्यससँगै, संस्थापक नेताहरूको समूहमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र दुर्गादेवी गरी पाँचजना थिए भन्ने ‘पुष्पलाल समूह’को मान्यता थियो । तर, कर्माचार्य, वैद्य र जोशीले दुर्गादेवी संस्थापक सदस्य नभएको दाबी गरेको पाइन्छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको मिति र संस्थापक व्यक्ति को भन्ने साक्षीहरूको साथमा हुर्केका नारायणकाजी गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन काण्डमा ‘पर्फर्मेन्स’ देखाए । यद्यपि यतिले मात्र उनको वाहवाही हुन्छ भन्नु गलत हुन जान्छ । उनी बाहिर जति आदर्शका कुरा गर्छन्, व्यवहारमा त्यो देखिएन भन्ने एकथरीको आरोप छ ।
पार्टीको पद वा सार्वजनिक पद धारण गर्दा आफ्नो गुटबाट ‘अनिवार्य कोटा’ दाबी गर्ने प्रवृत्तिले पनि उनको आलोचना हुने गर्छ । गृहबाट पुनः परराष्ट्र मन्त्रालयमा जानु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा हेक्का नराख्दा नारायणकाजीले आफूभन्दा ‘जुनियर नेता’ सापकोटाबाट ‘अपहेलना’ खेप्नु परिरहेको छ ।