०२ साउन २०८३, शनिबार
ज्ञानेन्द्रलाई नैतिक संकट

संसदबाट ओलीको अर्थपूर्ण संकेत : प्रचण्ड–माधवसँग नरम, ज्ञानेन्द्रमाथि निसाना

चैत १८, २०८१
काठमाडौं
संसदबाट ओलीको अर्थपूर्ण संकेत : प्रचण्ड–माधवसँग नरम, ज्ञानेन्द्रमाथि निसाना

चैत १५ गते काठमाडौंमा भएका छुट्टाछुट्टै दुई कार्यक्रमलाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा अर्थपूर्ण अभिव्यक्ति दिएका छन् ।

सामान्यतया प्रतिपक्षीप्रति आक्रामक सुनिने ओली सोमबार शान्त रहे । अझै एक कदम अगाडि बढेर ओलीले ‘समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा भव्य सभा गरेको’ भन्दै प्रशंसा गरे । जुलुसलाई शालीनताको उपमा दिँदै ओलीले सरकारलाई गरेको खबरदारी पनि रुचाए । 

‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनीमार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो । सरकारलाई खबरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो,’ अघिपछि कटाक्ष गर्ने गरेका ओलीले भने, ‘शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु ।’

समाजवादीमा मोर्चाको तारिफ गरेको केहीबेरमै ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय समेत पुगे । पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न र चैत १५ गते राजावादी समूहले आगजनी र तोडफोड गरेको कार्यालय अवलोकन गर्न ओली सोमबार आलोकनगर पुगेका हुन् । यसक्रममा ओलीले राजावादीबाट आगजनी र तोडफोडमा परेको कार्यालय अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा ओली, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व एमाले नेता भीम रावल एउटै लहरमा बसेका थिए । 

शुरूमा यी नेताको नामै नलिने अवस्थामा ओली थिए । तर, राजावादीले दबाब बढाइरहँदा ओलीले गणतन्त्रवादी प्रचण्ड (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल), नेपालदेखि रावलसम्मलाई भड्काउने अभिव्यक्ति दिएका छैनन् । बरु अप्ठ्यारो पर्दा मित्रताको हात अघि बढाउन पछाडि नपर्ने प्रस्ट सन्देश दिएका छन् । 

तर, सोही दिन तीनकुनेमा भएको प्रदर्शनप्रति ओली आक्रामक देखिए । कार्यक्रम आयोजकमा संसद्मा उपस्थित नेताहरूको पनि नाम रहेको भन्दै उनले राजावादी समूह र दलले गरेको प्रदर्शन प्रशासनलाई जानकारी गराएभन्दा निकै उत्तेजक र अराजनीतिक भएको टिप्पणी गरे । 

कमान्डर बनाइएका दुर्गा प्रसाईंको नेतृत्वमा ‘प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात घटाइएको’ प्रधानमन्त्रीको भनाइ छ । व्यक्तिको निजी घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारी साधनमाथि आगजनी तथा तोडफोडसँगै मानिसलाई जिउँदै जलाउने हिंस्रक गतिविधि गरेको भनेर ओलीले आपत्ति जनाए । 

‘व्यक्तिको निजी घरमा आगजनी मात्रै गरिएन, मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक र आततायी कार्य भयो,’ ओलीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतंककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि समेत आक्रमण गरियो ।’

सरकार, संविधान र व्यवस्थामाथि घृणा र भ्रम फैलाउने गरी पूर्वराजा ज्ञानेन्द्र शाहले एक वर्षदेखि काम गरेको आरोप ओलीले लगाए । 

यी सबै घटनामाथि छानबिन र अनुसन्धान अगाडि बढिसकेको ओलीको भनाइ छ । सरकार, संविधान र व्यवस्थामाथि घृणा र भ्रम फैलाउने गरी पूर्वराजा ज्ञानेन्द्र शाहले एक वर्षदेखि काम गरेको आरोप ओलीले लगाए । 

‘मौका खोजिरहेको थियो । धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो,’ प्रसाईंको आवरणमा ज्ञानेन्द्रप्रति लक्षित गर्दै ओलीले भनेका छन्, ‘ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो ।’

हिंसात्मक वारदातका लागि ज्ञानेन्द्रले नै प्रसाईंलाई खटाएको ओलीको आरोप छ ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै बक्तव्यवाजी गर्नुभयो । त्यसलगत्तै ठाउँ–ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम शुरू गरियो,’ ओलीले भने, ‘फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।’ 

नागरिकको हैसियतमा शान्त जीवन बिताउने, कानूनअनुसार व्यापार व्यवसाय गर्न पाउने र पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले दिएको सुविधा उपभोग गर्ने गरी राखिएका ज्ञानेन्द्रले अनावश्यक सक्रियता देखाएको उनको आरोप थियो ।

‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लंघन गर्नुभएको छ,’ ओलीले भने, ‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानूनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षा प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न तथा उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो ।’

पछिल्लो समयमा देखिएको रस्साकस्सीले मुलुकलाई गणतन्त्रवादी र राजतन्त्रवादीको कित्तामा विभाजन गरेको उनी बताउँछन् । यी सबै आपराधिक घटनाको योजनाकार नै ज्ञानेन्द्र रहेको भन्दै ओलीले उनले उन्मुक्ति नपाउने प्रस्ट्याएका छन् । यसको मूल जिम्मेवारी नै ज्ञानेन्द्रले लिनुपर्ने ओलीको भनाइ छ । 

‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु, भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?,’ ओलीले भनेका छन्, ‘मानिसलाई मन दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाटबाट शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी बस्न सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले जिम्मा लिनुपर्छ ।’

कार्यकारी प्रधानमन्त्रीले पूर्वराजाले सहमति उल्लघंन गरेको विषयलाई संसदबाट अनुमोदन गराएको भन्दै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारी सुविधा लिइराख्ने नैतिक अधिकार ज्ञानेन्द्रसँग बाँकी नरहेको बताए ।

‘कार्यकारी प्रमुखले संसद्मा पूर्वराजाले सहमति उलंघन गरे भनेको विषयलाई संसदले अनुमोदन गर्‍यो,’ भट्टराईले भने, ‘संसदले गडगडाहट तालीले यस्तो ठहर गरेपछि र पूर्वराजाले पूर्व राष्ट्रप्रमुखको सेवा–सुविधा लिइराख्ने नैतिक अधिकार गुमाए । राज्यले पनि ठहर गरेपछि सेवा–सुविधा दिन उपयुक्त हुँदैन ।’

जनताको नासो जनतालाई नै जिम्मा लगाएँ भनेर गरेको घोषणालाई ज्ञानेन्द्रले गत फागुन ७ गतेको वक्तव्यमार्फत उल्लंघन गरेको उनको तर्क छ ।

‘२०६५ साल जेठ १५ गते पूर्वराजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई जिम्मा लगाएँ भन्दै पत्रकार सम्मेलन गरेर राजदरबार छाडेका थिए,’ भट्टराईले लोकान्तरसँग भने, ‘तर, गत फागुन ७ गते पूर्व घोषणा र सरकारसँग गरेको सहमतिविपरीत फेरि जनतासँग अपिल गरेर मलाई सहयोग गर्नुस् भन्ने स्टेटमेन्ट दिए । यो भनेको आफैंले गरेको पूर्वघोषणा र सहमतिको उल्लंघन हो ।’  

‘कार्यकारी प्रमुखले संसद्मा पूर्वराजाले सहमति उलंघन गरे भनेको विषयलाई संसदले अनुमोदन गर्‍यो,’ वरिष्ठ अधिवक्ता भट्टराईले भने, ‘संसदले गडगडाहट तालीले यस्तो ठहर गरेपछि र पूर्वराजाले पूर्व राष्ट्रप्रमुखको सेवा–सुविधा लिइराख्ने नैतिक अधिकार गुमाए । राज्यले पनि ठहर गरेपछि सेवा–सुविधा दिन उपयुक्त हुँदैन ।’

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरे संविधानले व्यवस्था गरेका प्रावधान सबैले मान्नुपर्ने बताउँछन् । ‘हामीले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, स्वतन्त्र बारको परिकल्पना गरेका छौं । विचार अभिव्यक्त गर्ने स्वतन्त्रता पनि हरेक व्यक्तिलाई हुन्छ,’ घिमिरेले भने, ‘तर संविधानको सीमा र मर्यादाभित्र बस्नैपर्छ ।’ 

राजनीतिक विश्लेषक कृष्ण पोखरेल फेरि राजा हुने सोच बनाए ज्ञानेन्द्र र मुलुक दुवैका लागि दुर्भाग्य हुने बताउँछन् । ‘पूर्वराजाले फेरि राजा हुने सोच बनाए उनी र मुलुक दुवैका लागि दुर्भाग्य हुनेछ । इतिहासको पांग्रा यति सजिलै पछाडि फर्किँदैन । फर्किनका लागि पात्र र धेरै कुरा मिल्नुपर्छ,’ पोखरेलले भने, ‘पूर्वराजामा न राजर्षि गुण छ, न उचित सल्लाह दिने टीम छ । संवैधानिक राजा बन्ने अवसर गुमाएपछि उनी फेरि फर्किन सम्भव छैन ।’

राजावादीले जति संवैधानिक भने पनि पूर्वराजा वीरेन्द्रले गरेको सहमति ज्ञानेन्द्रले तोडेको उनी बताउँछन् । 

‘वीरेन्द्रले संविधान स्वीकार गरेर दलसँग गरेको सहमति उनको जीवनकालका लागि मात्रै थिएन, आउने राजाका लागि पनि सीमा थियो । तर, गलत टीमको सल्लाह लिएर ज्ञानेन्द्रले म दाजुजस्तो चुप लागेर बस्दिनँ भने,’ पोखरेल भन्छन्, ‘संवैधानिक राजतन्त्रका लागि कतिपयले बेलायत र फ्रान्सको उदाहरण दिएका छन् । तर, यो अपवाद हो । सम्झौता गरेर उनीहरू टिकेका हुन् ।’

दलीय व्यवस्थामा विकल्प आउने स्थिति जहिल्यै खुला हुने उनी बताउँछन् । 

‘दलीय व्यवस्थामा अहिलेको नेताले पफर्म गर्न सकेनन् भने अरू नेता आउँछन् । त्यहीँ भित्रैबाट विकल्प आउँछन् । लोकतन्त्रमा व्यक्ति मन परेन भनेर व्यवस्था उल्ट्याउने वा बदल्ने विषय अग्रगमन होइन,’ पोखरेलले भने, ‘राजतन्त्रवादी दल राप्रपालाई नपत्याएर रिटायर्ड व्यक्ति, अराजनीतिक र अराजक प्रवृत्तिको दुर्गा प्रसाईंलाई कमान्डर बनाउनुले उनीहरूको सोच र विकल्प नै उन्नत रहेनछ भन्ने प्रस्ट्याएको छ । नउठ्दैन आन्दोलन तुहिएको छ ।’

तर, राजनीतिक नेतृत्वले यस्ता प्रवृत्तिबाट सबक सिक्नुपर्ने उनी बताउँछन् ।  

‘अहिलेको राजनीतिक नेतृत्वले यसबाट सबक सिक्नुपर्छ । भोलि योभन्दा फरक हिसाबले उठ्ने प्रयास गर्न सक्छन् । स्थापित शक्तिबाट पनि ठूलो बदलाव आउँदैन भन्न सकिँदैन, अमेरिकामा ट्रम्पको उदय नजीरको रूपमा छ,’ पोखरेलले भने, ‘यसैले राजनीतिक दलले बासी अनुहार र पड्किसकेका बारुद अगाडि सार्दा जनता आशावादी बन्दैनन् । भिजन स्पष्ट पार्ने नेतृत्व दलहरूले दिन सक्नुपर्छ । युवालाई अपिल गर्न सक्नुपर्छ ।’

पढ्नुहोस्, यो पनि :

ज्ञानेन्द्रको च्याप्टर सकियो, 'डीपीकेहरू नयाँ राजा' बन्न नखोजून् !
 

salt training

कमेन्ट गर्नुहोस्