०४ साउन २०८३, सोमबार
सहकारी ठगी प्रकरण

रविको हस्ताक्षरमा सहकारीलाई दिएको चेक भेटियो, बैंक कारोबार पनि शंकास्पद !

मंसिर ९, २०८१
काठमाडौं
रविको हस्ताक्षरमा सहकारीलाई दिएको चेक भेटियो, बैंक कारोबार पनि शंकास्पद !

सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले बलियो प्रमाण भेटेको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीलाई तिरेको ४० लाख ४२ हजार रुपैयाँको चेकमा रविको हस्ताक्षर भेटिएको हो । 

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रविले भने प्रहरीले फेला पारेको त्यो प्रमाणलाई स्वीकार्न मानेका छैनन् । 

सरकारी वकिल कार्यालय रुपन्देहीमा बयानका क्रममा रविलाई उक्त चेक भुक्तानीका बारेमा प्रश्न सोधिएको थियो ।

हस्ताक्षर गरेर ड्रयरमा राखिएको खाली चेकमा कसैले रकम र सहकारीको नाम भरेर बुझाएको हुन सक्ने जवाफ उनले दिएको स्रोतले लोकान्तरसँग बतायो ।

‘सुप्रिमको खातापाता केलाउँदा उक्त चेक फेला परेको हो,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘यो पनि सहकारी ठगी मुद्दामा बलियो प्रमाण हुने देखिन्छ ।’

कास्की प्रहरीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार रविको बैंक खाता केलाउँदा शंकास्पद तथ्यहरू फेला परेका छन् ।

‘गृहमन्त्री हुनुअघि नै रविको बैंक खातामा शंकास्पद रकम जम्मा भएको र निकालेको देखिन्छ,’ स्रोतले भन्यो, ‘शंकास्पद रकमका बारेमा सोध्दा रविले आफूले ग्यालेक्सी टेलिभिजनमा काम गर्दाको तलब हो भनेर जवाफ दिएका छन् ।’ 

रविले आफूमाथि लागेको अभियोग सम्बन्धमा इन्कारी बयान दिइरहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी सुन्दर तिवारीको नेतृत्वमा चारजना प्रहरी अधिकारी कास्की प्रहरीमा बसेर रविसँग बयान लिइरहेका छन् ।

सूर्यदर्शनलगायत केही सहकारीको रकम गोरखा मिडियामा ल्याउँदा आफ्नो संलग्नता नरहेको दाबी गरेका रवि र  गितेन्द्रबाबु (जीबी) राई ‘पार्टनर’ भएकाले उनीहरूबीच भएको फोन संवादका बारेमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । 

गोरखा मिडियामा प्रवेश गर्दा १५ प्रतिशत सेयर लिएर पछि फिर्ता गरेको भनेका रविले बयान फेर्दै आएका छन् । जीबीले हुन्डीमार्फत मलेसियामा पैसा पठाएको दाबी प्रहरीले गरेको छ । 

गोरखा मिडियामा रहँदा रविका पार्टनर पूर्व डीआईजी एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा छविलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिएर कास्की पठाइएको छ । 

त्यसो त रविविरुद्ध चितवन र काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । चितवनस्थित सहारा सहकारीबाट गोरखा मिडियामा १० करोडभन्दा बढी रकम गएको देखिन्छ । 

जिल्ला अदालत कास्कीले रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न १५ दिनको म्याद दिएको छ । 

सम्पत्ति शुद्धीकरणमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने भएकाले कास्की प्रहरीले अनुसन्धान नटुंगिएको र थप प्रमाण जुटाउन भन्दै अदालतबाट म्याद मागेको थियो । 

कास्कीमा मुद्दा चलिरहेकै अवस्थामा रविलाई काठमाडौं र चितवनस्थित सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तयारी छ । 

कास्की हुँदै सुप्रिम सहकारी रहेको रुपन्देही, सानो पाइला सहकारी रहेको वीरगञ्ज, सहारा सहकारी रहेको चितवन र स्वर्णलक्ष्मी  सहकारी रहेको काठमाडौंमा पनि रविमाथि अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ ।

यी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पुगेको देखिन्छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले अनुसन्धान नटुंगिएकाले नै प्रहरीले अदालतसँग म्याद मागेको बताए ।

उनले भने, ‘सीआईबीको टोली आएर अनुसन्धान गरिरहेको छ । केही प्रमाण जुटेका छन् । अनुसन्धान जारी छ ।’ 

कमेन्ट गर्नुहोस्