
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ब्रेक प्याडमा करिब ६१ किलो सुन तस्करी घटनामा संलग्न मध्येका फरार चिनियाँ नागरिक सोनाम गुरुङ उर्फ ‘मिस्टर राइट’ अन्ततः पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विस्तृत अनुसन्धानका क्रममा गुरुङको संलग्नता पुष्टि गरेको भए पनि उनी फरार थिए ।
मोटरसाइकलको ब्रेक प्याडमा सुन लुकाएर ल्याउँदा गुरुङले क्रिप्टोमार्फत लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार गुरुङले आफूलाई शेरब ग्याल्मो भनेर समेत चिनाउँथे ।
छद्म नाममा बौद्धमा लुकेर बसेका मिस्टर राइटको सेटिङमा विमानस्थल हुँदै ब्रेक प्याडमा सुन तस्करी हुँदै आएको थियो । उनले सुनमा क्रिप्टोमार्फत भुक्तानी गर्ने गरेको सीआईबीको निष्कर्ष छ । गुरुङले क्रप्टोमार्फत सुनमा एक अर्बभन्दा बढी भुक्तानी गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
२०८० असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलस्थित त्रिवि भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्याक्सीमा १६० सेटसहित ८ कार्टुन मोटरसाइकलको ब्रेक प्याड बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो ।
तत्कालीन समयमा भन्सारले अन्य सरकारी प्रतिनिधि राखेर ब्रेक प्याडमा लुकाइएको सुनको भाग छुट्याउँदा ६०.७१६ केजी सुन रहेको पुष्टि भएको थियो ।
६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका गुरुङले यूएसडीटीमार्फत क्रिप्टोको समेत कारोबार गर्ने गरेको सीआईबीले फेला पारेको छ ।
प्रहरीले उनको साथबाट तीन वटा मोबाइल र सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र समेत फेला पारेको छ। उनले सोही नागरिकताबाट नेपालमा अन्य आर्थिक कारोबार गर्दै आएको आशंका प्रहरीको छ ।
सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीका अनुसार गुरुङ लामो समयदेखि खोजी गरेका व्यक्ति हुन् । ‘ गुरुङले आफूलाई मिस्टर राइट र शेरब ग्याल्बो भनेर परिचित गराउँदै आएका थिए, भागेर लुकीलुकी बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा बौद्धबाट नियन्त्रणमा लिन सफल भएका हौं,’ ज्ञवालीले लोकान्तरसँग भने,‘ क्रिप्टोमार्फत उनले लगानी गरेको देखिन्छ ।’
सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले सुन तस्करीमा संलग्न गुरुङमाथि थप अनुसन्धान भइरहेको बताए ।
उनका अनुसार संगठित रुपमा अपराधको सञ्जाल बनाएर यो समूहले क्रिप्टोकरेन्सी, एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी गरेको देखिएको छ । पछिल्लो पटक सीआईबीले पूरक समिति बनाएर गरेको अनुसन्धानमा सजिलो पे र पेवेलमार्फत एक वर्षमा एक खर्ब ८ अर्बको कारोबार गरेको तथ्य समेत फेला पारेको छ ।
सीआईबीले सुन तस्करीसँग सम्बन्धित रहेर आर्थिक कारोबार गरेको आरोपमा भारतको महाराष्ट्रस्थित सांगली जिल्ला जततालुका सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, महाराष्ट्रस्थित सांगली जततालुकै धिरज दिनेश भोइटे र महाराष्ट्रस्थित पुने हाडप्सरलक्ष्मी कोलोनीका प्रशान्त गणेश बजबलकरलगायत १७ जनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
ब्रेक प्याडमा सुन तस्करीको विषय छानबिन गर्न सरकारले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो ।
उक्त आयोगको प्रतिवेदनमाथि सीआईबीले अध्ययन गरेर तस्करीमा संलग्न थप व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
यही प्रकरणमा भारतको दिल्लीबाट २ नेपाली पनि पक्राउ परेका छन् ।